टुक्काकार भगवती दवाडी तिहार विशेष टुक्का कविताहरू १. रमाइलो नहुने भो यो सालको तिहार, भाइहरुका पनि खाली हुन्छन् निधार । २. महाकवि देवकोटाको जन्म दिवस मान्दै, रचना वाचन गरियो जतै सिर्जना छान्दै। ३. उत्तरमा देखिन्छन् हिमचुली लहर चाडपर्वमा रमाइलो हुन्न शहर । ४. जुवा तासको रमाइलो खेल्नेको मौका, नखेल्नेलाई खोइ दाउ आएन चौका । ५. हाम्रो घर छ हिमालको काखमा , टुक्काको सिर्जना गर्दछु चाखमा । ▪️भगवती दवाडी झापा
तिहार पर्व विशेष टुक्का कविताहरू १. झिलिमिली बत्ती हेर दियो अनि पाला, तिहारको रमाइलो सयपत्री माला। २. सप्तरङ्गी निधारमा सुहाउने टीका, कसैको पनि नहोस् तिहार पर्व फिका। ३. दिदी भाइको मिलन हो तिहार पर्व, हाम्रो राम्रो सस्कृति यो गर्नु पर्छ गर्व। ४. यमपञ्चक चाड खेलौ देउसी भैली, दान गर्नुपर्छ खोलेर धनको थैली। ५. भाइटिका लगाउ दिदी बहिनीबाट, चेली माइती गरौँ न आशिष् साटासाट। ६. महालक्ष्मी लाई डाकि गरौ आरधना, तिहारको छ रौनाक थपौ आफ्नोपना। ७. गाई काग र कुकुर गोरु पुजा हुन्छ, भाइटिका तिहारको सस्कृतिले छुन्छ। ८. ढकमक्क बारी भरि फुलेको छ फूल, तिहारमा भाइटिका लाउनेको हुल। ९. सयपत्री मखमली बारी भरि फुल्यो, तिहारमा चचहुई लिङ्गे पिङ झुल्यो। १०. गाँउ घर झपक्कै छ तिहारको मेला, भाइटिका लगाएर भैली खेल्ने बेला। ◾️नवशिला बेलबारी -२, लालभित्ती, मोरङ गोदावारी, ललितपुर।
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग ११[एघारौं] ————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०७/०७ देखि १० गते सम्म । ………………………………………….
प्रवर्तक ==== सोमनाथ लुइटेल “रवि पाल्पाली”
प्रशिक्षक:- ———– गुणनिधि घिमिरे घनस्याम पौडेल
भाषा शुद्धीकरण:- ———— भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
दिपावलीको र छठ पर्वको बारेमा ०१ [एक] पञ्चाङ्ग लेख्न हुन हार्दिक अनुरोध गर्दछौँ। दिपावलीको पावन अवसरको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
पञ्चाङ्गको संरचना :- अक्षर आफ्नो इच्छा अनुप्रास :- आफ्नो इच्चा स्थायी :- आफ्नो इच्छा ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ ।
तिहारमा राम्रो विचारले ढाकेको छ घरघरमा [०१] सेल फिनि रोटि परिकार पाकेको छ घरघरमा [०२] ——————————– तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नु पर्छ
हाम्रो परम्परा र संस्कृति विश्वमा जोगाउन पर्छ [०३] ———————————
१,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ ।
काग कुकुर गाइ पुजाको ताकेको छ घरघरमा [०४] भैली देउसी खेल्न भाइले हाँकेको छ घरघरमा [०५]
उदाहरण पञ्चाङ्ग [१]
तिहारमा राम्रो विचारले ढाकेको छ घरघरमा [०१] सेल फिनि रोटि परिकार पाकेको छ घरघरमा [०२] हाम्रो परम्परा र संस्कृति विश्वमा जोगाउन पर्छ [०३] काग कुकुर गाइ पुजाको ताकेको छ घरघरमा [०४] भैली देउसी खेल्न भाइले हाँकेको छ घरघरमा [०५]
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।
उदाहरण [०२]
दिपावली पर्वले उमङ्ग दिई आयो सबैमा [०१] पीडा भुली रसरङ्ग डुल्दै लिई आयो सबैमा [०२] झिलीमिली चारैतिर अँध्यारो हटाएर आयो [०३] सम्बन्ध बाँधी अमृत घडा पिई आयो सबैमा [०४] मन हृदय कुनामा पसी जिई आयो सबैमा [०५]
