कुवेत – वैदेशिक रोजगारीका लागि कुवेतमा घरेलु कामदारको रुपमा रहेका दुई नेपाली महिलाहरुको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा मकवानपुर हेटौंडा पदमपोखरीका पासपोर्ट नम्बर ०९०४१४५३ रहेका ४० बर्षकी मायादेबी थिङ र चितवन भरतपुरका नागरिकता नम्बर १०२५/५७४९का दिलकुमारी तामाङ रहेकी छिन् । घरेलु कामदारको रुपमा कुवेत आएका मृतकद्वय गैरकानुनी रुपमा कुवेतमा बसोबास गर्दै आएका र बिरामी भएर आदान हस्पिटलमा उपचारको क्रममा शनिबार मध्य राती मृत्यु भएको नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नारायण घलान र सचिब पासाङ थोकरले परदेशी खबरलाई जानकारी दिएका छन । मृतकहरुको बारेमा नेपाल राजदूतावास कुवेतमा बुझ्दा पुरा जानकारी आई नसकेको दूतावासले जनाएको छ ।
मकवानपुरकी मायादेवी ७ महिनासम्म कुवेतीको घरमा काम गरेको र त्यस पछि अवैधानिक रुपमा कुवेत रहेको र केही समय देखि पेट र मृगौला रोगबाट बिरामी भएको श्रोत बताउछन् । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आदान हस्पिटलमा कसैले भर्ना गरी दिएको जानकारी प्राप्त भएको छ । मृतकको साथमा केही कागाजात नभएको र कस्ले र कसरी अस्पतालमा भर्ना गरी दियो सबै विवरण खुल्न अझै बाँकी रहेको छ । चितवन भरतपुरकी दिलकुमारी तामाङको मृत्युको कारण अझै खुल्न सकेको छैन । अहिले दुबै मृतकहरुको लास आदान हस्पिटलमै रहेका छन ।
२ अगस्ट २०२३, साउदी अरब ! ७ बर्ष अघि साउदी आएर नेपाल फर्कन नसकेका नवलपरासीका ओम बहादुर थापा, नेपाली दुतावास रियादका प्रतिनिधी तथा नव निर्वाचित एनआरएनए आईसीसी सदस्य बिशाल कुमार श्रेष्ठ र एनआरएनए आरसीसी अलकासिमको अध्यक्ष कृष्ण अधिकारीको सहयोगमा नेपाल फर्किएका छन्। पीडित थापा २०१६ मा अल जाफर इन्टरनेशनल प्रा.ली कुपन्डोल मेनपावर एजेन्सी मार्फत साउदी अरबको एक कृर्षि फार्ममा काम गर्न भनी आएका थिए । कम्पनीको मालिकले साउदिको आइडी अकमा नबनाई गैरकानुनी रुपमा काम लगाईरहेको र नेपाल फर्कन नदिएको अबस्थामा समाजसेवी बिशाल कुमार श्रेष्ठको सम्पर्कमा आएर सहयोगको लागि अनुरोध गरेका थिए । थापाको अनुरोध पछि श्रेष्ठको पहलमा नै साउदी अरबको अनैजा शहरको श्रमिक अदालतबाट बहिर्गमन भिसा प्रात गरेका थिए । तर थापाको बहिर्गमन भिसा प्राप्त गरेको सुचना कम्पनी मालिकले थाहा पाएपछि केही दिन कम्पनी मै थुनेर राखेको श्रेष्ठले जानकारी दिए । यस्तो अबस्थामा थापालाइ नेपाल पठाउने उपाय नभएपछि एनआरएनए आरसिसि अल कासिमको सहयोगमा थापालाई कम्पनीबाट भगाएर दुई दिन बुरैदाको एक होटलमा सुरक्षित राखी नेपाल पठाइएको छ । कोभिड १९ को खोप पनी नलगाएका उनीलाई पिसीआर गर्न एनआरएनए आरसीसी अलकासिमका सदस्य धन कुमार आचार्यले सहयोग गरेको कुरा आरसिसी अल कासिम सह सचिब सिद्धीलाल श्रेष्ठले जानकारी गराए ।
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको नवौँ राष्ट्रीय महाधिवेशन २८ जुलाई २०२३ शुक्रवारका दिन साउदीअरबको राजधानी रियादमा २०२३-२०२५ कार्यकालका लागी निर्विरोध कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ । उक्त अधिवेशनमा मध्यपूर्व संयोजक राजेन्द्र अर्यालको संयोजकत्व र सदस्य द्वय संरक्षक राजु सैयद र आईसीसी सदस्य तेज बहादुर थापा रहेको निर्वाचन समितिले निर्विरोध कार्यसमितिको घोषणा गरेको थियो ।
