• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: खेल

भोलिबाट साफ च्याम्पियनसिप, नेपाली टोलीको कतार भ्रमण र आशा

  • १४ आश्विन २०७८, बिहीबार १७:३६ मा प्रकाशित
  • काठमाडौं।कोरोना भाइरस महामारीबीच एक वर्ष धकेलिएको दक्षिण एसियाली प्रतिष्ठित साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १३औँ संस्करण माल्दिभ्समा भोलिबाट सुरु हुँदै छ । हरेक दुई वर्षमा हुने साफ च्याम्पियनसिप कोरोनाकै कारण धकेलियो ।

    खासमा यस पटक साफ आयोजना गर्ने बंगलादेशले जिम्मा पाएको थियो । कोरोना र मुख्य प्रायोजन लिएर धेरै दबाब खेप्न नसकेको बंगलादेश फुटबल फेडेरेसनले आयोजनाबाट नाम फिर्ता लियो । यसपछि नेपाल र माल्दिभ्सले साफ आयोजनाको लागि प्रस्ताव गरे । दुवै टोलीलाई केही सर्त राखियो ।

    त्यसमा माल्दिभ्स नेपालभन्दा बलियो देखियो र दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यसमिति बैठकले माल्दिभ्सलाई आयोजनाको स्वीकृति दियो । योसँगै १३औँ संस्करणको साफ १–१६ अक्टोबरसम्म माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आयोजना हुनेछ ।

    यस पटक साफमा पाँच राष्ट्र मात्र सहभागी हुनेछन् । भुटानले कोरोना कारण सहभागी नहुने बताउँदा फिफाको प्रतिबन्धका कारण पाकिस्तानले सहभागिता जनाउने छैन । सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुने साफमा साविक विजेता माल्दिभ्स, साविक उपविजेता भारतसहित नेपाल, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । तालिकाको शीर्ष दुईमा रहने टोली दक्षिण एसियाली च्याम्पियन बन्नेछ ।

    गत फागुनमा नेपालले मुख्य प्रशिक्षकमा कुवेती नागरिक अब्दुल्लाह अल्मुताईरीलाई भित्र्याउँदै साफको योजना र प्रशिक्षण सुरु गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अल्मुताईरीलाई आफ्नो मुख्यालयमा भित्र्याउँदै गर्दा उनले आफ्नो मूख्य लक्ष्य नेपाललाई साफको उपाधि दिलाउने बताएका थिए । उनले एन्फासँग सहयोग माग्दै खेलाडीलाई बढीभन्दा बढी अभ्यास दिन आग्रह गरे ।

    त्यसयता, नेपाली टोली लगातार केही प्रतियोगिता, केही मैत्रीपूर्ण खेल, बन्द प्रशिक्षण र बन्द प्रशिक्षण क्रममा मैत्रीपूर्ण खेलमा रहेको छ । अब्दुल्लाहको आगमनसँगै नेपालले सात ठूला खेल खेलिसकेको छ । अब अब्दुल्लाहको प्रशिक्षणमा नेपालले खेल्ने साफ च्याम्पियनसिप सबैभन्दा महत्वपूर्ण प्रतियोगिता हो ।

    हाल दक्षिण एसियाली फुटबलबाट माथि उठ्न नसकेको नेपाली टोलीको ‘टार्गेट’ नै साफ उपाधि रहने गर्दछ । नेपालले साफको १३औँ संस्करण आइपुग्दा हालसम्म उपाधि हात पार्न सकेको छैन । यति मात्रै हैन, नेपाल फाइनल नै पुग्न सकेको छैन । नेपाल सधैँ साफको उपाधि दाबेदारी रह्यो र उपाधिबिहीन पनि । यस क्रममा नेपालले १३ संस्करण नै खेलेको छ ।

    त्यसैले मालेमा नेपाली टोलीको लक्ष्य मात्र उपाधि हुनेछ । यसबाट मूख्य प्रशिक्षक अब्दुल्लाहले कुनै बाहना पाउने छैनन् । सामाजिक सञ्जालमा आफ्ना शुभेच्छुकलाई पहिलो पटक साफ उपाधि जिताउने बनाउँदै गर्दा उनको वास्तविक परीक्षा शनिबार (पर्सी)बाट हुनेछ ।

    मालेस्थित राष्ट्रिय रंगशालामा हुने साफ शुक्रबार (भोलि) उद्घाटन हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा शनिबार आयोजक माल्दिभ्सको सामना गर्दै एउटा मिसन सुरु गर्नेछ । खेल राति पौने १० बजे सुरु हुनेछ ।