तिहारमा राम्रो विचारले ढाकेको छ घरघरमा । सेल फिनि रोटि परिकार पाकेको छ घरघरमा । हाम्रो परम्परा र संस्कृति विश्वमा जोगाउन पर्छ , काग कुकुर गाइ पुजाको ताकेको छ घरघरमा । भैली देउसी खेल्न भाइले हाँकेको छ घरघरमा ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।
पञ्चाङ्ग ०२
घुम्दैफिर्दै अहिले पनि आयो तिहार। गाॅउ बजार चारेतिर छायो तिहार। दाजुभाई दिदीबैनी सबै सबैलाई, यमपञ्चक साथसाथै लायो तिहार। दूखीले पनि रमाउने पायो तिहार।
💢घनश्याम पौडेल, पोखरा ।
पञ्चाङ्ग ०३
प्रत्येक घरमा तिहार आएको छ । हर्ष उमङ्ग र बहार छाएको छ । गाउँघरमा सेल रोटी पाकेपछि, यो मनैदेखि खान मन लाएको छ । उडेर मन लेक बेसी धाएको छ ।
💢आर्त अकुलीन, कैलाली ।
पञ्चाङ्ग ०४
देशमा आजभोलि सूर्यग्रहण लागेको छ । जनतामा भने बर्सौँ देखि आशा जागेको छ । कानुनी राज्य समानता रोजगारी नहुँदा , जनताले आमूल परिवर्तन चाहेको छ । भनेझैँ नहुँदा जनताले सास्ती पाएको छ ।
💢तेजप्रसाद खनाल, लमही दाङ।
पञ्चाङ्ग ०५ [०१] घर घरमा झिलिमिली यो तिहार हुनेछ जताततै जुवा र तासको विकार हुनेछ हट्नुपर्छ संस्कृतिको खोलबाट विकृतिले रातो खोला बग्दा पशु दुई किनार हुनेछ मन दुःखी तर सप्तरङ्गी निधार हुनेछ [०२] घर घरमा पटाका बाल्दै तिहार हुनेछ। जताततै जुवा र तासको विकार हुनेछ। हट्नुपर्छ संस्कृतिको खोलबाट विकृतिले , रातो खोला बग्दा पशु दुई किनार हुनेछ। मन दुःखी तर सप्तरङ्गी निधार हुनेछ ।
💢श्रीकृष्ण शर्मा पोखरा ।
पञ्चाङ्ग ०६
झुपडीले पनि धान्ने गरि चाड आओस् । संस्कारले पर्व जान्ने गरि चाड आओस् । दियोको तेल जस्तै शुद्ध रहिरहोस् यो, अग्रजले भन्या मान्ने गरि चाड आओस् । विसङ्गतिलाई हान्ने गरि चाड आओस् ।
💢पशपति राई, खोटाङ।
पञ्चाङ्ग ०७
पिलपिल झिलमिल घरघर दीप बल्दै आयो तिहारमा। ज्यामीर फलफूल ओखर किसमिस फल्दै आयो तिहारमा। काग, कुकुर, गाईगोरु, प्रकृतिका हामी प्राणी पुजक हुँदै , संस्कार यो परम्परा पौराणिकदेखि चल्दै आयो तिहारमा। समानता एकताको उज्यालो भावना दल्दै आयो तिहारमा।
💢होम प्रसाद नेउपाने, हालः काठमाडौ ।
पञ्चाङ्ग ०८
खुशी साट्न तिहारमा आए मेरा दाजै द्याैसी भैलाे घुमीघुमी गाए मेरा दाजै। सप्तरङ्गी टीका अनि मखमली माला शिरभरि ढाकाटाेपी लाए मेरा दाजै सेलराेटी अर्सा फिनी खाए मेरा दाजै । [०२] जुवा तास नखेले नि तिहार आउँदैन र देउसी भैलाे मात्र खेल्दा खुशी छाउँदैन र ? कुसंस्कृति हटाउने कस्ले हाेला कुन्नि? काैवाले नि खुश खबर कुनै पाउँदैन र ? कुकुरले दैलाेदैलाे कि त धाउँदैन र?
💢चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।
पञ्चाङ्ग ०९
सबैको घरमा तिहार आएको छ। हर्षले मनमा उमङ्ग छाएको छ। वर्ष दिनको चाड मनाउनलाई, सबै देउसे भैलो गीत गाएको छ। मीठो परिकार पकाई खाएको छ।
💢सरस्वती श्रेष्ठ , इटहरी ।
पञ्चाङ्ग १०
तिहारको दिनमा पर्यो सुर्य ग्रहण लाग्ने बेला । दशा विघ्न पर सर्यो सुर्य ग्रहण लाग्ने बेला। हर्ष र उमङ्गमा झुल्ने समय नि आएकै थियो , सेल रोटी तेलमा तर्यो सुर्य ग्रहण लाग्ने बेला । घाम लागेर पानी टर्यो सुर्य ग्रहण लाग्ने बेला ।
💢अम्विका अधिकारी, झापा विर्तामोड ।
पञ्चाङ्ग ११
