• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: समीक्षा

युवराज भण्डारीको ‘आफन्त र आँसु’सँग साक्षात्कार गर्दा

  • ३१ श्रावण २०८३, आईतवार १३:४५ मा प्रकाशित
  • पाठकीय दृष्टिकोण

    सुरेशकुमार पाण्डे

    आजभन्दा करिब ३५ वर्ष पहिले २०४८ माघ १० गते पिता भिउसीन भण्डारी र माता ठइकुमारी भण्डारीको कोखबाट नौबहिनी गाउँपालिका- ८, प्युठानमा जन्मिएका युवराज भण्डारी एक सक्रिय साहित्यकार हुन् । यस अघि नै २ वटा एकल कृति प्रकाशित गर्न सफल भण्डारीको ‘आफन्त र आँसु’ उपन्यास तेस्रो कृति बन्नपुगेको छ ।
    प्रस्तुत उपन्यास ‘आफन्त र आँसु’मा कभर पृष्ठबाहेक कुल ९६ पृष्ठ रहेका छन् भने जसमध्ये केवल ८६ पृष्ठभित्र उपन्यासको कथा बुनिएको छ ।

    फ्रन्ट कभर पेजमा शीर्षक, बिचमा तीन जना महिला भिन्दाभिन्दै मुद्रामा र एउटा पुरुषको तस्बिर रहेको छ । सबैभन्दा तल लेखकको नाम आकर्षक ढङ्गले लेखिएको छ भने ब्याक कभर पेजमा लेखकको परिचय साथै उपन्यासभित्रको सटिक गहन शब्दहरू र फ्रन्ट कभर फोटो रहेको छ ।
    ‘आफन्त र आँसु’ मानसिक शान्ति र आत्मबलका लागि जीवन दर्शनसम्बद्ध विषयवस्तुमा लेखिएको एक सशक्त, कारुणिक उपन्यास हो । व्यक्तिलाई जीवनको दर्शनसँग एकाकार गराउनु नै उपन्यासको सार हो ।

    यस कृतिको लोकार्पण वि.स. २०८३/०४/२४ गते लुम्बिनी प्रदेशको राजधानी अवस्थित दाङ जिल्लाको राप्ती गा.पा.मा अवस्थित भृकुटी महिला विकास वचत तथा ऋण सहकारी संस्थाको हलमा भएको थियोे । भृकुटी महिला विकास सहकारी संस्था आयोजनक र देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च प्रायोजक रहेको थियो।

    यस पुस्तकभित्र प्रवेश गर्नुपूर्व यसको लोकार्पणको परिवेशलाई थोरै भए पनि उल्लेख गर्न चाहान्छु । यो भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाले जसरी यस उपन्यासकै माध्यमबाट साहित्यिक यात्रामा पाइला टेकेको छ । यो अत्यन्तै सान्दर्भिक लाग्यो । सयौँको सङ्ख्यामा महिलाहरूको उपस्थिति, महिलाद्वारा नै कार्यक्रम उद्घोषण, सभाध्यक्ष र समीक्षक लगायत प्रमुख अथिति पनि महिला नै हुनुले कार्यक्रमको ओझ बढाएको । यसले के देखाएको छ भने महिला पुरुषको तुलनामा कत्ति पनि कम छैनन् । पुरुषप्रधान समाजले महिलामाथि गरेका अन्याय, अत्याचारको विरुद्धमा महिलाहरू जुर्मुराउँदै छन् ।

    यद्यपि यस कृति समीक्षा तीन जनाले गरेका थिए । जेहोस् कार्यक्रम राम्रो भयो । महिलाहरू भित्रभित्रै कुण्ठित भएको बेला, देश विदेशमा महिलाहरूले नारकीय जीवन व्यतित गरिरहेकोबेला, तीज पर्वको संघारमा यो कृति आएको छ । जसले महिलाहरूलाई नयाँ सोचले नयाँ ढङ्गले उर्जा थप्ने काम गरेको छ ।

    पुस्तक महिलाद्वारा सुनाएको वियोगान्त कथावस्तुमा आधारित छ । त्यसैले यो महिलाको लागि उपयोगी हुनसक्छ भन्ने अनुमान गरिए पनि यो पुस्तक महिला र पुरुष दुवैको लागि उत्तिकै उपयोगी भएको मेरो ठम्याई छ ।

