चौघेराको गोरखनाथ वैदिक गुरुकुल, सबै माझ लोकप्रिय बन्दै

  • २४ पुष २०७६, बिहीबार ११:२७ मा प्रकाशित
  • -वसन्त अनुभव-
    दाङ,२२ पौष / नेपाल एक धर्म निरपेक्ष राष्ट्र हो । यहाँ विभिन्न धर्म सम्प्रदायका मानिसहरु बस्दै आएका छन । हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता (८०%) रहेको देश नेपाल गणतन्त्रको घोषणा भए पछि हिन्दु अधिराज्य बाट धर्म निरपेक्ष राष्ट्र हुन पुगेको थियो ।

    नेपालमा धार्मिक विद्रोह, झैझगडा नभइ धार्मिक सहिष्णुता कायम रहे पनि हिन्दु धर्म र संस्कृति माथी चारैतिर बाट आक्रमण भैरहेको, गैरहिन्दुहरुले हिन्दुहरुलाई ललाई फकाई, अनेकन प्रलोभन देखाई प्रभावमा पारेर धर्म परिवर्तन गराई रहेको खबर विभिन्न संचार माध्यम, सोसल मिडियामा देख्ने र सुन्ने गरिन्छ ।

    सबैभन्दा पुरानो प्राचीन धर्म र संस्कृतिको रक्षा गर्ने उद्देश्यले विगत २०७५ साल वैशाख २४ गते सकृय, कर्मठ,युवा समाजसेवी तथा ज्योतिष प्रकाश भट्टराईको पहलमा बिधिवत रुपमा घोराही उपमहानगरपालिका वडा नं.१७ चौघेरास्थित गोरक्ष सिद्ध रत्ननाथ मठ परिसरमा गोरखनाथ वैदिक गुरुकुलको स्थापना गरिएको हो ।

    उक्त गुरुकुलको स्थापनामा महर्षी वैदिक फाउन्डेसन नेपालको ठुलो योगदान रहेको छ ।जसले नेपालको हिन्दु धर्म संस्कृतिको जगेर्ना खातिर विभिन्न कार्यक्रम गर्दै आएको छ । करिब आठ महिना पहिले स्थापना भएको उक्त गुरुकुलमा दैनिक रुपमा संस्कृत शिक्षा, व्याकरण, रुद्रिपाठ, कर्मकाण्ड, योग आदि सिकाइने गरिन्छ । शनिबार लगायत सार्वजनिक विदाका दिन, दशै तिहार जस्ता पर्वहरुमा पनि पठनपाठन जारी रहदै आएको छ । स्थापना भएयता निरन्तर पठनपाठन चल्दै आएको गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिनुभयो ।

    दैनिक पठनपाठनका अलावा गुरुकुलले विभिन्न कार्यक्रम, समारोहमा गएर प्रवचन, बटुक/ कन्याहरुद्वारा स्वस्तिवाचन जस्ता कार्य गर्दै आएको छ । साथसाथै गुरुकुलले प्रत्येक शनिबार अभिभावक भेला र सत्संग कार्यक्रम संचालन गर्दै आएको गुरुकुलका अध्यक्ष प्रकाश भट्टराईले बताउनु भयो । साथै अध्यक्ष भट्टराईले बिगत तीन महिनादेखि गुरुकुलमा दैनिक विहान रुद्री पाठ हुँदै आएको समेत जानकारी दिनु भयो । गुरुकुलले यहि पौष १९ गते आफ्नो शनिवारिय कार्यक्रम को ३३ औ शृङ्खला सम्पन्न गरिसकेको छ ।

    प्रत्येक शनिबार हुने अभिभावक भेला र सत्संग कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा काम गर्ने प्रतिष्ठित व्यक्तित्वहरुलाई अतिथिको रुपमा बोलाएर गुरुकुलका गतिविधि अवगत गराउने गरेको छ, जुन निकै लोकप्रिय र आकर्षक बन्न पुगेको छ । कार्यक्रममा अतिथिहरुले गुरुकुलको विकास र जगेर्नाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्ने गरेको अध्यक्ष भट्टराईले बताउनु भयो ।

    गुरुकुललाई अझै स्तरीय, प्रभावकारी बनाउनका लागि प्रकाश भट्टराईको नेतृत्वमा एक समिति पनि गठन गरिएको छ । गुरुकुललाई आजको स्थिति सम्म ल्याउनमा महर्षी वैदिक फाउन्डेसन नेपाल, गाेरक्ष सिद्द रत्ननाथ मठका मठाधिश याेगी देवनाथ, मठका सचिव हिरानाथ याेगी, गुरुकुलका अध्यक्ष प्रकाश भट्टराई, गुरुकुलकि प्राचार्य सन्ताेषी सुवेदी, गुरुकुलका सचिव ताेयनाथ याेगी, सकृय सदस्य शुसिला खनाल, पवन याेगी लगायतका महानुभावहरुको ठूलो योगदान रहेको जानकारी अध्यक्ष भट्टराईले दिनु भयो । साथै उहाँले भबिष्यमा वैदिक र अाधुनिक शिक्षा दुबै मिलाएर अन्तरास्ट्रियस्तरकै उत्कृष्ट गुरुकुलकाे रुपमा विस्तार गर्ने योजना रहेको जानकारी दिनु भयाे ।

    Leave a Reply