झिलिमिली पारी दियाे बाली फिनी राेटी तारेकाे तिहारमा। घरदैलो गर्दै नि देउसी भैलो खेल्दै गाएकाे तिहारमा । कुकुर ,काग ,गाई ,गाेरु भाई पूजाकाे संस्कृति रमाइलो , मनमा तरङ्ग तनमा उमङ्ग धेरै छाएकाे तिहारमा । धनकाे सलह जनकाे कलह पुरै ढाकेको तिहारमा।
💢टीकाराम जाेशी, टीकापुर।
पञ्चाङ्ग १२
आँगनीमा सयपत्री,मखमली ढकमक्क फुलेको बेला। खेत र बारीमा धान पाकेर झपक्क बाला झुलेको बेला। सम्रिद्धि र उज्यलो लिएर रमाईलो पर्व तिहार आयो, कालोमैलो मेघ बर्षा हटेर आकाश सफा खुलेको बेला। हर्ष र उमङ्ग छाई मन गमक्क भै रङ्ग घुलेको बेला ।
💢बिबस पारद्शी ,भद्रपुर झापा ।
पञ्चाङ्ग १३
चारैतिर तिहार आयाे दाजु । हर्ष उमङ्ग पनि छायाे दाजु । घर घरमा झिलिमलि लाए, माइती जान मन लायाे दाजु याे मन उतै तिर धायाे दाजु।।
💢सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल ।
पञ्चाङ्ग १४
बर्ष दिनको तिहारमा सूर्य ग्रहण आएको छ । माला र सप्तरङ्गी टीका लाउन मन लाएको छ । सबैका घरमा सेल रोटी अनर्सा पकाएका छन् , सबैका घरमा हर्ष,उमङ्ग,बहार छाएको छ । रङ्गिचङ्गी बत्तीको उज्यालो सबै घर लाएको छ ।
💢बेदु न्यौपाने काठमाडौ ✍️
पञ्चाङ्ग १५ [०१] दिपावलीको मौसम पारी प्रकाश छेक्न आयो । ग्रहणको सुतक लिई जीवलाई सेक्न आयो । झिलीमिली दिप तिहारको अवसर पारेर , सगुनका पल र शुक्र अस्त दिन टेक्न आयो । ग्रह फल शुभ अशुभ हरपल देख्न आयो । [०२] यमपञ्चक पूजा गरी धर्मराजालाई खुशी पारेर आएँ । दोष मेटाई दिवारमा डाकी संकोच उनका सारेर आएँ । शताब्दी औँ जन्मदिनका भेट मनाउ पनि गर्न पाऊँ भनि, खुशी साटासाट,ओखरमा बाधा फुटाई माया खारेर आएँ। भाइलाई सप्तरङ्गी, मखमली सजाई कष्ट टारेर आएँ ।
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
पञ्चाङ्ग १६
झस्किएको मन आफै पनि झस्किन सक्छ। दु:खमा सहारा पनि आफै तर्किन सक्छ। पखेरो पनि जीवन हो बाँच्नुपर्छ यहाँ, वेदनाको राप पनि फेरि सल्किन सक्छ। जिन्दगी तनाव हो दिमाग पड्किन सक्छ।
💢दस्ता कौशिक,पाँचथर।
पञ्चाङ्ग १७
सुर्य ग्रहण पनि लक्ष्मी पूजाको दिन पर्यो । किन गाई तिहारको वेला यस्तो घिन पर्यो। तोरन बान्छौ बाबर नुन लक्ष्मी पुजा हुन्छ, भन्छन् त्यो दिनमै सुर्य ग्रहण एकिन पर्यो। एक दिन पहिले गाई पुजाको छिन पर्यो।
💢सुरेशकुमार पान्डे, दाङ घोराही१८ ।
पञ्चाङ्ग १८
बाहिर झीलीमिली बत्ती अनि अटालीमा पाला हुन्छ। मझेँरीमा मिठा परिकार सेलराेटीकाे डाला हुन्छ। चेली माइतीकाे खुशी बाँड्न तिहार आयाे घरमा, आँगनीमा खेल्छन् द्याैसी भैलाे यहाँ यस्तै चाला हुन्छ । निधारमा रंग टीका गलामा मखमली माला हुन्छ ।
💢उर्मिला के.शी. धनकुटा ।
पञ्चाङ्ग १९
कालो वादल खुलेकोछ, मनमा खुसी छैन। धानको बाला झुलेकोछ,मनमा खुसी छैन। यो साल पनि आउँदैनौ, भने दाजुभाइले, फूलको थुङ्गा फुलेकोछ, मनमा खुसी छैन। खोरमा भाले हुलेकोछ, मनमा खुसी छैन।
तिहार चारैतिर छायो हेर । लक्ष्मीकोआषिस पायो हेर । घर आँगन झलमल्ल हुदा , सबैले भैलो गीत गायो हेर । मिठो परिकार नै खायो हेर ।
💢सीता शर्मा बिरंगज ।
पञ्चाङ्ग २१
तिहार आयो टीका थाप्न घर जान नपाउँदा। मन दुखेको छ बैनि उपहार लान नपाउँदा। बाटो हेर्दै बाबा आमा साँझसम्म हेर्दै छन् कि ? शरीर पनि गलेको छ समयमा खान नपाउँदा। प्लास्टिकको चामल खानु छ धान नपाउँदा।