    कतार भ्रमण

    नेपाललको लागि कुवेती प्रशिक्षक हुन् अब्दुल्लाह अल्मुताईरी । तर, उनले प्रो लाइसेन्स कतार फुटबल संघबाट पूरा गरेका हुन् । यता, साफ माल्दिभ्समा हुँदैछ । हाल माल्दिभ्समा तापक्रमसमेत उच्च छ । यसैले नेपाली प्रशिक्षक अब्दुल्लाहले माल्दिभ्सको हावापानीसँग मिल्ने गरी नेपाली टोलीको बन्द प्रशिक्षण कतारमै राखे । नेपाली टोलीले १६ दिन कतारमा प्रशिक्षण गरेर २७ सेप्टेम्बर मात्र माले प्रस्थान गरेको हो ।

    यसअघि नेपाली टोलीले पोखरा र काठमाडौंमा तयारी गर्दै साफ अघि भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ पहिलो खेल बराबरीमा समाप्त भएको थियो भने दोस्रो खेल भारतले आफ्नो पक्षमा पारेको थियो ।एन्फाले समेत नेपाली टोलीलाई यस पटक प्राथमिकतामा राख्दै कतार भ्रमणमा पठाएको हो । मूख्य प्रशिक्षक अब्दुल्लाहको चाहना अनुसार नै नेपालले कतार भ्रमण पायो । अब्दुल्लाहले आफ्नै पहलमा स्थानीय एक क्लब र ओमान राष्ट्रिय फुटबल टोलीसँग नेपाली टोलीलाई मैत्रीपूर्ण खेल दिलाए ।

    एक प्रकारले भन्दा नेपाली टोली कतारमा अझै मजबुद बनेको छ । विदेशी भूमिमा विदेशी प्रशिक्षकको साथ नेपाली टोलीले पहिलो पटक उच्च मनोबलका साथ प्रशिक्षण पूरा गरेको छ । कतार भ्रमण ठ्याक्कै कस्तो रह्यो भनेर शनिबार खेलले नै बताउनेछ ।

    साफ उपाधिको आशा

    प्रशिक्षक अब्दुल्लाहले आफ्नो पहिलो र दोस्रो पत्रकार सम्मेलन तथा भारतसँग खेल्दै गर्दा आफ्नो मूख्य लक्ष्य साफ च्याम्पियनसिप नै रहेको बताएका थिए । नयाँ खेलाडीलाई प्राथमिकतामा राख्दै टोलीको रणनीतिसमेत नयाँ बनाई अब्दुल्लाहले साफको उपाधि आशा देखाएका हुन् । यति मात्र हैन पछिल्लो नेपालको रणनीति काउन्टरमा गएको र नेपाली टोलीमा ‘वान टिम वान गोल’ नारा दिलाउने उनै अब्दुल्लाह हुन् ।

    अब्दुल्लाहबाट नेपाली टोलीले धेरै नै आशा गरेको छ । यति मात्र हैन पछिल्लो समयमा उनै अब्दुल्लाहले सामाजिक सञ्जालमा एक प्रकारको आफ्नो शुभेच्छुक जम्मा गरेका छन् ।पछिल्लो समय केही विवादमा परेका अब्दुल्लाहलाई साफबाट आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती रहेको छ । अब्दुल्लाहले आफैँ कार्यरत संस्थाको वरिष्ट उपाध्यक्ष पंकज नेम्वाङको बदनाम गरेका छन् । यस्तै नेपालका पूर्वखेलाडीलाई आरोप लगाएका छन्, उपाधि जित्न नसकेको भनेर ।

    यी तमाम विषयका बीच अब्दुल्लाहले उपाधि हात पार्न सके उनी नेपालका लागि सबैभन्दा उत्कृष्ट र सफल प्रशिक्षक गनिनेछन् ।साफको १३औँ संस्करण शुक्रबारबाट सुरु हुँदै गर्दा सम्पूर्ण नेपालीको आशा छ । यो युवा टोली र प्रो लाइसेन्स प्रशिक्षक अब्दुल्लाहले नेपाली टोलीलाई पहिलो पटक उपाधि दिलाउनेछन् ।

    Posted in खेलLeave a Comment on भोलिबाट साफ च्याम्पियनसिप, नेपाली टोलीको कतार भ्रमण र आशा

    ईपीएलमा चितवनको लगातार दोस्रो जित

  • १४ आश्विन २०७८, बिहीबार १४:२७ मा प्रकाशित
  • १४ असोज, काठमाडौं । एभरेष्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले लगातार दोस्रो जित हात पारेको छ ।
    बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा चितवनले काठमाडौं किङ्ग्स ११ लाई ३ विकेटले हराएको हो । काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले अन्तिम ८ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।
    उसका लागि राजेश पुलामीले २६, दिलिपनाथ र कमल सिंह ऐरीले २३/२३ रन बनाए ।
    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १४१ रनज बनाएको थियो । उसका लागि सुवास खकुरेलले ३५, राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाएका थिए ।
    चितवनका सागर ढकालले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए ।