    परिवारभित्र कसरी मानसिक रोग पैदा हुन्छ र डिभोर्स सम्मको अवस्था सृजना हुन्छ र अझै झ्यागिँदै जान्छ । न कसले यो रोगलाई रोक्नका लागि कुनै उपाय नै अवलम्बन गरेका हुन्छन् । यस्तै विषयवस्तु आधारित यो उपन्यासले कतै ज्ञान दिएको छ त कतै पीडाले हृदय छोएको छ, भावुक गराएको छ ।

    यसमा लेखक आफू पुरुष भए पनि महिलाभित्र पसेर उनीहरूभित्रको पीडा, उनीहरूको मर्मलाई समाजमा डोराउन सफल देखिन्छन् । त्यतिमात्र होइन समाजलाई सचेत बन्न नवीनतम् सन्देशसँगै झकझकाएका छन् ।

    यसमा म पात्र, जसले आफैँ प्रेमको मूल्य चिन्न नसकेको पछुतो मानी आफ्नै प्रेमिकाको कथा लेख्न हिँडेका छन् । उनी हिँड्दा हिँड्दै सुदुरपश्चिमको एउटा चिया बगानमा पुग्छन् । त्यहाँ उनले चिया बगानमा काम गर्दै गरेका केही महिलाहरूको बिचमा एउटी यस्ती पात्र भेटाउँंछन् जसले उनलाई उसको बारेमा बुझ्नलायक बनाइदिन्छ ।

    यहीँबाट सुरु हुन्छ उपन्यासको कथा उनी सुनाउँदै जान्छिन् आफ्नै बारेमा । लेखकले यहा अर्कै महिला पात्र खडा गरेर समाजमा महिलाको वर्तमान अवस्थामा दर्शाउछन् । उनीहरू निर्दोष हुँदाहुँदै पनि कसरी दोषी ठहर हुन्छन् ?
    पुरानो पुस्ता र नया पुस्ताको बिचमा भएको वास्तविक समस्या एकले अर्काको मर्म बुझ्न नसक्दा जन्मिएको झिनामसिना रोगहरू भित्रभित्रै गुम्सिदा भयानक बन्न पुग्छन् । जब त्यो रोग मात्रात्मक अवस्थाबाट गुणमा प्रवेश गर्छ, त्यसलै आफ्नै घनिष्ठ मानिनेहरू द्वारा नै त्यो फैलिन्छ । हाँस्दो खेल्दो सुन्दर परिवारमा दरार पैदा हुनसक्छ ।

    यसलाई लेखकले अत्यन्तै सतहमा पुगेर गहन विचारद्वारा समाजलाई सन्देश दिने प्रयास भएको छ । एउटी सानी छोरी जब बाआमा छुट्टिन थालेका हुन्छन्, त्यतिबेला बच्चामा के बित्छ ?आमाको काखबाट चिच्याएर छोरीले ‘बाबा भोक लाग्यो’ भन्छे । त्यो शब्दले धेरैका आँखामा आँसु र मन मष्तिकलाई झकझकाइदिन्छ।

    त्यो बेला सामान्य जस्तो लाग्छ किनकि त्यो अबोध बालिकालाई के थाहा के भइरहेको छ ? तर त्यो पछि ठूली भएपछि उसले पनि यसबारेमा बुझ्ने छे । न बाको दोष, न आमाको, न छोरीको तर छोरीलाई बा आमाको स्नेहको आवश्याकता नभइनहुने अवस्थामा उनिहरू छुट्टिएका छन् । त्यो बालिकालाई उसको अधिकारबाट वञ्चित गरेका छन् । यस्तो दु:खको घडीमा पनि आफन्तिहरू उनीहरूलाई छुट्टाउन लागिपरेका हुन्छन् । कहिले सम्पत्तिकोलागि लडेका हुन्छन् । यस्तो घडीमा म पात्र चुप लाग्न सक्दैनन्, उनले आफूलाई केही पनि चाहिँदैन भनेर एउटा सकारत्मक सन्देश दिएकी छन् । आजको यो पुँजीवादी समाजमा उनले धन सम्पत्तीभन्दा परिवारको संझना बोकेर जान्छिन् ।
    यहाँ अत्यन्तै मार्मिक क्षण पैदा भएको छ तर आफन्तिहरू लाखपाखा लागिसकेका छन् । एउटी चेली घरबाट माइत फर्किदा पनि उनीहरू खुसी छैनन् । जसरी भए पनि उसलाई कतै बिहे गराइदिने प्रयासमा हुन्छन् ।
    वास्तवमा माइत पनि बाआमा छँदासम्म पनि हुँदैन बरु बाआमाले घरको नेतृत्व समाल्दासम्म छोरी माइतमा बस्नसक्ने वातावरण हुनसक्छ तर त्यसपछि बाबा आमापनि आँसु बगाउने सिवाय केही गर्न सक्दैनन् । लाचार र असहाय हुनेरहेछन् भन्ने उनीहरूको व्यवहारले प्रष्ट पारेको छ ।