💢सन्जना सर्मा, दाङ लमही ।
पञ्चाङ्ग २२
घर घरमा लक्ष्मीको बास होस्। सबैमा सुख शान्तिको रास होस्। तिहारको शुभकामना दिन्छु, गरिबी सदाको लागि नास होस्। यसपालीको तिहार खास होस्।
💢सुशीला पौडेल, काठमाडौं ।
पञ्चाङ्ग २३
बर्षदिनको चाड तिहारमा झिलीमिली द्यौसिरे द्यौसिरे । सप्तरङ्गी टिकाले निधारमा झिलीमिली द्यौसिरे द्यौसिरे। चेली र माइतीको सुन्दर संस्कार रमाईलो भेटघाट, चाडमा सबै मिली बिचारमा झिलीमिली द्यौसिरे द्यौसिरे। टिका माला लाई परिवारमा झिलीमिली द्यौसिरे द्यौसिरे ।
💢गुणनिधि घिमिरे, अमेरिका।
पञ्चाङ्ग २४
दीपावलीमा खुसीयाली मनाउने हो दिदी बहिनीसँग। दाजुभाइको उपस्थिति जनाउने हो दिदी बहिनीसँग। दीपावलीको शुभकामना सबैलाई दिन चाहन्छु मैले, लक्ष्मी पूजामा रंगोली नि बनाउने हो दिदी बहिनीसँग। शिर देखि छपक्कै फूल खनाउने हो दिदी बहिनीसँग।
💢ह्यारिसन काठमाडौं ।
पञ्चाङ्ग २५
जताततै दीपै-दीपले छाएका छन् यहाँ। रङ्गी-बिरङ्गी फूलहरू आएका छन् यहाँ। गरीब पनि उज्यालो रोशनीमा अल्झिई रङ्गोली बनाउनमा नै लाएका छन् यहाँ । गढेका दु:ख नासी खुशी पाएका छन् यहाँ।
जैमिनी साहित्यिक मञ्च बागलुङ द्वारा सञ्चालित चित्रमा मुक्तक अभ्यास शृङ्खला {५२}१ वर्ष पुगेकोमा हार्दिक शुभकामना 🌺 र शृङ्खला ५२ सम्मका सबै सहभागीहरू मुक्तककार ज्यूहरूमा आभारी सहित सादर धन्यवाद ।
✍️मुक्तक 🇳🇵
प्रकृतिको उपहार सर्वगुणी जननी हो पानी सर्वोत्तम र अमृत मिठो लाग्नु हो जिन्दगानी उदाहरण दिन्छन् कर्कलाको,सहारा सदाको तर हावाको झोक्कामा सकिन्छ सबै कहानी ।
✍️प्रेम थापा “मन”🇳🇵
✍️मुक्तक
थोपा थोपामा प्राणको रस भर्छ पानी, समुन्द्र हावा बादल हुदै तल झर्छ पानी । पानीले सृष्टिको मुटु ढुकढुकाई रहन्छ , पृथ्वी वायु अाकाश तेज भर पर्छ पानी।
✍️होम प्रसाद नेउपाने धरान,सुनसरी 🇳🇵
✍️मुक्तक
कर्कलाको पानी र जिन्दगानी उस्तै लाग्छ एकै झट्कामा टुङ्गिने कहानी उस्तै लाग्छ केको फूर्ती लगाउँछौ देखाउँछौ आडम्बर, खहरेको पानी अनि यो जवानी उस्तै लाग्छ ।
✍️वसन्त अनुभव घोराही, दाङ🇳🇵
✍️ मुक्तक
एकताको पाठ, यस चित्रबाट सिक्न सकिन्छ बोले पछि पिठो जस्तै बिक्न सकिन्छ पानीको थोपा जस्तै उदाहरण यो चित्रमा मिलेर काम गर्दा समस्यासँग टिक्न सकिन्छ।
✍️Singer Bishal🇳🇵
✍️मुक्तक
कर्कलोको पातमा टलक्क टल्किएको छ शित जीवनदान दिन्छ गर्छ सम्पूर्ण प्राणीको हित अलौकिक शक्ति छ पानीमा विशाल आगो समक्ष पनि हुन्छ उसकै जित ।
✍️प्रगति शर्मा पुष्पा🇳🇵
✍️मुक्तक
राखेर, हाम्रै तस्बिर सिरानीमा सधै, अहो कयौं बिहानी सकिन्छ अनि सन्तानलाई केही बनाउने आश आमाको जवानी सकिन्छ यसैले,यी हामी आफै बुझौ मित्र,यार कर्कलाको पानी न हौ अक्सर हामी आफै बाटो बिराए हाम्रो पूरा जिन्दगानी सकिन्छ। ✍️ प्रदिप नेपाली बिहादी ५ उराम,पर्बत🇳🇵
✍️मुक्तक
कर्कला पानीजस्तै भाछ जिन्दगी भर छैन् कत्ति जनम पछि मरण अवश्य छ त्यसैले डर छैन् कत्ति संघर्ष र सुख दुःख को चर्खांमा घुमदो रैछ जिबन एकछाक खान लाउन पुगोस् अरू रहर छैन् कत्ति ।
✍️ सिर्जन रामु गुरुङ्ग राङ्खानी🇳🇵
✍️मुक्तक
जीवन जीवन भन्छु जीवन पातमा नचाइरहेछु जीवन मेरो हो तर कसैको लागि बचाइरहेछु थाहा छैन यो कति खेर पुर्लुक्क कहाँ खस्ला तर पनि जीवन हँसाइ दुखलाई पचाइरहेछु!
