“खसी लान सके जन्ता खुशी हुन्छन्” सहायक मुखिया नारायण बहादुर शाही

  • १७ मंसिर २०७६, मंगलवार १०:१८ मा प्रकाशित
  • बसन्त अनुभव
    दाङ

    घुमन्ते जंगली जीवन ब्यतित गर्दै बनका कन्दमुल, जनावर मारेर खाने गरेका राउटे समुदायका मानिसहरु जंगलमा पाल टाँगेर बस्ने गरेका छन् । उनीहरुको जिविकोपार्जन सरकारले दिने गरेको पाल, लत्ताकपडा, सामाजिक सुरक्षा भत्ता लगायत सहयोग मागेर, काठका सामानहरु जस्तै कोसी, खाट, पिर्का बेलना आदि बनाई बेचेर चल्ने गरेको छ । पहिले एक ठाँउबाट अर्को ठाँउ डुलिराख्ने राउटे समुदायका मानिसहरु हाल भने कर्णाली प्रदेशको दैलेख जिल्लाको गुराँस गाँउपालिकाको जंगलमा बस्ने गरेको राउटे समुदायका मुखीया मैन बहादुर शाहीका छोरा सहायक मुखीया नारायण बहादुर शाहीले बताएका छन् ।

    राउटे बस्तीमा खाद्यान्नको अभावका कारण सहयोग माग्न साथी मनबिर सहित दैलेखबाट सुर्खेत हुँदै दाङ आइपुगेका शाहीले नगरपालिकासँग खसी माग्ने बताएका छन् । बस्तीमा खसी लिएर जादा जन्ता खुशी हुने उनको भनाई छ । करिब २०० जनाको समूहमा बस्दै आएका राउटे समुदायमा विस्तारै जनचेतना बढ्दै गएको कुरा उनले बताएका छन् । कहिल्यै ननुहाउने राउटे समुदायका मानिसले जाडोमा महिनाको दुई पटक र गर्मीमा तीन÷चार पटक सम्म साबुन पानीले नुहाउने, हातमुख धोएर मात्र खाना खाने, विरामी पर्दा डाक्टर कहाँ उपचार गर्न जाने, सुई लगाउने गरेको उनले बताए ।

    राउटे जातीमा ठकुरी, राजकोटी र सुवंशी गरी तीन थर हुने र फरक थरमा मात्र मागी विवाहको प्रचलन रहेको तर भागी विवाह भने नहुने उनले बताए । केटीमाग्न केटाका बाबुआमा केटीको आमाबाबु कहाँ माग्न जाने प्रचलन रहेको पनि बताए । विवाह गर्दा समुदायका सबै मानिसहरु जम्मा भएर खसी काटेर भोज गर्ने, जाँडरक्सी खाने, नाचगान गरी रमाइलो गर्ने चलन रहेको बताएका छन् । राउटे समुदायमा पनि दाजुभाई छुट्टिएर अलग अलग छाप्रो बनाइ बस्ने प्रचलन रहेको र आफु पनि छुट्टिएर बसेको बताए । राउटेहरुले इष्ट देवताको रुपमा दाह्रे मष्टलाई पुज्ने गरेको बताए । समुदायमा कसैको मृत्यु भएमा भने चितामा नजलाई खाल्डो खनी गाडेर दाहसंस्कार गर्ने चलन रहेको बताए ।

    Leave a Reply