• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

२०२० मा नेपालीले स्वीस बैंकमा २०१९ को तुलनामा दोब्बर रकम राखे 

  • ६ असार २०७८, आईतवार ०२:३५ मा प्रकाशित

  • असार ५, एजेन्सी | स्वीस बैंकमा नेपालीको ४६ अर्ब ६४ करोड रुपैयाँ रहेको विवरण सार्वजनिक भएको छ । स्वीट्जरल्यान्डको केन्द्रीय बैंक (स्वीस नेसनल बैंक) ले सार्वजनिक गरेको विवरणअनुसार स्विट्जरल्यान्डका बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको छ ।

    स्वीस नेसनल बैंकमा गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने गरिन्छ । यस वर्ष नेपाल, भारत लगायतका मुलुकका नागरिकले गरेको बचतमा वृद्धि भएको विवरणमा उल्लेख छ ।

    हालै सार्वजनिक विवरणमा सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत रहेको उल्लेख छ ।

    सन् २०१९ मा स्वीस बैंकमा नेपालीले २२ अर्ब ७३ करोड बचत गरेको विवरण समेत जारी प्रतिवेदनमा उल्लेख छ । सन् २०२० मा भारतीयले स्वीस बैंकमा २०,७०० करोड भारु बचत गरेको जनाइएको छ । भारतीय बचत १३ वर्ष यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on २०२० मा नेपालीले स्वीस बैंकमा २०१९ को तुलनामा दोब्बर रकम राखे 

    जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई भारतीय मजदुरको मृत्यु

  • ६ असार २०७८, आईतवार ०२:२२ मा प्रकाशित

  • काठमाडौँ– सिमरास्थित जगदम्बा स्टिल उद्योगमा शनिबार आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । घटनामा चार मजदुर घाइते भएका छन् ।

    उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा बेलुकी साढे सात बजे आगलागी भएको हो ।

    आगलागीमा परी दुई मजदुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुईवटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

    मृत्यु हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहानकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् ।

    घाइतेहरूको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेकोमा गम्भीर अवस्था रहेका एक जनालाई वीरगञ्जको वयोधा अस्पतालमा रिफर गरिएको छ ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई भारतीय मजदुरको मृत्यु

    सानदार लुक्समा नयाँ विवाइडी इ-६, दुई महिना भित्रै नेपाल आउने, कति पर्ला मूल्य

  • २३ जेष्ठ २०७८, आईतवार १५:४४ मा प्रकाशित
  • काठमाडौं । विवाइडीको आधिकारीक वितरक साइमेक्स इङ्कले इ-६ को नयाँ जेनेरेशन मोडल नेपाल ल्याउने भएको छ । कम्पनीले विवाइडीको सेकेन्ड जेनेरेशन मोडल दुई महिना भित्रै नेपाल ल्याउने भएको हो ।

    पहिलो जेनेरेशन मोडलको तुलनामा व्यापक परिमार्जन सहित आउने नयाँ जेनेरेशन मोडल निकै आकर्षक डिजाइनमा उपलब्ध रहने छ । यसको मूल्यको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । यद्यपी यसको मूल्य ६६ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

    जिएल र जिएलएक्स गरि दुई भेरियन्टमा उपलब्ध हुने विवाइडी इ-६ को दुबै भेरियन्टमा ७१.७ किलोवाट आवरको व्याट्री प्याक दिइएको छ । डब्ल्यूएलटीसीको अनुसार यी दुबै कारले सहरी क्षेत्रमा ५२० र हाइवेमा ४१५ किलोमिटर रेञ्ज प्रदान गर्ने छ । पहिलेको भन्दा निकै कम तौलमा यो उपलब्ध हुने छ ।

    विवाइडीले उत्पादन गरेको नयाँ व्लाड व्याट्री प्याक यसमा उपलब्ध रहेको छ । यसलाई तीन किसिमको चार्जरबाट चार्ज गर्न सकिन्छ । ४० किलोवाटको एसी चार्जरले यसलाई २ घन्टामा फुल चार्ज गर्न सक्छ भने, ६.६ किलोवाटको एसी सामान्य चार्जरले १२ घन्टामा फुल चार्ज हुनेछ । यसलाई ६० किलोवाटको डिसी सिसिएस २ चार्जरले ९० मिनेटमा फुल चार्ज गर्ने कम्पनीले दावी गरेको छ ।

    फ्रन्ट ह्वील ड्राइभ सिस्टम जडान भएको विवाइडीको नयाँ जेनेरेशन मोडलको लम्बाई ४६९५ एमएम, चौडाई १८१० एमएम र उचाई १६७० एमएम रहेको छ । नयाँ इ-६मा २८०० एमएमको ह्वीलवेस रहेको छ । यसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । एमपीभी भएकाले यसमा आवस्यकता अनुसारको बुट स्पेश तयार गर्न सकिन्छ ।

    विशेषत सुरक्षालाई ध्यानमा राखेर तयार गरिएको विवाइडी इ-६ को नयाँ जेनेरेशन मोडलमा चालक सहित सबै प्यासेन्जरको सुरक्षाको लागि एयरव्याग, थ्रि प्वइन्ट सिटवेल्ट, चालक र सबै यात्रुको लागि सिटवेल्ट रिमाइन्डर, आइएसओ फिक्स चाइल्ड सिट, चिल्ड्रेन सेफ्टी लक, रिमोट लक, स्मार्ट कि सिस्टम, स्पीड सेन्सिङ्ग अटोमेटिक डोर लक, रियर भ्यू क्यामेरा, रिभर्स राडार, लो स्पीड बीप जस्ता फिचर दिइएको छ ।

    भ्यान्टिलेटेड डिस्क ब्रेक, इलेक्ट्रीक पावर स्टेरिङ, एबीएस, इलेक्ट्रोनिक्स स्टेविलिटी प्रोग्राम जस्ता विशेषता यसमा पाउन सकिन्छ ।

    यात्रालाई आरामदायी बनाउन लेदर सिट, अगाडि बस्ने प्यासेन्जर र चालकको लागि ६ तरिकाले आवस्यकता अनुसार मिलाउन मिल्ने सिट, मल्टी लिंक सस्पेन्सन पाउन सकिन्छ ।

