• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

नेपाल एयरलाइन्सको ‘पार्किङ स्लट’का कारण रियाद उडान रोकिँदै जुलाई १देखि दमामबाट हुने।

  • २९ जेष्ठ २०८०, सोमबार ०३:१६ मा प्रकाशित
  • काठमाडौं । नेपाल एयरलाइन्सको काठमाडौं–रियाद–काठमाडौं उडान रोकिने भएको छ । नेपाल एयरलाइन्सले २२ अप्रिल २०२२ बाट काठमाडौं–रियाद–काठमाडौं उडान सुरु गरेको हो ।

    अहिले काठमाडौं–रियाद–काठमाडौं उडान नेपाल एयरलाइनसको आरए १५८ सिट क्षमताको विमानले उडान गर्दै आइरहेको छ । जिएसएमार्फत् ‘पार्किङ स्लट’ लिँदै नेपाल एयरलाइन्सले काठमाडौं–रियाद–काठमाडौं उडान सुरु गरेको थियो ।

    नेपाल एयरलाइन्सले सुरुमा साताको तीन उडान गर्दै आएको थियो । रियादमा ‘पार्किङ स्लट’ नपाएपछि त्यहाँ गर्दै आएको उडान जुलाई १ तारिखबाट अन्यत्र ठाउँबाट उडान भर्ने तयारी गरिरहेको उच्च स्रोतले जानकारी दियो ।

    अक्कुपेन्सी हुँदाहुँदै पनि अहिले नेपाल एयरलाइन्सले काठमाडौं–रियाद–काठमाडौंको उडान साउदीको अर्काे सहर दमामबाट उडान गर्ने तयारी गरिरहेको छ । सुरुमा सातामा तीन उडान गरे पनि पछिल्लो समय पार्किङ ‘स्लट’ नपाउँदा एउटा उडानमा सीमित हुन पुगेको छ ।

    स्रोतले दिएको जानकारीअनुसार अहिले काठमाडौं–रियाद–काठमाडौं उडानमा अक्कुपेन्सी ८० प्रतिशत छ । जबकि ७० प्रतिशत भन्दा बढी अक्कुपेन्सीलाई नाफाको रुपमा लिइन्छ । नेपाल एयरलाइन्सले आगामी जुन २९ तारिखसम्म रियादमा अन्तिम उडान तयारी गरिरहेको स्रोतले जानकारी दियो ।

    अर्थात् जुलाई एक तारिखबाट नेपाल एयरलाइन्सले काठमाडौं–दमाम–काठमाडौं उडान भर्ने गरी तयारी गरिरहेको छ । रियादमा एयरलाइन्सले पार्किङ स्लट भनेको समयमा नपाउने र उनीहरूले दिएको समयमा उडान गर्नुपर्ने भएपछि अर्काे सहरबाट उडान गर्ने तयारी गरिरहेको छ ।

    रियाद सहर साउदीको राजधानी हो । रियाद–दमामको दुरी ४१० किलोमिटर हो । साताको तीन उडान सुरु गरेको नेपाल एयरलाइन्सले अहिले उनीहरूले दिएको समयअनुसार सातामा कहिले दुई त, कहिले एक उडान गर्दै आइरहेको छ ।

    यस अघि दमामबाट हिमालय एयरलाइन्सले दैनिक उडान गर्दै आएकोमा‌ पछिल्लो समयमा एयरलाइन्सकै बिना कारण फ्लाईट क्यान्सिल गरी नेपाली यात्रुका बिच आफ्नो बिष्वसनियता गुमाउदै गएको अवस्थामा नेपाली ध्वजावाहक बाट दमाम स्थित नेपाली हरु भने आसावानतित देखिन्छन्।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on नेपाल एयरलाइन्सको ‘पार्किङ स्लट’का कारण रियाद उडान रोकिँदै जुलाई १देखि दमामबाट हुने।