    सासू, ससुरा, स्वामी, नन्द, आमाजू, दाइभाइ, बुहारी, भाउजू लगायतका सहायक पात्रहरू छन् र दुवैजनाकी एउटी छोरी पनि छन् । मुख्य पात्र महिला, उनको श्रीमान, सासू आमा र स्वयम् लेखक नै हुन् । लेखकले आफ्नो लेखकीयमा पुस्तकको बारेमा आफैँले प्रष्ट पारेका छन् ।

    उपन्यास राम्रो र सन्देशमुलक छ ।पठनीय र सङ्ग्रहणीय पनि छ । अन्तिममा लेखकले पछि सवालजवाफमा केही झिनामसिना त्रुटी पनि गरेका छन् । कति महिलाले बोल्दा उनी र उसले भनेका शब्दहरू पनि भेटिन्छन् । सवालजवाफ गर्दा लेखकद्वारा कथालाई अलिक लम्बाउने प्रयास गरेको जस्तो देखिन्छ। तर पनि उपन्यास अत्यन्तै राम्रो, पठनीय छ ।सामान्य टेक्निकल कमिकमजोरीका बावजुद पुस्तक पारिवारसँगै बसेर अध्ययन गर्न सकिने रहेको छ ।

    २०८३/०४/२६

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged युवराज भण्डारी, वसन्त अनुभव, समीक्षा, सुरेशकुमार पाण्डे

    विलोम लघुकथा ‘स्वाद’ को भित्री स्वाद

  • २८ श्रावण २०८२, मंगलवार ०७:४४ मा प्रकाशित
  • ✍️ नन्दलाल आचार्य

    १. शीर्षक र विलोम शिल्पको प्रयोग
    दीपक लोहनीद्वारा लिखित विलोम लघुकथाको शीर्षक “स्वाद” हो, तर यथार्थमा कथा स्वादको अनुभवभन्दा पनि स्वाद भेटाउने प्रक्रियाको व्यङ्ग्यात्मक विलोम प्रस्तुति हो । ‘विलोम लघुकथा’ मा प्रायः परम्परागत शैलीको उल्टो प्रवाह, घटनाको अघिल्लो अनुक्रम वा सामान्य तर्कको व्युत्क्रम अपेक्षा गरिन्छ । तर यहाँ विलोमको प्रयोग शुद्धतः शारीरिक क्रियाको ‘नाटकीय उल्टोपन’मा सीमित देखिन्छ, जसले कथालाई पारम्परिक विलोमभन्दा बढी आभासी व्यङ्ग्यात्मक टोन दिन्छ ।

    २. शैलीगत रचनाशिलता

    लेखकले संवादात्मक शैली अपनाएका छन्, जुन लघुकथामा ‘लघुता’ र ‘नाटकीयता’ ल्याउने राम्रो उपाय हो । संक्षिप्त वाक्य, ‘मैले भनेँ- उनले गरिन्’ को दोहोरिएको संरचना कथामा हास्यको लय सिर्जना गर्छ । यसले पाठकलाई एउटा ‘नाट्य-चक्र’मा लैजान्छ, जसले कथा पढ्नु भन्दा कथा हेर्नु जस्तै अनुभूति दिन्छ ।

    तर, यही शैली पुनरावृत्त भएको कारण शब्दको स्वादभन्दा व्यवहारको यान्त्रिकता बढी महसुस हुन्छ ।

    ३. विषयवस्तु र व्यङ्ग्यको सन्दर्भ

    कथाले साहित्यिक स्वाद पाउन बाह्य वातावरण र स्थितिलाई मात्र जिम्मेवार ठान्ने प्रवृत्तिलाई व्यङ्ग्य गरेको देखिन्छ । कहिलेकाहीं पाठकलाई कथा मन नपर्नु वा ‘स्वाद नपाउनु’ आफ्नै मनोवृत्ति वा पाठकीय शैलीको अभाव हुन सक्छ भन्ने सोचलाई यस कथाले व्यङ्ग्यात्मक रूपमा उद्घाटन गरेको छ ।

