विद्यालयस्तरीय नृत्य प्रतिभाको खोजी

  • १२ पुष २०७६, शनिबार २२:४८ मा प्रकाशित
  • वसन्त अनुभव-
    घोराही, १२ पुस/घोराही उपमहानगरपालिका वडा नम्बर २ ले विद्यालय स्तरबाट नृत्य प्रतिभाको खोजी गरेको छ । वडा भित्र रहेका ८ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागीतामा प्रतियोगिता गराई विजयीहरुलाई आज पुरस्कार बितरण गरिएको छ ।

    नृत्य प्रतियोगितामा प्रथम स्मृती आचार्य, दोस्रो पूर्णिमा के.सी., तेस्रो रोशनी थापा र सन्ध्या परियार र सान्त्वना विशाल खड्का हुनुभएको छ । प्रथमलाई शिल्ड, प्रमाणपत्र र नगद २५ हजार रुपैयाँ, दोस्रो हुनेलाई शिल्ड, प्रमाणपत्र सहित १५ हजार, तेस्रो हुनेलाई पाँच पाँच हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

    प्रतियोगितामा सान्त्वना हुनेलाई शिल्ड, प्रमाणपत्र र नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । वडा अध्यक्ष केशबराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विजयी प्रतिभाहरुलाई नगरका उपप्रमुख सीता सिग्देल न्यौपाने, शिक्षा महाशाखा प्रमुख विनोद गौतम र सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले पुरस्कार प्रदान गर्नुभएको हो ।

    कार्यक्रममा प्रमुख आतिथी न्यौपानेले विद्यार्थीको कला र प्रतिभा खोजी गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रतिभाहरुको खोजी गर्ने, उत्साहित गराउने, प्रोत्साहन गर्न स्थानिय सरकार प्रतिबद्ध रहेको भन्दै शिक्षण सिकाईमा पनि ध्यान दिन सुझाब दिनुभयो ।

    साथै प्रतियोगितामा प्रथम हुनुभएकी स्मृती आचार्यले पाएको २५ हजार रुपैयाँमा २५ हजार रुपैयाँ थप गरी ५० हजार रुपैयाँको सरयू प्राविमा हजुर बुवा कुलप्रसाद आचार्य स्मृती अक्षकोषको स्थापना गर्नुभएको छ ।

    यसैविच वडा कार्यालयले शिक्षक, कर्मचारी, टोल विकास संस्था, जेष्ठ नागरिकलाई सम्मान समेत गरेको छ । साथै वडा अध्यक्ष केशबराज आचार्यले आफ्नो जन्मदिनको अबसरमा वडामा रहेका ८ वटा सामुदायिक विद्यालयका बाल विकासमा पढ्ने विद्यार्थीहरुलाई झण्डे डेढ लाख रुपैयाँको कापी वितरण गर्नुभएको छ ।।

    Leave a Reply