नवौँ राष्ट्रीय महाधिवेशनबाट अध्यक्षमा रबिना अर्याल निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई निर्वाचित हुनु भएको छ। त्यसै गरी उपाध्यक्षहरूमा हेम सुवेदी, मनिष कोईराला, कृष्ण श्रेष्ठ र राज कुमार गिरी निर्वाचित हुनु भएको छ।
त्यस्तै महासचिवमा शुक्र लामा, सचिवमा ध्रुव कटुवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गा काउछा, युवा संयोजकमा विष्णु रावल र महिला संयोजकमा लक्ष्मी थापा मगर निर्वाचित हुनु भएको छ।
त्यसै गरी २०२३-२०२५ कार्यकालका लागी एनआरएनए एनसीसी साउदीअरबको केन्द्रीय सदस्यहरूमा देवी बहादुर कार्की, युवराज पोख्रेल, पदम बहादुर महत, दिपक ढुंगाना, अमृत बहादुर तमाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले निर्वाचित हुनु भएको छ।
अधिवेशन बाटै निर्विरोध रूपमा राम बहादुर क्षेत्री र दिपक रेग्मी एनआरएनए आईसीसी सदस्यमा निर्वाचित हुनु भएको छ भने नव निर्वाचित अध्यक्ष रबिना अर्यालको अध्यक्षतामा बसेको संघको पहिलो बैठकले निर्वाचित सदस्य देवी बहादुर कार्कीलाई संघको प्रवक्तामा नियुक्त गर्दै सोही पहिलो बैठकले २०२३-२०२५ कार्यकालका लागी बिशाल श्रेष्ठलाई एनआरएनए आईसीसी सदस्यमा मनोनित गरिएको छ ।
महाधिवेशनमा साउदीअरबका लागी नेपालका महामहिम राजदूत नवराज सुवेदी प्रमुख अतिथि र महावाणिज्य दूतावास जेद्धाका कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेल विशिष्ट अतिथि रहनु भएको उक्त महाधिवेशनमा एनआरएनए आईसीसी उपाध्यक्ष नरेन्द्र भाट, महिला उपाध्यक्ष याश्मिन वेगम, मध्यपूर्व क्षेत्रिय संयोजक राजेन्द्र अर्याल, आईसीसी सदस्य तेज बहादुर थापा, संस्थापक एवम् संरक्षकहरू राजु शैयद, ओम घले, विरेन्द्र चौधरी, जन सम्पर्क समिति साउदीअरबका कार्यवाहक सभापति द्वारिका राज गिरी, प्रवासी नेपाली मंच साउदीअरबका अध्यक्ष अमर श्रेष्ठ प्रवासी नेपाली एकता समाज (पानस) का अध्यक्ष कुबेर हुमागाईँ लगायत साउदीअरबमा क्रियाशील विभिन्न सामाजिक तथा राजनीतिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, व्यवसायी तथा बुद्धिजीवीहरू, विभिन्न संचार क्षेत्रमा आवद्ध संचार कर्मिहरू विशिष्ट अतिथि र अतिथिको रूपमा उपस्थित रहनु भएको थियो। उक्त अधिवेशनमा साउदीअरबको विभिन्न शहरहरूबाट संघका विभिन्न तह र ओहदामा क्रियाशील पदाधिकारीहरू, पंजिकृत सदस्यहरू, कलाकर्मीहरू र साउदीअरब स्थित कार्यरत नेपाली दाजुभाई दिदी बहिनीहरू सहित हजार भन्दा बढीको सहभागिता रहेको थियो।
एनआरएनए एनसीसी साउदीअरबको नवौँ राष्ट्रीय महाधिवेशनमा संघका उपाध्यक्ष राम बहादुर क्षेत्रीले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो भने उपस्थित अतिथिहरू द्वारा नव निर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नु भएको थियो । शुभ कामना मन्तव्य राख्ने क्रममा महावाणिज्य दूतावास जेद्धाका कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोख्रले ज्युले ऐतिहासिक रूपमा अधिवेशन गरी नयाँ कार्यसमिति चयन भएकोमा बधाई तथा शुभ कामना दिनु हुँदै श्रमिक संवर्धन तथा प्रवर्धनमा महावाणिज्य दूतावास तथा एनआरएनए बिचको सहकार्य निरन्तर रहने बिचार व्यक्त गर्नु हुँदै यस अघि विशेष गरी कोभिड १९ महामारीका बेला एनआरएनए एनसीसी साउदीअरबले पुर्याएको योगदानका लागी हार्दिक धन्यवाद व्यक्त गर्नु भयो। उक्त