• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: विचार

अलपत्र परेका श्रमिक बारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र:

  • १ असार २०७७, सोमबार २१:४७ मा प्रकाशित
  • संवाददाता

    लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानँकर्षणपत्र बुझाएको छ । गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमवार एक पत्र मार्फत सरकारलाई विदेशमा अलपत्र परेका श्रमिकहरुको तत्काल उद्धारको लागि आग्रह गरेको छ । संघले उपप्रधानमन्त्री तथा अध्यक्ष, नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादव र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई लेखेको पत्रमा विदेशमा अलपत्र परेका नेपालीको उद्धार  प्रक्रियालाई थप तीव्रता दिन आग्रह गरिएको छ ।

    संघले विदेशमा अलपत्र परेका व्यक्तिहरुको  उद्दारको लागि सरकारको तर्फबाट  चाल्नु पर्ने कदमको बारेमा बुँदागत रुपमा सुझाव दिएको छ ।

    संघले चार्टर उडान गर्ने व्यवहारिक र सहज व्यवस्था मिलाउन, कामदारहरु पनि विदेश फर्कने बाटो खोल्न, खर्च बिहिन भएका विद्यार्थीहरुलाई सरकारी खर्चमा तुरुन्त उद्दार गर्न, देशमा होल्डिग सेन्टरको प्रबन्ध मिलाउन, सेल्टरमा कुरिरहेका मजदुरहरुलाई नेपाल फर्कने स्वीकृति प्रदान गर्न, सयौंको संख्यामा रहेका शव तुरुन्त नेपाल झिकाई सांस्कृतिक परम्पराअनुसार दाह संस्कार गर्नको लागि परिवारलाई हस्तान्तरण गर्न, अलपत्र परेका कामदारहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट मार्फत सहयोग गर्न ठोस कदम चाल्न आग्रह गरेको छ ।  

      प्रेश बक्तब्यको पूर्णपाठ

    विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारणले संसारका विभिन्न ठाउँमा लाखौँ नेपाली अलपत्र परेका छन् । अलपत्र परेकाहरु मध्ये अधिकांश नेपालको अर्थतन्त्रमा एक तिहाई योगदान पुर्याउने वैदेशिक रोजगारी कामदारहरु छन् भने बाँकी मानव तस्करले अलपत्र पारेका, आफन्तलाई भेटन गएर अड्किएका, खर्चविहिन विद्यार्थीहरु तथा भिजिट भिसामा रहेका व्यक्तिहरु छन् ।  यस विषम परिस्थितिमा अलपत्र परेका मध्ये करिब २४ हजार नेपालीहरुलाई नेपाल फर्काउने सरकारको सैद्धान्तिक निर्णय स्वागत योग्य छ । यस निर्णयको कार्यान्वयनको चरण समेत सुरु भइसकेकोप्रति हामी आभारी छौँ । यस प्रक्रियालाई थप तीव्रता दिन आग्रह गर्दछौँ । अलपत्र परेका व्यक्तिहरुको  उद्दारको लागि सरकारको तर्फबाट देहाय बमोजिमका कदम यथाशक्य छिटो चाल्न विन्रम अनुरोध गर्दछौँ ।

    • गैरआवासीय नेपाली संघ तथा अन्य संघसंस्थाहरुको राहत एवं सहयोगले गाँस बाससम्मको जोहो गरिरहेका अलपत्र ती सबै नेपालीले  हालकै अवस्थामा  नेपाल सरकारले तोकेको सामान्य समयको भन्दा पनि धेरै महँगो भाडा तिरेर नेपाल फर्कन असम्भव छ । श्रम स्वीकृति बाहेक अन्य कारणले विदेशमा अलपत्र परेका नेपालीहरुलाई पनि स्वदेश फर्काउन दूतावास तथा संघको सहकार्यमा सस्तोमा चार्टर उडान गर्ने  व्यवहारिक र सहज व्यवस्था मिलाउन आग्रह गर्दछौँ ।
    • अधिकांश कामदारसँग कोरोना कहर सुरु हुनु पुर्व नै रोजगारदाता कम्पनिले व्यवस्था गरिदिएको टिकट हातमा भएको र चार्टर उडानमा फर्कदा सो टिकट खेर जाने र विश्वका अधिकांश देशहरुमा नियमित उडान नै सञ्चालन हुन् सुरु भइसकेकोले वैदेशिक रोजगारको मुख्य गन्तव्य देशहरुमा सिमित संख्यामा मात्रै भएपनी नियमित उडान सञ्चालन गर्न अनुरोध गर्दछौँ ।  नियमित उडान सुरु भएको खण्डमा पुरानो टिकटको प्रयोग हुने, भाडादर कम हुने तथा नेपालमा अड्किएका अन्य कामदारहरु पनि विदेश फर्कने बाटो खुल्ने तर्फ ध्यानाकर्षण गराउँदछौँ ।

       
    • मानव तस्करको कारणले विभिन्न देशमा अलपत्र परिरहेका तथा खर्च बिहिन भएका विद्यार्थीहरुलाई सरकारी खर्चमा तुरुन्त उद्दार गर्न आग्रह गर्दछौँ ।

       
    • क्यानाडा, युरोप तथा अफ्रिकाका धेरै देशहरुमा एउटै देशबाट जहाज नभरिने भएकोले अन्य देशसँग मिलाएर संयुक्त उद्दार उडानको व्यवस्था गर्न सकिने जानकारी गराउँदछौँ ।
    • फर्कने क्रममा एयरपोर्टसम्म धेरै टाढाबाट यात्रा गर्नुपर्ने व्यक्तिहरुको लागि सम्बन्धित देशमा होल्डिग सेन्टरको प्रबन्ध मिलाइदिन  आग्रह गर्दछौँ ।

       
    •  पिसिआरमार्फत कोरोना टेष्ट गर्ने सुविधा नभएका देशहरुबाट सम्बन्धित देशका  FIT TO FLIGHT सर्टिफिकेट अनुसार फिर्ता आउने व्यवस्था गरियोस् ।

       
    • कुवेत बाहेक अन्य देशहरुमा पनि आम माफी पाएर सेल्टरमा कुरिरहेका मजदुरहरुलाई नेपाल फर्कने स्वीकृति प्रदान गरियोस् ।

       
    • विभिन्न कारणले सम्बन्धित देशको नियम अनुसार बिना इजाजत श्रम गरिरहेका (Undocumented Migrants workers) कामदारहरुलाई उक्त देशको कुटनीतिक निकायसँग सहकार्य तथा अनुरोध गरि आम माफी (Amnesty) दिलाउने प्रबन्ध तुरुन्त गरियोस् ।

       
    • गर्भवती, नाबालक एवं बालबालिका सहित अन्य महिला, अशक्त तथा कोरोना बाहेक अन्य रोगले पिडित व्यक्तिहरु, परिवारलाई भेट्न अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, क्यानाडा युरोप लगायतका देशमा आएका नेपालीहरुलाई प्राथमिकताको आधारमा उद्दार गरियोस् ।

       
    • विभिन्न देशमा कार्यरत भई हाल नेपालमा छुट्टीमा रहेका वैदेशिक रोजगारी कामदारहरुलाई रोजगारमा फिर्ता हुन श्रम स्वीकृत तथा अन्य सुविधा सञ्चालन गरियोस् ।

       
    • वैदेशिक रोजगारको क्रममा कोरोना बाहेक अन्य रोगले विदेशमा मृत्युवरण गरेका सयौंको संख्यामा रहेका शव तुरुन्त नेपाल झिकाई सांस्कृतिक परम्पराअनुसार दाह संस्कार गर्नको लागि परिवारलाई हस्तान्तरण गरियोस् ।

       
    • संघले एकल रुपमा प्रदान गरिरहेको राहत कार्यक्रममा वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत सरकारले संघसँग हातेमालो गर्न अति आवश्यक भइसकेकोतर्फ ध्यानाकर्षण गराउँदछौँ । अन्यथा संघले जम्मा गरेको सिमित श्रोत सकिने र पिडितहरु भोकै सडकमा सुत्नुपर्ने अवस्था आउने भएकोले यसतर्फ तुरुन्तै ठोस पहलकदमी लिइयोस् ।

