
६ माघ, काठमाण्डौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को केन्द्रीय समितिको प्रत्यक्ष बैठक पोखरामा सम्पन्न भएको छ ।
जनवरी १८ र १९ तारिखमा गण्डकी प्रदेशको कास्कीस्थित रुपाकोट रिर्सोटमा सम्पन्न भएको उक्त बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रत्यक्ष बैठकमा विभिन्न मुलुकबाट अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, सदस्य, संरक्षक तथा सल्लाहकारहरु गरी ५८ जनाको सहभागीता रहेको थियो ।
बैठक पश्चात गण्डकी प्रदेशमा लगानी प्रवद्र्धन गर्ने सम्बन्धमा प्रदेश सरकार र गैरआवासीय नेपाली संघबीच अन्तरक्रिया कार्यक्रम समेत भएको संघले जनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ लगायतका प्रदेश सरकारका महत्वपूर्ण निकायका प्रतिनिधीहरु र संघका पदाधिकारीको उपस्थिति रहेको उक्त बैठकले निम्नानुसार महत्वपूर्ण निर्णयहरु गरेको संघका महासचिव हेमराज शर्माले जनाएका छन् ।
१-नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन संघले सक्रियातापुर्वक विभिन्न कार्यक्रमको सुरुवात गरिसकेको छ । यसलाई अझै घनीभूत बनाउन संघका राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को वार्षिक कार्यक्रमको रणनीतिक योजनासहित एकमुष्ट विवरण आगामी १ महिनाभित्र सार्वजनिक गरिनेछ ।

२- बैठकमा बृहत छलफल पश्चात २०१९–२०२१ कार्यकालका लागि विस्तृत कार्ययोजना तयार पारिएको छ । संघका सबै विभागहरुको कार्ययोजनाको विवरणको पुस्तिका १ महिनाभित्र प्रकाशन गरिनेछ ।
३ -एनआरएन विश्व सम्मेलनलाई प्रभावकारी बनाउनका लागि संघको अन्तर्रा्ष्ट्रिय महाधिवेशन नभएको वर्ष, विज्ञ सम्मेलनको साथमा आयोजना गरिने छ ।
४ -नेपाल सरकारको साझेदारीमा अक्टोवर २०२० मा दोश्रो एनआरएन विश्व विज्ञ सम्मेलन गरिनेछ । सम्मेलनलाई परिणाममुखी बनाउन नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरु र संघबीच एक संयुक्त समिति निर्माण गरिनेछ ।
५- बैठकमा परोपकारी एवं मानव कल्याणकारी कार्यका लागि स्थायी प्रकृतिको श्रोत परिचालन गर्नका लागि स्थापना गर्न लागिएको NRNA Foundation को अवधारणापत्रमा बृहत छलफल गरिएको छ । उक्त फाउण्डेसन स्थापना गर्न केही वैधानिक तथा कानूनी कठिनाई समेत पहिचान गरिएकोले यसको समाधान लागि नेपाल सरकारको सम्बन्धित निकायसँग परामर्श तथा संवाद गरिनेछ । साथै अक्टोवर २०२० भित्र NRNA Foundationदर्ता प्रक्रिया समेत अगाडि बढाइनेछ ।
६- संघको सदस्यता वितरण र व्यवस्थापन, अन्तर्रा्ष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्का निर्वाचन लगायतका गतिविधीहरुलाई अत्याधुनिक डिजिटल प्रविधिमैत्री बनाउनका लागि प्रस्ताव गरिएको …Smart NRNA परियोजना’ ६ महिनाभित्र सम्पन्न गरिनेछ ।

७- Smart NRNA परियोजना र NRNA Foundation स्थापनाका लागि विधानमा संशोधन गर्न आवश्यक विषयहरु १ महिनाभित्र पहिचान गरी संघको विशेष महाधिवेशनको मिति समेत तय गरिनेछ ।
८- बैठकमा संघको आर्थिक अवस्था, संघको वित्तिय प्रतिवेदन र तेश्रो पक्षबाट गराइएको डीडीए र आन्तरिक लेखा परिक्षणको प्रारम्भिक प्रतिवेदनमाथि बृहत छलफल गरिएको छ । आवश्यक सबै प्रक्रिया पूरा गरी उक्त प्रतिवेदन यथाशक्य छिटो सार्वजनिक गरिनेछ । संघको वित्तिय विवरणहरु हरेक ३ महिनामा सार्वजनिक गर्ने प्रतिवद्धता अनुसार पछिल्लो ३ महिनाको विवरण १ साताभित्र संघको आधिकारिक वेवसाइटमार्फत सार्वजनिक गरिनेछ । राष्ट्रिय समन्वय परिषद्हरुलाई पनि ३-३ महिनामा आर्थिक वित्तिय विवरणहरु सार्वजनिक गर्न यसै बैठकमार्फत निर्देशन दिइन्छ ।
९ -बैठकले काठमाडौं महानगरपालिकासँग समन्वय गरी नमूना सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउने औपचारिक निर्णय गरेको छ । उक्त योजनाका लागि बैठकमा सहभागीहरुबाट रु ४० लाखको सहयोग संकलन भएको छ । बैठकले छात्रा शौचालयको समस्या भएका विकट तथा ग्रामिण क्षेत्रका विद्यालयसँग सहकार्य गरी शौचालय निर्माणको काम अघि बढाउने निर्णय गरेको छ ।

१०- बैठकले वैदेशिक रोजगारीका समस्या, समाधान र सम्भावनाको पहिचान गरी ६ महिनाभित्र एक श्वेतपत्र तयार गर्न विज्ञहरुको कार्यदल गठन गर्ने निर्णण समेत गरेको छ । साथै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप र क्षमताको सदुपयोग गर्नका लागि उनीहरुको विवरण संकलनका लागि सरकारले अघि सारेको श्रम बैंक कार्यक्रममा सहकार्य गर्ने निर्णय गरिएको छ ।
१२ गैरआवसीय नेपाली संघद्वारा प्रस्तावित र नेपाल सरकारले पनि घोषणा गरिसकेको तर कार्यान्वयनमा नआएको वैदेशिक सामाजिक सुरक्षा कोषको यथाशीघ्र कार्यान्वयन गर्न, तथा महिला कामदारहरुको समस्या समाधान लगायतका विषयमा नेपाल सरकारका सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरिएको छ ।
१३- संसदमा विचाराधीन नागरिकता ऐन संसदको यसै हिँउदे अधिवेशनबाट पारित गरी संविधानमा व्यवस्था गरिए अनुरुप गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न यो बैठक नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ । यस्तै लगानी, सम्पत्ति र गैरआवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसँग जोडिएको गैरआवासीय नेपाली सम्बन्धी ऐनको पुनर्लेखन गर्न र त्यसमा संघले पेश गरेका सुझावहरु समेत समेट्न यसै बैठकमार्फत नेपाल सरकार समक्ष यो संघ विशेष अनुरोध गर्दछ ।
१४- कम्पनीहरुको नाफाको निश्चित प्रतिशत संघको कोषमा जम्मा गर्नका लागि सम्बन्धित सबैलाई अनुरोध गर्ने निर्णय यस बैठकले गरेको छ ।
१५ -अष्ट्रेलियामा लागेको डढेलोको कारण हुन गएको जनधनको क्षतिप्रति गहिरो दुखः व्यक्त गर्दै मृत आत्माको शान्तिका लागि यो संघ कामना गर्दछ । साथै उद्दार कार्यमा सक्रिय सहभागिता जनाउने राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियालाई विशेष धन्यवाद व्यक्त गर्दछ । संसारन्युज बाट साभार