    कालो कलरले सजिएको क्याविन, ड्यासबोर्डमा दिइएको स्पीड लिमिट रिमाइन्डर डिभाइस, ५ इन्चको टिएफटी डिस्प्ले, बाहिरी वातावरणको टेम्पेचर डिस्प्ले, स्टेरिङमा दिइएको भ्वाइस कमाण्ड बटम, १०.१ इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, ४ वटा स्पीकर, ४ किसिमले एड्जस्ट गर्न मिल्ने स्टेरिङ, अटोमेटिक एसी नयाँ जेनेरेशन इ-६ का मुख्य विशेषता हुन् ।

    पूर्णत नयाँ डिजाइनको एक्सटेरियर दिइएको इ-६ मा १७ इन्चको अलोय ह्वील, हेलोजिन हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, एलइडी टेल लाइट पाउन सकिन्छ !

    Posted in अर्थLeave a Comment on सानदार लुक्समा नयाँ विवाइडी इ-६, दुई महिना भित्रै नेपाल आउने, कति पर्ला मूल्य

    बजेटपछिको सेयर बजार : दुई दिन अत्यायो, त्यसपछि उल्लास

  • २२ जेष्ठ २०७८, शनिबार १६:१० मा प्रकाशित
  • २२ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट वक्तव्यको भोलिपल्टै सेयर बजारमा हरियाली देखियो । लोकप्रिय बजेट ल्याएको भन्दै बजेटको निजी क्षेत्रले स्वागत र विपक्षीहरुले आलोचना गरिरहेका थिए ।
    सेयर बजारमा भने सकारात्मक असर देखियो । जेठ महिनाको तेस्रो साता लगानीकर्ताहरुका लागि सुखद रह्यो । शनिबार बजेट आयो, त्यसको भोलिपल्ट आइतबार नेप्से परिसूचक १२.५४ अंकले बढेर २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुग्यो । अघिल्लो साता सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको थियो । १४ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएर बजारमा नयाँ रेकर्ड कायम भयो ।
    त्यसपछिका दिनहरुमा भने दिनैपिच्छे जस्तो नयाँ रेकर्ड कायम हुँदै गयो । बजेटपछि आइतबार दोहोरो अंकले नेप्से परिसूचक बढे पनि सोमबार यो कायम रहन सकेन । सोमबार र मंगलबार भने नेप्से परिसूचक दोहोरो अंकले घट्यो । अब बजारमा ठूलो गिरावट आउन सक्ने भन्दै लगानीकर्ताहरु डराए ।
    तर बुधबार र बिहीबार भने लगानीकर्ताहरुले निराश हुनु परेन । साताको अन्तिम दिन बिहीबार लगानीकर्ताहरुलाई हौसला दिने गरी बजार बढेर बन्द भयो । बुधबार नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २७ दशमलव १२ अंकमा पुगेको थियो ।
    बुधबार समूहगत इन्डेक्समा म्युचुअल फण्ड बाहेकका सबै समूहका सवइन्डेक्सहरु बढेका थिए भने दुई दिन लगातारजसो गिरावट आएको हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्यमा बुधबार भने सुधार देखियो ।
    बिहीबार सेयर बजारमा नयाँ रेकर्ड नै कायम भयो । बिहीबार दिउँसो १ बजेर २७ मिनेट जाँदा नेप्से परिसूचक बढेर २ हजार ८ सय ७५ अंकमा पुगेको थियो । जुन हालसम्मकै उच्च अंक हो । यद्यपि कारोबार समय सकिदासम्म नेप्से परिसूचक २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ६७ अंकमा पुगेर बन्द भएको थियो । यस दिन १६ अर्ब ९० करोड रुपैयाँभन्दा धेरैको कारोबार भयो ।
    पूँजीमा व्यापक सुधार
    पछिल्लो समय सेयर बजारमा देखिएको आकर्षणका कारण सेयर बजारको पूँजीकरणमा निकै राम्रो वृद्धि देखिएको छ । पछिल्लो एक महिनामा नै सेयर बजारका लगानीकर्ताको पूँजी करिब ३ खर्ब रुपैयाँले वृद्धि भएको छ । वैशाख २१ गतेसम्म सेयर बजारको पूँजीकरण ३६ खर्ब ८३ अर्ब १३ करोड ३६ लाख रुपैयाँ रहेको थियो ।
    २० जेठसम्म यस्तो पूँजीकरण २ खर्ब ८१ अर्ब ७ करोड ८५ लाख रुपैयाँले वृद्धि भएर ३९ खर्ब ६४ अर्ब २१ करोड २१ लाख रुपैयाँ नाघेको छ । पछिल्लो समय सेयर लगानीकर्ताहरुको सहभागिताका साथै नयाँ सेयर सूचीकृत हुने संख्यामा वृद्धि भएका कारण पनि सेयर बजारको बजार पूँजीकरणमा वृद्धि देखिएको हो ।
    कमजोर देखियो बैंकिङ सूचक
    यस साता बजारमा उत्साह देखिएपनि बैंकिङ समूहको सवइन्डेक्स भने कमजोर देखिएको छ । दुई वर्ष अघि आधाभन्दा कम अंकमा रहेको फाइनान्स समूहको सबइन्डेक्सले बैंकिङ सब इन्डेक्सलाई पछाडि पारेको छ ।
    बिहीबार बैंकिङ सब इन्डेक्स बढेर १ हजार ९ सय ७ दशमलव ४६ अंकमा पुग्दा फाइनान्स बढेर १ हजार ९ सय ४२ दशमलव ५१ अंकमा पुग्यो ।
    बिहीबार नेप्से परिसूचक २ हजार ८ सय ५६ दशमलव ६७ अंकमा पुगेको छ । आजभन्दा २ वर्ष अघिको तथ्यांक हेर्ने हो भने नेप्से परिसूचक १ हजार २ सय ९४ दशमलव २३ अंकमा थियो । त्यसबेला बैंकिङ सबइन्डेक्स १ हजार १५२ दशमलव २७ अंकमा थियो भने फाइनान्स ६२० दशमलव २९ अंकमा थियो ।