अधिवेशनमा आफ्नो शुभकामना मन्तव्य राख्नु हुँदै नेपाली दूतावास रियादका महामहिम राजदूत नवराज सुवेदी ज्युले एनआरएनएको भूमिका तथा उद्देश्य अत्यन्तै गहन तथा महत्वपूर्ण रहेकाले अन्य विषयहरूको अलावा श्रमिकहरूको पक्षमा विगतमा जस्तै अगामी दिनमा पनि एनआरएनएको सक्रिय एवम् सारभूत रूपमा रहने विश्वास व्यक्त गर्नु हुँदै नेपाली राजदूतावास बाट विगतमा जस्तै निरन्तर सहकार्य हुने प्रतिबद्धता व्यक्त गर्नु भयो। साउदीअरबमा रहेका सम्पूर्ण संघ संस्थाहरू एकतावद्ध भई श्रमिकहरूको हितमा भूमिका निर्वाह गर्दा त्यस बाट राजदूतावासको कार्य सम्पादनमा समेत सघाउ पुग्ने विचार व्यक्त गर्नुभएकोथियो।
नेपाल एयरलाइन्सले आगामी अगस्ट महिनाबाट साउदीको दमाम सहरबाट सीधा उडान भर्ने भएको छ।
जसअनुसार दमाम–काठमाडौं–दमाम साताको तीन उडान हुने भएको हो। यसअघि रियाद–काठमाडौं–रियाद सीधा उडान भर्दै आएको एयरलाइन्सले केही समयको लागि उडान नहुने जनाएको छ।
नेपाल एयरलाइन्सको यस रुटको उडानको निरन्तरता दिनको लागि साउदीमा रहेका संघसंस्थाले नेपाली राजदूत नवराज सुवेदीलाई विज्ञप्तिसमेत बुझाएका थिए। साउदीको रियाद सहरबाट नेपाल एयरलाइन्सको पहिलो उडान २२ अप्रिल २०२२ का दिन भएको थियो।
काठमाण्डाै – साउदी अरेबियाकाे क्लब अल हिलालले फ्रान्सका स्टार फुटबलर किलियन एम्बाप्लेलाई भित्र्याउन कीर्तिमानी रकमकाे प्रस्ताव गरेकाे छ । अल हिलालले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई आफ्नाे क्लबमा आउन २५९ मिलियन पाउन्ड स्टर्लिङकाे प्रस्ताव गरेकाे हाे ।
२४ वर्षीय फ्रान्सका कप्तानकाे पीएसजीसँगकाे अनुबन्ध सकिन एक वर्ष बाँकी छ । एम्बाप्पेले भने आफूलाई जापानकाे प्रि–सिजन भ्रमणका लागि नछानेकाे भन्दै पीएसजीसँग अनुबन्ध लम्ब्याउन तयार छैनन् ।
पीएसजी एम्बाप्लेलाई आउँदाे गर्मीयाममा त्यसै गएकाे भन्दा अहिले नै अन्य क्लबमा अनुबन्ध गराउन चाहन्छ ।
सन् २०१७ मा नेयमार बार्सिलाेनाबाट पीएसजीमा जाँदा २०० मिलियन पाउन्डमा अनुबन्ध भएका थिए जुन रकम कीर्तिमानी हाे ।
गैरआवासीय नेपाली संघ साउदी अरबले आगामी कार्यकाल २०२३-२५ का लागि यहि आउँदो २८ जुलाई शुक्रबारका दिन रियादमा हुने अधिवेशन मार्फत नयाँ कार्यसमितिको टुंगो लागाउने भएको छ।
त्यसका लागि कार्यसमिति चयन प्रकिया अगाडी बढेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले जुलाई १५ सम्म उम्मेदवारी दर्ता भएका आबेदकको नामावली प्रकाशित गर्दै अध्यक्षलगाएतका धेरै पदमा एक जनाको मात्रै उम्मेदवारी परेको जनाएको छ ।
निर्वाचन समितिले जारी गरेको सूचना अनुसार अध्यक्षमा रबिना अर्यालको मात्रै उमेदवारी परेको छ । अध्यक्षमा रबिना अर्यालको मात्रै उमेदवारी परेकोले उनीलगाएत प्राय सबै कार्यसमिती नै निर्विरोध हुने भएको छ ।
बरिस्ठ उपाध्यक्ष बाहेक सबै पदमा चाहिने जती मात्रै उम्मेदवारले उम्मेदवारी दर्ता गरेकाले सबै निर्विरोध भएका छन तर निर्वाचन समितिले भने दावी बिरोध हेरेर प्रक्रियागत तवरले उक्त जानकारी गराऊनेछ ।
सुरुमा रोशन श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उनले रबिना अर्याललाई नै अध्यक्षमा सहयोग गर्ने भन्दै आफ्नो उमेदवारी फिर्ता लिएको जानकारी आधिकारिक रूपमा निर्वाचन समितिको ईमेलमा पठाएका छन् ।