       
    • वैदेशिक रोजगार ऐन २०६४ को कल्याणकारी कोष प्रयोग तथा सञ्चालन कार्यविधि दफा ३३ ख तथा नेपाल फर्काउने कार्यविधि दफा ७५ मा करार बमोजिमको सुविधा नपाएर तथा महामारीले विदेशमा अलपत्र परेका श्रम स्वीकृति लिएर गएका नेपालीहरुलाई नेपाल फर्काउने जिम्मेवारी वैदेशिक रोजगारीमा पठाउने एजेन्सी तथा रोजगार दाताको हुनेछ भनि उल्लेख रहेको स्मरण गराउँदै सो व्यवस्था अनुरुपको जिम्मेवारी बहन गराउन सम्बन्धित मन्त्रालय स्तरबाटै पहल गरियोस् । यसका साथै सम्बन्धित देशको दूतावासहरुलाई समेत यस विषयमा पहलकदमी लिन सचेत गराइयोस् । अन्यथा, अलपत्र परेका कामदारहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट फिर्ता गराउनु पर्ने अवस्था सिर्जना हुने भएकोले यस सम्बन्धमा यथाशक्य छिटो ठोस कदम चाल्न अनुरोध गर्दछौँ ।

    माथि उल्लेखित समस्या समाधानको लागि संघ सरकारसँग सहकार्य तथा हातेमालो गर्न सदैव तैयार रहेको जानकारी दिलाउँदै उद्दारको काम तुरुन्त सञ्चालन गर्न अनुरोध गर्दछौँ ।

    भवदीय

    कुमार पन्त  अध्यक्ष एनआरएनए                                                          डा. बद्री के. सी.उपाध्यक्ष,वैदेशिक रोजगार तथा एनआरएन कल्याणकारी  विभाग  
    Posted in ताजा अपडेट, मुख्य खबर, विचार, समाजLeave a Comment on अलपत्र परेका श्रमिक बारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र:

    सिमा संबन्धि संविधान संशोधन विधेयक पारितलाई एनआरएनए एनसीसी क्यानडाद्वारा स्वागत:

  • ३२ जेष्ठ २०७७, आईतवार २३:२८ मा प्रकाशित
  • संवाददाता

    काठमाडौँ |गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडाले १४ जुन २०२० का दिन एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारले प्रतिनिधि सभामा टेबल गरेको लिम्पियाधुरा सहितका भूभाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक प्रस्ताव संसदले शनिबार सर्वसम्मत रुपमा पास गरिएको निर्णयलाई स्वागत गरेको छ ।

    गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडाले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ:

    प्रेस विज्ञप्ति ।

    नेपालको प्रतिनिधिसभाबाट २०७७ जेष्ठ ३१ गते सर्वसम्मतीले पारित राष्ट्रीय निशाना छापलाई महाकाली नदी पूर्वको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगाएत भूभाग समेटेर जारी गरिएको नयाँ नक्सा अनुकूल बनाउने संबन्धी संविधान संशोधन विधेयकलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडा हार्दिक स्वागत गर्दछ।

    संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित हुँदा नेपालको राष्ट्रीयता र संप्रभुताको पक्षमा सबै राजनितिक दलहरु एकताबद्ध छन भन्ने युगान्तकारी सन्देश प्रवाह भएको छ । यसले देश भित्र र प्रवाशमा रहेका समस्त नेपालीहरु गौरवान्वित भएका छन।
    संविधान संशोधनसम्बन्धी उक्त विधेयक सर्वसम्मतीले पारित गराउन सम्पूर्ण राजनीतिक दलहरुकाबीच अभूतपूर्व राष्ट्रीय एकता कायम गराउन सम्मनानीय प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले कुशल नेतृत्व प्रदर्शन गरेको छ ।

    यस अभियानमा भूमिका खेल्नुहुने संपूर्ण राजनीतिक दल हरुका साथै स्वदेश तथा विदेशमा रहेर आवज बुलन्द गर्ने नेपालीहरुलाई हामी धन्यवाद दिन चाहन्छौं ।

    राजनीतिक तथा कूटनीतिक कौशलता पुर्ण सम्वाद मार्फत् भारतद्वारा अतिक्रमित नेपाली भूमि भोगचलनमा ल्याउन यो एकताबद्ध पहलकदमी निरन्तर अघि बढ्ने विश्वास एनआरएनए क्यानाडाले लिएको छ । साथै अतिक्रमित भुमी समेटेर नयाँ नक्सा जारी गर्ने र राष्ट्रको निसाना छापलाई नयाँ नक्सामा समेट्ने कार्यमा देशभित्र र संसारभरी छरिएर रहेका नेपालीहरुबीच देखिएको अभूतपूर्व एकता समृद्ध नेपाल निर्माणको अभियानमा अक्षुण्ण रहोस भनि शुभकामना व्यक्त गर्न चाहन्छौं ।

    Posted in ताजा अपडेट, विचार, समाजLeave a Comment on सिमा संबन्धि संविधान संशोधन विधेयक पारितलाई एनआरएनए एनसीसी क्यानडाद्वारा स्वागत:

    पत्रकारको सुरक्षाको लागि राज्य स्तरबाटै केही व्यवस्था भए राम्रो

  • २८ जेष्ठ २०७७, बुधबार १८:२६ मा प्रकाशित

  • -दिपिन ढुङ्गाना/उर्मिला भट्टराई-
    -रेडियो मेलम्ची, सिन्धुपाल्चोक-रेडियो सिन्धुली गडि, सिन्धुलिि-


    जब कोरोना भाइरस चिनको वुहान प्रान्तमा देखियो भनेर अन्तराष्ट्रिय समाचार संस्थाहरुबाट समाचार आयो, त्यति बेला मेरो मनमा अलिकति पनि डर, त्रास थिएन । कोरोना भाइरस जब चिनको वुहान बाट बिस्तारै अन्य प्रान्तमा र अन्य देशमा पनि फैलिन थाल्यो तब बिस्तारै मनमा के होला यो रोग भन्ने लाग्न थाल्थो । नेपालमा आइ हाल्यो भने के गर्ने ? कस्ता ब्यक्तिलाइ छिटो सक्रमण हुने हो ? कतै आफैमा यो रोगको सक्रमण हुने त होइन ? भन्ने चिन्ता लाग्न थाल्यो । यद्यपि कोरोनाको कारण आफ्नो व्यवहारमा खासै परिबर्तन गरिएन । कोरोना कै बिषयमा विश्वको कुरा गर्न रुचाइन । विश्वभरि महामारिको रुपमा फैलिरहेको कोभिड– १९ का बारेमा अब त तपाइले पनि धरै कुरा थाहा पाइसक्नु भयो । सर्तकता पनि अपनाउनु भएको होला भन्ने आशा र विश्वास छ ।

    कोभिड १९ हाल विभिन्न देशहरूमा फैलिरहेको छ । नेपालमा पनि कोरोना भाइरस फैलिसकेको छ । नेपालमा ४ हजार भन्दा बढि सक्रमित भएका छन् । दुखको कुरा भनौे कोरोना भाइरस कै कारण दर्जन भन्दा बढिले ज्यानले गुमाई सकेका छन् ।

    कोभिड १९ नियन्त्रणका लागि नेपाल सरकारले ०७६ चैत्र ११ गते बाट देश लकडाउन जारी ग¥यो । शहरहरु बन्द छन् । विद्यायल, होटेल, तालिम हल सबै बन्द छ । अस्पतालहरु विरामीले भरिएका छन् । मानिसहरुको दैनिकी फेरिएको छ । तर नेपालका अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु भने यो समयमा झन् व्यस्त छन् । अतः ती सेवा प्रदायकहरुको जीवन भने जोखिममा छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाई कर्मचारी, सञ्चार, विद्युत, खानेपानी लगाएतका अत्यावश्यक सेवामा काम गर्नेको लागि त्यो अवसर खुला छैन । यो अवस्थामा सावधानीका उपाय अधिकतम प्रयोग गर्दै काममा जानुको विकल्प पनि छैन र त्यस्ता व्यक्तिलाई संक्रमणको उच्च जोखिम पनि छ ।
    फ्रन्टलाईनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चार क्षेत्र यतिबेला सङ्क्रमणमा परिसकेका छन् । रोग लागोस भन्ने कसैको चाहना हुदैन र आफ्नो परिवार र समुदायलाई जोखिममा पार्न मन कसैलाई हुदैन तथापी कामका शिलशिलामा घर बाहिर निस्कनुपर्ने बाध्यताका बाबजुद आफै सङ्क्रमित हुने अवस्था आएको छ । कतिपय सङ्क्रमित पत्रकारको अनुभव सुन्ने हो भने उहाँहरु सावधानी अपनाउँदा अपनाउँदै पनि सङ्क्रमित हुनुभएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि अवस्था त्यहि देखिएको छ ।