    Posted in अर्थLeave a Comment on बजेटपछिको सेयर बजार : दुई दिन अत्यायो, त्यसपछि उल्लास

    तीन वर्षदेखि राजस्व नबढे पनि राज्य कोषमा अर्बौको भार थप्दै सरकार

  • १० जेष्ठ २०७८, सोमबार १५:०७ मा प्रकाशित
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठन भएयता संघीय सरकारले संकलन गर्ने राजस्वमा बृद्धि देखिएको छैन। बजेटमा गरिएको अनुमान गरिएको लक्ष्य त झन् भेटिएकै छैन।

    गएको वर्ष कोरोनाको प्रभावलाई देखाएर राजस्‍व बृद्धिको प्रश्नबाट उम्किएको सरकारले दीर्घकालिन दायित्व भार थप्न भने पछि हटेको छैन।

    पछिल्ला तीन आर्थिक वर्षमा केन्द्रीय सरकारले लक्ष्यअनुसार राजश्‍व उठाउनका लागि कुनै पनि पहल पनि गरेको पाइदैन। सरकारले खनिज इन्धनबाट चल्ने सवारीसधान प्रबर्द्धन गरी कर बढी उठाउने जस्ता उपाया अपनाए पनि नयाँ आर्थिक उपकरण भने खोजी गरेको छैन।

    आर्थिक वर्ष २०७४/७५ मा केन्द्रीय सरकारले ७ खर्ब २६ अर्ब राजस्व संकलन  गरेको थियो। उक्त वर्ष बेरुजु संकलनबाट आएको रकमलाई राजस्‍व खातामा हाल्ने नहाल्ने विषयमा अर्थमन्त्रालय र कोष तथा लेखा महानियन्त्रक कार्याले बीचमा विवाद नै भएको थियो। त्यसपछिको वर्ष २०७५/७६ मा सरकारले ७ खर्ब ३३ अर्ब राजस्‍व संकलन गरेको थियो। यो वर्ष भने बेरुजुबाट संकलन भएको रकमलाई राजस्‍व खातामा जम्मा गरेर नयाँ राजस्‍वमा गणना गरिएको थियो। सोही कारणले राजस्‍व धेरै देखिएको अधिकारीहरुले बताएका छन्। बेरूजुलाई घटाउने हो भने अघिल्लो वर्षको भन्दा पनि न्यून कर संकलन भएको थियो।

    गएको वर्ष अर्थात् २०७६/७७ मा भने सरकारले जम्मा ७ खर्ब ५ अर्ब राजस्‍वमात्र संकलन गरेको छ। कोरोना महामारीले वर्षका अन्तिम चार महिना प्रभावित भएपछि राजस्‍व संकलन घटेको मन्त्रालयको ठहर छ। महामारीका कारण राजस्‍व न्यून संकलन भएको  भनिए पनि कर बृद्धिको आधार भने खासै विस्तार भएको छैन।  यो वर्ष पनि कोरोना महामारीका कारण वैशाख दोस्रो सातादेखि देशका अधिकांस भागमा निषेधाज्ञा लागू भएको छ। यसको असर राजस्‍व संकलनमा पर्ने निश्चित छ।

    राज्यले करका रुपमा उठाएर गर्ने आम्दानीबाट जनतालाई सेवा सुविधा दिने गर्छ। जसरी राज्यको आम्दानी बढ्दै जान्छ सोहीअनुसारको सुविधा पनि बढ्दै जाने हुन्। तर  वर्तमान ओली सरकार कर उठे वा नउठे पनि दीर्घकालिन भार पर्ने अनिवार्य दायित्व सिर्जना गर्नेतिर उद्दत रहेको छ।

    कर नबढे पनि अघिल्लो वर्ष सामाजिक सुरक्षा भत्ता बढाएको सरकारले आगामी वर्षको बजेटबाट फेरि बढाउने तयारी गरेको छ। विशेषगरी सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब बढाउने सरकारको तयारी छ। आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले भत्ता बढाउने संकेत गरेका छन्।

    अर्थमन्त्रालयका निकट अधिकारीहरुका अनुसार बजेटको प्राविधिक पक्ष करिब सकिएको छ। अहिलेकै कार्यक्रमको निरन्तरता बाहेक ठूला र भौतिक तथा आर्थिक पूर्वाधाकारका नयाँ कार्यक्रम खासै हुने छैनन्।

    राज्यको क्षमता परिचालन हुने खालका नयाँ कार्यक्रमभन्दा भएकै अनुदान दिने तथा बाँड्ने कार्यक्रमलाई हाइलाइट गरेर बजेटको खाका तयार भएको छ।

    ‘मोटामोटी बजेटको ओरेन्टेशन चुनाव हो। चुनावका लागि हुने खर्च त भइगयो। त्यो भन्दा बजेटका कार्यक्रमहरु चुनाव लक्षित हुने छन्’ अर्थमन्त्रालय सम्बद्ध स्रोतले भन्यो’ जनता जे कुरामा तत्काल खुसी हुन्छन् जसको परिणाम तत्काल देखिन्छ त्यस्तै कार्यक्रमहरु यसपालि अलि जोडतोडका साथ आउने छन्।’

    राजनीतिक तहबाट आएका निर्देशन तथा कार्यक्रमलाई सकेसम्म नछुटाइ राख्ने प्रयास गरिएको  अधिकारीहरुले बताएका छन्। कार्यान्वयन हुने/नहुने जे जति भएपनि सबैलाई समेट्नेगरी कार्यक्रम तय हुने छन्।

    आगामी वर्षका लागि आउने बजेटको सबैभन्दा हार्डहिटिङ भनेको सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब बृद्धि हुने छ। कर्मचारीको तलब १० प्रतिशत भन्दा बढीले बढ्ने करिब निश्चित जस्तै छ।

    ‘अघिल्लो वर्ष नै बढाउनुपर्ने तलब महामारीका कारणले रोकियो। तर यो पालि बढ्ने नै भयो । तर कति भन्ने कुरा अन्तिममा अझै ठोस भएर आउछ होला’ एक अधिकारीले भने।

    कोरोनाबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान,रोजगारी सिर्जना तथा सिप विकास जस्ता सदाबहार कार्यक्रम पनि यो पालि पनि छुट्ने छैनन्।

    ‘मोटामोटी लोकप्रिय कार्यक्रम भएकाले यसमा बढाउने भन्ने दबाब छ। प्रधानमन्त्री स्वयम् बढाउने भनेर सार्वजनिक घोषणा पनि गरिसक्नुभएको छ। यस्तोमा के र कति भन्नेमात्र हो’ एक अधिकारीले भने’कुरा कतिमात्र हो भने हजार कि दुई हजार बढाउने भन्नेमात्र हो।’

    संसद विघटन भएको अवस्थामा नयाँ संविधान निर्माणपछि पहिलोपटक अध्यादेशबाट आउन लागेको बजेट आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना,विकास भन्दा पनि बाँड्ने कार्यक्रम लक्षित हुने देखिएको छ।

    एकातिर राजस्‍वको अनुमान अघिल्लो वर्षकै अनुपातमा बढ्ने अवस्था छैन। अर्कोतिर सरकार भने दीर्घकालिन दायित्व थपिनेगरी बजेटको डिजाइन गरिरहेको छ। यसको सिधा कुरा भनेको नियमित विकास निर्माण तथा आर्थिक सामाजिक लगानीलाई खुम्च्याउने हो।

    वर्तमान कानूनअनुसार नेपालमा १० समूहले सामाजिक सुरक्षाको रुपमा मासिक भत्ता पाउँदै आएका छन्। जेष्ठ नागरिक दलित, एकल महिला, ७० वर्ष माथिका जेष्ठ नागरिक, तोकिएका क्षेत्रका जेष्ठ नागरिक, विधवा,अपांगता क र ख वर्ग,लोपोन्मुख जाति र वाल पोषणको रुपमा भत्ता दिइन्छ। हरेक समूहअनुसार मासिक रुपमा पाउने भत्ताको दर पनि फरक रहेको छ।

    प्रधानमन्त्री ओलीले यसअघि नै बृद्धा भत्ता पाँच हजार पुर्‍याउने घोषणा गरेका छन्। यस हिसाबले ७० वर्ष माथिका नागरिकलाई मात्र दिइने भत्तामा बृद्धि गरे पनि अहिलेको ३ हजारमा २ हजार थप गर्नुपर्छ। २ हजार थप हुँदा यसमा वर्षमा ३० अर्ब ५६ करोडको दायित्व थप हुन्छ।

    यस बाहेक सामाजिक सुरक्षा भत्ता पाउने अरु समूहमा १६ लाख बढी छन्। अरु समूहको पनि भत्ता बढ्दा कूल दायित्व ४० अर्बजति थपिन्छ। यदि बृद्धा भत्ता हजार रुपैयाँ बृद्धि भएपनि दायित्व २० अर्ब बढी थपिने निश्चित छ। चालु वर्ष ६७ अर्ब बजेट रहेको सामाजिक सुरक्षाका लागि आगामी वर्षदेखि नै १  खर्ब पुग्ने निश्चित छ।

    अर्बौको दायित्व थप गर्ने तयारीमा रहेको सरकारले बजेट भने आफैमा अध्यादेशबाट ल्याउने छ। चुनावी सरकारले पूर्ण बजेटमात्र होइन दीर्घकालिन दायित्व सिर्जना गर्न खोजिएकोमा कतिपयले विरोध जनाएका छन्।

    संवैधानिक र कानूनी प्रश्न भन्दा पनि राजनीतिक र नैतिक हिसाबले यो सरकारलाई करका दर फेरबदल गर्ने तथा दायित्व सिर्जना गर्ने अधिकार नभएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शंकर शर्मा बताउछन्।

    ‘यो संवैधानिक र कानूनी भन्दा पनि नैतिक प्रश्न हो। लोकतन्त्रमा अभ्यास प्रथाको मूल्य हुन्छ। चुनावी सरकारले दीर्घकालिन व्ययभार सिर्जना हुने कुनै पनि काम गर्न हुँदैन’ उनले सेतोपाटीसँग भने।

    चुनाव घोषणा गरेको सरकारले बृद्धा भत्ता बढाएर भोट आर्षित गर्न खोजेको कतिपयले आरोप लगाएका छन्। राज्यको क्षमता नहेरी दायित्व थप गर्ने कुराले आर्थिक अराजकता सिर्जना हुने कतिपयको धारणा छ।

    सामाजिक सुरक्षाको विरोध कसैले नगरेपनि यसलाई राज्यको क्षमता,आर्थिक बृद्धि,राजस्‍व जस्ता कुरासँग जोडेरमात्र अघि लिंदा जायज हुने अर्थशास्त्री विशाल चालिसे बताउछन्।

    ‘हुनुपर्ने राज्यको आर्थिक क्षमताअनुसारको वितरण हो। तर नेपालमा यो राजनीतिक मुद्दा छ। साँच्चिकै सुरक्षा दिने खालका कार्यक्रम भन्दा पनि  बाँड्नेमात्र खालका यस्ता कार्यक्रमको परिणाम के हुन्छ भन्ने पनि हेरिएको छैन’ चालिसेले भने।

    स्रोतको अनुशासित परिचालनबाट सामाजिक सुरक्षाको दायरा फराकिलो पार्नसक्ने सुविधा भएपनि सरकार त्यता नगएको अर्का अर्थशास्त्री डिल्लिराज खनालको भनाइ छ। महामारीको समयमा जनतालाई तत्काल राहतका कार्यक्रम पनि वितरणमुखी नै आवश्यक हुने भनिए पनि दीर्घकालिन दायित्व थप गर्दा भने स्रोतको अनुमान पनि गर्नुपर्ने उनको भनाई छ।

    ‘मैले विगतदेखि भन्दै आएको छु। यो सरकारसँग अनावश्यक खर्च कटौतिको अवसर थियो। त्यति गरेर यता सामाजिक सुरक्षाको दायरा फराकिलो पारिदिएको भएमात्र पनि समस्या हुने थिएन। तर जसरी अनुशासन मिच्ने काम गरिएको छ यसले  राम्रो परिणान दिंदैन’ खनालले भने।

    copied:setopati

    Posted in अर्थLeave a Comment on तीन वर्षदेखि राजस्व नबढे पनि राज्य कोषमा अर्बौको भार थप्दै सरकार