अन्य पदका उमेदवारको सम्वन्धमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको नवौँ राष्ट्रिय महाधिबेशन बाट २०२३ – २०२५ कार्यकालको लागि बिधानको दफा १३.१ मा रहेका पदिय प्रावधान बमोजिम उम्मदेवारीहरू आह्वान गरिएकोमा निर्धारित मिति १५ जुलाई २०२३ सम्ममा प्राप्त उम्मेदवारीहरूको पहिलो सूची निर्वाचन समितिले प्रकाशन गरेको छ । पुर्ब प्रकाशित निर्बाचन कार्य तालिका बमोजिम प्राप्त उम्मेदवार हरूको प्रथम सूचीमा आगामी १७ जुलाई बेलुकी ८.०० बजे भित्रमा दावी, बिरोध उजुरी गर्नसक्ने समितिले जनाएको छ ।
कसैको दावी बिरोध भएमा निर्बाचन समितिको आधिकारिक इमेल 9thadhiveshan@gmail.com मा इमेल गर्न निर्वाचन समितिका संयोजक एबं एनआरएनए मध्यपुर्वका संयोजक राजेन्द्र अर्यालले आग्रह गरेका छन् ।
निर्वाचन समितिले उम्मेदवारी परेका नामहरू सार्वजनिक गरेको छ । आईसीसी सदस्यमा राम बहादुर क्षेत्री र दीपक रेग्मीको उम्मेदवारी परेको छ । अध्यक्षमा रबिना अर्याल, वरिष्ठ उमेश भट्टराई र बिशाल कुमार श्रेष्ठ, उपाध्यक्षमा राजकुमार गिरि, कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदीको उम्मेदवारी परेको छ।
महासचिवमा शुक्र लामाको उम्मेदवारी परेको छ । यसैगरी सचिवमा ध्रुब कटवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सह-कोषाध्यक्षमा दुर्गा बहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत, महिला संयोजकमा लक्ष्मी थापा मगरको उम्मेदवारी परेको छ ।
त्यस्तै सदस्यमा देवीबहादुर कार्की, युवराज पोखरेल, पदम बहादुर महत, दीपक ढुङ्गाना,अमृत बहादुर तामाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्लेको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी गराएको छ ।
हालांकि निवर्तमान अध्यक्षले आईसीसीलाई ईमेल पठाउदै र आफ्नो फेसबुक मार्फत केहि बुँदागत असहमती जनाउदै अधिबेशन स्थगित भएको सूचना सम्प्रेसन गरेतापनि उनले उठाएका बुँदागत असहमती उनकै प्रस्तावमा पारित भएकाे र एनआरएन साउदी अरब कामचलाउ मात्र भएकाले अधिवेशन बाट पछि नहट्ने भन्दै गैरआवासिए नेपाली संघ राष्ट्रिय समन्वय परिषदको करिब दुई तिहाई कार्य समितिले आईसीसी लाई भ्रममा नपर्न आधिकारिक इमेल पठाएको थियो ।
तत्पश्चात आईसीसीको ग्रिन सिग्नल पाएपछि एनसिसी साउदी अरबले प्रेस विज्ञप्ति जारी गर्दै प्रक्रियामा अगाडि बढेको जनाउदै तोकिएकै मितीमा राष्ट्रिय महाधिवेशन हुने जनाएको छ।
गत ३० जुन २०२३ शुक्रबारका दिन मुस्लिम समुदायको पर्व इद अल अधा-२०२३ को अवसरमा NRNA – RCC ताबुकको आयोजनामा पुरुष भलिबल प्रतियोगिता, बृहत् सास्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापतित्व क्षेत्रीय समन्वय समिती ताबुकका अध्यक्ष नर बहादुर खतिवडाले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा महावाणिज्यदूतावास जेद्दाका महावाणिज्यदूत भुवन पौडेल, विशिष्ट अथितीद्वय आर सि सि ताबुकको संरक्षक साथै सल्लाहकार भक्त बहादुर हमाल र आर सि सि जेद्दाका वर्तमान अध्यक्ष डि पि अर्यालको उपस्थिति रहेको थियो भने अथितिहरुमा आर सि सि जेद्दाका सह-सचिव देवराज अर्याल, आर सि सि जेद्दाका सह-कोषाध्यक्ष आनन्द पाण्डे, लक्ष्मण रोकाया, हिमाल रेमिटको प्रतिनिधित्व गर्दै मोहन खनाल, कुमारी रेमिटको प्रतिनिधित्व गर्दै दिपक तामाङ, लुलु सुपरमार्केटको प्रतिनिधित्व गर्दै शक्ति भट्ट र सुलभ रिक्रुमेन्टसको