    साउदी जाने श्रमिकको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण अनिवार्य, एसईई पास नभएकाहरू अन्योलमा

  • २५ जेष्ठ २०८०, बिहीबार २२:४० मा प्रकाशित
  • २५ जेठ, काठमाडौं । अब साउदी अरबमा वैदेशिक रोजगारीको भिसाका लागि जाने नेपाली श्रमिकले सरकारबाट प्रमाणित शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनुपर्ने भएको छ । नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रक्रियाका लागि परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण (एटेस्टेसन) भएको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न निर्देशन दिएको हो ।

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघराज भुर्तेलका अनुसार यो व्यवस्थाले एसईई वा सोही तहका अन्य शैक्षिक कोर्सभन्दा कम योग्यता भएका श्रमिकले साउदीको भिसाका लागि आवेदन नै दिन नपाउने अवस्था बन्नेछ । यसले एसईई वा सो सरह उत्तीर्ण नभए पनि साउदी जाने तयारीमा रहेका श्रमिकहरु अन्योलमा परेका छन् ।

    ‘एसईई वा एसएलसीभन्दा तलका कक्षामा उत्तीर्ण भएको विद्यालयको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्न कुनै सरकारी नियका छैनन्, उनीहरुसँग त्यसको आधिकारिकर एकीकृत रेकर्ड हुँदैन,’ उनले भने,‘परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले कागजात प्रमाणीकरण गर्न सम्बन्धित विषयको सरकारी कार्यालयले गरेको प्रमाणीकरण माग्छ, यस्तो अवस्थामा एसएलसीभन्दा कम पढेकाहरुको प्रमाणपत्र नै प्रमाणीकरण हुन सक्दैन ।’

    उनका अनुसार अब एसएलसी उत्तीर्ण नगरेकहरुले साउदी समेत जान नपाउने र एसईई वा त्यसभन्दा माथिको तह उत्तीर्ण गरेकाहरुले पनि प्रमाणपत्र प्रमाणीकरण गर्न राष्ट्रिय परीक्षा बोर्ड वा विश्वविद्यालयहरुमा धाउनुपर्नेछ । त्यसपछि सो कागजातका आधारमा फेरि कन्सुलर सेवा विभागमा लाइन बस्न जानुपर्नेछ ।

    वैदेशिक रोजगार व्यवसायी संघले यस विषयमा श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी को ध्यानाकर्षण नै गराएको छ । ज्ञापनपत्र बुझाउँदै संघले कामदारको भिषा प्रक्रियामा अनावश्यक रुपमा शैक्षिक योग्यताको प्रमाणपत्र माग गरेर सो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर सेवा बिभागबाट प्रमाणित गरी पुनः साउदी दुतावसबाट प्रमाणीकरण गर्नु पर्ने अनिवार्य अव्यवहारिक, कानुन र प्रचलन विपरीत लागु गर्न लागि परेको आरोप लगाएको छ ।

    ‘नेपालबाट साउदी अरब लगायत खाडीका देशहरु तथा मलेसियामा जाने कामदार प्रायः अदक्ष कामदार जाने भएको हुदा अन्य मुलुकहरुमा शैक्षिक प्रमाणपत्रको आवश्यक नहुने र सो काममा उनीहरुको पुर्ख्यौली पेशा पनि भएको हुँदा काम गर्न सिप र क्षमता भएको तर, आधिकारिक शैक्षिक योग्यताका प्रमाणपत्र नहुने कारणले गर्दा रोजगारीबाट बञ्चित हुन जाने तवरबाट भएको दूतावासको उक्त काम कारवाही रोक्न कुटनीतिक पहल मार्फत सो प्रावधान खारेज गरी पूर्ववत व्यवस्था गर्न माग गर्छौं,’ संघले भनेको छ ।