✍️पशपति राई खोटाङ🇳🇵
✍️मुक्तक
कर्कलोको पानी जस्तै हो हाम्रो जिन्दगानी राम्रो काम गर्नुपर्छ समयको महत्व ठानी धर्तीका पाहुना हौ हामी घमण्ड कत्ति नगरौं त्यसैले कसैलाई पनि नगरे जीवनमा हानी ।
✍️आर्मित्मा थापा मगर स्याङ्जा🇳🇵
✍️मुक्तक
भर छैन हजुर कर्कलाको पानी जस्तो जीवन अथक लगानी पछि हजुर बन्छ कस्तो जीवन मरिहत्ते बेकार हो जाँदा लाने त होइन कसैले सद्भावना ठूलो हो घमण्डले बन्छ सस्तो जीवन।
✍️निर्मला सुवेदी,बागलुङ🇳🇵
✍️मुक्तक
अप्ठ्यारो महसुस नगर्ने कतिपयको बानी छ मुठी सासको जिन्दगानी कर्कलाको पानी छ सत्य यथार्थ नपच्ने चेतनशील मानव पनमा आदर्शवादी भएर व्यवहारमा आनाकानी छ ।
✍️” जिज्ञासु ” पन्त लमजुङ 🇳🇵
✍️मुक्तक
जीवन रसिलो लाग्छ, देख्दा मूलको पानी अझ हराभरा लाग्छ, देख्दा आफ्नै जवानी के रहेछ र आखिर कर्कलाको पातमा हेर्दा सुख खोज्न घुमेको दुःख भेट्ने त्यो मदानी ।
✍️सविता के.सी., काठमाडौँ 🇳🇵
✍️मुक्तक
हाम्रो जीवन कर्कलाको पाती जस्तै हुन्छ विछोड हुँदा अकस्मात भित्री मुटु छुन्छ विहानीको किरण जस्तै चम्किएको भए बाढी पहिरो गएको देख्दा धेरै मन रुन्छ ।
काठमाण्डौँ, ०५ कार्तिक । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७४औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
‘साताका तीन लघुकथा’को बिसौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (फुपूको लाख, हाम्रो शिक्षा र अलमल ) छनोट गरी प्रकाशन गरिएको छ।
१) लघुकथा – फुपूको लाख
✍️ म्यामराज राई आसबहादुरसॅंग घरबारी थियो । धारा आउॅंथ्यो । जाँगर भने थिएन । ऋण काढेरै मीठो मसिनो खान चाहिॅं खान्थ्यो । नातागोता, आफन्तहरू सबैतिर ऋण लिइसकेको थियो । तिर्न सक्ने हैसियत थिएन । स्रोत थिएन । तर, ऋण पाउन अनेक् तिकडम लगाउन छोडेन । भर्खर विदेशबाट आएकी आफ्नी फुपूको घरतिर बाटो सोझ्यायो।
“एक लाख तपाईॅंबाट आशा छ है ।” उसले खातामा पैसा जम्मा गर्नुपर्ने कथा सुनायो । ‘कहिलेसम्ममा फिर्ता गर्छस् ।’ फुपूले सोधिन । किनकि ऊ उनको साक्खै भदा हो । एउटा शर्तसहित आस देखाईन्, “घरबारी बाँझो राख्न पाउॅंदैनस्, नि ।”
‘नखाऊॅं दिनभरिको सिकार, खाऊॅं भने कान्छा ‘बा’को अनुहार भनेझैँ ।’ उसको मन उसैसित बोल्यो । दोमनबीच शर्त मान्न तयार छु भन्ने आशयमा टाउको हल्लायो । र, ऊ लाखको बिटोसॅंगै घर फर्क्यो । पुन: सोचमग्न भयो, ‘बैङ्कमा पैसा हुन्छ । आजबाट मेरो घर बैङ्क र म बैङ्क मालिक ।’
फुपूसॅंग सम्झौता गरे अनुसार घरबारी बाँझो राख्न मिलेन । नगदे बाली बारीभरि लगायो । मेहनती पाखुरी बजायो । खुद्रा खुद्री पैसा गोजीमा पर्न थाल्यो । पाखुरी जति धेरै बजायो, त्यतिनै लक्ष्मी भित्रिइरहिन् ।
घरबारीले साथ दिएपछि छ महिनापश्चात् फुपूको लाख रकम उसले फिर्ता गर्यो ।
✍️ छायाँदत्त न्यौपाने ‘बगर’ बिहानको समय थियो । घाम झुल्किन बाँकी । यात्रीहरू गन्तव्यमा पुग्न हतारिएका थिए । सिट भरिएपनि कलङ्की चौकमा बसले यात्री खोजिरहेको थियो ।
एक जना बुढा मान्छे लौरो टेक्दै बसमा चढे । बसको सहयोगीले सिट देखाएनन् । बुढा आफैँले आँखा डुलाए । बस्ने ठाउँ खाली थिएन । माथिपट्टि जेष्ठ नागिरक लेखेको सिट पनि भरी थियो ।
मेरो अगाडिको सिटमा बसेका यस्तै ६०/६५ वर्षका बुढा ‘यहाँ बस्नुस् !’ भन्दै आफू उठे । लौरो टेका बुढाले ‘यो त जेष्ठनागरिक सिट होइन् ? म तपाईॅंलाई उठाएर कसरी बसूँ ?’ प्रश्न गरे । सिट दिएका बुढाले थपे- ‘म उभिन सक्छु । मलाईभन्दा तपाईॅंलाई बढी खाँचो छ सिटको ।’
लौरो टेकेका बुढा पनि के कम ! उनका आँखाहरू जेष्ठनागरिक सिटतिर फर्किरहेका थिए । सिट दिने बुढाले लौरे बुढा जेष्ठनागरिक सिटमै बस्न मन गरेको थाहा पाए । उनले सुटुक्क बल्लबल्ल पाएको सिट लौरे बुढाका लागि छोड्नुपर्ला भनेर झ्यालतिर मुन्टो घुमाएर बसिरहेका पोसाकधारी महाविद्यालयका छात्रछात्राको मन पनि सुने ।
उनले विद्यार्थीहरूतिर देखाउँदै ‘उहाँहरू बिरामी हुनुहुन्छ, तपाईॅं यहाँ बस्नुहोस् न भनेर आफूले छाडेको सिट देखाए ।’ दुई जना बुढाका तर्क सुन्नेहरू जिल्ल परेर मुखामुख गर्दै थिए । पर्वत हाल : काठमाण्डौँ
३) लघुकथा – अलमल
✍️ राजेश भट्टराई मेरो घरको सामुन्ने घरको बुबा बित्नु भयो । दाहसंस्कार र काजकिरिया गर्न पर शहरमा पढ्न बसेको छोरालाई बोलाइयो । किरिया गर्न कपाल खौरिन भन्दा अस्विकार गर्दै भन्यो, -“किन खौरिने कपाल ? किन गर्ने काज किरिया ? अहिलेको जमानामा पनि यस्तो रुढीवादी कुरा गरेर हुन्छ ? लास जलाइयो, दुःख मनाउँ गरियो, पुग्यो ।”
त्यसको एक महिनापछि छेउको घरको आमा बित्नुभयो । छोराहरूसँगै बिहे गरेर गएका छोरीहरू पनि किरिया गर्न तम्सिए । अरूहरूले “छोरीहरूले त पर्दैन ।” भन्दा जवाफ फर्काउँदै भने- “किन पर्दैन ? के हामीहरू आमाका सन्तान होइनौँ ?” “हौ । तर तिमीहरूले अन्तिममा उम्किने बेलामा तिन दिनमात्र गरे पुग्छ।” “किन तिन दिनमात्र ? के हामीहरूलाई दाईहरूलाई भन्दा थोरै समय गर्भमा राखेर जन्माउनु भएको आमाले ?”