प्रतिनिधित्व गर्दै बुद्धिप्रसाद बास्तोलाको उपस्थिति रहेको थियो। त्यसैगरी ताबुक र ताबुक आसपासमा रहेका दाजुभाइ तथा दिदिबहिनिहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रमको सञ्चालन आर सि सि ताबुकका उपाध्यक्ष युवराज पोखरेल र प्रवक्ता शक्ति भट्टले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा आमन्त्रित महामहीम राजदूत नवराज सुवेदी र का. बा. महावाणिज्यदूत शत्रुधन पोखरेल समय व्यस्तताको कारण भौतिक रुपमा उपस्थिति नभएता पनि उहाँहरुले पठाउनु भएको भिडियो शुभकामना सन्देश उपस्थित महानुभावहरुलाई प्रोजेक्टर मार्फत देखाइएको थियो।
कार्यक्रममा अतिथिको आसनग्रहण पछि कार्यक्रम को औपचारिक उद्घाटन दिप प्रज्वलन बाट गरिएको थियो त्यसपछि राष्ट्रियगान बजाएर कार्यक्रमलाई विधिवत रूपमा उद्घाटन गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य सावित्रा बनको रहेको थियो।
यस कार्यक्रमलाई भव्य रुपमा सफल पार्नको लागि प्रायोजक गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, साउदी अरबकी वरिष्ठ उपाध्यक्ष रविना अर्याल साथै सह-प्रायोजक हरुमा हिमाल रेमिट ताबुक शाखा, कुमारी रेमिट ताबुक शाखा,लुलु सुपरमार्केट ताबुक शाखा, आर सी सी जेद्दा, अल साफी कप्पनीमा कार्यरत साजन तामाङ, रेशम थापा, शुशिल तामाङ, सनम चौधरी थापा र विष्णु थापा तथा सुलभ रिक्रुटमेन्ट बसुन्धरा, काठमाडौंले गरेको थियो।
पुरुष भलिबल प्रतियोगितामा आयोजक टिम सहित १० टिमको सहभागिता थियो। जसमध्ये नियोम-१ले प्रथम स्थान र लुलु सुपरमार्केटले दोस्रो स्थान हासिल गरेको थियो। यी दुई टिमको कडा प्रतिस्पर्धा अति नै रोचक र रमाइलो रहेको थियो। भलिबल प्रतियोगिता सौहार्दपूर्ण र विवाद रहित वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागिता जनाउनको लागि टाढा टाढाबाट दर्शकहरुको उल्लेखनीय उत्साहजनक उपस्थिती रहेको थियो।
कार्यक्रमको अर्को मुख्य आकर्षण नेपाली महिला दिदीबहिनीहरुले बनाएको नेपालीपनको झल्को दिने मःम, चाउमिन र सेलरोटीको परिकारले अर्को मिठास दिएको थियो। कार्यक्रममा उपस्थित हुने अधिकाश महानुभावहरुले नेपालमै भएको अनुभूति गरायो र यस्ता कार्यक्रम आगामी दिनमा अझै परिस्कृत बनाउदै सन्चालन गर्नुपर्ने बताएको थियो। बिबिध सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न महानुभावहरुले विविध बिधामा आफ्नो कला प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उपस्थित हुने सम्पूर्ण महानुभावहरुलाई गीत संगीतको माध्यमबाट भर पुर मनोरन्जन दिनुभएको थियो। कार्यक्रममा महावाणिज्यदूत भुवन पौडेलले साउदी कानुनले वर्जित गरेको कुनै काम नगर्न नेपाली समुदायलाई आग्रह गर्नु भएको थियो भने गित संगीत र खेलकुदको माध्यमबाट जिवनमा हुने फाइदाहरुको बारेमा जानकारी दिनुभएको थियो । कतिपय कार्य नेपालमा सामन्य रहेपनि यहाँ गैरकानुनी हुने हुदा त्यस्ता कार्यहरु नगर्नु अनुरोध गर्नुभएको थियो ।कार्यक्रममा ताबुक,दुवा, शर्मा र हागल लगायतका शहरबाट करिब ५ सय जनाको उपस्थिति थियो । श्रमिक अन्तरक्रिया अन्तर्गत महावाणिज्यदूत भुवन पौडेलले श्रमिकहरुको भिन्न भिन्न गुनासोहरु सुनी दूतावासको तर्फबाट समस्याको समाधनका लागि सक्दो सहयोग रहने बताउनु भयो। बिभिन्न कम्पनीमा कार्यरत श्रमिक हरुले आ आफनो गुनासो राख्नु भएको थियो । कार्यक्रमकै दौरानमा आर सि सि ताबुकले सहभागि श्रमिकहरु संग श्रमिक सर्वेक्षण र कार्यक्रमको प्रतिकृया लिने काम पनि गरेको थियो। कार्यक्रमको अन्त्यमा विजयी खेलाडीहरुलाई आर सि सि ताबुकका सस्थापक तथा सल्लाहकार भक्त बहादुर हमाल र आर सि सि ताबुकका वर्तमान अध्यक्ष नर बहादुर खतिवडाको हातबाट प्रमाणपत्र, शिल्ड, मेडल र नगद पुरस्कार वितरण गरिएको थियो।