    अक्सिजन सिलिन्डरमा सहयोग, सहकार्य र ऐक्यबद्धताको लागि धन्यवाद : अध्यक्ष:- बिकल झा

  • २ जेष्ठ २०७८, आईतवार ००:५१ मा प्रकाशित

  • गैरआवासीय नेपाली संघ ओमानका अध्यक्ष विकल झाद्वारा आज नेपाल पठाइएको ५६०अक्सिजन सिलिन्डरमा तन मन धन द्वारा सहयोग गर्नुभएका मध्यपूर्वका संघसंस्था कूटनीतिक नियोग लगायत सम्पूर्ण अप्रवासी नेपालीहरुलाई सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभएको छ।

    आजनै गैर आबासिय नेपाली संघ,मध्यपुर्ब, अन्तर्राष्ट्रिय समन्वय परिषद र आप्रवासी नेपालीहरुको आर्थिक सहयोगमा एन आर एन ए ओमानले नेपाल सरकार र ओमान स्थित नेपाली राजदुतावासको सहकार्यमा ५६० अक्सिजन सिलिन्डर नेपाल एयरलाइन्सको “अन्नपूर्ण” चार्टर जहाजबाट पठाउन सफल भएको छ ।

    उहाले भन्नु भयो कोभिड-19 को दोस्रो लहरबाट सन्क्रमित बिरामीहरु अक्सिजनकै कारण छट्पटिएर ज्यान गुमाउनु परिरहेको अत्यन्तै कहालीलाग्दो अबस्थालाई हृदगयम गरि बिदेशी भुमिमा परिवारकै खुशीका लागि कार्यरत आप्रवासी नेपालीहरुको परिवारजनहरुको नै ज्यान जोखिमा रहेको यस पिडादायी अबस्थामा सबैले आ आफ्नो क्षेत्रबाट ऐक्यबद्धता जनाउदै सक्दो आर्थिक सहयोग जुटाउनभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं ।

    उहाले हिमालयन दृष्टि संग कुरा गर्दै अत्यन्तै छोटो समयमा अक्सिजन सिलिन्डर ब्यबस्थापन गरि नेपाल पठाउन एन सि सि ओमानलाई बिश्वास गरि दिएको जिम्मेवारीका लागि मध्यपुर्बका सम्पुर्ण पदाधिकारीज्युहरु प्रति हार्दिक धन्यवाद ज्ञयापन गर्दै, सिलिन्डर नेपाल पठाउनका लागि ओमान स्थित नेपाली राजदुतावासको कुटनैतिक पहल र तत्परता ज्यादै सराहनीय रहेको र
    पुनस्च : यस महान र मानव स्वास्थ्य रक्षार्थका खातिर आ आफ्नो तर्फबाट गर्नु भएको सहयोग, सहकार्य र ऐक्यबद्धताको लागि हार्दिक नमन गर्दछौं भनि भन्नु भयो

    Posted in अन्तर्राष्ट्रिय, अर्थLeave a Comment on अक्सिजन सिलिन्डरमा सहयोग, सहकार्य र ऐक्यबद्धताको लागि धन्यवाद : अध्यक्ष:- बिकल झा

    अनलाइनबाटै कसरी लिने पुनः श्रम स्वीकृति ? (स्टेप बाई स्टेप)

  • ३१ बैशाख २०७८, शुक्रबार १५:०५ मा प्रकाशित

  • पुस १७, काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट विश्वको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । नयाँ नीतिसंगै श्रम स्वीकृति लिनका लागि नेपालस्थित श्रम कार्यालयमै धाउनुपर्ने बाध्यता हटेको छ ।

    अनलाइन श्रम स्वीकृति कसरी लिने ?

    अनलाइनबाट पुनः श्रम स्वीकृति लिन भन्दा अघि तपाईले यी ६ थरीका कागजात सकंलन गर्नुहोस ।
    १. पासपोर्ट साइजको स्पस्टसँग आउने फोटो स्क्यान गर्नुहोस वा राम्रो मोबाइल वा क्यामरा छ भने त्यसले पासपोर्ट साइजको फोटो खिच्नुहोस

    २. तपाइको राहदानीको पेज न. २, ३ र ३१ को पाना स्क्यान गर्नुहोस्

    ३. भिसाको स्क्यान कपी (पुरानो भिसा भए सो राहदानी र हालको भिसा दुबैको स्क्यान कपी चाहिन्छ)

    ४. अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको पानाको स्क्यान गर्नुहोस ।

    ५. यसअघि श्रम स्वीकृति पाएको भन्दा फरक रोजगारदाताकोमा काम गर्न जाने कामदारको लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौता पत्रको स्क्यान कपी ।

    ६. रोजगारदाता मुलकस्थित नेपाली दूतावास वा नियोगको प्रमाणीकरण पत्र आवश्यक पर्ने भनि तोकिएको अवस्थामा सोको स्क्यान कपी र अन्य कुनै प्रमाण कागजातहरु भए ती सबै स्क्यान गरेर तयारी अवस्थामा राख्नुहोस् ।

    माथि तोकिएको ६ प्रकारका कागजात संकलन गरेपछि अब तपाई अनलाइनमा फारम भर्न सुरु गर्नुहोस् ।

    पहिलो चरण

    १. सुरुमा www.dofe.gov.np मा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुहोस् ।

    २. तपाईले यसअघि श्रम स्वीकृति अनलाइनबाट नै लिनु भएको छ भने पासवर्ड तपाईसँगै सुरक्षित हुन्छ । तपाईले पुरानै युजरनेम र पासवर्ड प्रयोग गरी साइन इन गर्न सक्नुहुनेछ ।