म भने अलमलमा परेँ । यिनीहरूमध्ये वास्तविक क्रान्तिकारी को हो ? सैनामैना 11,रुपन्देही हाल भरतपुर चितवन
पञ्चाङ्ग चित्रपट भाग:-१५ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०७/०३
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको १५[पन्ध्रौंँ] चित्रपटमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै
दिपावली तथा यमपञ्चकको बारेमा यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रवर्तक तथा परिकाल्पनाकार ================= सोमनाथ लुइटेल “रवि पाल्पाली”
चित्र संकलन गुगलबाट —————– सोमनाथ लुइटेल “रवि पाल्पाली”
शुद्धीकरण ————– भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
सङ्कलक :- ———- दुर्गा आचार्य & सुशीला पौडेल ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजन ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्रपट पञ्चाङ्ग [०१]
दियो बाली पूजा गरेर म बसेको छु । दाइ तिम्रो पर्खाइमा तेल घसेको छु। पर्खाइमा राखेर नबस आउ शुभ । चार दिवार झिलीमिलीमा पसेको छु , नभन यमराज जालमा फसेको छु ।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग [०२]
घरघरमा उज्यालो पार्न आउनु पर्छ बैनी । भैली देउँसीमा पैसा झार्न आउनु पर्छ बैनी । दिपक जलाई मनाउँ मिलेर हामी सबैले , दु:ख पीडा मिलेर नै सार्नु आउनु पर्छ बैनी । कार्तिकको ग्रहलाई तार्न आउनु पर्छ बैनी ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
चित्रपट पञ्चाङ्ग [०३]
अलिकति खुसी दिएर जान्छ । फाटेको हृदय सिएर जान्छ । हुनेलाई राम्रो नभए ऋण, भएको उमङ्ग लिएर जान्छ । हर्षको मुहान पिएर जान्छ ।
✍️आर्त अकुलीन, कैलाली ।
चित्रपट पञ्चाङ्ग ०४
लक्ष्मी पुजा गरेर रातभरि जाग्राम बसौंला तिमी आउनुहै। देउँसीभैलो खेल्दै गाउँघर आँगनी पसौंला तिमी आउनुहै। तिहार पर्वको अवसर बर्षमा एक पटक आउने होनि, सप्तरङ्गी टीका पालैपालो निधारमा घसौंला तिमी आउनुहै। जनम जन्मादि दीर्घायुको कामनाले कसौंला तिमी आउनुहै।
✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
चित्रपट पञ्चाङ्ग ०५
तिहार हाम्रो महान् पर्व रमी मनाऊँ सधैँ । दाजुभाइ दिदीबहिनी माया खनाऊँ सधैँ । परम्पराको मौलिकता जगेर्ना गरेर नै , वास्तवमा नेपाली हामी भन्ने जनाऊँ सधैँ । बडम्पन र देखासिकीमा नगनाऊँ सधैँ।
✍️तेजप्रसाद खनाल, लमही दाङ।
चित्रपट पञ्चाङ्ग ०६
मेरो लागि चाडपर्व नआए पनि हुन्थ्यो । हाम्रो आँगनिमा गीत नगाए पनि हुन्थ्यो । दाजुभाइ यसपाली परदेशमा हुने , आफ्नै कोखको नभए नधाए पनि हुन्थ्यो । सेल रोटि फिनि झर नखाए पनि हुन्थ्यो ।
✍️चेतना पोखरेल, बिराटनगर ।
चित्रपट पञ्चाङ्ग ०७
फूलैफूलको तिहार मनाउन भाइ आएनन् । मपनी छु है भनेर जनाउन भाइ आएनन् । एकोहोरो माया मेरो खाली निधार यसपाली , फूलको माला उनेर बनाउन भाइ आएनन् । तिम्रो हुँ भनेर गिन्ती गनाउन भाइ आएनन् ।
✍️पार्वती अर्याल , भरतपुर चितवन।
चित्रपट पञ्चाङ्ग ०८
दियो बाली दिपावली मनाउँ सबैले। महान पर्व भनेर जनाउँ सबैले।। माता देवी लक्ष्मीको पुजा पाठ गरेर। सप्तरंगले मण्डप बनाउँ सबैले।। दिदीको हातको टीका लगाउँ सबैले।।
✍️मल्ल लक्ष्मी श्रेष्ठ?,मेची किनार बिर्तामोड झापा ।