यस कार्यक्रमलाई भव्य र सव्य बनाउन गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समितिका पदाधिकारी अहोरात्र खटेका थिए। सचिव बुद्धि प्रसाद बास्तोला र पुर्व उपाध्यक्ष देबी बहादुर कार्की लगायत कार्यसमितिका सदस्य , स्वयंसेवकहरुले कार्यक्रम व्यवस्थापन गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो।
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको व्यबस्थापन र दूतावासको आयोजनामा अधिकांश आप्रवासी नेपालीहरु कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको दमाम शहरमा २ दिने अस्थायी शिविर सम्पन्न भएको छ ।
उक्त शिविर मार्फत राहदानी नवीकरण भई आएको नयाँ राहदानी मध्ये १ हजार २ सय जनाको राहदानी बितरण र विद्युतीय राहदानीको लागी ७ सय ९७ जनाको फारम संकलन गरि कुल १ हजार ९ सय ९७ जना सेवाग्राहीहरू लाभान्वित भएको एनआरएनए एनसीसी साउदी अरबले जनाएको छ।
फारम संकलनका लागी नेपाली दूतावास रियादका लागी द्वितीय सचिव टिकाराम उपाध्यायको नेतृत्वमा फारम संकलन गर्ने टोली राजधानी रियाद देखी ५ सय किलोमीटर टाढा रहेको दम्माम आएको थियो भने स्वयंसेवकको रूपमा गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय, राष्ट्रीय, क्षेत्रिय र स्थानिय समन्वय परिषदका पदाधिकारी हरूको साथमा साउदीअरब स्थित क्रियाशील विभिन्न सामाजिक तथा राजनीतिक संघ संगठनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
मेई महिनाको २२ तारिखमै सुचना जारी गर्दै जुन महिनाको ९ र १० तारीखका प्रि-ईनरोलमेन्ट अनलाईन फारम भरेर आउन दूतावासले सेवाग्राहीहरूलाई सुचित गरिएको थियो भने ह्वाट्स्एप नंबरहरू सार्वजनिक गरी संघका पदाधिकारीहरूले निःशुल्क फारम भरी सेवा ग्राहीलाई सेवा दिएको संघले जनाको छ। उक्त शिविर एनआरएनए एनसीसी साउदीका अनुसार विद्युतिय राहादानी जारी भए पश्चातको यो साउदीअरबका पूर्वी प्रान्त दम्मामका लागी दोस्रो राहदानी फारम संकलन शिविर संचालनमा आएको हो भने शिविर संचालनको लागी संघले पटक पटक अनौपचारिक तथा औपचारिक रूपमा नेपाली नियोग संग निरन्तर समन्वय गरेको संघले जनाको छ।
नेपाली दूतावास रियाद देखी ५ सय किलोमीटर टाढा रहेको पूर्विय प्रान्त दम्माम र त्यस वरिपरी आप्रवासी नेपाली श्रमिकहरू मध्ये लगभग ५०-६० प्रतिशत श्रमिकहरू रहेको देखिन्छ । उक्त क्षेत्रमा रहेको सेवाग्राहीहरू मध्ये शिविरको लाभ लिन नपाएकाहरूले भने यस प्रकारको शिविर निरन्तर हुनु पर्ने आशाय सहित पुनः शिविर संचालन हुनेमा आशंका व्यक्त गरेका छन्।संघ संग सिमित स्रोत रहने भएकाले यस प्रकारको व्यवस्थापन निरन्तर गर्न नसकिने कुरालाई मध्यनजर गर्दै लाखौँ सेवाग्रहीहरू पाईपलाइनमा रहेकाले पनि अस्थायी सिविर अनिवार्य संचालन हुनु पर्ने भए पनि अगामी दिनमा यसले निरन्तरता पाउनेमा आशंका व्यक्त गरेका छन्।
