शाकाहारी गाउँ नजरपुर

  • ७ माघ २०७६, मंगलवार २२:२४ मा प्रकाशित

  • -वसन्त अनुभव –
    रौतहट, माघ ६ / के तपाईं रौतहटको नजरपुर जाँदै हुनुहुन्छ? विचार गर्नोस् है बाँस नपाईएला ! तर तपाईं सुर्तीजन्य पदार्थ, मादक पदार्थ सेवन गर्नुहुन्न भने डराउनु पर्दैन ।

    नारायणीको दक्षिणपूर्वी भू–भाग तथा नेपालकै मध्यतराई क्षेत्रमा रहेको रौतहट जिल्ला अन्तरगतको चन्द्रपुर नगरपालिकामा एउटा यस्तो गाउँ छ जहाँका मानिसहरुले वर्षौ देखि चुरोट, खैनी लगायत सुर्तीजन्य पदार्थ तथा र जाँड,रक्सी लगायत मादक पदार्थ सेवन त गर्दैनन् गर्दैनन् सेवन गर्नेलाई बाँस समेत दिदैनन्।

    चन्द्रपुर नगरपालिका वडा मं. ९ मा अवस्थित उक्त गाउँको नाम नजरपुर हो जसलाई निजानन्द धामका नामले चिन्ने गरिन्छ । प्रदेश नं.२ कै नमुना धार्मिक गाउँ जनकपुरबाट केवल ९५ कि.मि.दुरि पश्चिममा अबस्थित छ । यस गाउँमा कुनै मारकाट गर्ने, वलि दिने प्रचलन छैन । प्रदेश नं.२ को धार्मिक पर्यटकीय गन्तव्यको सुचीमा सुचिकृत यो गाउँ शाकाहारी गाउँको नामले समेत चिनिन्छ ।

    वि.स. २०२० सालमा स्थापना गरिएको यस गाउँको मध्यभागमाबकरिब १३ कठ्ठा क्षेत्रफलमा सुन्दर बगैंचा सहितको अत्यन्तै सुन्दर कलात्मक कृष्ण मन्दिर रहेको छ । जसले बि.सं.२०२२ सालदेखि निरामिषभोजन प्रयोग गर्ने, शुद्धशाकाहारी एबं श्री कृष्णप्रणामी भक्तजनहरूको बसोबास रहेको यस क्षेत्र धार्मिक पर्यटकिय एवं सामाजिक सेवाको प्रेरक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ, सोही लक्ष्य हासिल गर्न खातिर श्री कृष्ण प्रणामी मन्दिर, वृद्धाश्रम, श्रीप्राणनाथ अतिथि आवास, योगध्यान केन्द्र, पाकशाला एवं भोजन गृह, पुष्पवाटिका, श्री कृष्ण प्रणामी सामुदायिक विद्यालय लगायत प्रवचनकक्षको निर्माण गरिएको छ ।

    उक्त गाउँमा करिव १५० घर रहेपनी केवल ६ वटा मात्र किराना पसल खुलेका छन जहाँ सुर्तीजन्य र मदिराजन्य पदार्थ खरिद र विक्री निषेध गरिएको छ । ‘खैनी, पराग, चुरोट, मदिरा केही पनि बिक्री वितरण गर्न पाइँदैन, गाउँमा खान समेत पाइँदैन।’ विगत चार वर्ष देखि पसल गर्दै आएका एक स्थानीयले भने । साथै उनले करिव २० वर्ष पुर्व नै उक्त गाउँ पुर्ण साक्षरता भैसकेको जनाए ।

    यहाँको बहुसंख्यक मानिसको मुख्य पेशा कृषि रहेको छ । यहाँ विभिन्न खाले सहकारी संस्था रहेका छन जस्तो दुग्ध सहकारी, कृषि सहकारी रहेका छन जसले उत्कृष्ट काम गर्दै आएका छन । सवै घरमा शौचालय प्रयोग हुँदै आएको छन। गाउँमा कुनै होहल्ला झै-झगडा नहुने गरेको र अदालत पुग्नु पर्ने स्थिती विगत लामो समय देखि नआएको स्थानीय कृष्ण प्रसाद सापकोटाले बताए ।

    Leave a Reply