    ‘स्वाद’ पाउन पात्रलाई सयनकक्ष लैजानु, बिजुली निभाउनु, पर्दा लगाउनु, सिरानी प्रयोग गर्न लगाउनु यी सबै क्रियाहरूले ‘अध्यात्मिक एकाग्रता’ होइन, शारीरिक सङ्केत उत्पन्न गर्छन् । यसले कथालाई सौम्य कामुक व्यङ्ग्यको धारमा पुर्‍याउँछ । ‘ब्रह्मलीन भएर पढिन्’ भन्ने वाक्य यसैको प्रतीक हो ।

    ४. लघुकथाको प्रभावकारिता

    कथाले पाठकमा पहिलो पंक्तिबाटै जिज्ञासा सिर्जना गर्छ । त्यस जिज्ञासालाई मनोरञ्जन र व्यङ्ग्यको झोलामा राखेर ‘आहा !’ भन्ने वाक्यमा विसर्जन गर्छ । यहाँ ‘आहा !’ शब्द आफैं बिजवाक्य बनेको छ, जसले दर्शक/पाठककै अनुभूति दोहोर्‍याएको जस्तो लाग्छ ।

    यद्यपि, केही पाठकले यसमा यथार्थभन्दा कामुक व्यङ्ग्य बढी देख्न सक्छन् । यसको भाषा सङ्केतात्मक भए पनि विलासिता र सौम्यता बीचको सन्तुलन कहिलेकाहीँ चिप्लिन्छ। त्यसैले सबै पाठकले यसलाई सहज रूपमा ग्रहण गर्न सक्दैनन् ।

    ५. समालोचनात्मक निचोड

    ‘स्वाद’ विलोम लघुकथा आफ्नो शीर्षकको अर्थ उल्टाउँदै स्वाद पाउन गरिएको हास्यास्पद प्रयत्नलाई व्यङ्ग्य बनाउँदै अगाडि बढ्छ । कथा मूलतः साहित्यिक स्वाद र भौतिक स्वादबीचको द्वन्द्वलाई पृष्ठभूमिमा राखेर पाठकीय मनोविज्ञानमा टिप्पणी गर्छ ।

    यो कथा समालोचना, साहित्यिक सर्कल र गम्भीरताका खोलामा लुकेका बनावटीपनहरूलाई लक्षित व्यङ्ग्य हो भनेर बुझ्न सकिन्छ । तर, त्यसका लागि पाठकमा पनि कथा बुझ्ने स्वाद हुनुपर्छ । होइन भने, उनी पनि सोफामा बसेर भनिदिन्छन्; “अहँ, स्वाद भेटिएन ।”

    दीपक लोहनीद्वारा रचित विलोम लघुकथा ‘स्वाद’ ले अत्यन्तै रोचक, गहिरो र बहुआयामिक सन्देश दिन्छ। कथाले हाँस्य, व्यङ्ग्य र विम्बमार्फत एकैसाथ व्यक्तिगत र सामाजिक स्तरमा थुप्रै विषयमा टिप्पणी गरेको छ। यस लघुकथाले दिने मुख्य सन्देशलाई तार्किक, सान्दर्भिक र स्वभाविक रूप मा यसरी बुझ्न सकिन्छ:

    ६. सन्देश

    ६.१. स्वाद अनुभूतिको कुरा हो, सजावटको होइन

    यो कथा यिनै वाक्यबाट सुरु हुन्छ- “म विलोम लघुकथामा स्वाद भेट्दिन”। कथाले सुरुमा नै स्वाद ‘भेटिने’ हो कि ‘भोगिने’ भन्ने प्रश्न उठाउँछ । पात्रले स्वाद पाउन अनेक भौतिक प्रक्रिया (जस्तै: सयनकक्ष जानु, पर्दा लगाउनु, बिजुली निभाउनु, पलङमा पल्टनु आदि) अपनाउँछिन्, तर स्वाद तबमात्र आउँछ जब उनी साँच्चिकै ‘ब्रम्हलीन भएर’ कथा पढ्छिन् । सन्देश यही हो – साहित्यमा स्वाद प्राप्त गर्नका लागि शारीरिक अवस्था वा वातावरणको होइन, मानसिक एकाग्रता र आत्मीयताको खाँचो हुन्छ ।