दूतावासले तोकिएको टाईमस्लटमा अपोईन्टमेन्ट नपाए पछि अघिल्लो पटकको लागी अपोईन्टमेन्ट लिएकाहरूले पनि सेवा पाउने सुचना अनुसार सेवाको लागी सेवा ग्राहीहरू बिहान ४ बजे देखी शिविरमा लाईनमा बसेका थिए।तोकिएको दिनको फारमलाई प्राथमिकता दिएको कारण आफु बिहानै आएको भए पनि काम साँझ ७ बजे भएको कुमार थाले बताए। थकित र फारम बुझाउन पाएकोमा खुशी हुँदै थापाले भने “मासिक रूपमा सिविर निरन्तर हुने निश्चित भए भिड कम हुने र सेवाग्रहीले सहज रूपमा सेवा पाउने थियो”। बिहान कम्पनीको डिउटी सकाएर ११ बजे शिविर आईपुगेका सुबास विस्टले पनि अन्तिम समयमा फारम बुझाउन पाए। बिहान ६ बजे नै आईपुगेका राजु पौडेलले भने “ बरू कोठा भाडाको लागी २०/२५ रियाल अतिरिक्त शुल्क लिएर स्थाई कार्यलय नै राखी साप्ताहिक रूपमा फारम संकलन गरे यसरी पुरै दिन लाईनमा बस्नु पर्ने अवस्था त आउँदैन थियो”। अब अर्को पटकको शिविर कहिले आउँछ भन्ने प्रश्नमा नेपाली दूतावास रियादका लागी द्वितीय सचिव टिकाराम उपाध्याय भन्नुहुन्छ “मिती नै तोकेर भन्न सकिन्न तर २ साँडे २ महिना पछि आउँछौँ होला तर यो बजेट पछाडी मन्त्रालयको कस्तो निर्देशण आउँछ त्यसलाई पनि हेर्नु पर्छ। ई-पासपोर्टको लागी फारम संकलन गर्दा सिधै सरभरमा कनेक्ट हुनु पर्ने भएकोले ईक्विपमेन्ट र जनशक्तिको पनि अभाव छ हामी संग”। सेवाग्राहीहरू अलहास्सा, खव्जि, जुवेल र सल्वा लगाएतका क्षेत्रहरू बाट आएका थिए।
काठमाडौं । नेपाल एयरलाइन्सको काठमाडौं–रियाद–काठमाडौं उडान रोकिने भएको छ । नेपाल एयरलाइन्सले २२ अप्रिल २०२२ बाट काठमाडौं–रियाद–काठमाडौं उडान सुरु गरेको हो ।
अहिले काठमाडौं–रियाद–काठमाडौं उडान नेपाल एयरलाइनसको आरए १५८ सिट क्षमताको विमानले उडान गर्दै आइरहेको छ । जिएसएमार्फत् ‘पार्किङ स्लट’ लिँदै नेपाल एयरलाइन्सले काठमाडौं–रियाद–काठमाडौं उडान सुरु गरेको थियो ।
नेपाल एयरलाइन्सले सुरुमा साताको तीन उडान गर्दै आएको थियो । रियादमा ‘पार्किङ स्लट’ नपाएपछि त्यहाँ गर्दै आएको उडान जुलाई १ तारिखबाट अन्यत्र ठाउँबाट उडान भर्ने तयारी गरिरहेको उच्च स्रोतले जानकारी दियो ।
अक्कुपेन्सी हुँदाहुँदै पनि अहिले नेपाल एयरलाइन्सले काठमाडौं–रियाद–काठमाडौंको उडान साउदीको अर्काे सहर दमामबाट उडान गर्ने तयारी गरिरहेको छ । सुरुमा सातामा तीन उडान गरे पनि पछिल्लो समय पार्किङ ‘स्लट’ नपाउँदा एउटा उडानमा सीमित हुन पुगेको छ ।
स्रोतले दिएको जानकारीअनुसार अहिले काठमाडौं–रियाद–काठमाडौं उडानमा अक्कुपेन्सी ८० प्रतिशत छ । जबकि ७० प्रतिशत भन्दा बढी अक्कुपेन्सीलाई नाफाको रुपमा लिइन्छ । नेपाल एयरलाइन्सले आगामी जुन २९ तारिखसम्म रियादमा अन्तिम उडान तयारी गरिरहेको स्रोतले जानकारी दियो ।
अर्थात् जुलाई एक तारिखबाट नेपाल एयरलाइन्सले काठमाडौं–दमाम–काठमाडौं उडान भर्ने गरी तयारी गरिरहेको छ । रियादमा एयरलाइन्सले पार्किङ स्लट भनेको समयमा नपाउने र उनीहरूले दिएको समयमा उडान गर्नुपर्ने भएपछि अर्काे सहरबाट उडान गर्ने तयारी गरिरहेको छ ।
रियाद सहर साउदीको राजधानी हो । रियाद–दमामको दुरी ४१० किलोमिटर हो । साताको तीन उडान सुरु गरेको नेपाल एयरलाइन्सले अहिले उनीहरूले दिएको समयअनुसार सातामा कहिले दुई त, कहिले एक उडान गर्दै आइरहेको छ ।
यस अघि दमामबाट हिमालय एयरलाइन्सले दैनिक उडान गर्दै आएकोमा पछिल्लो समयमा एयरलाइन्सकै बिना कारण फ्लाईट क्यान्सिल गरी नेपाली यात्रुका बिच आफ्नो बिष्वसनियता गुमाउदै गएको अवस्थामा नेपाली ध्वजावाहक बाट दमाम स्थित नेपाली हरु भने आसावानतित देखिन्छन्।
