१)
थालियो झिल्कालाई शुरू
समयले साथ दिएसम्म
अघि बढ्नेछु खुरुखुरु।
२)
जन्म्यौँ कस्तो देशमा ?
नेतृत्व भए बेइमान
देखिन्छन् नक्कली भेषमा ।
३)
सबैले गर्छन् गुनासो
सत्ताधारी मोज गर्ने
छैन जनताको चासो ।
४)
भइरहन्छ यस्तो कहिलेसम्म
जनताको शक्ति उदाओस्
पाइयोस् भोजन टम्म ।
५)
गणतन्त्र कस्तो देखियो
सयौँ राजा भए
भएको गतिविधि लेखियो ।
✍️
अर्जुन प्रसाद चौलागाई
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (४८औँ) शृङ्खलाका लागि लघुकथाकार नन्दलाल आचार्यको लघुकथा ‘लायक’, लघुकथाकार पी पी कोइरालाको लघुकथा ‘प्रायश्चित’ र लघुकथाकार हिमा आर.सी.को लघुकथा 'चरित्र’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१) लघुकथा: लायक
✍️ नन्दलाल आचार्य
दस वर्ष पुरानै परीधानमा, रामचा आज फर्केको देखेर निराश भए उसका बाबु ।
बाबुका आँखामा उहीँ तस्बिर घुमिरह्यो । लेखपढमा बन्दै ध्यान नदिएको र कामकाज गर्न भनेपछि दाँतबाट पसिना छुटाएको कारण, रामचा बहिष्कृत भएको थियोे, बाबुको संविधानबाट ।
“मान्छे भएसी कि गरेर खानुपर्छ कि मरेर जानुपर्छ ।” घरबाट गलहत्याउने बेला यसै भनेका थिए बाबुले ।
रामचाले पनि आँखामा बारिएको दहको डिल भत्काएर दह आधा पारेको थियोे । आधा भने आँखाभित्रै पचाएर निस्केको थियोे ।
आमाबाबुको काख छाडेपछि र घरको छहारी नभेटेपछि रामचाले आफ्नो बानीमा पनि रूपान्तरण गरेको थियो । दृढ सङ्कल्पलाई साथी तुल्याएको थियो । मन जाँच्न सुरक्षित राखेको कपडा पहिरेर बाबुको सामु खडा भएको थियोे ।
“अझै हामी श्वासप्रश्वास गर्दैछौँ । उस्तै हालतमा के खान फर्केको ?” मुटुको किलो बलियो गरी ठोक्दै बाबुले भने ।
आफूलाई नचिनेकोमा रामचा झन् खुसी भयो । छोराको दिमाग खुस्केछ भनी बाबु अत्तालिए ।
“उहिलेको रामचा मरिसक्यो; म त अहिलेको रामचा हुँ बुबा ।” रामचाको बोली सिद्धिन नपाउँदै आठ जना भरियाले दलानमा भारी बिसाइसकेका थिए ।
२०८०-०९-१८ बुधबार, सिर्जनाकुटी, सिरहा
[२] लघुकथा: प्रायश्चित
✍️ पी पी कोइराला
आज उसलाई फाँसी दिन लगिँदै थियो । उसको पैँसठ्ठी वर्षका बुढो बाउ दौडिएर आयो र छोराको खुट्टा समाएर रुँदै भन्यो- “मलाई माफ गर्देउ छोरा !” छोरोले बुझेन । अत्तालिएर पछि सर्यो । भेला भएका मध्ये जजले चिनेर उसको बाबुलाई नजिकै बोलाएर भने- “यो के तमासा हो ? छोरोले त बहुलाएर हत्या गर्यो, गर्यो; बाबु किन खुस्केको ?”