    Posted in खेलLeave a Comment on ईपीएलमा चितवनको लगातार दोस्रो जित

    ईपीएलको उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

  • ९ आश्विन २०७८, शनिबार १५:०५ मा प्रकाशित
  • काठमाडौ
    ९ असोज/ नेपालको सर्वाधिक चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) आजदेखि शुरुहुँदै छ । २१ गतेसम्म चल्ने प्रतियोगितामा देशका विभिन्न ६ वटा सहरको नाममा टिम बनाइएको छ ।

    काठमाडौं किंग्स इलाभने ११, ललितपुर प्याट्रियोट्स, भैरहवा ग्लाडियटर्स, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारियर्सले सहभागीता जनाउँदैछन् । सबै टिमले तयारी पनि पुरा गरेका छन् ।

    १०८ जना खेलाडी यी ६ टिममा सहभागी छन् । ६ टिमले नै चार चार जनाका दरले २४ जना विदेशी खेलाडी अनुबन्ध गरेका छन् । प्रतियोगिताको उपाधि विजेताले ५० लाख प्राप्त गर्दा उप विजेता हुने टिमले १५ लाख प्राप्त गर्ने छ ।

    प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा शनिबार काठमाडौं किंग्स इलाभेन र ललितपुर प्याट्रियोट्स आमने सामने हुने छन् । काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा रहेको छ भने ललितपुरको कप्तानी युवा खेलाडी कुशल भुर्तेलले गर्नेछन् ।

    ललितपुरका कप्तान रहेका नेपाली टिमका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले अन्तिम समयमा प्रतियोगिता नखेल्ने घोषणा गरेपछि भुर्तेलले कप्तानी सम्हाल्न लागेका हुन् ।

    प्रतियोगिताका लागि काठमाडौंमा अनुबन्ध भएका पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी आएका छन् । उनले काठमाडौंबाट शुरुका दुई वटा मात्रै खेल खेल्ने छन् ।

    Posted in खेलLeave a Comment on ईपीएलको उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

    श्वेता खड्का : रोजे जस्तो हुन्न जीवन

  • ९ आश्विन २०७८, शनिबार १३:१६ मा प्रकाशित
  • पीडाहरु बटुलेर, रोही रहुँ जस्तो लाग्छ
    खुसीहरु समेटेर, हाँसी रहुँ जस्तो लाग्छ
    आँशु-आँशु हुन्न जीवन
    खुसी-खुसी हुन्न जीवन
    भेट्यो जस्तै उस्तै हुन्छ,
    सोचे जस्तो हुन्न जीवन