    घर र कार्यालयमा रहदा रहदै पनि सङक्रमण हुनुले हामी घरभित्र पनि सुरक्षित छैनौं भन्ने संकेत पनि देखिएको छ । जनसम्पर्कका हिसाबले सञ्चारकर्मीहरुलाइ अत्यधिक सम्पर्कमा रहनुपर्ने बाध्यता हुन्छ । त्यसमा पनि नेतृत्वमा रहने पत्रकारले अरुको लागि पनि काम गर्नुपर्ने हुदा आफै जोखिममा परिरहेका छन् ।

    फिल्डमा जानै पर्ने बाध्यता भएका घरका सदस्यको चिन्तामा धेरैका परिवारका सदस्यहरु छन् । जति हाम्रो चिन्ता हामो घरपरिवार अनि आफन्तमा छ । राज्यको सुरक्षा अंगसँगै राज्यले नै मानेको चौथो अंग भएर काम गरिरहेका पत्रकार र तीनका परिवारमा परेको असर भोगेकाहरुलाई बाहेक कमैलाई मात्र अनुभव होला यो विषयमा ।

    हरेक दिन घरबाट फिल्डमा निस्कनुपर्छ । बिहान रेडियो स्टेसनका लागि निस्कनु अघि आमा सधैं चिन्ता व्यक्त गर्नुहुन्छ । आमा मात्रै होइन परिवारका सबै सदस्यको चिन्ता हुन्छ नै । आमाले प्रत्येक दिन भन्नुहुन्छ, ‘सुरक्षित भएर हिड है नजाओ भन्दा मान्दैनौ ।’

    बेलुका घरमा बसेर आफैले पढेको कोेरोनाका सङ्क्रमित बढेको समाचार सुनेपछि परिवारका सदस्यको प्रतिक्रिया हुन्छ, अब कुन दिन आफैलाइ कोरोना लाग्ने हो । काम सकेर घर पुग्दा पनि आमा सहित परिवारका सदस्यको चिन्ता एउटै हुन्छ । यी सबै कुरा साँझ घरमा गर्दा आफ्नो पनि फेरी एक पटक मन झस्किन्छ । र फेरि मन बुझाउनु त छदैछ । हामि भन्दा पनि वढी जोखिम मोलेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी फ्रन्टलाइनमा खटेका छन् । हामी सबै उस्तै त हो नि ।

    दिनभरको रिपोटिङपछि घर फर्किदा बाटोमा भेटिएकाहरु भन्छन् ः “उ पत्रकार जी आउनुभयो, दिनभरि डुलेर हिड्नुहुन्छ कोरोना सारेर पो ल्याउनुभयो कि ” हामीलाइ पनि मन हुन्छ र ? कोरोना सार्नलाइ ? मानिसहरु बुझ्दैनन् । नबुझेको देखेर नरमाइलो लाग्छ । आखिर हामीहरु समुदायलाइ नै जानकारी र सूचना दिनलाइ नै खटिका हौ । पत्रकारिता पेशा यस्तो रहेछ, जस्तो सुकै समस्या र असजिलो समयमा पनि रिपोर्टिङ गर्न र का मगर्न छोड्न नमिल्ने ।

    हुन त वरपर छिमेकीका मानिसको चिन्ता पनि जायजै हो । तर पनि हाँसेर भन्नै पर्छ । पत्रकारिता हाम्रो पेशा हो, काम त गर्नैपर्छ, शंङ्का लाग्छ भने दुरी कायम गरेर बसौन । नजिक नआउनोस है ।

    घरमा त सुरक्षाका विषयमा हामी सबै जिम्मेवार नै छौं । प्रश्न उठ्छ, ‘राज्यले के गर्दै छ फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावस्यक सेवाका कर्मचारी र पत्रकारका लागि ?’

    पत्रकार भन्दा जोखिमका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका परिवारमा हामि पत्रकारका घरमा भन्दा वढी छटपटी होला । यो जटिल परिस्थितिमा घरमा सूसुचित हुन पाउने जनताको अधिकारलाई आफ्नो कर्तव्य सम्झिने पत्रकारको र उसको परिवारको चिन्ता कसले लिने ?

    कहिले समाचारको विषय त कहिले समाचार बनेर छापिएर आएका विषयका कारण सृजना हुने अवस्थाको चुनौती पनि पत्रकारकै काँधमा कहिलेसम्म ? यस्ता प्रश्न सधै आउने गर्छन ।

    तर पनि आफूलाई भुलाउनै पर्छ । पत्रकारिताको धर्म सम्झेर । सहज बेला त सबैले काम गर्छन, असहज अवस्थामा नै हो जनतालाई सूचना चाहिने । त्यहि संझेर काम गर्नु त छदै छ ।

    जटिल समयमा पनि आफ्नो घर परिवार नभनी ज्यानको बाजी थापेर काम गर्ने र कर्तव्य बुझेर अगाडि बढ्ने पत्रकारिता पेशा अन्य पेशा भन्दा कम सम्मानित पेशा हुँदै होइन । तर हिजो आज पत्रकारितका नाममा जनतालाई भ्रममा पार्ने र गलत कुरालाइ फैलाउनेहरुको जमात पनि कम छैनन् । यस्तो समयमा झन् आफ्जो जिम्मेवारी बढेको जस्तो अनुभव हुने रहेछ ।
    यस्तो समयमा पनि आफ्नो कर्तव्यलाई बुझेर सत्य तथ्य समाचार दिएर अग्रपंक्तिमा काम गर्ने पत्रकारहरुलाई संझेर भोलिका दिनमा सबैले गर्व गर्न सकुन् भन्ने लाग्छ । तर यसका लागि पत्रकारको हक हितमा काम गर्ने संघ सस्था र पत्रकार महासंघले पनि पहल गर्नुपर्ने भने देखिन्छ ।
    यो समयमा काम गर्ने स्वास्थ्यकर्मिको लागि सरकारले प्रोत्साहन भत्ता देखि सुरक्षा सामग्री सम्म उपलब्ध गराइरहेको छ । पत्रकार पनि अग्रपक्तिमा नै बसेर काम गरिरहेका छन् । पत्रकारहरुका लागि पनि सोही बराबरको व्यवस्था हुनुपर्छ भन्ने होइन । तर सुरक्षाको सामग्री देखि स्वास्थ्य बीमा गराउन सके पत्रकारहरुलाइ समस्या परेमा पनि सजिलो हुन्छ । धेरै पत्रकारहरुको अझै पनि बीमा भएको छैन । यसैपनि पत्रकारहरुको लागि आकर्षक तलब हुँदैन । यदि कोरोना भइहालेमा सरकारले निशूल्क उपचार गर्ने त भनेको छ । त्यसबाहेक पत्रकारका लागि पनि केही सम्बोधन भने हुनुपर्ने हो । बिपदको समयमा जोखिम मोलेर काम गर्ने पत्रकारहरुको लागि राज्य स्तरबाटै केही व्यवस्था भइदिएमा पत्रकारहरुको मनोबल बढ्ने छ । यसले जिम्मेवार पत्रकारिता गर्नमा पनि सघाउ पुग्ने थियो ।

    अझै पनि ढिलो भएको छैन, सरकारबाट त्यस्तो निर्णय आओस भन्ने अपेक्षा छ, जसले हामी जस्तै पत्रकार र पत्रकारको परिवारलाई संकटको घडीमा पनि आत्मबल प्रदान गर्न सकोस् ।

    Posted in विचारLeave a Comment on पत्रकारको सुरक्षाको लागि राज्य स्तरबाटै केही व्यवस्था भए राम्रो