    उक्त युजरनेम र पासवर्ड प्रयोग गरी अर्को पटक श्रम स्वीकृति लिन, श्रम स्वीकृतिको अवस्थाको अवस्था थाहा पाउन, वैदेशिक रोजगार विभागमा कुनै उजुरी वा गुनासो गर्न र वैदेशिक रोजगारसम्बन्धी विवरणहरु हेर्नका लागि आवश्यक पर्ने भएकाले तपाईले यो सुरक्षित राख्नुहोस् ।

    दोश्रो चरण

    पहिलो चरणमा दिईएको लिंकमा क्लिक गरेर अनलाइन श्रम स्वीकृतिमा क्लिक गरेपछि पासपोर्ट नम्बर हानेपछि तपाईंको व्यक्तिगत विवरण सहितको प्रोफाइल खुल्नेछ । प्रोफाइल पेजमा रहेको तपाईको व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने भएमा प्रोफाइल मेनुमा क्लिक गरेपछि देखा पर्ने इडिट अप्सनमा क्लिक गरी आफ्नो विवरण सच्याउन सकिन्छ ।

    उक्त पेजमा स्टार चिह्न भएकाहरु सबै विवरण अनिवार्य भर्नुपर्छ । यसअघि पुरानो पासपोर्टबाट श्रम स्वीकृति पाएको तर अहिले नयाँ पासपोर्टबाट श्रम स्वीकृति लिनुपर्ने भएमा न्यू पासपोर्ट इन्फोमा गएर नयाँ पासपोर्टको विवरण भरेर सो पासपोर्टको २, ३ र ३१ पेजको स्क्यान कपी अपलोड गर्नुपर्छ । त्यसपछि तपाईले विवरण सवमिट बटनमा थिचेर सेभ गर्नुपर्छ ।

    अब तपाईले भरेको सबै विवरण ठीक छ कि छैन हेरेर यकिन गरी सच्याउनु पर्ने भएमा प्रोफाइल मेनुको इडिट बटनमा क्लिक गरी सच्याउनु पर्छ । अर्को प्रक्रिया सुरु भइसकेपछि भने सच्याउन मिल्दैन ।

    तेश्रो चरण

    अब पुनः श्रम स्वीकृति माग गर्न रिइन्ट्री मेनुमा गई इम्प्लोइमेन्ट डिटेल्समा क्लिक गर्नुहोस र त्यहाँ एड न्यू बटन देखिन्छ, त्यसमा क्लिक गरी माग गरिएको विवरण भर्नुपर्छ र माग गरिएका कागजातहरुको स्क्यान कपी समेत अपलोड गर्नुपर्छ ।

    चौथो चरण

    स्वीकृति प्राप्त बिमा कम्पनीमा गई बिमा गर्नुहोस् र अनलाइनमा अपलोड भएको वा नभएको यकिन गर्नुहोस् ।

    बिमाको साथै कल्याणकारी कोषमा पनि पैसा तिर्नुपर्छ, यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट वैदेशिक रोजगार कल्याणकारी कोषको रकम जम्मा गर्न अनुमति पाएको कुनैपनि एक बैंकमा गएर कल्याणकारी कोषको खातामा २ वर्षदेखि ३ वर्षको अवधिको लागि पुन: श्रम स्वीकृति निकाल्ने हो भने १ हजार ५ सय रुपैयाँ र ३ वर्ष भन्दा बढी समयको लागि हो भने २ हजार ५ सय रुपैयाँ रकम तिर्नुपर्छ । बैंकले पनि रकम जम्मा भएको विवरण अनलाइनबाटै पठाउँछ ।

    पाँचौं चरण

    रि–इन्ट्रि मेनुमा भएको इन्डिभ्यूजअल रि–इन्ट्री रिक्वेस्टमा क्लिक गर्नुहोस् र इन्स्योरेन्स र क्यास डिपोजिटमा ठीक चिह्न लागेको भएमा दाहिने कुनामा भएको एक्सन आइकन क्लिक गरी रिक्वेस्ट बटनमा क्लिक गर्नुहोस् । त्यसपछि आउने उपलब्ध शाखा र सो शाखाले उपलब्ध गराएको दिनको टोकन मिति छनोट गर्नुहोस् । हालका लागि अनलाइन श्रम स्वीकृतिका लागि अनलाइन ब्रान्च छान्न सकिन्छ ।

    माथिका सबै प्रक्रिया पूरा भएपछि अनलाइनमार्फत श्रम स्वीकृतिका लागि तपाईको आवेदन पेश हुन्छ । श्रम स्वीकृतिको निस्सा प्रिन्ट गर्न आवश्यक भएकामा प्रिन्ट गर्न सकिनेछ ।

    अब तपाइँको आवेदन विभागले क्रमश: हेर्छ र भेरिफाइ गर्छ । उक्त विवरण तपाइँले तपाइको मोवाइल वा इमेलमा पाउन सक्नुहुन्छ । यदी कुनै कागजात नमिलेको खण्डमा आवेदन अस्वीकृत गर्नुपर्ने भएमा कारण सहितको विवरण मोवाइल वा इमेल मार्फतनै जानकारी पाइन्छ ।
    साभार : साझा सवाल

    Posted in अन्तर्राष्ट्रिय, अर्थLeave a Comment on अनलाइनबाटै कसरी लिने पुनः श्रम स्वीकृति ? (स्टेप बाई स्टेप)

    धरौटी बुझाउन नसक्दा दुबईबाट सुन बोकेर आएका पाँच नेपाली सुन्धारा कारागारमा

  • ३१ बैशाख २०७८, शुक्रबार ०१:०४ मा प्रकाशित

  • काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईबाट गत साता नेपाल फर्किने क्रममा १ किलो ३ सय ९१ ग्राम सुनसहित काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका ५ नेपालीलाई कारावास चलान गरिएको छ।

    उनीहरूलाई प्रचलित सुनको मूल्य धरौटीमा बुझाउन विमानस्थल भन्सार कार्यालयले आदेश गरेको थियो। तर, उनीहरूले धरौटी रकम बुझाउन नसक्दा जेल चलान भएका हुन्।

    सुन बोकेर आउनेमध्ये नुवाकोट तारकेश्वर–५ गोरस्याङका सुमित तामाङलाई सोह्रलाख चौतिस हजार रुपैयाँ बराबरको बिगो माग गरिएको थियो।