    वैदेशिक रोजगार व्यवसायी संद्दका अध्यक्ष राजेन्द्र भण्डारी प्रमाणीकरणको नाममा श्रमिकलाई काठमाडौं बसालेर यहाँ दौडधुप समेत गराउँ वैदेशिक रोजगारीमा जाँदा लाग्ने लागत बढाउने गरी साउदीको घोषणा आएको बताउँछन् । यसले श्रमिकलाई पिरोल्ने र सिपयुक्त श्रमिकले पनि वैदेशिक रोजगारीको अवसर नपाउने अवस्था आएकाले सरकारले तुरुन्तै यो व्यवस्था खारेज गर्न पहल लिनुपर्ने भण्डारीले बताए ।

    साभार अनलाईन खबर बाट

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on साउदी जाने श्रमिकको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण अनिवार्य, एसईई पास नभएकाहरू अन्योलमा

    अब दूतावासबाटै पुन:श्रम स्वीकृति ।

  • १९ जेष्ठ २०८०, शुक्रबार १२:३६ मा प्रकाशित
  • नेपाल सरकार ले विदेशमा रहेका कुटनीतिक नियोगहरु मार्फत पुन: श्रम स्विकृती दिने भएको छ।साउदी अरब स्थित नेपाली दुताबास र जेद्धा मा रहेको महावाणिज्य दूतावासबाट पुन:श्रम स्वीकृति दिन थालेको जनाएको छ।यसअघि विदेशमा रहेका नेपालीहरू श्रम स्वीकृति लिनकै लागि नेपाल आउनु पर्ने बाध्यता थियो ।

    श्रम: नवीकरणका लागि वैदेशिक रोजगार विभागको feims.dofe.gov.np मार्फत आवेदन दिन पर्छ ।आवेदन दिनका लागि पासपोर्ट को फोटोकपी,ईकामा को फोटोकपी, रि इन्ट्री भिसा(छुट्टीको कागज) भएकाले त्यस भिसाको प्रतिलिपि र बिदा सकिने अवधि खुलेको कागज र रि इन्ट्री भिसा नभएकाहरूले इकमाको म्याद खुलेको छाप वा ABSHER वाट ईकामाको म्याद देखिने गरी स्क्रिनसट गरिएको फोटो अपलोड गर्न पर्छ साथै यसअघि श्रम स्वीकृति लिँदाको र अहिले कार्यरत रहेको कम्पनी फरक भएमा अहिले कार्यरत कम्पनीसँग गरिएको करार सम्झौता पत्रका साथै सवारी चालकहरूको हकमा साउदी अरबबाट जारी भएको सवारी चालक अनुमति पत्र पनि आवश्यक पर्ने दूतावासले जनाएको छ ।

    यस्तै साउदीमा कार्यरत रहेका घरेलु श्रमिकहरूले पनि दूतावासबाटै पुनः श्रम स्वीकृति लिन सक्ने दूतावासले जनाएको छ ।साउदीमा घरेलु श्रमिकका रूपमा कार्यरत रहेकाहरूले पुनः श्रम स्वीकृति लिनका लागि रोजगारदाता(कफिलको आइडी)को परिचयपत्र, तलब, भत्ता लगायत अन्य सेवा सुविधा खुलेको करार सम्झौता पत्र र स्वघोषणा पत्र पनि पेस गर्नुपर्छ ।

    पुन: श्रम स्विकृति को लागी बैदेशिक रोजगार बोर्डमा भुक्तानी गर्नु पर्ने रकम ,इन्स्योरेन्स को रकम साथै सामाजिक सुरक्षा कोषमा गर्नु पर्ने योगदान को रकम भुक्तानी गरिएको रसिद आबेदन साथै दाखिला गर्नु पर्ने हुन्छ।रकम भुक्तानी अनलाईन मार्फत गर्न सकिने छ।