    श्वेता खड्का के बन्न चाहन्थिन् ? अतितलाई फर्केर हेर्दा उनलाई यही प्रश्नले विथोल्छ । बुवा भन्थे, ‘आर्मी अफिसर बन्नुपर्छ ।’ उनले आफ्नै मनलाई सोधिन् । र, जवाफ त्यही पाइन् । अर्थात आर्मी अफिसर ।
    तगडा थिइन् । निर्भिक थिइन् । जुझारु थिइन् । अनि जिद्दी पनि ।
    फुटबलमा रुची राख्थिन् । तेक्वान्दो सिक्थिन् । भलिबल खेल्थिन् । ‘ब्वाईज कट’ कपाल । त्यसमाथि केटाकै जस्तो पहिरन शैली । स्वभाव र रुपरंगले संकेत गथ्र्यो, तिम्रो भविष्य फौजीमा छ । अर्कोतिर बुवा ब्रिटिश आर्मी । श्वेता आर्मी बन्ने दौडमा लागिन् । दौड, हेभिङ, सेटअपसँगै उनको दैनिकी सुरु हुन्थ्यो ।
    तर, श्वेता आर्मी बनिनन् ।
    उमेरको रंग चढ्दै गएपछि दौतरीहरु भन्ने गर्थे, ‘यो त हिरोइन जस्तै छे ।’ अभिनेत्री मिथिला शर्मा साख्खै फुपू । पनौती, खोपासी टोलबाट फुपूको घर (काठमाडौं) आउजाउ भइरहने । मिथिला भन्थिन्, ‘यसको त आँखा कति राम्रो, हिरोइन बन्छे होला ।’
    अन्ततः समयले उनलाई त्यही मोडमा उभ्याइदियो, जसमा उनको कुनै सपना थिएन । उनी हिरोइन बनिन् । त्यो एक अनपेक्षित घटना थियो ।
    घटना यस्तो थियो ।
    आर्मी बन्नकै लागि उनी दौडन्थिन्, व्यायाम गर्थिन् । एकदिन फुपू मिथिला शर्माले भनिन्, ‘फिटनेशका लागि किन दशथरी गर्नुपर्‍यो, नृत्य गर ।’ नृत्यले शरीरको समूचित व्यायाम हुन्छ भन्ने उनको बुझाई रहेछ । फुपूकै सुझाव सिरोधर गर्दै उनी नृत्य सिक्न गइन् ।
    उनी जुन इन्स्टिच्युटमा नृत्य प्रशिक्षणको लागि भर्ना भइन्, त्यो बसन्त श्रेष्ठको थियो । उनी नृत्य सिक्न थालिन् । तर, नृत्त्यांगना बन्न होइन बरु शारीरिक फिटनेशका लागि । किनकी भविष्यमा आर्मी जो बन्नुछ ।
    अनायसै हिरोइन
    एकदिन फोन आयो, बसन्त श्रेष्ठको । त्यसदिन घरमा सत्यनारायणको पूजा थियो । उनी घरमै बसेकी थिइन् । बसन्त श्रेष्ठले उनलाई ‘इन्स्िटच्युटमा आउनु, एकछिन काम छ’ भने ।
    उनी इन्स्टिच्युट पुगिन् । त्यहाँ अभिनेता श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मीसँग उनको साक्षतकार भयो । टेलिभिजन र सिनेमाको पर्दामा मात्र देखिएका अनुहार प्रत्यक्ष देख्दा उनी केही नर्भस भइन् ।
    उनीहरु नयाँ सिनेमाका लागि हिरोइनको खोजीमा रहेछन् । फिल्म थियो, कहाँ भेटिएला ।
    घरमा उनले परिवारजनलाई सुनाए, ‘मलाई हिरोइनको लागि अफर आएको छ ।’ तर, कसैले पत्याए पो ! न त छोरीलाई हिरोइन बनेको हेर्न चाहन्थे बुवाआमा ।
    किनभने उनीहरु त छोरीको भविष्य सुनिश्चित गरिदिन चाहन्थे । छोरीलाई सेकेन्ड लेफि्टनेन्ट बनाउन चाहन्थे ।
    तर, श्वेताले बाटो मोडिन् । उनी हिरोइन बनिन् । चलचित्र बन्यो । धुमधामका साथ चल्यो । श्वेताको चर्चा चुलियो ।
    रोजे जस्तो हुन्न जीवन
    एकातिर फिल्मी करियरको सुखद सुरुवात भइसकेको थियो भने अर्कोतिर प्रेम-भावना पनि अंकुराउँदै थियो । पहिलो फिल्मपछि अभिनेता श्रीकृष्ण श्रेष्ठसँगको प्रेमको विजारोपण भइसकेको थियो ।
    अन्ततः लामो प्रेम-सम्बन्धलाई उनीहरुले विवाहमा रुपान्तरण गरे । अब उनीहरु आफ्नो छुटै पारिवारिक रचना गर्दै थिए । तर, यो सुखमय क्षण आउन पाएन । श्रीकृष्ण श्रेष्ठको निधन भयो ।
    यसबेलासम्म उनीहरुले ‘कोहिनुर’ फिल्म निर्माण गरिसकेका थिए । यो फिल्म ब्लकबस्टर रह्यो । जबकि यो खुसी साट्नका लागि श्वेतासँग श्रीकृष्ण थिएनन् । बरु, उनको जीवनमा भयानक तुफान माडारिदै थियो ।
    उनको जीवनमा अँध्यारो छाउदै थियो ।
    पीडाहरु बटुलेर, रोइरहुँ जस्तो लाग्छ
    विवाहपछि उनीहरुले कुनै सुखद पल साट्न पाएनन् । आखिर पारिवारिक जीवनको सुरुवात हुन नपाई उनको सिउँदो पुछियो । अब श्वेताको भागमा दुःखै दुःख थियो । उनी शिथिल थिइन् । कमजोर थिइन् । भोक थिएन, निद्रा थिएन । मनमा चैन थिएन ।
    अन्ततः उनको शरीर पनि गल्न थाल्यो । पाठेघरमा फंगस यिस्टको समस्या भयो । त्यसको उपचार नसक्दै अर्को रोग थपियो, बोन टिबी । श्रीकृष्णलाई बोन क्यान्सर भएको थियो । श्वेताले आफुलाई पनि त्यस्तै भएको हो कि भनी शंका गरे । यस्तै पीर र चिन्ताहरुले उनलाई डिप्रेसनको रोगी बनायो ।
    अनेकथरी रोगले एकमुष्ठ च्यापेपछि उनलाई बाँच्ने रहर लाग्न छाड्यो ।
    खुसीहरु समेट्दै
    दुःखहरु छिचोल्दै उनी जाग्न खोजिन, बाँच्न खोजिन् । हाँस्ने बाहाना खोजिन्, रमाउने चाहना गरिन् । आखिर ती तमाम पीडाहरुलाई जितेर उनले नयाँ जीवन बाँच्ने प्रण गरिन् । र, रमझम, साथीभाई, भेटघाटमा आफुलाई व्यस्त बनाइन् ।
    आफ्नै पीडा समेटेर सिनेमा बनाइन्, कान्छी । त्यससँगै उनले व्यापार-व्यवासायमा आफुलाई लगाइन् । यस कामले उनलाई विगतका पीडाहरुबाट मुक्त गराउँदै लग्यो । उनले सोचिन्, जीवन अझै बाँकी छ । दुःखहरु सहनुपर्छ, सुखका दिनले पर्खिरहेका हुन्छन् । उनलाई यस्तै लाग्यो ।
    पहिरन : रोजिना श्रेष्ठ, कायरा बुटिक
    फोटो : महेश प्रधान
    लोकेसन : होटल हुकुम दरबार

