अमेरिकी डलरको भाउ सस्तिएको छ। एक महिनाअघि डलरको भाउ निरन्तर उकालो लागेर एक डलर खरिद मूल्य ११६ रुपैयाँ पैसासम्म लाग्ने गरेको थियो । तर, अहिले घटेर ११३ रुपैयाँ ६० पैसामा आएको छ।डलरको भाउमा एक महिनाकोबीचमा करिव २ रुपैयाँ ५० पैसासम्म घटेको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आज (आइतबार) का लागि एक डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ।
यसको अर्थ एक महिनाअघि सर्वसाधारणले एक डलर खरिद गर्न ११६ रुपैयाँ तिर्नु पर्ने थियो। तर, आज एक महिना पहिलेको भन्दा करिव साढे २ रुपैयाँ कम अर्थात ११३ रुपैयाँ ६० पैसा तिरे हुने भएको छ।
डलर कमजोर बन्दै गएको छ भने नेपाली रुपैयाँ केही बलियो देखिएको छ।नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर (फिक्स्ड पेग) भएका कारण भारु बलियो हुनासाथ नेपाली रुपैयाँ पनि बलियो र कमजोर हुँदा कमजोर हुने गरेको छ ।
नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो ंहुने गर्छ । डलर कमजोर भएका कारण उपभोक्ताले विदेशी सामान किन्दा सस्तो मूल्यमा किन्न पाउँछन्।
भारतीय मुद्रा बलियो हुनुलाई भारतको अर्थतन्त्र बलियो हुँदै गएको संकेतका रुपमा लिन सकिने विज्ञ बताउँछन्। २०७५ साल असोज २६ गते डलर मजबुत हुँदै गएर एक डलर किन्न एक सय १९ रुपैयाँसम्म तिर्नुपरेको थियो।
त्यसपछि डलर निरन्तर कमजोर हुँदै आएको थियो। तर, पछिल्लो समय पुन भारतको अर्थतन्त्र बलियो हुन थाल्दा डलर कमजोर हुन पुगेको हो।
साभार नेपाल न्युज