    विदेशमा रहेका नेपालीहरू श्रम स्वीकृति लिनकै लागि नेपाल आउनु पर्ने बाध्यता थियो जसको कारण लामो समयसम्म विदेशमा श्रम स्वीकृति बिनै बस्ने र यही बेला कुनै भवितव्य भयो भने सरकारी राहतबाटसमेत वञ्चित हुने अवस्था भएपछि सरकारले विदेशमा रहेका नेपाली दूतावासबाटै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो ।

    हाल नेपाल स्थित सबै स्थानीय निकायमा बैदेशिक रोजगार शाखा स्थापना गरिएको र बैदेशिक रोजगारीमा रहेकाहरु ले सो मार्फत समेत सहयोग लिन सकिने देखिन्छ साथै दुताबास ले साउदी अरबमा क्रियाशील संघ,संस्थाहरु लाई सहयोग गर्न समेत आग्रह गरेको छ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on अब दूतावासबाटै पुन:श्रम स्वीकृति ।

    नेपाल एअरलाइन्सले १२ हजार ७ सय रुपैयाँमै मलेसिया–भैरहवा उडाउने

  • ५ जेष्ठ २०८०, शुक्रबार १४:३२ मा प्रकाशित
  • काठमाण्डौ – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । त्यस अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।

    ‘नेपाल एअरलाइन्सले भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाण्डौ रुटमा यही जेठ २९ देखि उडान सुरु गर्दैछ, त्यस अवसरमा मलेसिया–भैरहवा–काठमाण्डौका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ’, निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार मलेसिया–भैरहवाका लागि १२ हजार सात सय र मलेसिया–भैरहवा–काठमाण्डौका लागि १४ हजार सात सय २० रुपैयाँ भाडादर कायम गरिएको छ । निगमले मलेसियाको जोहोरबारुबाट क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलसम्म आवतजावत गर्न चाँडै नै शटल बसको व्यवस्था गर्ने उहाँको भनाइ छ ।

    निगमको उडान तालिकाअनुसार टिकट बुकिङ खुला भइसकेको छ । भैरहवाबाट अहिले निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान गर्नेछ ।

    राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ ।

    निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको टोलीले भर्खरै गरेको मलेसिया भ्रमणमा सिभिल एभिएसन अथोरिटी मलेसियाका निर्देशकसँग मलेसियाबाट भैरहवा नियमित उडानसम्बन्धी विविध पक्षमा छलफल गरेको निगमले उल्लेख गरेको छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on नेपाल एअरलाइन्सले १२ हजार ७ सय रुपैयाँमै मलेसिया–भैरहवा उडाउने

    DV को नतिजा सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा?(तरिका सहित)

  • २३ बैशाख २०८०, शनिबार ११:३८ मा प्रकाशित
  • काठमाडौँ | इलेक्ट्रोनिक डाइभर्सिटी भिसा(EDV) कार्यक्रम 2024 का लागि आवेदन फारम अक्टोबर 5, 2022 देखि नोभेम्बर 8, 2022 सम्म खोलिएको थियो।

    इलेक्ट्रोनिक डाइभर्सिटी भिसा EDV को नतिजा भोलि 6 मे 2023 मा प्रकाशित हुदैछ । EDV 2024 को नतिजा युएस डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सको आधिकारिक वेबसाइट www.dvprogram.state.gov मार्फत प्रकाशित गरिनेछ।

    तपाइँलाई तपाइँको DV लोटरी नतिजा हेर्नको लागि EDV फारम भर्दा तपाईले प्राप्त गर्नुभएको 16 अंकको पुष्टिकरण नम्बर चाहिन्छ। त्यस पछि मात्र तपाईले DV को नतिजा हेर्न सक्नुहुन्छ।

    डीभी नतिजा २०२४ जाँच गर्न आवश्यक विवरणहरू

    १.पुष्टि नम्बर(Confirmation Number)

    २.अन्तिम/परिवारको नाम(Last/Family Name)

    ३.जन्म वर्ष(Year of Birth)