    Posted in खेलLeave a Comment on श्वेता खड्का : रोजे जस्तो हुन्न जीवन

    राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्कियो

  • ७ आश्विन २०७८, बिहीबार १४:५५ मा प्रकाशित
  • ७ असोज, काठमाडौं । उज्वेकिस्तानमा एएफसी महिला एसियन कप-२०२२ छनोट खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।
    नेपाली टोली बिहान स्वदेश फर्किएको हो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले स्वागत गरे ।
    छनोटको समूह एफमा रहेको नेपाल एक बराबरी र एक हारको नतिजापछि समूह चरणबाटै बाहिरिएको थियो । पहिलो खेलमा फिलिपिन्ससँग पराजित भएको नेपालले दोस्रो खेलमा हङकङसँग गोलरहित बराबरी खेलेको थियो ।
    नेपालले २ खेलबाट १ अंक जोड्यो । फिलिपिन्स र हङकङबीचको खेल शुक्रबार हुँदैछ । यो समूहको शीर्ष टोली अर्को वर्ष भारतमा हुने एसियन कपमा छनोट हुनेछ ।

    Posted in खेलLeave a Comment on राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्कियो

    पीएसजीको जितमा हाकिमीको दुई गोल 

  • ७ आश्विन २०७८, बिहीबार १२:३२ मा प्रकाशित

  • काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा जित निकालेको छ । अच्राफ हाकिमीले इन्ज्युरी समयमा गोल गर्दै पीएसजीलाई जित दिलाएका हुन् ।
    बुधबार राति भएको खेलमा पीएसीले मेट्जलाई २–१ ले हराएको हो । हाकिमीले खेलको पाँचौँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । मेट्जका बाउबकर कौयतले ३९औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
    मेट्जका कप्तान डायलन ब्रोन दोस्रो हाफको इन्ज्युरी समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिँदा टिम १० खेलाडीमा समेटियो । पीएसजीका लागि हाकिमीले खेलको अन्तिम समयमा गोल गर्दै टिमलाई जित दिलाए । उनले नेयमारको पासमा गोल गरेका थिए ।
    जितसँगै पीएसजीले लिग वानमा सात खेलबाट २१ अंक जोडेको छ । पीएसजी अंक तालिकाको शीर्ष स्थानमा छ । मेट्ज ३ अंकसहित तालिकाको पुछारमा छ ।
    पीएसजीका लियोनल मेस्सी यो खेलमा टिममा थिएनन् । घुँडाको चोटका कारण उनी टिममा नपरेका हुन् ।

    Posted in खेलLeave a Comment on पीएसजीको जितमा हाकिमीको दुई गोल 

    आईपीएलका बाँकी खेल आजदेखि

  • ३ आश्विन २०७८, आईतवार ११:२३ मा प्रकाशित
  • इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल आजदेखि सुरु हुँदैछ ।

    कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको खेल यूएईमा आजदेखि सुरु लागेको हो । आईपीएलमा ३१ खेल बाँकी छन् । आजको खेलमा बेलुका पौने आठ बजे चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

    यसअघिको खेलमा मुम्बईले चेन्नईलाई ४ विकेटले हराएको थियो । चेन्नई ७ खेलमा १० अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ८ अङ्क जोडेर चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सको ८ खेलमा १२ अङ्क छ ।  

