कोरोना भाइरसबाट मर्नेको संख्या ८० पुग्यो : २७०० जना संक्रमित

  • १३ माघ २०७६, सोमबार ११:४२ मा प्रकाशित
  • भाइरस थाहा नपाइकनै सर्ने चिनियाँ अधिकारीहरुको भनाइ

    १३ माघ / चीनमा देखापरेको वुहान कोरोना भाइरसको कारण मर्नेहरुको संख्या बढ्दै गएको छ र चिनियाँ अधिकारीहरुले सोही भाइरसको कारण मर्नेको संख्या ८० पुगेको जनाएका छन ।

    सोही भाइरसका संक्रमणमा पर्नेहरुको संख्या चीनमा २७०० पुगेको छ । गत डिसेम्बरमा चीनको वुहानमा देखापरेको सो भाइरस यतिखेर चीनका अन्य शहरहरुमा पनि फैलिँदै गएको छ भने चीन बाहिर पनि त्यस भाइरसबाट संक्रमित रोगीहरु फेला परिरहेका छन् ।

    वुहान भाइरसका कारण चीनका कतिपय शहरहरुमा आवातजावातमा कडाइ गरिएको छ । वुहानमा सार्वजनिक यातायात, स्कुल, कलेज, प्रतिष्ठानहरु बन्द गरिएका छन् । वुहान शहरमा जान र त्यहाँबाट बाहिर आउन प्रतिबन्ध लगाइएको छ । यतिखेर चीनका करिब ६ करोड जनताहरुका जनजीवन यसै भाइरसका कारण नराम्ररी प्रभावित भएको छ ।

    चीन बाहिर विभिन्न १३ स्थानमा वुहान भाइरसबाट संक्रमित रोगीहरु फेला परिसकेका छन् । खतरनाक कुरा के छ भने यो भाइरस कुनै लक्षणहरु देखानपरिकनै एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको पाइएको कुरा चिनियाँ अधिकारीहरुले बताएका छन् । तर यो कुराको आधिकारिक र ठोस पुष्टि भने भइसकेको छैन ।
    साभार:रातोपाटी

    Leave a Reply