    ६.२. स्वाद पाठकको मानसिकता र तयारीमा निर्भर गर्छ

    साहित्यिक स्वाद लेखकले होइन, पाठकले महसुस गर्ने कुरा हो । लेखकले केवल माध्यम तयार गर्छ । यदि पाठकको मन एकाग्र छैन, उनी पूर्वाग्रही छन्, या सतही छन् भने जति राम्रो कथा लेखे पनि स्वाद आउँदैन । तसर्थ  पढ्ने दृष्टिकोण नै स्वाद पाउने चाबी हो।

    ६.३. साहित्य पढ्न अभिनय होइन, अनुभव चाहिन्छ

    यो कथा व्यङ्ग्यात्मक रूपमा आधुनिक पाठकीय प्रवृत्तिको नक्कलप्रति टिप्पणी हो । दृश्य यस्तो बनाइएको छ, पात्र पढ्नुअघि अभिनय गर्छिन्, साजसज्जा मिलाउँछिन्, तर यथार्थमा पढ्दैछिन् कि “पढेको अभिनय” गरिरहेकी छन्, स्पष्ट छैन । कथाले भन्छ- पढ्नु भनेको देखाउने कुरा होइन, भित्र गहिरिएर बुझ्ने कुरा हो ।

    ६.४. स्वाद, साहित्य र सम्बन्धबीचको लुकेको सन्देश

    यस कथामा साहित्यको स्वाद मात्र होइन, पात्रबीचको अन्तरसम्बन्ध र आकर्षणको स्वाद पनि चल्दैछ । लेखक स्रष्टाको विम्बमा छन्, र पाठक पात्रले उनलाई ‘आँखाको इशाराले’ डाक्छिन् । यो एउटा साहित्यिक र शारीरिक समीपताको विम्ब हो । त्यसैले, साहित्यिक सम्पर्क केवल पाठ र लेखकबीचको सम्बन्ध नभएर अनुभव र आत्मीयताको गहिरो संवाद पनि हो ।

    ६.५. ‘विलोम’को प्रयोग स्वयं एक गहिरो व्यङ्ग्य हो

    ‘विलोम लघुकथा’ भनेर लेखिएको यो कथा वास्तवमा विलोम प्रवृत्तिको व्यङ्ग्य हो । जहाँ पाठक उल्टो दिशा लाग्छन् अर्थात् सरल विषयलाई जटिल बनाउँछन्, भावनालाई शरीरमा बदल्छन्, र स्वादलाई दृश्य सजावटमा खोज्छन् । लेखकको भनाइ, “शैली उल्टो छ, सुल्टो सम्झी पढ” भन्ने वाक्य आफैँमा कथाको आधारभूत सन्देश हो । जुन कथा उल्टो देखिन्छ, त्यो सुल्टो बुझ्ने प्रयत्न गर्न सक्ने मनोवृत्तिले नै स्वाद जन्माउँछ।

    यो कथा भन्छ; “स्वाद देखिने कुरा होइन, बुझिने अनुभूति हो । बुझ्न मन चाहिन्छ, देखाउन पर्दा होइन ।”

    ७. निष्कर्ष

    दीपक लोहनीको ‘स्वाद’ एउटा छोटो, हँसिलो र गहिरो लघुकथा हो जसले हाम्रो पढ्ने शैली, पाठकीय व्यवहार, र स्वादप्रतिको सोचलाई चुनौती दिन्छ ।  कथा गम्भीर पाठकीयता र ‘स्वाद’ को अपेक्षा गर्नेहरूको मनोदशामाथि लेखिएको सटिक व्यङ्ग्य हो । लेखन सरल छ, तर सन्देश गहिरो र चोटिलो छ । कथाले सोध्छ- ‘स्वाद पढेर आउँछ कि अनुभव गरेर ?’ र अन्त्यमा स्वयं उत्तर दिन्छ- ‘आहा !’
    ०००
    (विलोम लघुकथा)
    🔴  विलोम लघुकथा- स्वाद
    ✍️ दीपक लोहनी

    ‘म विलोम लघुकथामा स्वाद भेट्दिन ।’ उनले भनिन् ।
    मैले भनेँ, ‘शैली उल्टो छ । सुल्टो सम्झी पढ, सजिलै स्वाद पाइन्छ ।’

