नेपाली राजदूतावास रियादले साउदी अरबका प्रतिष्ठित संचारमाध्यमका केही पत्रकारहरुलाई आमन्त्रण गरी यही मिति २०७६ पुस ५ गते (तदानुसार २१ डिसेम्बर २०१९) मा राजदूतावासमा एक अन्तर्कृयात्मक छलफल कार्यक्रम आयोजना गर्यो ।
उक्त कार्यक्रममा सहभागी पत्रकार मित्रहरुलाई स्वागत गर्दै महामहिम् राजदूत प्रा. डा. महेन्द्र प्रसाद सिंह राजपुतले नेपाल र साउदी अरबबीचको दौत्य सम्बन्धका विविध पक्षहरुमा प्रकाश पार्दै दुई देशबीचको सम्बन्ध विस्तारमा संचार माध्यमले अहम् भूमिका निर्वाह गर्ने बताउनुभयो।विदेशी नागरिकका निम्ति नेपाल विदा मनाउने प्रमुख गन्तब्य स्थलको रुपमा रहेको चित्रित गर्दै राजदूतले उपस्थित मिडिया प्रतिनिधिहरुलाई नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको जानकारी दिनुभयो ।
यसै सन्दर्भमा महामहिम् राजदूतज्यूले उपस्थित सबैलाई नेपाल भ्रमण वर्ष २०२० लाई आ-आफ्ना संचारमाध्यमबाट प्रचारप्रसार तथा प्रबर्द्धन गरिदिन आग्रह गर्नुभयो ।
उपस्थित सम्पूर्ण पत्रकारहरु सकृयता र उत्साहपूर्वक अन्तरकृया कार्यक्रममा सहभागी हुनुभयो । उहाँहरुले विशेषरुपमा नेपालको प्राकृतिक सम्पदा, साँस्कृतिक धरोहर, वनस्पति, वन्यजन्तु, हिमाल तथा पर्वतारोहण आदिका बारेमा जान्न विशेष अभिरूचि देखाउनुभयो । उहाँहरुले यी विषयमा राखेका जिज्ञासाका बारेमा महामहिम् राजदूतज्यू तथा दूतावासका अधिकारीहरुले जवाफ दिएका थिए । उपस्थित पत्रकारहरुले २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने नेपाल सरकारको प्रयासलाई पूर्ण सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको अन्त्यमा सहभागी सम्पूर्णलाई नेपाली चियाका प्याकेट र पर्यटन प्रबर्द्धनात्मक सामग्रीहरु उपहार स्वरुप प्रदान गरिएको थियो ।
कार्यक्रममा Al Watan Newspaper, Riyadh Xpress, Arab Weeks, Safari News, Al Jazirah News, Sayidaty Magazine, UFM Radio, Arab Gulf News, Iqraa TV Channel, Al Hayat News, Saudi Gazette, Al riyadh Newspaper, Ruh-Rd, Saudi TV, Saudi News50, Sabq Newspaper, Arab News, Tarjamat, Asharq Alawasat लगायतका सम्पादक, रिपोर्टर, टिभी प्रस्तोता र प्रतिनिधिहरु गरी पन्ध्र जनाको सहभागिता रहेको थियो।
नेपाली राजदूतावास, रियादको फेसबुक पेजबाट साबार