चित्रपट पञ्चाङ्ग ०९ [०१] साहित्यमा चम्किलो तारा भइ देउ भाइ। मानिसको सक्षम पारा भइ देउ भाइ। सुख दुःखमा सक्षम भएर हिँड्नु पर्छ, ज्ञानेन्द्रीय बाँधेर सारा भइ देउ भाइ। त्यो उच्च नामको नै नारा भइ देउ भाइ। [०२] रातमानै पुजागरेर लक्ष्मीको लक्ष्मी पाउला तिमी आउन । देउसी भैलो खेल्दै सबै घर घरमा जाउला तिमी आउन । बर्ष घुमेर सबैका ती घर घरमा आउने चाड तिहार, साइतमै सप्तरङ्गी टीका क्रमबद्ध लाउला तिमी आउन । दिर्घायुको कामनाले नै फूल मालाले छाउला तिमी आउन
✍️बेदु न्यौपाने काठमाडौ ✍️
चित्रपट पञ्चाङ्ग १०
खुशी साट्ने निराशा जाने आयो तिहार। घर दैलो लिपपोत गरि माने आयो तिहार। झिलीमिली बत्ती बाली पुजा गर्छन् कुलको , गरीबीको धन नहुँदा नि सेल खाने अायो तिहार। सबै मिली रमाइलो उपहार लाने अायो तिहार ।
✍️अम्विका अधिकारी, झापा विर्तामोड ।
चित्रपट पञ्चाङ्ग ११
खुशी साट्न तिहारमा आए मेरा दाजै । द्याैसी भैलाे घुमीघुमी गाए मेरा दाजै। सप्तरङ्गी टीका अनि मखमली माला शिरभरि ढाकाटाेपी लाए मेरा दाजै । लक्ष्मीपूजा गरी प्रसाद खाए मेरा दाजै।
✍️चन्द्रावती अधिकारी, काेहलपुर वाँके ।
चित्रपट पञ्चाङ्ग १२
म रोएर किन बस्थे खुसी साट्न पाइने भए । भर्थे घाउका डोबहरू मन भाट्न पाईने भए । मानिसको लेबल हेरी कुरा गर्ने यो समाजमा, करौतींकै धार बनिदिन्थे काट्न पाईने भए । टाढानै जान्थे सम्बन्ध छाट्न पाईने भए ।
✍️शन्जना शर्मा, दाङ लमही ।
चित्रपट पन्चाङ्ग १३
मेरा माइतीराजाकाे दु:ख हरेर जाउन। असल भई ज्ञानकाे ज्याेती छरेर जाउन। कतै हिँड्दा नलागाेस् ठेस कहिलेपनि, जिन्दगीमा उन्नति प्रगति गरेर जाउन। लक्ष्मीकाे बास हाेस सम्पत्ति भरेर जाउन।
✍️मनिषा विष्ट,मेचिनगर १५,फुलमासी ।
चित्रपट पञ्चाङ्ग १४
आँसुसँगै हासो मिलाउनु पर्छ। टुटेको मनलाई सिलाउनु पर्छ। यम पञ्चक को पूजा गरी हेर, दाजु भाइलाई खिलाउँनु पर्छ । प्रेमको आभास दिलाउनु पर्छ।
✍️सरस्वती श्रेष्ठ इटहरी ।
चित्रपट पञ्चाङ्ग १५
दसैँको खुशी नसक्दै फेरि लायो है तिहार। कात्तिक दाना लिनको लागि आयो है तिहार। आँउछ सँधै तिहार यस्तै उमङ्ग साथमा, फेरि नि गाँउ बस्ती बस्तीमा छायो है तिहार। चेलीको हात माइती साथ पायो है तिहार।
✍️घनश्याम पौडेल, पोखरा ।
चित्रपट पञ्चाङ्ग १६
तिहार घुम्दै वर्ष दिन बित्दै फेरि आएकाे छ । जताततै बगैँचामा फूलैफूल लगाएकाे छ । दिदी बहिनी र दाजु भाइ बिचमा भेट्ने माैका , याे बेला जुर्ने हुँदा जताततै खुसी छाएकाे छ । र त भाइ टीकामा टीका लगाउन पाएकाे छ।
✍️ताेयानाथ सुवेदी, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १७
सँधै तिहारमा दाजु भाइ नहुँदा खाली छ मन। माईत एक्ली चेली भई जन्मिदा जाली छ मन। आफ्नै घर आँगन सजाउँछु लक्ष्मी पुजा गरेर, अरुको दाजु भाइ टीका लगाउँदा काली छ मन। यसरिनै बित्यो यो तिहार सम्झना फाली छ मन।
✍️कमला पाण्डे पराजुली झापा चारआलि ।
चित्रपट पञ्चाङ्ग १८
दियो बल्यो ज्योतिले चारैतिर उज्यालो बनाइ दिपावलीमा। रिङ्गे पटाका, झिलिमिली मिल्के बत्तीले मनाइ दिपावलीमा। दसैंलाई वर्षाले कुट्यो, तिहार त डल्लै बाँकी छ मनाउन, घरघर लयमा देउसी र भैलोले जनाइ दिपावलीमा। खुशी सारा छाइरहने, वेदना सब छनाइ दिपावलीमा।
✍️ अच्युत घिमिरे- तिर्खोला भुटान बाट 🇧🇹
चित्रपट पञ्चाङ्ग १९