    Posted in खेलLeave a Comment on आईपीएलका बाँकी खेल आजदेखि

    च्याम्पियन्स लिग : रियलले इन्टरलाई हरायो

  • ३१ भाद्र २०७८, बिहीबार १२:५२ मा प्रकाशित
  • ३१ भदौ, काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा स्पानिस क्लब रियल मड्रिडले विजयी सुरुआत गरेको छ । बुधार राति भएको समूह डी को खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई १-० ले पराजित गरेको हो ।
    इन्टरको मैदानमा भएको खेलमा रोड्रिगोले खेल सकिन एक मिनेट बाँकी हुँदा निर्णायक गोल गरेका थिए । दोस्रो हाफमा मैदान प्रवेश गरेका रोड्रिगोले ८९औं मिनेटमा एडुवार्डो कामाभिंगाले विजयी गोल गरे ।
    उनी ६५औं मिनेटमा लुकास भजक्वेजको स्थानमा मैदान प्रवेश गरेका थिए ।
    समूह डी को अर्को खेलमा माल्दोभाको क्लब एफसी शेरिफले युक्रेनी क्लब शाख्तर डोनेस्कलाई २-० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । शेरिफको लागि एडामा ट्राओर र मोमो यानसानेले गोल गरे ।

    Posted in खेलLeave a Comment on च्याम्पियन्स लिग : रियलले इन्टरलाई हरायो

    नेपालले पीएनजीसँग आज डे-नाइट ओडीआई म्याच खेल्दै

  • २५ भाद्र २०७८, शुक्रबार १५:०७ मा प्रकाशित
  • २५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले शुक्रबार पपुवा न्युगिनी (पीएनजी)विरुद्ध दोस्रो ओडीआई म्याच खेल्दैछ । ओमान र अमेरिकासँग विश्वकप लिग २ को सिरिज खेल्न ओमानमा रहेको नेपालले त्यसैको तयारी स्वरुप पीएनजी खेल्न लागेको हो ।
    पीएनजीसँगको दोस्रो खेल नेपालका लागि ऐतिहासिक हुनेछ । किनकि नेपालले पहिलो पटक डे–नाइट (दिवा–रात्री) ओडीआई क्रिकेट म्याच खेल्दैछ । यसअघि मंगलबार पीएनजीविरुद्ध नेपालले दिनमै खेलको थियो ।

    सन् २०१८ मा पहिलो पटक अस्थायी ओडीआई मान्यता पाएको नेपालले पहिलो पटक डे–नाइट ओडीआई खेल्न लागेको हो । यसअघिका ११ ओडीआई म्याच नेपालले दिनमै खेलेको छ ।
    पीएनजीविरुद्धको दोस्रो खेल भने नेपाली समय अनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ । डे–नाइट म्याच फ्लड लाइटमा हुने हुँदा नेपालको लागि केही फरक हुन सक्छ । नेपालले यसअघि टी–२० आई म्याच फ्लड लाइटमा खेलिसकेको छ । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप नेपालले फ्लडलाइटमै खेलेको थियो । तर ओडीआईमा भने नेपालले पहिलो पटक फ्लडलाइटमा खेल्न लागेको हो ।
    नेपालले यही सेप्टेम्बर १३ देखि ओमनमै शुरु हुने लिगको सिरिजका सबै ४ खेल डे–नाइटमै खेल्नेछ । त्यसैले पनि पीएनजीविरुद्धको दोस्रो खेल नेपालको लागि प्रदर्शनमा सुधार गर्नुका साथै फ्लडलाइटमा खेल्न अभ्यस्त हुन पनि महत्वपूर्ण छ ।
    नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले पीएनजीसँगको डे–नाइट खेलले पछि हुने खेललाई तयारी हुने बताए । ‘भाग्यवश हामीले मुख्य सिरिजभन्दा अघि डे–नाइट खेल्न लागेका छौं । त्यो एकदम राम्रो कुरा हो । नाइट कण्डिसनमा कस्तो हुन्छ । कन्डिसन अलि फरक हुन्छ । लाइटमा खेल्दा धेरै कुराहरु फरक हुन्छ । फिल्डिङ गर्दादेखि अरु कुरामा,’ मल्ले भने, ‘एउटा छुट्टै खालको अनुभव हुन्छ । ओमान  र अमेरिकासँग हुने आगामी खेलका लागि राम्रो तयारी गर्ने मौका पनि हुन्छ ।’

