गजल
सहिद तिमी मरेर गयौ, खेरै भो तिम्रो आँहुती ।
जिउँदा जति मोजमस्तिमा, देशको छ उही गति ।
तिम्रो याद वर्षमा एक दिन, शलिकमा चड्छ हार,
बाकी दिन घिच्न मै ठिक्क, सुध्रेन कोहिको मति ।
बर्षौ चल्छ कुर्सिको खेल, तानातान र लुछाचुडी ।
उत्तर दक्षिण धाउदा धाउदै, बित्छ समय जति ।
कुरै नगरौ अन्यायको, निर्धा सोझा जान्छन जेल,
जहातही धन चालिसा पाठ, त्यस्कै जान्छन सति ।
सेक्दैछ ढाड महङ्गिले, बेरोजगार छताछुल्ल,
युवा जति पराइ देशमा, गुमाउछन ज्यान कति ।
देश चल्दैछ रेमिटेन्समा, भरपर्दो स्व-श्रोत छैन,
युवा जोश रगत पसिना, भैराखेको छ खती ।
पक्कै थिएन सपना यस्तो, बलिदानको लक्ष्य नि,
भजाउदै छ्न तिम्रो नाम, नमानी लाज रत्ती ।
सहिद तिमी मरेर गयौ, खेरै भो तिम्रो आँहुती ।
बाँचेका जति मोजमस्तिमा, देशको छ उही गति ।
वसन्त अनुभव, दाङ
२०७३/१०/१६, सहिद दिवस
मार्मिक छ मन छोयो