    ४.प्रमाणीकरण(Authentication)

    १.पुष्टि नम्बर(Confirmation Number)

    कन्फर्मेसन नम्बर EDV फारम भरेपछि प्राप्त भएको नम्बर हो। यो १६ वर्ण लामो हुनेछ जसमा पहिलो चार क्यारेक्टर फारम भरेको वर्ष (२०२३) हुनेछ। EDV रिजल्ट जाँच गर्दा उही नम्बर प्रयोग गर्नुपर्छ। (जस्तै: 20231O0DZWY3DOV9)

    यदि तपाईंले DV फारम भर्दा कन्फर्मेसन नम्बर बिर्सनुभएको छ भने, Forgot Confirmation Number विकल्पमा क्लिक गर्नुहोस्।

    क्लिक गरेपछि, भेरिफाई भएसंगै नयाँ पृष्ठ खुल्नेछ। तपाईंले त्यहाँ पुष्टिकरण नम्बर पुन: प्राप्त गर्न निम्न जानकारी प्रमाणीकरण गर्नुपर्छ।

    विविधता भिसा कार्यक्रम वर्ष

    १. नाम

    २. जन्म मिति

    ३. इ – मेल ठेगाना

    ४. प्रमाणीकरण

    माथिका सबै भरे पछि, Submit बटनमा क्लिक गर्नुहोस्।

    २. अन्तिम/परिवारको नाम(Last/Family Name)

    यहाँ तपाईंले इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (EDV) प्रविष्टि फारममा प्रयोग गरिएको अन्तिम/परिवारको नाम प्रदान गर्नुपर्नेछ। यदि तपाइँको नाम रवि लामिछाने हो भने, तपाइँको अन्तिम नाम “लामिछाने” प्रविष्ट गर्नुहोस्।

    लामिछाने” प्रविष्ट गर्नुहोस्।

    ३. जन्म वर्ष(Year of Birth)

    यहाँ तपाईंले इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (DV) प्रविष्टि फारममा प्रयोग गरिएको जन्म वर्ष प्रदान गर्नुपर्नेछ। जस्तै (१९९९)

    ४. प्रमाणीकरण (Authentication)

    यहाँ तपाईंले माथिको चित्रमा देखिने अक्षरहरू टाइप गर्नुपर्छ।

    हामीले DV रिजल्ट २०२४ जाँच गर्दा के-के कुराहरू आवश्यक पर्छ भनेर माथि स्पष्ट गरिसकेका छौं, अब म कसरी DV रिजल्ट २०२४ जाँच गर्न सक्छु?

    पहिलो चरण:- आफ्नो कम्प्युटर र मोबाइलमा इन्टरनेट ब्राउजर खोल्नुहोस्। (इन्टरनेट ब्राउजर गुगल क्रोम, फायरफक्स, माइक्रोसफ्ट एज आदिको उदाहरण)

    दोस्रो चरण:- अमेरिकी राज्य विभागको कन्सुलर मामिला ब्यूरोको आधिकारिक वेबसाइट www.dvprogram.state.gov खोल्नुहोस्।

    तेस्रो चरण:- DV-2023 प्रवेशिका स्थिति जाँच गर्न तलको चेक स्टेटस बटनमा क्लिक गर्नुहोस्।

    चौथो चरण:- तपाईंले स्वागत पृष्ठ हेर्न सक्नुहुन्छ र त्यहाँ जारी बटनमा क्लिक गर्नुहोस्।

    पाँचौं चरण:- त्यस पछि तपाईले प्रवेश जानकारी पृष्ठ हेर्न सक्षम हुनुहुनेछ। अनुरोध अनुसार विवरणहरू राख्नुहोस्। जसलाई हामीले माथि कसरी राख्ने भन्ने बारे जानकारी दिएका छौं।

    फारम भरेपछि Submit विकल्पमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले DV रिजल्ट २०२४ को स्थिति हेर्न सक्नुहुनेछ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on DV को नतिजा सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा?(तरिका सहित)