    विदेशका नेपालीहरु पैतालाको धुलो होइनन् -सतिश चापागाईं

  • २८ जेष्ठ २०७७, बुधबार ०८:१८ मा प्रकाशित
  • संसदमा प्रधानमन्त्रीले बिदेशका नेपालीहरुप्रति राज्यले देखाउने अभिभावकीय भूमिका र माया देखाउन नसकेको तितो यथार्थता सबै प्रवासीका लागी एउटा कालो दिन हो।

    आज कोहि नेपाली विदेश छ भने त्यो देशलाई माया नभएर होइन राज्यको माया नपाएर छ। देशमा अवसर खोज्दाखोज्दा नपाएको नेपाली बिदेशमा छ। दशनंग्रा खियाउदा खियाउदा पनि असफल भएर, ऋण लागेर विदेश आएको छ।
    आज विदेशबाट उसले आमा, बाको औषधी किन्न पैसा पठाएको। श्रीमतीका सुख र सन्तानको शिक्षाको सपना बुन्दै गर्दा उसले बिदेशमा पसिना र रगत बेचेको छ। जीवन र जवानीलाई मरुभुमीमा सुकाएर कमाएको रेमिट्यान्सको जगमा नै नेपाल देशले समृद्धिको सपना बुनेको हो । तर, आज त्यही जनशक्ति रोग र भोकको चपेटामा पर्दा प्रधानमन्त्रीले ‘उनीहरुलाई ल्याए देश सोत्तर हुने’ शंसय र सन्त्रासमा हुनुहुन्छ। उनीहरु उतैका हुन्, उतै बिरामी परुन, उतै मरुन अनि अरबको भूमिमा दफन हुन् भनेर आनन्दले बस्नुभएको छ।
    यो सोंच किमार्थ राष्ट्रबादी सोच होइन। नेपाल देशको प्रधानमन्त्रीले सोंच्न सक्नु पर्छ की नेपाली नागरिकता बोकेका हरेक नेपाली जिउँदा कालापानी, लिम्पियाधुरा र लिपुलेक हुन्। उनीहरुलाई पैतालाको धुलो सोच्ने दुस्साहस जनताको प्रतिनिधि बस्ने सभामा कम्तिमा पनि नहोस। यसतर्फ कुम्भकर्णरुपी नाम मात्रका प्रतिपक्षी पार्टीहरुको ध्यानाकर्षण हुन् जरुरी छ।
    कोरोनाले संसार आक्रान्त भएको चार महिना भयो। चीनबाट अमेरिका र युरोप पुगिसकेको र भारतसम्म आईपुग्दा पनि नेपाल सरकारले के गर्यो भन्ने कुराको साक्षी नेपाली जनता सबै छन्। मलाई सरकारको लेखाजोखा र बिरोध गर्नु छैन। मलाई मात्र बिदेशका नेपालीको जिम्मा कसले लिने भनेर सोध्नु मात्र छ। विदेशमा रहेका नेपालीहरूलाई ल्याउनुपर्छ भनेर भन्न मात्र सजिलो भएको तर तयारी गर्न र ल्याउन गाह्रो भएको उनले सुनाए ।
    प्रधानमन्त्रीलाई उनीहरुले सुझाब पनि त दिएका छन्। जनताले घर दिएका छन्। ब्यापारीले कलकारखाना दिएका छन्। प्रतिपक्षले सरकारसंग मिलेर काम गर्ने बताएको छ। एनआरएनएहरुले जानैपर्ने मानिस मात्र पठाउने भनेर तथ्यांक संकलन गरेका छन्। आवश्यक परे आर्थिक सहयोग पठाउने भनेर सार्बजनिक घोषणा पनि गरेका छन्।
    तर, प्रधानमन्त्री ओलीले “ह्वारह्वारी ल्याउने, कोरोना मात्र फैलाउने र देश नै सोत्तर बनाउने पक्षमा छैनौं ।” भनेर संसदमा बोल्नुहुन्छ। ह्वारह्वारी को आउँछ ? किन आउछन ? जो अफ्ठेरोमा परेको छ, त्यही मान्छे हो यो बेलामा हिंड्ने। नत्र मान्छे भित्रै त् लुकेर बसेको छ ! कामबाट निकालिएको र घर न घाट भएको मान्छेले आफ्नो घर र देश सम्झेको छ यो बेलामा।
    अर्को तथ्य पनि बुझ्न जरुरी के छ भने जो अहिले नेपाल आउन खोजेका छन्, उनीहरु रोगी पनि होइनन। ती नेपालीहरुले हामी स्वस्थ छौं तर जागिर गयो अब भोकले मर्ने भयौं भनेर भनेका छन्। त्यसकारण मात्र नेपाल आउन खोजेका हुन्।
    प्रधानमन्त्री ज्यू! विदेशका साठी लाख नेपाली सबै फर्कदैनन। यसरी नेपाल फर्कने मानिसको संख्या एक लाखको हाराहारीमा हुन् सक्छ। धेरै मानिस श्रमका लागी अरबियन देशमा गएकाहरु नै आउने हो। सबै देशले उनीहरुलाई काठमाडौँको विमानस्थलसम्म निशुल्क छोडिदिने भनिसकेका छन्। तपाईले सहयोगको हात फैलाउनु भयो भने उनीहरुको एक महिनाको खर्च पनि सम्बन्धित देशले दिने छ। आखिर लाखौं नेपालीले विदेशीसंग भिखको लागि हात फैलाएर खानु भन्दा त तपाईले सरकारी तवरबाट सहयोगको हात फैलाउनु उत्तम होला नि !
    अहिले एकदम अफ्ठेरोमा परेका मानिसको संख्या सयकै हाराहारी होला जो आफ्नो खर्चमा देश आउन सक्दैनन् । नत्र सबै आफ्नो घर पुग्ने खर्च आफै दिन्छौं भनेका छन्। केहि दिनमा यो संख्या हजारमा पुग्ने छ र एक महिनामा विदेशमा रोगी, भोका र नांगा लाखौं नेपाली हुनेछन। यो कुरा लेखेर राख्नु होला। अहिले नै लिएर आउनु भयो भने ९० प्रतिशत सबल युवा आउने छन्। रोगको महामारी र भोलिको भोकसंग आफै जुध्ने छन्। कति त सम्वृद्धिको सपनाको लागि साधक पनि हुनेछन्।
    अन्यथा, कति नेपाली परदेशमा लास बन्ने छन् र दुखको कुरा तिनको लासले पनि नेपाल देख्न पाउने छैन। जो आउने छन् ति पनि समृद्धिका बाधक बनेर आउने पक्का छ । मसंगको अन्तरबार्तामा युएईका एक एनआरएनए नेताले भन्दै थिए, “यस्तै हो भने २५ प्रतिशत नेपाली मानसिक रोगी भएर फर्कनेछन।”
    प्रधानमन्त्री ज्यु तपाई त्यही दिनको प्रतिक्षामा हो र ? होइन भने जो कुरा रोक्न हुन् र रोकेर रोक्न सकिन्न, त्यतितिर तपाइको सरकारको ध्यान किन जान्छ ? अब केहि दिन अघिको जस्तो छैन नेपाल की हामीलाई कोरोनाले छुन्न भनेर बस्न पाईयोस। अब त रोगसंग लड्नु पर्छ। त्यसका लागि पनि तिनै युवा आवश्यक पर्छन। रोग नेपालमा आउदै आउदैन भनेर ठोकुवा गर्न म सक्दिन । यो जसरि नि आउँछ र आईसक्यो । संसारमा कसैले छेक्न सकेन, यो सरकारको लकडाउनले पनि सक्ने छैन।
    साथै, यी मानिस आए भने कम्तिमा संसार भरका नेपालीको सहयोग पनि त थपिन्छ।
    आज विदेशमा डलर, पाउण्ड र दिराममा गरेको खर्च एनआरएनएले नेपाल मै पठाउन सक्छन। सबैले आफ्नो गाउँ टोलमा आफै सहयोग गर्ने छन्। यो बेलामा सबैभन्दा ठुलो कुरा राज्यले हाम्रो ख्याल गर्यो भनेर सबै नागरिकले अनुभूत गर्नुमा सरकारको सफलता ठहर्छ । आज जसलाई बचाउन तपाईहरु विदेशका नेपाली नल्याउने सोच्दै हुनुहुन्छ भोलि तिनै मानिस मेरो छोरो/ मेरी छोरी ल्याईदेउ सरकार भन्दै सिंहदरबार घेर्न आउनेछन।
    विपदमा आफ्ना नागरिकको ख्यालसम्म गर्न नसक्ने सरकारले समृद्धिको कुरा गर्न सुहाउदैन यो पनि अर्को तथ्य हो । मानौं कुनै बाबुको एउटा सन्तान नदी किनारा मै र घुंडा घुंडा पानी भएकै ठाउंमा बग्न लागेको छ र बाबुले पानी चिसो छ भनेर तान्न सक्दैन भने त्यो बाबुलाई के भन्ने ? अहिले नेपाल सरकारका सन्तानहरु नदीको घुंडा घुंडा पानी भएको ठाउँमा बग्दैछन्। हात वा खुट्टा दिए मात्र पनि बाहिर आउन सक्छन। नदि गहिरो छ भनेर होइन की पानी चिसो छ भनेर बाबु बगरतिर दौडियो भने सन्तान अवश्य डुब्ने छ। नेपाल सरकार अहिले त्यस्तै बाबु हो ।
    अन्त्यमा, कोरोनाले संसार आक्रान्त भएको चार महिना भयो। चीनबाट अमेरिका र युरोप पुगिसकेको र भारतसम्म आईपुग्दा पनि नेपाल सरकारले के गर्यो भन्ने कुराको साक्षी नेपाली जनता सबै छन्। मलाई सरकारको लेखाजोखा र बिरोध गर्नु छैन। मलाई यो सरकारसंग मात्र बिदेशका नेपालीको जिम्मा कसले लिने ? भनेर सोध्नु छ। कृपया यो प्रश्नको जवाफ दिनुहोला।