बाबुले भन्यो- “त्यो अपराध मैले गरेको थिएँ, सर । यो निर्दोष छ । उसलाई छोड्दिनु ।” जजले हतार हतार फाँसी रोकेर भने- “धन्न यसको बाउले बेलैमा आफ्नो कर्तुत कबुल गर्यो, नत्र त आज एउटा निर्दोषको ज्यान पो जाने थियो ।”
सबै कानुनी प्रक्रिया पुर्याएर बाबुको घाँटीमा डोरी बेरियो । जजले अन्तिम घडीको सङ्केत दिँदै गन्न थाले- “एक, दुई…। छोरोले पनि सहनै सकेन । उसले जोडले करायो- “ए बा ! यो तपाईँले के गरेको ? खासमा मैले नै त बलात्कार गरेर मारेर फाल्देको हो । किन मलाई बचा’को बा, किन ?”
बुढा बाउले इसारा गरेर उसलाई नजिक बोलायो । अनि कानमा भन्यो- “तँ सानो छँदै अरूको लहैलहैमा आफ्नो धर्म र संस्कृति बहिष्कार गरी तँलाई राम्रो संस्कार सिकाउन नसकेर ठूलो अपराध गरेको रहेछु नि त !”
धरान१३
[३]
लघुकथा: चरित्र
✍️ हिमा आर. सी.
“हेर्नुस् त बुढा ! रश्मी दिदीले कस्तो राम्रो ठाउँमा गएर फोटो खिच्नुभएको ?” सरुले मोबाइल देखाउँदै भनिन् । उनलेे हेरेमात्र कुनै प्रतिक्रिया जनाएनन् सरुले फेरि भनिन्- “हामी पनि कतै घुम्न जाउँ न फोटो खिचौँला !”
“तिमीलाई थाहा छ त, मलाई अफिसको कामले गर्दा फुर्सँदै हुँदैन भनेर कुनै दिन जाउँला नि !” उनले भने । “रश्मी दिदी आज पनि जाँदै हुनुहुन्छ । म पनि उहाँसँगै जान्छु अनि फोटो खिचेर आउँछु नि !” सरुले जिद्दी गर्दै भनिन् । “सरु ! रश्मी दिदीको बारेमा सबैले नराम्रो भन्छन्, अलि बिचार गर है ।” उनलेे सचेत गराउँदै भने ।
“तर उहाँले त राम्रै फोटो हाल्नुभएको हुन्छ त !” सरुले भनिन् । सरुको कुरा सुनेपछि उनलेे भने- “क्यामराले चित्र खिच्छ चरित्र होइन ।”
गुर्भाकोट ८, मेहेलकुना कर्णाली प्रदेश सुर्खेत २०८०/९/५ गते
झिल्का कविता १) रोएर हुन्न साथी छोएर शिखर आफैँ जीवन पुग्छ माथि । २) गालीमा ताली दिँदै के जिउनू जिन्दगीमा ? केवल बदला लिंँदैं । ३) रोपी काँडाका विजन हेमन्त शिशिर मास खोज्नु शरद सिजन । ४) झोलामा नारा सारा स्वर्ग बनाउने बोक्दै निस्किए भोट देशमारा । ५) मूर्खका देवता कस्ता कालोलाई सेतो भन्छन् तीता परिणाम यस्ता । ✍️ मनोहरी पौडेल गैडाकोट १ २०८०/९/१९
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: छ्यातरौऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७६ ——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०९/१६गते बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
निकालेर नेपालीपन झल्काएर टाेपी। उच्च गाैरव भनि माथि हल्काएर टाेपी। मनाउछन् टाेपी दिवस पहिचान राख्न, राख्दा राख्दै ढुसी परेकाे टल्काएर टाेपी। एकदिन मात्र शिरमा ढल्काएर टाेपी। सुशीला पाैडेल
पञ्चाङ्ग:०२
हिमाल छेउमा सेता मोती टल्कन्छन् नेपालमा। सुन्दर देखे पछि पाहुना पल्कन्छन् नेपालमा। गरिब सम्झेर यो देशलाई किन पर्देसिने? ती रारा फोक्सुण्डो जस्तो स्वर्ग झल्कन्छन् नेपालमा सबै मिले विकासको आगो सल्कन्छन् नेपालमा।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०३