    पहिलो खेलमा नेपालले पीएनजीलाई १३४ रनमा अलआउट गरे पनि लक्ष्य पछ्याउन संघर्ष गरेको थियो । कुशल भुर्तेल र आसिफ शेखले डेब्यु गर्दै राम्रो शुरुवात दिलाए पनि अनुभवी मिडल अर्डर फ्लप हुँदा रोहित पौडेल र सोमपाल कामीले नेपालको इनिङ्स रेस्क्यु गर्दै नेपाललाई २ विकेटको संघर्षपूर्ण जित दिलाएका थिए ।
    ब्याटिङमा परम्परागत शैली दोहोरिँदा नेपालले पहिलो खेलमा ओमानको पिचमा संघर्ष गर्नुपरेको थियो । दोस्रो खेलमा नेपालले टोलीमा केही परिवर्तन गर्ने सम्भावना छ । लिग २ मा उत्कृष्ट नतिजा ल्याउने हो भने नेपालले पीएनजीविरुद्ध दोस्रो खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने चुनौती छ ।
    कप्तान ज्ञानेन्द्रले पनि सबैलाई अवसर दिने हिसाबले पहिलो खेलमा नयाँ खेलाडीहरु खेलाएको र दोस्रो खेलमा अरुलाई पनि खेलाउने बताए । उनले दोस्रो खेलमा टिममा परिवर्तन हुन सक्ने बताए । ‘धेरैपछि खेलिरहेको भएर नयाँ खेलाडीलाई मौका दिएका थियौं । सबैले एक्सपोजर पाओस् भन्ने थियो । दोस्रो खेलमा मुख्य खेलाडीहरुले खेलोस् र म्याच प्राक्टिस पनि होस् भनेर तयारी गर्दैछौं,’ ज्ञानेन्द्रले भने ।

    नेपालले २०२० को फेब्रुअरीमा घरेलु मैदानमा ओमान र अमेरिका सहभागी लिग २ को सिरिज खेलेपछि करिब १९ महिनापछि पहिलो पटक ओडीआई खेलेको थियो । जसमा तीन खेलाडीले डेब्यु गरे ।
    पहिलो खेलमा कुशल र आसिफसँगै बलर विक्रम सोबले पनि ओडीआईमा डेब्यु गरेका थिए । ओडीआई डेब्युको पहिलो बलमै विकेट लिएर कीर्तिमान बनाएका विक्रमले २ विकेट लिए ।
    पहिलो खेलमा विकेटकिपर विनोद भण्डारी, करण केसी, अविनाश बोहरा, सुशन भारीलाई आराम दिइएको थियो । उपकप्तान दीपेन्द्र सिंह ऐरीले चोटका कारण पहिलो खेल खेलेका थिएनन् । उनले दोस्रो खेल पनि नखेल्ने सम्भावना छ । यस्तै पहिलो पटक सिनियर टिममा स्थान बनाएका युवा फास्ट बलर गुल्शन झा पनि सामान्य चोटका कारण पहिलो खेलमा खेलेका थिएनन् । ज्ञानेन्द्रले दुवै खेलाडीको रिकभर राम्रो भइरहेको र पिजियोले क्लिनचिट दिएमा मात्र खेल्न सक्ने बताए । उनले पीएनजीसँगको खेलभन्दा पनि ओमान र अमेरिकासँगको सिरिज महत्वपूर्ण भएकोले रिस्क नलिने संकेत गरेका छन् ।
    पीएनजीविरुद्धको दोस्रो खेल जित्नकै लागि खेल्ने मल्लले बताए ।
    ओमान टुरमा रहेका १७ सदस्यीय नेपाली टोलीमा अब गुल्शन झाले मात्र ओडीआईमा डेब्यु गर्न बाँकी छ । अहिलेसम्म नेपालबाट कुल २६ खेलाडीले ओडीआई म्याच खेलेका छन् । गुल्शन ओमानमा डेब्यु गरेमा उनी ओडीआई खेल्ने २७औं नेपाली खेलाडी बन्नेछन् ।
    नेपालले पीएनजीसँग एक ओडीआईसहित ५० ओभरको कुल ५ म्याच खेल्दा २ खेल जितेको छ । पीएनजीले पनि यसअघि ३ पटक नेपाललाई पराजित गरेको छ ।
    पीएनजीसँगको दुई खेलपछि नेपालले ओमान र अमेरिकासहितको लिग २ सिरिज खेल्नेछ । जहाँ नेपालले असोज २८ गते अमेरिकासँग पहिलो खेल खेल्नेछ भने दोस्रो खेलमा असोज २९ गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि असोज १ गते अमेरिका र असोज ३ गते ओमानसँग खेल्नेछ ।