    Posted in विचारLeave a Comment on विदेशका नेपालीहरु पैतालाको धुलो होइनन् -सतिश चापागाईं

    क्वारेन्टिनमा बसेका साढे एक लाखलाई बिनापरीक्षण घर पठाउने तयारी

  • २७ जेष्ठ २०७७, मंगलवार १३:५४ मा प्रकाशित
  • काठमाडौं, २५ जेठ ।

    क्वारेन्टिनमा बसेकाहरुको पर्याप्त परीक्षण हुन नसकेको आवाज उठिरहेका बेला सरकारले एकहप्ताभित्र देशभर क्वारेन्टिनमा रहेका डेढलाख भन्दा बढिलाई बिना परीक्षण घर पठाउने तयारी गरेको छ।

    सरकारले क्वारेन्टिनमा रहेका तर कोरोनाको कुनै लक्षण नभएका व्यक्तिहरुलाई घर पठाउने भएको हो। त्यसो गर्दा एक लाख ६७ हजार मानिस बिना परीक्षण घर जानेछन्।

    छिमेकी भारत लगायतका स्थानबाट नेपाल आई क्वारेन्टिनमै १४ दिन बिताउँदा पनि कोरोनाको कुनै लक्षण नदेखिएकालाई घर पठाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले त्यसको लागि नयाँ निर्देशिका समेत कार्यान्वयनमा ल्याइसकेको छ।

    क्वारेन्टिनमा बसेकामध्ये एक लाख ६७ हजारलाई कुनै लक्षण नभएपछि घर पठाउन लागिएको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले नेपालखबरलाई जानकारी दिए।

    आइतबारको तथ्यांकअनुसार सातै प्रदेशमा एक लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टिनमा रहेका छन्।

    अहिले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ६३ हजार ५ सय ७५ जना क्वारेन्टिनमा छन्।

    त्यसपछि प्रदेश ५ मा ३९ हजार ८ सय ९७ रहेका छन् भने कर्णाली प्रदेशमा ३२ हजार ३२ जना क्वारेन्टिनमा छन्।

    प्रदेश दुईमा २२ हजार २ सय ३२ जना क्वारेन्टिनमा बसिरहेका छन्।

    स्वास्थ्य सचिव अर्यालले अबको एक हप्ताभित्र क्वारेन्टिनमा रहेका तर, कुनै लक्षण नभएकालाई परीक्षण गर्न संभव नभएको भन्दै घर पठाउने योजना अघि बढाइएको बताए।

    पछिल्लो २४ घण्टामा मात्र देशभरका क्वारेन्टिनमा २७ सय १ व्यक्ति थपिएका छन्।

    ‘अबको ७ दिनभित्र एक लाख ६७ हजार मानिसहरु क्वारेन्टिन बसेको १४ दिन पुग्छ, सबैको पीसीआर परीक्षण गर्न संभव छ र?’ अर्यालले प्रतिप्रश्न गरे।

    उनले मन्त्रालयले ल्याएको निर्देशिका अनुसार क्वारेन्टिनमा बसेर लक्षण नभएकाहरुलाई घर पठाउने निर्णय विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै गरिएको दाबी गरे।

    तर, विज्ञहरुले भने त्यसरी बिना परीक्षण घर पठाउने सरकारी कदमले समुदायमा संकट निम्त्याउने बताएका छन्।

    २० जेठमा स्वास्थ्य मन्त्रालयले कोभिड १९ परीक्षण सम्बन्धी राष्ट्रिय निर्देशिका कार्यान्वयनमा ल्याएपछि सो कदम चाल्न लागेको हो।

    संक्रामक रोग तथा जनस्वास्थ्य विज्ञ डा. अनुप सुवेदीले सरकारले ल्याएको नयाँ निर्देशिकामै कमजोरी रहेको र परीक्षणको दायरा बढाउनबाट सरकार पन्छिन खोजेको आरोप लगाए ।

    ‘क्वारेन्टिनमा परीक्षण नै पुगेको छैन, सोही कारण परीक्षण नभएर दैनिक नेपालीको ज्यान गइरहेको छ’, डा. सुवेदीले थपे, ‘क्वारेन्टिन बसेका मानिसलाई परीक्षणबिना घर पठाउनु थप जोखिमलाई निम्त्याउनु हो।’

    नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेमध्ये अधिकांशले क्वारेन्टिनमै ज्यान गुमाएका छन् भने धेरैको मृत्युपछि संक्रमण पुष्टि भएको छ।

    विज्ञहरुले असन्तुष्टि जनाएको सो निर्देशिका प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणासँग समेत बाझिनेगरी कार्यान्वयनमा ल्याइएको छ।

    १२ जेठमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको कूल जनसंख्याको २ प्रतिशत अर्थात करिब ६ लाख मानिसको कोरोना परीक्षण गर्ने प्रतिबद्धता जनाएका थिए।

    उनको सो घोषणापछि पनि कोरोना परीक्षणको दायरा खासै बढाइएको देखिदैन। त्यतिबेलाको तथ्यांक हेर्ने हो भने दैनिक ३ हजार स्वाव (नमूना) पनि परीक्षण भएको थिएन।

    भारतबाट बिभिन्न नाका हुँदै दैनिक १० हजार नेपाली स्वदेश फर्किरहेको सरकारकै तथ्यांकले देखाउँछ।

    भारतमा कोरोना संक्रमण तीब्ररुपमा फैलिइरहेका कारण त्यहाँबाट आएकाहरुलाई परीक्षण आवश्यक छ। त्यस आधारमा दैनिक १० हजार बढीको परीक्षण आवश्यक परेका बेला जम्मा ३ हजार पनि परीक्षण गर्न सरकारले सकेको थिएन।

    जनसंख्याको २ प्रतिशतको परीक्षण गराउने प्रधानमन्त्रीले प्रतिबद्धता गरेको एकसातापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यान्वयनमा ल्याएको निर्देशिकाले भने कोरोनाको परीक्षणलाई व्यापक पार्नुको साटो झन् खुम्च्याउने व्यवस्था अंगीकार गरेको छ।

    निर्देशिका यस्तो अवस्थामा स्वीकृत भएको छ जुनबेला नेपालमा दैनिक संक्रमित थपिने संख्या ३ सय पुगेको छ भने कुल संक्रमितको संख्या ३ हजार नाघेको छ।

    तर, सो निर्देशिका अवैज्ञानिक मात्रै होइन ठूलो सङ्कट निम्त्याउने खालको रहेको भनी विज्ञहरुले चिन्ता जाहेर गरेका छन्।