दुखै दु:खमा जिन्दगीलाई कटाउनु छ मैले। जति सक्दो अाफैले उमेर घटाउनु छ मैले।। पृथ्वीको भार भएर मैले कहिलसम्म बाँच्नु। छिटो छिटो यो घरबाटनै हटाउनु छ मैले।। परिवारबाट अाफु लाई छँटाउनु छ मैले।।
मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा
पञ्चाङ्ग:०४ ( टोपी दिवस विशेष ) दाजुभाइको शिरमा टल्कियो टोपी। सगरमाथा जसरी झल्कियो टोपी। जनवरी एक, आज टोपी दिवस, नेपाली गौरव राख्दै ढल्कियो टोपी। सुन्दर नेपालीपन छल्कियो टोपी। शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०५ सत्तामा पुग्न खेतबारी नै पनि खन्दो रहेछ शासक। म पनि किसानकै त छोरो हुँ नि भन्दो रहेछ शासक। अनेक प्रपञ्च गरी जसरी पनि सत्तामा पुगेपछि , वरिपरि आफ्नै आसेपासे मात्रै गन्दो रहेछ शासक। बाँकीलाई ताकेर मार्ने शिकारी बन्दो रहेछ शासक। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०७ अशक्तलाई दिइ दान हिँड्नु छ। सबैलाई दिएर मान हिँड्नु छ। भन्नेले जे भनुन् फरक पर्दैन, नेपालीको गाएर गान हिँड्नु छ। देखाएर नेपाली शान हिँड्नु छ। ह्यारिस
पञ्चाङ्ग:०८
हिज लागेको आजको त्यो , लत उस्तै छ। विवादित कुरामा मेरो , मत उस्तै छ। क्रान्ती गर्दा शान्ती हुने किताबमा मात्रै, तिम्रो मेरो लागेको चोट ,खत उस्तै छ। पानी जस्तै बग्यो रातो रगत ,उस्तै छ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- उन्नसाठीऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०९/ १२ गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:६० [साठीऔ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ चित्रमा पञ्चाङ्ग ~~ पञ्चाङ्ग:०१
झुटाे आफ्नाेपनकाे मायाले किन छर्नु अहंकार। अब देखावटीपनबाट टाढा सर्नु अहंकार। माटाेसँगै मिल्दछ पञ्चतत्वकाे शरीर सबैकाे, मनमा अटाइ नअटाइ किन भर्नु अहंकार। जाने बाटाे उही हाे घाटकाे किन गर्नु अहंकार। सुशीला पौडेल
पञ्चाङ्ग:०२ एकदिन सबैको गन्तर्ब्य बन्छ आर्यघाट। दिनहुँ मनुस्यको लाश है गन्छ आर्यघाट। जलेको देखेर पनि अमर सोच्ने मनले , सम्मानका मलामी कमाउ भन्छ आर्यघाट। मोहबाट मुक्ति दिने बाटो खन्छ आर्यघाट। सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:०३
जन्मेपछि हिँड्ने माटो त्यही हो। अन्त्यमा जाने बाटो त्यही हो। ढिलो या छिटो भिन्नता यत्ति, भोग्नु नै पर्ने पाटो त्यही हो। मृत्यु पछिको साटो त्यही हो। घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग:०४ यो नश्वर तन अन्त्यमा शेष हुने हो। हरि भनेकोमा अन्त्यन्तै बेस हुने हो। आगोले पोल्दा पनि चित्कार नहुने, आत्मा अन्त्य प्रभुमा नै पेश हुने हो। शोलामा चढाउँदा नग्न भेष हुने हो। कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
पञ्चाङ्ग:०५
