
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा जित निकालेको छ । अच्राफ हाकिमीले इन्ज्युरी समयमा गोल गर्दै पीएसजीलाई जित दिलाएका हुन् ।
बुधबार राति भएको खेलमा पीएसीले मेट्जलाई २–१ ले हराएको हो । हाकिमीले खेलको पाँचौँ मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । मेट्जका बाउबकर कौयतले ३९औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
मेट्जका कप्तान डायलन ब्रोन दोस्रो हाफको इन्ज्युरी समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिँदा टिम १० खेलाडीमा समेटियो । पीएसजीका लागि हाकिमीले खेलको अन्तिम समयमा गोल गर्दै टिमलाई जित दिलाए । उनले नेयमारको पासमा गोल गरेका थिए ।
जितसँगै पीएसजीले लिग वानमा सात खेलबाट २१ अंक जोडेको छ । पीएसजी अंक तालिकाको शीर्ष स्थानमा छ । मेट्ज ३ अंकसहित तालिकाको पुछारमा छ ।
पीएसजीका लियोनल मेस्सी यो खेलमा टिममा थिएनन् । घुँडाको चोटका कारण उनी टिममा नपरेका हुन् ।