    निर्देशिकामा कोरोनासँग सम्बन्धित कुनै लक्षण (उच्चज्वरो, स्वास प्रश्वासमा समस्या र निरन्तर खोकी) नभएका व्यक्तिलाई परीक्षण नगर्ने उल्लेख छ।

    विज्ञहरुले सरकारको यस्तो नीति जोखिमपूर्ण हुने चेतावनी दिएका छन्।

    कोभिड–१९ परीक्षण सम्बन्धी राष्ट्रिय मार्गनिर्देशनको प्राथमिकतामा नपर्ने सूचिमा लक्षण नभएका, संक्रमितसँग सम्पर्कमा नपुगेका र हालै यात्रा नगरेकालाई परीक्षण आवश्यक नपर्ने उल्लेख गरिएको छ।

    संक्रामक रोग तथा जनस्वास्थ्य विज्ञ डा. सुवेदीले अधिकांश कोरोना संक्रमितलाई सुरुमा लक्षण नै नहुने र लक्षण भएकामध्ये पनि ५० प्रतिशतलाई सुरुमा ज्वरो नआउने बताए।

    ‘राज्यको पछिल्लो नीतिले भ्रम सृजना गर्ने मात्रै होइन त्यो सबैको लागि घातक हुन सक्छ,’ डा. सुवेदीले भने।

    तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले प्रधानमन्त्रीले भनेजस्तै कूल जनसंख्याको २ प्रतिशतको कोरोना परीक्षण गराउने र त्यसमा प्राथमिकता मात्रै तय गरिएको दाबी गरे।

    ‘२ प्रतिशत जनसंख्याको परीक्षण गराउने हो तर, त्यसमा संक्रमण भएका, संक्रमित मुलुकबाट फर्किएकाहरु प्राथमिकतामा राखिएको हो,’ नेपालखबरसँग सचिव अर्यालले भने, ‘सबैको परीक्षण गर्न संभव नै हुँदैन, अमेरिका र भारतमा कतिको परीक्षण भएको छ र?’

    सचिव अर्यालले संक्रमितको सम्पर्कमा नआएका र यात्रा विवरण नभएकाको परीक्षण गरेर महंगो कीट खेर फाल्न नहुने बताए।

    ‘पोलिटिकल इकोनोमीलाई पनि बुझ्नुपर्‍यो, विदेशबाट आएर क्वारेन्टिनमा बसेका, संक्रमितको परीक्षण बढाउने गरी सो कार्यविधि ल्याइएको हो।’

    डा. अनुप सुवेदी क्वारन्टिनमा लक्षण नदेखिएको तर घर पुगेपछि मृत्यु भएका केस देखिइसकेको र समुदायमा फैलिने जोखिम भएकाले मन्त्रालयको निर्देशिका घातक रहेको बताउँछन्।

    मन्त्रालयले कोरोना पोजिटिभ भएपनि कुनै लक्षण नभएका व्यक्तिलाई समेत डिस्चार्ज गर्न अस्पतालाई निर्देशन दिएको छ।

    २१ जेठमा सबै अस्पतालहरुलाई पठाइएको निर्देशन पत्रमा कोरोना पोजिटिभ भए पनि तीन दिनसम्म कुनै लक्षण नभएकालाई बिना परीक्षण डिस्चार्ज गर्न निर्देशन दिइएको हो।

    यसअघि अस्पतालको आइसोलेसनमा १४ दिन अनिवार्य राख्ने र त्यसपछि २४ घण्टाको फरकमा दुइटा परीक्षण गराउँदा दुवै नेगेटिभ आए मात्र डिस्चार्ज गर्ने गरिएको थियो।

    सरकारको पछिल्लो निर्णयले समाजमा संक्रमण फैलने खतरा रहेको जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षितले बताए।

    ‘पीसीआर परीक्षणको नतिजाबिना घर पठाउँदा संक्रमितलाई थप अन्योल, साथै समाजमा संक्रमण फैलिने उच्च सम्भावना हुन्छ, यसलाई गम्भीर रुपमा लिनुपर्छ,’ दीक्षितले भने। चन्द्रसुर्या वाणी

    Posted in विचारLeave a Comment on क्वारेन्टिनमा बसेका साढे एक लाखलाई बिनापरीक्षण घर पठाउने तयारी

    क्‍वारेन्टाइनका सरसामान लिएर ४० जना फरार

  • २७ जेष्ठ २०७७, मंगलवार १३:४८ मा प्रकाशित
  • महोत्तरी : जिल्लाको सम्सी गाउँपालिकास्थित क्‍वारेन्टाइनबाट  सरसामान सहित ४० जना फरार भएका छन्। भारतका विभिन्न शहरबाट आएर  १४–१५  दिनदेखि सम्सी–७ स्थित जनता माविमा सञ्चालित क्‍वारेन्टाइनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्‍वारेन्टाइनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्‍वारेन्टाइन इञ्चार्ज सुनिलकुमार यादवले बताए।

    उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन्। उनीहरु क्‍वारेन्टाइनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी  दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए। चन्द्रसुर्या वाणी

    Posted in विचारLeave a Comment on क्‍वारेन्टाइनका सरसामान लिएर ४० जना फरार

    नेपाली भुमिको चिन्ता गर्दै अरबसागरबाट प्रधानमन्त्रीलाई चिठी!

  • २६ जेष्ठ २०७७, सोमबार २०:१५ मा प्रकाशित
  • दामोदर भुसाल

    काठ्माण्डौं । सरकारको लोगो निसाना छाप संसोधनका लागि विधेयक संसदमा अड्किएकोमा अरबबाट एक नेपाली युवाले आक्रोश पोखेका छन् ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै अहिलेको अवस्थामा एमसीसी भन्दा नेपाली माटोको रक्षा महत्वपूर्ण भएको भन्दै सामाजिक सन्जाल मार्फत सचेत गराएका छन् ।

    उनले भनेका छन्:

    प्रधानमन्त्री ज्यु नमस्कार!
    मैले तपाईंलाई नजिकबाट देखेको पनि छैन । भेटेको पनि छैन र ब्यक्तिगत कारणले भेट्न पनि नपरोस् भन्नेले जेसुकै भनुन । मैले त्यसलाई मतलब दिँदैन । तर राष्ट्रियताको अडानमा तपाईले लिएको प्रतिबद्धता, मुर्छित सपनाहरुलाई बिउँझाउने जुन कार्य गर्नुभएको छ त्यो ईतिहासमा लेखिने नै छ । अहिले कोरोनाको महामारी छ, जनताले राम्रोसँग उपचार पाएका छैनन । कहीँ रिपोर्ट दहासंस्कार सकेपछी कोरोना भएको भनेर पुष्टि हुन्छ भने भ्रष्टाचारका कुरा छ्याप्छ्यप्ती सुन्न सकिन्छ। यस्तो परिस्थितिमा तपाईँ दयालु हैन कठोर बन्नुपर्छ। युट्युबे बुङ्गाहरु देखि पितपत्रकारिता गर्ने चाटुकारहरुले पनि जनतामा भ्रम फैलाई त्रासको वातावरण शृजना गर्दै छन् जसलाई लगाम लगाउन आवश्यक छ ।

    यसै बिच सीमा विबादलाई नै ओझेलमा पार्दै अहिले MCC एउटा चर्को बहसको विषय बनेको छ । MCC के हो मैले पढेको छैन त्यसैले अहिले यसलाई सहि वा गलत भनेर म भन्दिनँ तर अहिलेको आवश्यकता MCC भन्दा महत्त्वपूर्ण देशको माटोको विषय छ। देश कठिन परिस्थितिबाट गुज्रीरहेको छ । हिजोको सरकारले सम्झौता गरेको MCC अहिलेको सरकारले गरे जसरी उचाल्दै छन् । ती उचाल्नेहरु तिनै हुन, जुन त्यतिबेला सरकारमा थिए ।तिनै मानिसहरु अहिले सम्झौता राष्ट्रघाती भनेर जनता भड्काउँदै छन् । जनतामा भ्रम छरेर आफ्नो स्वार्थ लुट्न पल्किएका केही लेन्डुप द्रोजेहरु तलुवा चाट्दै सरकार ढाल्नको लागी न्वारान देखिको बल लगाएर लागि परेका छन् । यस्तो अबस्थामा जाबो MCC हामीलाई किन चाहियो ? यसलाई थाती राखिदिनुहोस् ।