चल्नू पर्ने रहेछ थितिमा सबैले । नियम कानून र नीतिमा सबैले । कसैकाे केही लाग्दैन कालकाे अघि, पर्छ नै छाेडी जानु मितिमा सबैले । खप्दै दैवकाे लाठाे रीतिमा सबैले ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०६ यमराजले लेख्ने बहि हो। प्राणी जन्म मरण सहि हो। ढिलो चाडो मात्र फरक छ, उडि जाने मान्छेको देहि हो। सबैको जाने ठाउँ त्यही हो। सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग:०७
जन्मे पछि एक दिन जाने बाटो त्यहीँ हो। सबैलाई अन्तिममा लाने माटो त्यहीँ हो। किन गर्नु अंहकार र घमण्ड हामीले , बाचुन्जेल साग सिस्नु खाने आटो त्यहीँ हो। मरे पछि अन्तिमको पनि साटो त्यहीँ हो।
दुर्गा आचार्य
पञ्चाङ्ग:०८ बाचुन्जेल राम्रो कर्म गरे मरेपछि आत्माले डढ्नु पर्दैन। शुक्ष्म आत्मामै ब्रह्माण्ड अटाउँछ यसले अझ बढ्नु पर्दैन। धेरै जान्नु पर्दैन बस् शरीर पञ्च तत्व हो यति जाने पुग्छ, भौतिक शरीर जलेपनि आत्माले भने चिता चढ्नु पर्दैन। कहिलेकाहीँ आर्यघाट जानु जीवन दर्शन पढ्नु पर्दैन । -पशपती राई खोटाङ । मोरङ
पञ्चाङ्ग:०९ मृत्यु पछि घाट सबैले जानै पर्छ । कात्रो किन्न खाट सबैले जानै पर्छ । के को लागि लड्नु आपसमा सबैले , नर नारी आट सबैले जानै पर्छ। मन भित्र माट सबैले जानै पर्छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:१० जन्म लिए पछि मृत्यु हुने निस्चित हुन्छ थाहा छ अन्तिम गन्तव्य नै हाे घाट लाशले चुन्छ थाहा छ तथापि किन दम्भ गर्छौ तिमी याे मेराे तेराे भन्दै धन बैभव पनि यहाँ हाँस्दा हाँस्दै रुन्छ थाहा छ नाङ्गै आउनु र जानू पर्छ मनले सुन्छ थाहा छ
झिल्का (नौ शब्दको कविता) १) जीवमा श्रेष्ठ नर स्वार्थमा लिप्त हुँदा हरायो आपसी भर l २) वाध्यताको पर्दा भित्र विलीन छन् दुखिया ठान्छन् आँसुलाई मित्र l ३) माला अनि टिका भिरेर उड्छन् युवा बनाई मुहार फिका l ४) सङ्गत गुनाको फल होश नपाई चाखेमा खस्लान् अश्रु भल l ५) खुर्केर बेथितिका छिल्का स्वस्थ समाज बनाऔँ कोरेर अश्रान्त झिल्का l ✍️ बाबुराम गौतम, गुल्मी
राष्ट्रिय टोपी दिवसको अवसरमा झिल्का लेखन विशेष शृङ्खला गत सोमवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा आयोजित उक्त कार्यक्रममा नेपाल, भारत, भुटान लगायत विश्वभरका लगभग ५ दर्जन साहित्यप्रेमी झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
पछिल्लो समय लामा लामा विधाले भन्दा छोटा छोटा अर्थात् लघुतम विधाहरूले सर्जक एवम् पाठकहरूको ध्यान आकृष्ट गर्ने गरेको पाइन्छ । तदनुरूप थुप्रै नवीनतम विधाहरू उम्रने, बढ्ने र फस्टाउने क्रम चलिरहेको छ । तिनै नवीनतम विधाहरूमध्ये झिल्का (नौ शब्दको कविता) पनि एक हो ।
झिल्का नेपाली माटोमा उम्रिएको, अर्थपूर्ण संरचनायुक्त सरल, लघुतम एक मौलिक नवीनतम काव्य विधा हो। जुन तीन हरफमा लेख्ने गरिन्छ । यसका प्रत्येक हरफमा तीन तीन शब्दहरू रहेका हुन्छन् । तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
