–वसन्त अनुभव-
घोराही, २२ पौष/दाङ जिल्लाको सुन्दर नगरी घोराहीमा आज भव्य कार्यक्रमबिच चलचित्र महोत्सवको उद्घाटन भएको छ । पहल नेपाल, दाङको आयोजनामा आयोजित बुद्ध सरयु चलचित्र महोत्सवको प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले मंगलबार पानसमा बत्ति बालेर गर्नु भएको हो । सभामुख घर्तिले मुलुकको समृद्धिका लागि कलाकर्मीको भूमिका निकै नै महत्वपूर्ण हुने बताउनुभएको छ ।
‘परिवर्तनका लागि कलाकर्मीहरुले खेलेको भूमिकाको जति चर्चा गरे पनि कम नै हुने, कला क्षेत्रको विकास र संरक्षणका लागि राज्यले पनि अहम भूमिका खेल्नुपर्ने’ बताउनु भयो । परिवर्तित अवस्थामा चलचित्र विकास बोर्डको नीति बदल्नुपर्ने भन्दै सभामुख घर्तीले पुराना मान्यतालाई भत्काउँदै नयाँ शिराबाट नेपाली चलचित्र अगाडि बढ्नुपर्ने बताउनुभयो । अब ‘चलचित्र विकास बोर्डले नीति नियम बदल्नतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमकि विशिष्ट अतिथि एवं प्रदेश ५ का संघीय मामिला तथा कानुन समितिका सभापति दामा शर्माले कानुन निर्माण गरेर यहाँको कला संस्कृतिको संरक्षणमा प्रदेश सरकार लागिपरेको बताउनुभयो । पर्यटनको विकासबाट प्रदेश ५ लाई समृद्ध बनाउने आफूहरुको योजना रहेको भन्दै सभापति शर्माले यहाँको पर्यटनको विकासमा लागि पर्न सम्पुर्ण चलचित्रकर्मीहरुलाई आग्रह गर्नुभयो । चलचित्र विकास वोर्डका पूर्व अध्यक्ष एवं साहित्यकार डा. अमर गिरीले चलचित्र विकास वोर्डको विधान परिवर्तन नगर्दा सम्म नेपाली चलचित्रको विकास हुन नसक्ने बताउनुभयो ।
विदेशी चलचित्रबाट उठेको राजश्वको सहारामा चलचित्र विकास बोर्ड चलेको भन्दै पूर्व अध्यक्ष डा. गिरीले चलचित्र विकास वोर्ड सञ्चालनका लागि सरकारले लगानी गर्नुपर्ने बताउनुभयो । देशकै मेरुदण्डको रुपमा रहेको चलचित्र क्षेत्र कमजोर हुँदा राष्ट्र नै कमजोर हुन्छ भन्नुभयो । कार्यक्रममा बोल्दै नायक नवल खड्काले राज्य विदेशी चलचित्रको प्रोत्साहनमा लागेको र मुलुक परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेका चलचित्रकर्मी मर्दा कात्रो किन्न नसक्ने अवस्था हुनु दु:खद कुरा भएको बताउनु भयो । तीन दिनसम्म चल्ने भनिएको उक्त चलचित्र महोत्सवमा प्रदेश ५ को चलचित्रको इतिहास, सम्भावना र चुनौतिको विषयमा छलफल गरिने र प्रदेश ५ को कला साहित्यको विकासका लागि भएका प्रयासको बारेमा पनि छलफल हुने कार्यक्रम संयोजक केएल पीडितले बताउनु भयो ।
कार्यक्रममा प्रदेश सांसद अमर बहादुर डाँगी, चलचित्र क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्व नविल सुब्बा, नवल खड्का, चलचित्र समिक्षक अनुप सुवेदी लगायत चलचित्रकर्मीहरु, जनप्रतिनिधिहरु, साहित्यकारहरु, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा डा.अमर गिरी, डा.गोविन्द आचार्य, मुनाल घिमिरे, लोकराज अधिकारी, डा.लोकराज पराजुली लगायतका महानुभावहरुलाई सम्मान गरिएको थियो ।
महोत्सवको दोश्रो दिन भोलि पौष २३ गते बिहान १०:३० बजे होटेल सिटिप्लाजा, घोराहीमा ‘मौलिक चलचित्र नीति र चलचित्र नीति’ विषयक अन्तर्कृया कार्यक्रम राखेको र अन्तर्कृया कार्यक्रममा वक्ताहरु डा.अमर गिरी, नवल खड्का, नवीन सुब्बा र अनुप सुवेदी रहनु भएको संयोजक के एल पीडितले जानकारी गराउनु भयो । साथै अपरान्ह २ बजे सोही होटेलको हलमै एतिहासिक चलचित्र ‘भिमदत्त’ प्रदर्शन हुने पनि जानकारी दिनु भयो ।