    तीन महिनाको अस्थाइ कामदार भिसामा साउदी जान पाइने

  • ४ बैशाख २०८०, सोमबार ०१:४७ मा प्रकाशित
  • साउदीले तीन महिना अवधिको लागि अस्थाइ कामदार भिसा कार्यक्रम ल्याएको छ । यो भिसा बिना कागजात र बिना श्रम प्रक्रिया सजिलै लिन सकिने बताइएको छ ।

    भिसा जारी गर्ने साउदीको ‘क्वीवा’का अनुसार यो भिसा स्वीकृत भएको दिनदेखि तीन महिनासम्म भिसावाहकले साउदीमा काम गर्न पाउँछन् । तीन महिनाको समय सकिएपछि आवश्यकताअनुसार फेरि त्यति नै अवधिको लागि भिसाको म्याद थप्न पाइने छ । क्वीवा मानव संसाधन मन्त्रालय अन्तर्गत श्रम क्षेत्रका विभिन्न सेवाहरु प्रदान गर्ने विद्युतीय प्लेटफर्म हो ।

    यो भिसा पाउन रोजगारदाता वा क्वीवाका आयुक्तहरुले आवेदन पेस गरेको हुनुपर्छ । यो भिसामार्फत छोटो समयको कामदार मगाउन चाहने कम्पनी व्यावसायिक रुपमा दर्ता भएको र भिसा माग गरेको समयसम्म सक्रिय रहेको हुनुपर्ने उल्लेख छ ।

    अस्थाइ कामदार भिसा लिएका विदेशी श्रमिकलाई इकामा लिनुपर्ने आवश्यकता हुँदैन । यस्तै यो भिसा भइसकेपछि काम गर्नको लागि ‘वर्क परमिट’ र रेजिडेन्सीको आवश्यक पनि नपर्ने गल्फ न्युजले लेखेको छ । यो भिसाको लागि अनलाइन निवेदन दिएको लगत्तै भिसा जारी हुन्छ । यसमा थप ‘डकुमेन्टेशन’को आवश्यकता पर्दैन ।

    साउदीले यसलाई एउटा कार्यक्रमकै रुपमा लिएको छ । साउदीमा सञ्चालित निजी कम्पनीहरुलाई तत्कालै छोटो समयको लागि विदेशी कामदार चाहिए भर्ति गर्न सजिलो होस् भन्ने हेतुले यो कार्यक्रम ल्याइएको हो ।

    यस्तै, यो कार्यक्रमले साउदीकरणको अभियान (निताकत)मा फरक नपार्ने बताइएको छ । साउदीले पछिल्लो समय आफ्नै त्यहीँको नागरिकलाई रोजगारीमा पहिलो प्राथमिकता दिन थालेको छ । यो भिसा कार्यक्रमले त्यो अभियानमा कुनै फरक नपार्ने जनाइएको हो ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on तीन महिनाको अस्थाइ कामदार भिसामा साउदी जान पाइने

    भिजिट भिसामा वैदेशिक रोजगारमा हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइंदै

  • ३ बैशाख २०८०, आईतवार ०८:१६ मा प्रकाशित
  • भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको छ । मानव तस्करी तथा नक्कली श्रम स्वीकृतिका सन्दर्भमा शंकाको घेरामा परेकालाई दैनिकजसो फर्काउने गरिएको छ ।

    विमानस्थलमा खटिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले चैत २७ सम्म २ हजार ४ सय २९ वटा राहदानी नियन्त्रणमा लिएर फर्काएको छ । चैत २७ गते मात्र विभिन्न मुलुकमा भिजिट भिसामा जान लागेका ८३ महिला र चार पुरुषलाई ब्युरोले परामर्श दिएर फर्काएको छ । माघमा महिला र पुरुष गरी २ सय ५०, फागुनमा महिला ५ सय ५७ र चैत २७ सम्म महिला पुरुष गरी ६ सय १२ जनालाई भिजिट भिसामा विदेश जान रोकिएको ब्युरोले जनाएको छ ।

    वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेकालाई नै आफू कुन देश जान लागेको, नै गएर के काममा गर्नुपर्ने हो भन्ने विषयमा थाहा नभएको पाइएको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार उनीहरूमा आफू जान लागेको देशको भाषासम्बन्धी ज्ञान र सीपको पनि अभाव रहेको देखिएको छ ।

    बैंक स्टेटमेन्ट, श्रम स्वीकृति, भिजिट भिसा र शैक्षिक प्रमाणपत्र नक्कली भएकालाई फर्काउने गरिएको ब्युरोको भनाइ छ । खासगरी अवैध तरिकाले घरेलु कामदारका रूपमा भिजिट भिसामा विभिन्न देशमा जान लागेकालाई यसरी फर्काउने गरिएको छ ।

    आजको नागरिक दैनिकमा समाचार छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on भिजिट भिसामा वैदेशिक रोजगारमा हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइंदै

    कति प्रतिशत नेपाली चढ्छन् कार ?

  • ११ चैत्र २०७९, शनिबार १३:१८ मा प्रकाशित
  • काठमाडौँ – नेपालका ३.१ प्रतिशत परिवारमा कार, जिप वा भ्यान र २७.३ प्रतिशत परिवारमा दुई पांग्रे सवारी साधन भएको पाइएको छ । त्यसैगरी ३५ प्रतिशत परिवारमा साइकल प्रयोग हुने पाइएको छ।

    राष्ट्रिय जनगणना २०७८ को अन्तिम परिणामअनुसार नेपालमा कुल ६६ लाख ६६ हजार ९३७ परिवार संख्या छ। यस अनुसार यो तथ्य वाहिरिएको हो ।

    नगरपालिकामा ४.१ प्रतिशतले प्रयोग गर्छन भने गाउँपालिकामा १.१ प्रतिशतले कार प्रयोग गर्छन्। सहरी क्षेत्रमा ३२.७ प्रतिशत र ग्रामीण क्षेत्रमा १६.२ प्रतिशतले दुईपांग्रे प्रयोग मोटर प्रयोग गर्छन्।

    शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ।

    राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

    Posted in अर्थ, मुख्य खबर, समाजLeave a Comment on कति प्रतिशत नेपाली चढ्छन् कार ?

    काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो, आकस्मिक अवतरणको तयारी

  • २५ फाल्गुन २०७९, बिहीबार १०:०६ मा प्रकाशित
  • २५ फागुन, काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।
    सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ ।

    विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलले टावरलाई यसबारे जानकारी गराएका थिए ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो, आकस्मिक अवतरणको तयारी

    घरमा पैसा पठाउँदै हुनुहुन्छ ? हेर्नुस् आजको विनिमयदर

  • १९ फाल्गुन २०७९, शुक्रबार १०:४४ मा प्रकाशित
  • काठमाडौँ / नेपाल राष्ट्र बैंककाअनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ २८ पैसा र सिङ्गापुरे एकको खरिदमा ९७ रुपैयाँ ८० पैसा र बिक्रीमा ९८ रुपैयाँ २५ पैसा तोकिएको छ ।

    यसैगरी, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९ रुपैयाँ ६९ पैसा, चाइनिज युआन एकको खरिदमूल्य १९ रुपैयाँ ९ पैसा र बिक्रीमा १९ रुपैयाँ १८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३० पैसा र साउथ कोरियन वन १०० को खरिदमूल्य १० रुपैयाँ ५ पैसा र बिक्रीमा १० रुपैयाँ १० पैसा छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on घरमा पैसा पठाउँदै हुनुहुन्छ ? हेर्नुस् आजको विनिमयदर

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P