यसका तीन हरफहरू मध्ये पहिलो र तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनुपर्छ ।
झिल्का लेखन अभ्यास शृङ्खला- २ (राष्ट्रिय टोपी दिवस विशेष)
१) निष्ठुरीको याद आएर बल्झियो घाउको खाटो, विगतको पाना पल्टाएर! २) बिउँझिएँ ठक्कर खाएर अब फर्किएर हेर्दिनँ, पाठ राम्रोसँग पाएर! ३) बेगोजगार भयो सिकार निर्दोष मारिन्छ गणतन्त्रमा, माग्दा आफ्नो अधिकार! ४) प्रेममा विश्वास हुनुपर्छ दियो बल्न पनि, बातीले तेल छुनुपर्छ! ५) बाँच्न चाहिन्छ बहाना जीवनमा शान्ति मिलोस् यसर्थ गर्छौँ कामना! ६) परिश्रम गर्दा मिल्छ ढिलोमा नि फल, अनि दुःख बिल्छ! ७) पीडा भयो कम त्यसैले भएँ प्रफुल्ल, पाएर माया मल्हम! ८) शब्दको शक्ति हुन्छ आशक्ति यो बढेपछि, जनको मन छुन्छ! ९) सम्झनाको नशा लाग्छ जब नतमस्तक हुन्छु , एकाएक पीर भाग्छ! १०) जीवनको भयौ सरिता बगी रहेछु मायामा मेरो हौ कविता! ११) भाषण दिन जानेका गरिब जनता चाहिँ, बलिको बोका छानेका! १२) जनता भए भेडा चराउँछन् मात्र नेता, पाउँदैनन् सुखका पेडा! १३) निरङ्कुश शासन चलाउँछन् नाम मात्रको गणतन्त, केवल मूर्ख बनाउँछन् ! १४) सधैँ जनतामा आहत आश्वासनको रासन बाड्दछन्, अहिलेसम्म छैन राहत! १५) निर्दोष परे जेलमा यो कस्तो विडम्बना, कोही दुःखको भेलमा! १६) खबर सुन्दा सकस कहिले हुन्छ शान्ति ? खुल्दुली भो अटसमटस! १७) निकम्मा भयो सरकार मार्छन् दिँदैनन् रोजगार, बाँच्ने छैन आधार!
धनुष न्याैपानेका पाँच टुक्का कविताहरू १. म जन्मे हुर्केको अति सुन्दर छ मेरो देश स्वदेशमै कर्म गर्नेछु रहुन्जेल यो शेष। २. सबैलाई मान गर्दै झुक्नुसम्म झुक्यो सत्ता पायो भने अब सबै मूल सुक्यो । ३. समुन्द्रको केही थोपा काममा लाग्ने भयो पिच भनेको बाटो हेर कच्ची बन्न गयो। ४. भगवान भन्दा माथि भए सर्वश्रेष्ठ गुरु घरघरमा शिक्षाको दियो बाल्न गरे सुरु । ५. दक्ष जनशक्ति नै विदेसिए रोजगार छोडेर हैन मर्ने बेला आगो दिने छोरालाई विदेशमा बिदा छैन । ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
झिल्का लेखन अभ्यासको पहिलो शृङ्खला शनिबार सम्पन्न भएको छ । जिन्दगी शीर्षकमा दिइएको उक्त शृङ्खलामा झिल्काकारहरूको उत्साहप्रद सहभागीता रहेकोे थियोे । झिल्का साहित्य समाज, नेपालको आयोजनामा फेसबुक समूह मार्फत सञ्चालित उक्त शृङ्खलामा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानहरूमा रहनुभएका ४० जना झिल्काकार/साहित्यकारहरूको सहभागीता रहेको थियोे ।
झिल्का नेपाली माटोमा उम्रिएको, अर्थपूर्ण संरचनायुक्त सरल, लघुतम एक मौलिक नवीनतम काव्य विधा हो। जुन तीन हरफमा लेख्ने गरिन्छ । यसका प्रत्येक हरफमा तीन तीन शब्दहरू गरेर यसमा जम्मा ९ शब्दहरू रहेका हुन्छन् । तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
यसका तीन हरफहरू मध्ये पहिलो र तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनुपर्छ ।