२५ जेठ, काठमाडौं । अब साउदी अरबमा वैदेशिक रोजगारीको भिसाका लागि जाने नेपाली श्रमिकले सरकारबाट प्रमाणित शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनुपर्ने भएको छ । नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रक्रियाका लागि परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण (एटेस्टेसन) भएको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न निर्देशन दिएको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघराज भुर्तेलका अनुसार यो व्यवस्थाले एसईई वा सोही तहका अन्य शैक्षिक कोर्सभन्दा कम योग्यता भएका श्रमिकले साउदीको भिसाका लागि आवेदन नै दिन नपाउने अवस्था बन्नेछ । यसले एसईई वा सो सरह उत्तीर्ण नभए पनि साउदी जाने तयारीमा रहेका श्रमिकहरु अन्योलमा परेका छन् ।
‘एसईई वा एसएलसीभन्दा तलका कक्षामा उत्तीर्ण भएको विद्यालयको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्न कुनै सरकारी नियका छैनन्, उनीहरुसँग त्यसको आधिकारिकर एकीकृत रेकर्ड हुँदैन,’ उनले भने,‘परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले कागजात प्रमाणीकरण गर्न सम्बन्धित विषयको सरकारी कार्यालयले गरेको प्रमाणीकरण माग्छ, यस्तो अवस्थामा एसएलसीभन्दा कम पढेकाहरुको प्रमाणपत्र नै प्रमाणीकरण हुन सक्दैन ।’
उनका अनुसार अब एसएलसी उत्तीर्ण नगरेकहरुले साउदी समेत जान नपाउने र एसईई वा त्यसभन्दा माथिको तह उत्तीर्ण गरेकाहरुले पनि प्रमाणपत्र प्रमाणीकरण गर्न राष्ट्रिय परीक्षा बोर्ड वा विश्वविद्यालयहरुमा धाउनुपर्नेछ । त्यसपछि सो कागजातका आधारमा फेरि कन्सुलर सेवा विभागमा लाइन बस्न जानुपर्नेछ ।
वैदेशिक रोजगार व्यवसायी संघले यस विषयमा श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी को ध्यानाकर्षण नै गराएको छ । ज्ञापनपत्र बुझाउँदै संघले कामदारको भिषा प्रक्रियामा अनावश्यक रुपमा शैक्षिक योग्यताको प्रमाणपत्र माग गरेर सो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर सेवा बिभागबाट प्रमाणित गरी पुनः साउदी दुतावसबाट प्रमाणीकरण गर्नु पर्ने अनिवार्य अव्यवहारिक, कानुन र प्रचलन विपरीत लागु गर्न लागि परेको आरोप लगाएको छ ।
‘नेपालबाट साउदी अरब लगायत खाडीका देशहरु तथा मलेसियामा जाने कामदार प्रायः अदक्ष कामदार जाने भएको हुदा अन्य मुलुकहरुमा शैक्षिक प्रमाणपत्रको आवश्यक नहुने र सो काममा उनीहरुको पुर्ख्यौली पेशा पनि भएको हुँदा काम गर्न सिप र क्षमता भएको तर, आधिकारिक शैक्षिक योग्यताका प्रमाणपत्र नहुने कारणले गर्दा रोजगारीबाट बञ्चित हुन जाने तवरबाट भएको दूतावासको उक्त काम कारवाही रोक्न कुटनीतिक पहल मार्फत सो प्रावधान खारेज गरी पूर्ववत व्यवस्था गर्न माग गर्छौं,’ संघले भनेको छ ।
वैदेशिक रोजगार व्यवसायी संद्दका अध्यक्ष राजेन्द्र भण्डारी प्रमाणीकरणको नाममा श्रमिकलाई काठमाडौं बसालेर यहाँ दौडधुप समेत गराउँ वैदेशिक रोजगारीमा जाँदा लाग्ने लागत बढाउने गरी साउदीको घोषणा आएको बताउँछन् । यसले श्रमिकलाई पिरोल्ने र सिपयुक्त श्रमिकले पनि वैदेशिक रोजगारीको अवसर नपाउने अवस्था आएकाले सरकारले तुरुन्तै यो व्यवस्था खारेज गर्न पहल लिनुपर्ने भण्डारीले बताए ।