    उनी सोफामा बसेर, झ्यालको हावा खाँदै विद्युतीय प्रकाशमा लघुकथा पढ्न थालिन् ।

    – ‘स्वाद भेटियो ?’
    – ‘अहँ ।’

    मैले सयन कक्षमा पढ्न सुझाएँ ।
    – उनी सयन कक्षमा पसिन् ।

    पर्दा लगाउन अह्याएँ ।
    – उनले पर्दा लगाइन् ।

    मैले बिजुली अफ गर्न भनेँ ।
    – उनले त्यो पनि अफ गरिन् ।

    पलङमा पल्टन भनेँ ।
    – उनी निसङ्कोच उत्तानो पल्टिन् ।

    सिरानी प्रयोग गर्न लगाएँ ।
    – उनले सिरानीमा मुन्टो राखिन्।

    मैले ‘सिरानी कम्मरमुनी राख ।’ – भनेँ ।
    – उनले त्यसै गरिन् ।

    ‘स्रष्टालाई डाक ।’ – अह्याएँ ।
    – उनले आँखाको इशाराले मलाई डाकिन् ।

    उनको समीप पुगेर भनेँ – ‘अब पढ ।’
    – उनले ब्रम्हलीन भएर पढिन् ।

    पढाइ सकिसकेपछि सोधेँ-
    ‘कस्तो रहेछ विलोम लघुकथा ?’
    उनले जिब्रो पड्काउँदै भनिन्- ‘आहा !’

    ०००
    कुरिलो घर
    काठमाडौं ।
    ~~~~~~~
    (उत्तरकथा)
    🔴 विलोम लघुकथा- स्वादको भित्री ढोका
    ✍️ नन्दलाल आचार्य

    ‘स्वाद छैन’ भन्ने मेरो हठ, विलोम लघुकथाको शैलीप्रति हो कि आफ्नै पढ्ने तरिकाप्रति ?

    त्यो रात, म पढ्दै थिएँ- बत्तीको उज्यालोमा, आँखा टोलाउँदै, मन बिना ध्यान…
    उनले भने, ‘शैली उल्टो छ, सुल्टो सम्झी पढ, सजिलै स्वाद पाइन्छ ।’

    शब्दहरूको अर्थ मात्र हैन, ढाँचाको पनि स्वाद हुँदोरहेछ भन्ने ज्ञान मलाई पहिलोपटक त्यही साँझ भयो ।

    सोफा त्यागेँ, शरिरलाई लचिलो बनाएँ, सोचलाई खुला-
    सयनकक्षमा पस्न खोज्दा, मैले साँच्चै कथा भित्र पस्ने पहिलो प्रयास गरेँ ।

    पर्दा तान्दा, साँच्चिकै संसारको भीड रोकिएझैँ लाग्यो ।
    बत्ती निभाउँदा, कथा उज्यालिन थाल्यो-
    बाहिरी प्रकाश मरेर, भित्री चित्रहरू उफ्रिए ।
    पलङमा पल्टिँदा, म स्वयं कथाको पात्र भएँ,
    र सिरानी कम्मरमुनी राखेँ, किनकि सोच तलबाट माथि आउन थाल्यो- मस्तिष्क होइन, मेरुदण्डबाट !

    ‘स्रष्टालाई डाक’ भन्नु, माने- कथामा लेखकसँग संवाद गर ।
    ‘उनी’ले त आँखाको इशाराले बोलाइन्,
    तर मैले त स्रष्टाको शब्दहरूलाई मनको पर्दामा देख्न थालें-
    त्यो रात म विलोम कथा मात्र होइन, कथा पढ्ने तरिका पढ्दै थिएँ ।

    र, त्यो ‘ब्रहमलीन’ पल…
    शब्दहरूसँग विचार पनि पल्टिए,
    कथाको ‘उल्टो शैली’ अब उल्टो लागेन, त्यो त मलाई सिधा लाग्न थाल्यो ।
    र, अन्त्यमा मलाई पनि उस्तै महसुस भयो- ‘आहा !’

    अब जो-कोही भन्छन्-
    ‘म विलोम लघुकथामा स्वाद भेट्दिन’,
    म भन्छु-
    ‘स्वाद पाउन कथा पढ्ने हैन, कथाले तिमीलाई पढ्न थालोस् । अनि मात्र स्वादले जिब्रो होइन, आत्मा पड्किन्छ ।’
    ०००
    २०८२/०४/२०

    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged दीपक लोहनी, नन्दलाल आचार्य, लघुकथा, समीक्षा

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P