    दुबईबाट बैशाख २० गते स्पीकरमा सुन लुकाएर ल्याउने क्रममा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका रामबहादुर तामाङ र सुमित तामाङ तथा कास्कीका राजु बिक पक्राउ परेका थिए।

    जनक र यमलाल एयर अरेविया, धनबहादुर र सुमित हिमालय तथा राजु नेपाल एयरलाइन्सको दुबई उडानमार्फत नेपाल आएका थिए।

    विमानस्थल भन्सार कार्यालयका अधिकृत भरत अधिकारीले प्रवास खबरलाई दिएको जानकारी अनुसार उनीहरूलाई बैशाख २३ गते नै काठमाडौं जिल्ला अदालतमा पेश गरेर सुन्धारा कारागारमा पठाइसकेको छ।

    ‘सुन बोकेर आउने पाँच जनालाई उनीहरूले बोकेको सुनको आधारमा धरौटी तोकिएको हो। जिल्ला अदालतमा पेश गरेर हामीले सुन्धारा कारागारमा पठाइसकेका छौं,’ अधिकृत भरत अधिकारीले भने।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on धरौटी बुझाउन नसक्दा दुबईबाट सुन बोकेर आएका पाँच नेपाली सुन्धारा कारागारमा

    एन.आर.एन द्वारा उपलब्ध गराउने ६ सय थान अक्सिजन सिलिण्डर ल्याउन निगमको जहाज ओमान जाने ।

  • ३१ बैशाख २०७८, शुक्रबार ००:२२ मा प्रकाशित
  • ६ सय थान अक्सिजन सिलिण्डर ल्याउन निगमको जहाज ओमान जाने, हरेक दिन बेइजिङ उडानको योजना
    काठमाण्डाै – नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अक्सिजन सिलिण्डर लिन शनिबार ओमान जाने भएको छ ।
    गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने ६ सय थान अक्सिजन सिलिण्डर लिन वाइडबडी जहाज आउँदो शनिबार ओमानको राजधानी मस्कट जाने निगमका महाप्रबन्धक डिमप्रकास पौडेलले जानकारी दिनुभयो ।
    शनिबार नै जहाज चीनको बेइजिङ जाने तयारीमा छ । बेइजिङमा संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिण्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जाने तयारी गरिरहेका उहाँको भनाइ छ ।
    त्यसपछि हरेक दिन नेपालकाे लागि ५ सय ५० थान सिलिण्डर उत्पादन हुने भएकोले दिनदिनै वाइडबडी जहाज बेइजिङ पठाउने तयारी छ । अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको महाप्रबन्धक पौडेलले बताउनुभयो ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थLeave a Comment on एन.आर.एन द्वारा उपलब्ध गराउने ६ सय थान अक्सिजन सिलिण्डर ल्याउन निगमको जहाज ओमान जाने ।

    सेयर लगानीकर्ताले जान्नैपर्ने १० कुरा

  • ३० बैशाख २०७८, बिहीबार १७:२६ मा प्रकाशित
  • हामीले सेयर बजारबाटै उल्लेख्य आम्दानी गरेको धेरै उदाहरण पाउन सक्छौं । यद्यपि, सेयर बजारबाट ठूलो रकम आर्जन गर्नु त्यति सजिलो भने छैन । यसको लागि उल्लेख्य धैर्यता र अनुशासन भएर मात्र पनि हुँदैन । बजारको उल्लेख्य अनुसन्धान र त्यसलाई बुझ्नु पनि जरुरी हुन्छ ।त्यसमाथि बेलाबेलामा सेयर बजारमा देखिने अत्यधिक उतारचढावले लगानीकर्ताहरुलाई द्विविधामा पारिदिन्छ । कतिबेला बेच्ने, कतिबेला प्रतिक्षा गर्ने र कतिबेला बेच्ने भन्ने भेउ उनीहरुले पाउन सक्दैनन् ।अहिलेसम्म सेयर बजारमा लगानीको लागि ढुक्क हुन सकिने कुनै पनि नियम बनेको छैन । तर, राम्रो मुनाफा आर्जन गर्ने सम्भावना बढाउने केही नियम यहाँ उल्लेख गरिएको छ ।
    १. अर्काको धेरै अनुशरण
    सेयर खरिद गर्ने वा बिक्री गर्ने भन्ने निर्णय मानिसले आफ्ना, साथीभाइ, आफन्त वा अन्य विश्वासिलो मानिसको प्रभावमा परेर गर्छन् । त्यसैले एउटै सर्कलका धेरै मानिसले कुनै एउटै सेयरमा लगानी गर्छन् ।
    दीर्घकालीनरुपमा भने यसले नोक्सानी पनि गर्न सक्छ । अर्काको अनुशरण नै गर्न हुँदैन भन्ने होइन त्यसैले कुन अवस्थामा लगानी गर्न सकिन्छ भनेर आफैंले राम्रोसँग सोचविचार गर्नुपर्छ ।
    सेयर बजारका बादशाह भनेर चिनिने वारेन बफेटको भनाइ छ, ‘अरुले लोभ गरिरहेको बेला सधैं सावधान हुनुहोस् र अरु डराइरहेको बेला लोभी हुनुहोस् ।’
    २. सुसूचित भएरमात्र निर्णय गर्नुहोस्
    सेयर बजारमा लगानी गर्नुभन्दा पहिला राम्रोसँग अध्ययन गर्नु पनि जरुरी हुन्छ । तर, धेरैले लगानी गर्नुपूर्व राम्रोसँग अध्ययन गर्दैनन् । मानिसहरु कम्पनीको नामको आधारमा समग्र अवस्था नबुझी लगानी गर्छन् तर यो सेयर बजारमा लगानी गर्ने सही तरिका भने होइन ।