    भारत संगको सीमा बिवादबाट जनताको ध्यान अन्यत्र मोड्दै विभिन्न स्वार्थ केन्द्रित जमातहरुको मुद्धा मिल्दैछ । त्यो भनेको सत्ता परिवर्तन र सीमाको विषयमा हाम्रो आवाज कमजोर बनाउने मात्रै नभई आफ्नो हाकिमी राज्य स्थापित गराउन चाहान्छन् । जुन सीमाका बिषयमा एक शब्द बोल्न सक्दैनन, तिनै एमसीसीको विषयमा उग्ररुपमा प्रस्तुत हुँदैछन् ।

    त्यसैले हाम्रो भुमी फिर्ता ल्याउन तपाईको आवश्यकता छ, जनताले धेरै आशा अनि विश्वास गरेका छन् । हिजो भारतले नेपालको भुमिमा सडक बनाउँदा ‘मौन समर्थन’ गर्नेहरुबाट देशले भुमी रक्षाको अपेक्षा गर्न सक्दैन । तसर्थ, अमेरिकालाई नचिड्याई एमसीसी केही समय थाती राखेर, नभए MCC लाई खारेज गरेर भए पनि सीमामा केन्द्रित हुनु आवश्यक छ । हाम्रो देशको सान हाम्रो मान र मर्यदालाई कसैले ठेस पुर्याउने कार्य गर्छ भने त्यो कदापी स्विकार्य हुँदैन । तसर्थ अहिले MCC हैन आफ्नो भुमिलाई रक्षागर्न प्रतिबद्ध भएर अगाडि बढ्नुहोस । दुईचार जना लेन्डुप दोर्जे नेताहरु बाहेक सारा नेपाली जनता तपाईको साथमा छन् ।

    दामोदर भुसाल

    हाल अरबसागर

    Posted in विचारLeave a Comment on नेपाली भुमिको चिन्ता गर्दै अरबसागरबाट प्रधानमन्त्रीलाई चिठी!

    क्‍वारेन्टाइनमा जातीय विभेद, दलितले पकाएको खाना बहिष्कार

  • २२ जेष्ठ २०७७, बिहीबार २२:३१ मा प्रकाशित
  • ‘मन्दिरको पुजारी हुँ, दलितले पकाएको खाना खानुपर्छ भने म मर्छु’ भनेपछि घिमिरेलाई अर्को क्वारेन्टाइनमा सारिएको छ ।

    अर्घाखाँची — अर्घाखाँचीमा दलित युवकले पकाएको खाना कथित माथ्लो जातका केही व्यक्तिले बहिष्कार गरेका छन् । मालारानी गाउँपालिका–४ खन चुँदारटोलको समाजकल्याण प्रावि क्वारेन्टाइनमा यस्तो घटना भएको हो ।

    वडा कार्यालयमार्फत स्वयंसेवकका रुपमा खटिएका कृष्णबहादुर विकले क्वारेन्टाइनमा खाना पकाउँदै आएका छन् । उनले पकाएको खाना दिल्लीबाट आएका शीत गाउँका दिनेश घिमिरे लगायतले मंगलबार बहिष्कार गरे । त्यसपछि उनीहरुलाई स्थानीय पुरुषोत्तम भुसालले घरबाटै खाना ल्याइदिएका थिए ।

    ‘मैले भरेको पानी खानुभयो तर भात खानुभएन,’ विकले भने, ‘दलितले पकाएको खाएपछि आफूले नराम्रो सपना देख्ने, काँप्ने र बिरामी हुने जवाफ दिनुभयो ।’

    दलितले पकाएको खाना नखाएपछि घिमिरेलाई कालिका नेपाल राष्ट्रिय माविको क्वारेन्टाइनमा सारिएको वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले बताए ।

    ‘दलितले पकाएको भात उपल्लो जातिले खानु/नखानु उसको व्यक्तिगत स्वतन्त्रता हो, मन्दिरको पुजारी हुँ, दलितले पकाएको खाना खानुपर्छ भने म मर्छु भनेपछि घिमिरेलाई अन्यत्र सारियो,’ वडाध्यक्ष पोखरेलले भने, ‘क्वारेन्टाइनमा राख्दा जातीय रुपमा हेरिएन । सबैलाई एकै ठाउँ राखेका छौं ।’

    दलित वडा सदस्य लक्ष्मी विकले पुजारी हुँ भन्दै खाना बहिष्कार गरेर दलितमाथि जातीय विभेद गरेको बताइन् । ‘एउटै गाउँका छिमेकीबीच जातीय द्वन्द्व ल्याउने काम भयो,’ उनले भनिन् । कान्तिपुर. कममा बीरेन्द्र केसीले यो समाचार लेखेका हुन।

    Posted in विचार, समाजLeave a Comment on क्‍वारेन्टाइनमा जातीय विभेद, दलितले पकाएको खाना बहिष्कार

    अब लकडाउन लम्ब्याउने हो भने नागरिकहरुको हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ ।

  • २२ जेष्ठ २०७७, बिहीबार ०९:३८ मा प्रकाशित

  • राकेश कुमार शर्मा
    हेटौंडा

    अब लकडाउन लम्ब्याउने हो भने बाहिरी मुलुकहरू जस्तै नागरिकहरुको पालनपोषण र खातामा पैसा आदि आदि जस्ता सम्पुर्ण जिम्मेवारी राज्यले लिनुपर्छ।


    प्रधानमन्त्री, मुख्यमन्त्रीहरु, मन्त्रीहरु र सांसदहरूलाई मन्त्रीपरिषद बैठक, सुरक्षापरिषद बैठक, प्रतिनिधि सभा बैठक, प्रदेश सभा बैठक, सर्वदलीय बैठक र स्थायी समिति बैठक आदि आदि जस्ता बैठकहरु बस्न्लाई लकडाउन लागु नहुने ? सर्वसाधारण नागरिकहरुलाई मात्र लकडाउन हो। सर्व साधारण नागरिकहरूले मात्र कष्ट र पिडा झेल्नुपर्ने होइन र ? अब मन्त्रीहरू र नेताहरूको अन्याय र अत्याचार अति नै भयो ।


    लकडाउनमा सर्व साधारण नागरिकहरूलाई मात्र कडाइ गरेर समस्या समाधान हुन्न ? लकडाउनको कानुन र नियमहरु बनाउनेले पनि उल्लंघन गरेमा पनि कार्वाही हुनुपर्छ ।लकडाउनमा हत्या, हिंसा र कालोबजारी बढेको छ ।

    लकडाउनको समयमा मुख्यमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु र नेताहरूले प्रतिनिधि सभा बैठक, सर्वदलीय बैठक, स्थायी समिति बैठक, मन्त्रीपरिषद बैठक र सुरक्षापरिषद बैठक आदि आदि जस्ता बैठकहरुको बैठक भत्ता लिने गरेको छ की छैन ?

    लकडाउन भनेको छ कडाइ गर्ने मात्र भनिएको छ । लकडाउनका कारण थुप्रै कठिनाइ र जोखिम आउने स्थिति देखिएको छ । यसको निकास र समाधान के ?

    क्वारेन्टाइनमा बस्ने नागरिकहरु माथी लापरबाही भइरहेको जनगुनासो पनि आइरहेको छ । क्वारेन्टाइनमा बस्न मानेनन किन ? क्वारेन्टाइन बाट भाग्नुको कारण के ? क्वारेन्टाइन व्यवस्थित र क्वारेन्टाइनमा सेवा सुविधाहरु हुन आवश्यक छ ।

    कोरोना भाइरसले भन्दा नागरिकहरुलाई चिन्ताले बढी सताएको छ । मानिसलाई रोगले भन्दा शोक र चिन्ताले बढी गलाएको छ।

     लकडाउन पश्चात झनै कोरोना संक्रमित र मृत्यु संख्या बढेको देखियो । रोग निर्मुल कहिले पनि हुँदैन यसकारण अब सुरक्षित ढंगले नागरिकहरुले आफ्नो सुरक्षा आफै गर्ने हो । लकडाउन मात्र समस्याको समाधान होइन।

    Posted in विचारLeave a Comment on अब लकडाउन लम्ब्याउने हो भने नागरिकहरुको हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ ।

    निर्मला पन्त Vs नवराज बिक

  • २१ जेष्ठ २०७७, बुधबार २२:२३ मा प्रकाशित
  • यशमीन वैगम सैयद

    साउदी | क्षेत्रीको छोरो त्यो पाऊँ छुन्छ ,घिनले छुँदैन !