    Posted in खेलLeave a Comment on नेपालले पीएनजीसँग आज डे-नाइट ओडीआई म्याच खेल्दै

    दशरथ रंगशालामा नेपाल र बंगलादेशको महिला टिमको मैत्रीपूर्ण फुटबल

  • २३ भाद्र २०७८, बुधबार १६:५५ मा प्रकाशित
  • २३ भदौ, काठमाडौं । नेपालको महिला राष्ट्रिय फुटबल टिमले बिहीबार र आगामी सोमबार घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । अर्को वर्ष भारतमा हुने एएफसी महिला एशियन कपको छनोट खेल खेल्ने तयारीमा रहेको नेपालले बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
    दशरथ रंगशालामा नेपालको महिला सिनियर टिमले खेल्न लागेको यो पहिलो पटक हो । यसअघि महिला टिमले सन् २०१६ डिसेम्बरमा मलेसियासँग भएको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको थियो ।
    नेपालले बंगलादेशसँग पनि पहिलो पटक मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । झण्डै साढे तीन दशक लामो अन्तर्राष्ट्रिय इतिहास रहेको महिला फुटबल टिमले मलेसिया, कतार र कुवेतसँग मात्र मैत्रीपूर्ण खेल खेलेको छ ।
    बंगलादेशसँगको पहिलो खेल बिहीबार साँझ ५:३० बजे दशरथ रंगशालमा सुरु हुनेछ । उज्वेकिस्तानमा हुने एशियन कप छनोटका लागि बंगलादेशसँग हुने मैत्रीपूर्ण फुटबलले सहयोग गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
    समूह एफमा रहेको नेपालले असोज २ गते फिलिपिन्स र असोज ५ गते हङकङसँग खेल्नेछ । तीन टोली मात्र रहेको यस समूहको विजेता टिम भारतमा हुने एशियन कपका लागि छनोट हुनेछ । बंगलादेश भने समूह जीमा छ ।
    नेपाली टिमका प्रशिक्षक ग्यारी फिलिप्सले नेपाल एशियन कपमा छनोट हुने सम्भावना रहेको बताउँदै आएका छन् । एन्फाको टेक्निकल डिरेक्टर समेत रहेका फिलिप्सको प्रशिक्षणमा महिला टिमले पहिलो पटक खेल्न लागेको हो ।
    ‘यो कठिन समय हो र महामारीको बेला पनि खेल्न पाउनु हाम्रो लागि अवसर हो र एशियन कपको लागि तयारी गर्ने अवसर हो । हामी हाम्रो बाटोमा छौं, टिम कहाँ छ भनेर थाहा पाउने अवसर हो । मैत्रीपूर्ण फुटबलका लागि तयार छौं’ फिलिप्सले बुधबार आयोजित प्रि-म्याच कन्फ्रेन्समा भने ।
    यसपटक नेपालको मुख्य खेलाडी तथा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा टिममा हुने छैनन् । गत वर्ष भएको महिला राष्ट्रिय लिगका क्रममा घुँडामा चोट लागेपछि सावित्रा हाल कतारमा उपचाररत छिन् । उनको घुँडाको शल्यक्रिया भइसकेको छ ।
    ‘राम्रो खेलाडीलाई गुमाउँदा पक्कै घाटा हुन्छ’ फिलिप्सले भने, ‘उनीसँग धेरै अन्तर्राष्ट्रिय अनुभव छ । उनी मिस हुनेछन् ।’
    प्रशिक्षक फिलिप्सले आफूसँग २३ जना बलिया खेलाडी रहेको र युवा खेलाडीका लागि अवसर रहेको बताए । नयाँ खेलाडीले पहिलो रोजाईमा स्थान बनाउने अवसर आएको उनको भनाइ छ ।
    बंगलादेशी प्रशिक्षक गोलान रबानी छोतानले कोरोना महामारीको समयमा पनि मैत्रीपूर्ण खेल आयोजना गरेकोमा एन्फालाई धन्यवाद दिए । ‘कोभिड-१९ को अवस्थामा पनि मेत्रीपूर्ण खेल आयोजना गरेकोमा एन्फालाई धन्यवाद। नेपालसँगको दुई खेल एएफसी एशियन कप छनोटको लागि राम्रो तयारी हुनेछ’ उनले भने ।
    नेपाल बलियो टिम रहेको भन्दै छोतानले खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘हामीले लामो समयदेखि नेपालसँग खेल्दै आएका छौं र नेपाल बलियो टिम हो। भोलिको खेल प्रतिस्पर्धात्मक हुने आशा छ’ उनले भने ।
    बंगलादेशकी कप्तान सबिना खातुनले नेपालसँग खेल्न तयार रहेको बताइन् । ‘हामी भोलि खेलका लागि तयार छौं । एशियन कपका लागि पनि तयार छौं । भोलि खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ’ उनले भनिन् ।
    महिला फुटबलमा नेपाल अहिलेसम्म बंगलादेशसँग पराजित भएको छैन । पछिल्लोपटक नेपालमै भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई ३-० ले पराजित गरेको थियो । विराटनगरमा भएको उक्त खेलमा सावित्राले पनि गोल गरेकी थिइन् ।
    बंगलादेशका प्रशिक्षक छोतानले दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर सावित्रा नेपाली टिममा नहुँदा आफ्ना डिफेण्डरलाई केही सहज हुने प्रतिक्रिया दिए ।

    Posted in खेलLeave a Comment on दशरथ रंगशालामा नेपाल र बंगलादेशको महिला टिमको मैत्रीपूर्ण फुटबल

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P