    ३. कम्पनीमा मात्र लगानी गर्नुहोस्
    लगानी सेयर बजारको समग्र अवस्था हेरेर भन्दा पनि सम्बन्धीत कम्पनीलाई ध्यानमा राखेर गर्नुपर्छ । त्यसैले आफूले बुझेको कम्पनीमा लगानी गर्नु राम्रो हुन्छ ।
    यसको अर्थ तपाईंले कुनै कम्पनीमा लगानी गर्दै हुनुहुन्छ भने उक्त कम्पनीले के काम गर्छ भनेर तपाईंलाई राम्रोसँग थाहा हुनु जरुरी हुन्छ । त्यस कम्पनीले केकति लाभांश दिन्छ ? त्यो कम्पनीको सञ्चालक समिति वा व्यवस्थापन कस्तो छ राम्ररी अध्ययन हुनु जरुरी छ ।
    ४. बजारको मूल्य गणना गर्ने प्रयास नगर्नुहोस्
    सेयर बजारमा लामो समयदेखि लगानी गर्दै आएका मानिसले पनि बजारको भाउ यो समयमा यहाँ पुग्छ भनेर भन्न सक्दैनन् । तर, अधिकांश लगानीकर्ता भने त्यसको ठीक विपरीतको काम गर्छन् ।
    वित्तीय योजना बनाउनेले पनि यस्तो गणना नगर्न सुझाउँछन् । यसरी मूल्यको गणना गर्ने क्रममा मानिसहरुले आफूले पाउने रकम पनि गुमाउन पुग्छन् ।
    अहिलेसम्म सफलतापूर्वक कसैले पनि सेयर भाउको अनुमान गर्न सकेका छैनन् । बरु यसको चक्करमा मानिसहरुले सेयर बजारमा आफ्नो सही नाफा लिन नसकेको जानकारहरु बताउँछन् ।
    ५. अनुशासित लगानीको अवधारणा पालना गर्नुहोस्
    सेयर बजारमा सही तरिकाले प्रक्रियागतरुपमा सही बजारमा लगानी गरी उक्त लगानीलाई लामो समयसम्म राख्न सक्ने मानिसले अप्रत्याशित नाफा आर्जन गर्न सक्छन् । त्यसैले दीर्घकालीन लगानीलाई ध्यानमा राख्दै धैर्य गरेर अनुशासित लगानीको अवधारणाको अनुशरण गर्नुहोस् ।
    ६. भावनामा आएर निर्णय नगर्नुहोस्
    धेरै लगानीकर्ताले आफ्नो भावनालाई रोक्न नसकेको कारण सेयर बजारबाट धेरै नोक्सानीको सामना गर्छन् । विशेषगरी लोभ र डरले मानिसहरुले सही समयमा आफ्नो सेयर किन्न वा बेच्न सक्दैनन् ।
    मानिसहरुले छोटो समयमा धेरै पैसा कमाउने लोभलाई रोक्न सक्दैनन् । त्यसैले मानिसले लिन सक्नेजति फाइदा सेयर बजारबाट लिन सक्दैनन् ।
    ७. फरक फरक क्षेत्रमा लगानी गर्नुहोस्
    फरक फरक क्षेत्रमा लगानी गर्नु निकै कम जोखिममा उल्लेख्य फाइदा कमाउने एक अर्को महत्वपूर्ण तरिका हो । कति धेरै क्षेत्रमा लगानी गर्ने भन्ने कुरा लगानीकर्ताको जोखिम बहनको क्षमतामा भर पर्छ ।
    ८. सम्भव हुने अपेक्षा गर्नु
    तपाईंले सेयर बजारबाट धेरै नाफा कमाउने उद्देश्य राख्नु कुनै नराम्रो कुरा होइन । तर, तपाईंले राख्नुभएको लक्ष्य पूरा हुन सक्ने किसिमको हुनुपर्छ । उदाहरणको लागि पछिल्ला केही वर्षमा धेरै कम्पनीमा गरिएको लगानीमा ५० प्रतिशत नाफा आएको हुनसक्छ ।
    यसको अर्थ तपाईंले लगानी गरेको कम्पनीमा पनि सोही किसिमको नाफा हुन्छ भन्ने होइन । यस विषयमा वारेन बफेटको सिद्धान्त यस्तो छ, ‘सेयर बजारमा १२ प्रतिशतभन्दा बढी कमाउनु तपाईंको निकै ठूलो भाग्य हो, यदि तपाईं यो कुरामा हाँसिरहनुभएको छ भने आफ्नै लागि समस्या निम्त्याउँदै हुनुहुन्छ ।’
    ९.पर्याप्त रकम भएको अवस्थामा मात्र लगानी गर्नुहोस्
    सेयर बजारको अवस्था सधैं तलमाथि भइरहन्छ । त्यसैले तपाईंले नोक्सानी भए पनि सहन सक्छु भन्ने सोचेर मात्र लगानी गर्नुहोस् । यस्तोमा यो रकम गुमाए पनि मलाई ठूलो असर पर्दैन भन्ने अवस्थामा मात्र लगानी गर्नुहोस् ।
    यसको अर्थ तपाईंको लगानी गुम्न सक्छ भन्ने होइन, यसले राम्रो प्रतिफल दिन सक्छ । तर, शतप्रतिशत विश्वास केही कुरामा पनि हुँदैन । त्यसैले तपाईंले जोखिम उठाउनुपर्ने हुन्छ ।
    १०. निरन्तर निरीक्षण गर्नुहोस्
    सेयर बजारमा विश्वको कुनै पनि क्षेत्रमा हुने गतिविधिहरुले हाम्रो वित्तीय बजारमा असर पार्छ । त्यसैले हामीले निरन्तररुपमा आफ्नो लगानीमा निरीक्षण गरिरहनुपर्ने हुन्छ ।
    जसको माध्यमबाट आफ्नो लगानी कतातिर जाँदैछ भन्ने आफूलाई थाहा हुन्छ । समयको अभाव वा राम्रो ज्ञान नभएको कारण तपाईं त्यसो गर्न सक्नुहुन्न भने तपाईंले अर्को जान्ने मानिसको सहायता पनि लिन सक्नुहुन्छ ।
    तपाईं त्यसो पनि गर्न सक्नुहुन्न भने आफ्नो लगानी जोखिम कम हुने अन्य क्षेत्रमा लैजानु राम्रो हुन्छ । –एजेन्सीहरुको सहयोगमा

    Posted in अर्थLeave a Comment on सेयर लगानीकर्ताले जान्नैपर्ने १० कुरा

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P