    मानिस ठुलो दिल ले हुन्छ , जातले हुँदैन !!

    महाकवि लक्ष्मी प्रसाद देवकोटाको प्रख्यात कृति मूनामदनको माथी उल्लेखित अंश अब इतिहासको पानामै सीमित रहने देखिन्छ । रूढिबादी परम्परागत मान्यता , अशिक्षा अनी संकीर्ण मानसिकताको उपज बाट ग्रसित समाज अनि जातीय विभेद (Social Discrimination) को कुरा म गर्दिन किनकी म त्यो समाजको अंग कहिल्यै बन्नु परेन न त त्यस्को आभास नै गर्नू पर्यो |

    यसो विचार गर्दा जेष्ठ महीना हाम्रो देश नेपालको लागी त्यती सुखद रहेको देखिन्न ।आज भन्दा १९ वर्ष अगाडी २०५८ जेष्ठ १९ शुक्रबारका दिन नेपालको इतिहासकै कालो दिन अर्थात् सबैको प्यारा राजा बिरेन्द्र बीर बिक्रम शाहको सम्पूर्ण राजपरिवारको वंशनाश हुने गरी भएको बिभत्स दरबार हत्याकाण्डको ह्रदयविदारक घटनाले हाम्रो मानसपटलमा कहिल्यै नमेटिने छाप छाडेको छ, भने उक्त दरबार हत्याकाण्डको दोषी आज सम्म पनि रहस्यको घेरामुनि ओझेल परेको छ । प्रत्येक वर्ष जेष्ठ १९ आउना साथ नमीठो आभास सहित हाम्रो आँखा अनायासै रसाउन थाल्छ ।हार्दिक श्रद्धासुमन हाम्रा प्यारो दिवंगत राजपरिवार प्रति !!

    यसैगरी नयाँ वर्ष २०७७ को जेष्ठ १० गते पश्चिम रुकूमको सोती नगरपालिका चौरज़हारीमा आफ्नो प्रेमिका कथित उपल्लो जातीकी भनिने सुष्मा मल्ल ठकुरीको आग्रहमा बेहुली लिन भनि मीठो सपना बोकी गएका एक दलित नव जवान प्रेमी नवराज बिक र होस्टेमा हैँसे गर्दै रमाउँदै उनका साथमा गएका करिब १९ जना निशस्त्र निर्दोष युवाहरू माथी सुष्माका परिवार र सम्पूर्ण गाउँ नै एकत्रित भई ढुंगा मूढा लगायतका घरेलू हथियारको प्रयोग गरी गरीएको निन्दनीय, अमानविय क्रूर आक्रमणमा परी नवराज बिक सहित आधा दर्जन युवाहरूको अकालमा भएको दर्दनाक मृत्यु र अन्य घाईते भएको घटनाले बिश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरू माझ शोकको लहर छाएको छ । जून घटना नेपाल जस्तो सानो शान्त मूलूकमा घट्नुले थप चिन्ताको स्थिति सृजना गरेको छ। यसप्रकारको नरसंहार हुनू दुर्भाग्य नै हो ।

    नेपालको कानूनले जातीय आधारमा छूवाछूत लाई दण्डनिय आधार मानेको छ भने नेपालको संसदले २१ जेष्ठ २०६३ मा नेपाल छूवाछूत मुक्त राष्ट्र घोषणा समेत गरेको थियो, तर युग २१ औँ शताब्दीमा प्रवेश गरी सक्दा पनि छुवाछूत अनी जातीय मतभेदले ग्रस्त समाजमा संकुचित मानसिक संकीर्णताको पराकाष्ठाले व्याप्त भएको समाज द्वारा घटित अत्यन्त ह्रदय विदारक भयानक घटनाको बिश्वव्यापी निंदनीय रूपमा भर्त्सना गर्दै दोषी उपरी कडा भन्दा कडा सजाय दिलाई नवराज बिक तथा ति आधा दर्जन निर्दोष युवाहरूको आत्मा र सम्पूर्ण घाईते तथा उनिहरूका परिवार लाई न्याय दिलाउनु आजको आवश्यकता अनी समयको माग र तपाई हामी संपूर्ण नेपालीको कर्तव्य पनि हो ।

    विगतका दिनहरूको यसो स्मरण गर्ने हो भने कन्चनपुरकी अबोध बालिका निर्मला पन्तको बलात्कार पछि गरीएको निर्मम हत्या प्रकरणमा जसरी देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरू र स्थापित सम्पूर्ण संघसंस्थाहरूले समेत एक भई नेपालको सडक देखी सदन सम्म मात्र नभई विश्वव्यापी रुपमा निर्मलाको न्यायको निमित्त सरकारलाई यथाशीघ्र दोषी र घटनाको सत्यतथ्य पत्ता लगाई निर्मलाको परिवारलाई न्याय दिलाउन विदेश स्थित दूतावासमा समेत पुगी ज्ञापनपत्र बुझाउँदै सक्दो प्रयास गरेको यथार्थले हामी सामू ताजा घटना सरह नै छाप छोडेको छ ।

    तर जसरी निर्मलाको न्यायको लागी दिन प्रतिदिन महिनौ सम्म सडकमा उर्लेको जनदवाब , मानव अधिकारबादी हरूको आवाज , राष्ट्रीय, अन्तर्राष्ट्रिय स्तरको संस्था हरूको न्याय र क्षतीपूर्ति सहितको माग अनी नेताहरूको दवाबले सदन तथा संसद ताताएको त्यो अथक प्रयासको आवाजले आजको दिन सम्म दोषी पत्ता लगाऊन नसकेता पनि नेपाली जनसमुदायको एकताले आन्तरिक र बाह्यजगतमा गर्विलो पृथक छाप छोड्न सफल भएको थियो ।

    आज जाजरकोटमा सिंगो गाउँ समाजले नै राक्षसी स्वरुप धारण गरी आधा दर्जन दलित युवाहरूलाई अनाहकमा दर्दनाक ज्यान लिंदै मच्चाईएको तान्डव स्वरुपको नर संहार बिरुद्दमा खोई त दोषीलाई सजायको माग गर्दै त्यसप्रकारको आवाज उठेको ?

    कहाँ गए ति दलितका नाम बेची डलर कमाऊन पल्किएका दलित अगुवा नेताहरू ? कहाँ बिलिन भए मानव अधिकारकर्मीहरुका अधिकारवादी गफ हरू ?

    खोई हामी देश विदेशमा रहेका सम्पूर्ण नेपाली हरूले एकस्वरमा आवाज उठाएको ?

    खोई त शीर्षक एऊटा अनी समाचार अर्को बनाई यूट्यूब बाट कमीशन खान सिपालू भएका यूट्यूबे पत्रकारहरूले समाचार बनाएको ?

    खोई त प्रभावकारी मीडियाहरूमा मर्मस्पर्शी रुपमा समाचार सम्प्रेषण भएको ?

    झिनामसिना खबरले रंगिने हाम्रो सामाजिक संजालको भित्ताहरू नेपालको इतिहासमा अविस्मरणीय रुपमा नै दर्ता हुने यस्तो कहाली लाग्दो नरसंहारको घटनाले खोई त स्थान पाएको ?

    घटना लाई शिथिल बनाउन या दोषीलाई बचाउन जुन सुकै राजनीतिक रंग या पक्ष अगाडी रहेता पनि यस बिषम परिस्थितिमा पुन: हामी सम्पूर्ण नेपाली एकजुट भई एकसाथ आवाज उठाउन आवश्यक छ । नवराज र उनका साथीहरुको मृतआत्माको चिरशान्तिको कामना सहित दोषीलाई सजाय र पीडितलाई न्याय दिलाउन नेपाल सरकारलाई साउदीको मरभूमी बाट विनम्र अनुरोध गर्दछु ।

    यासमिन बैगम शैयद

    गैरआवासीय नेपाली संघ ( NRNa ICC )

    केन्द्रीय सदस्य.

    Posted in विचारLeave a Comment on निर्मला पन्त Vs नवराज बिक

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P