फूलको माला भाईलाई तयार पार्छु तिहारमा । तेलको घेरा हाली दुश्मनलाई बार्छु तिहारमा । परदेशमा भाइ छुट्टि पाए पक्का आउनेछन , भैली देउसी खेल्दै घर घरमा चार्छु तिहारमा । भाइको जित हुन्छ भने सदैव हार्छु तिहारमा ।
✍️सहयात्री शोभा अर्याल, बुटवल१४ रुपन्देही ।
चित्रपट पञ्चाङ्ग २०
दाजुभाइ घर आउनु यसपालि तिहारमा । मनाऔ पर्व झिलिमिली बत्ती बाली तिहारमा । कति गए बाचा कसम खेर आउँछु भनेर, कति सुके फूलहरु फूलकै डाली तिहारमा। यसपालि त नहोस् है तिम्रो गला खाली तिहारमा।
घर घरमा झलमल्ल पारौं हामी दिप बालेर आउ । मन तन रलमल्ल पारौ सबैले इर्षा फालेर आउ । वर्ष दिनको यो हर्ष र उमंगको चाडपर्व हो दाजै , दाजु बहिनीको प्रगाढ ममता सुन झैँ गालेर आउ । तिम्रै दीर्घायुको दिप बाल्दै बैरीको शीर ढालेर आउ ।
✍️इन्दिरा देवकोटा, कपिलवस्तु न .पा .३ ।
चित्रपट पञ्चाङ्ग २३
यो पाली परदेशबाट दाजुभाइ आएका छन्। झिलिमिली दिपावलीको रौनकता छाएका छन्। सेलरोटी र मिठाई परिकारमा नै रमाई, सबैजना मिलेर फूलमाला,टिका लाएका छन् । रोटे,लिङ्गे पिङमा खेल्दै द्यौसी भैलो गाएका छन् !
✍️बिबस पारदर्शी , भद्रपुर झापा ।
चित्रपट पञ्चाङ्ग २४
आँगनीको फूलले तिहार बोलाए जस्तो छ । फूलहरु देखेर भँवरा टोलाए जस्तो छ । तिहार आउँदा आँगनमा सयपत्री फुल्ने , फूलको सुगन्धले भँवरा लोलाए जस्तो छ । दिदी र भाइको न्यानो माया घोलाए जस्तो छ ।
✍️बुद्धिमान दनुवार , सुरुङ्गा ४ झापा ।
चित्रपट पञ्चाङ्ग २५
झिलिमिली बत्ती बालेर तिहार मनाउनु पर्छ। दाजुभाइ दिदीबहिनी एकता जनाउनु पर्छ। वर्ष दिनको तिहारमा आउन सक्दिनँ नभन्नु, हामी सबै जम्मा भएर रंगोली बनाउनु पर्छ। हामीले रंगोलीमा रङ्ग र फूल खनाउनु पर्छ।
✍️सुशीला पौडेल, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २६
देउसी भैली गाएर तिहार मान्नु पर्छ। टीका र माला लाएर तिहार मान्नु पर्छ। वर्ष दिनको चाडपर्वमा जम्मा भएर, हामीले रोटी खाएर तिहार मान्नु पर्छ। सबैको माया पाएर तिहार मान्नु पर्छ।
✍️ह्यारिशन ह्यारिश , काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २७
आफैँ आफ्नो परम्परा धान्नुपर्छ पर्वलाई पहिचान ठान्नुपर्छ चाड तिहार फूल अनि बत्तीको चेलीसाथ माइतीले मान्नुपर्छ अनुपम छ संस्कृति जान्नुपर्छ ।
सप्तरङ्गी टीकाले निधार सजाउन मन छ । साथीसँगी मिली द्यौसी र भैलो गाउन मन छ । दसैँ त्यस्तै भयो अब तिहार नबिग्रियोस् मेरो , यो गलामा सयपत्रीको माला लाउन मन छ । मेरी प्यारी बहिनीको हाँसो कमाउन मन छ ।
काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्वारा आगामी कात्तिक ४ गते अथार्त अक्टोबर २१ मा प्रवासी श्रमिकहरुका लागि बैदेशिक रोजगार बिभाग द्वारा प्रदान गर्ने सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।
प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी बैदेशिक रोजगार बिभाग द्वारा प्रदान गर्ने सेवा सम्बन्धी जानकारी दिने उद्देश्यले बैदेशिक रोजगार बिभागका महानिर्देशक डम्बर बहादुर सुनुवार मुख्य अतिथी तथा परामर्शदाताका रुपमा उपस्थित भई भर्चुअल माध्यमबाट कार्यक्रममा परामर्श तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको पीनसीसीका आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका वा जाने तयारीमा रहेका नेपालीहरुले रोजगार बिभाग द्वारा उपलब्ध गराइने सेवा सुविधाको बारेमा आवश्यक प्रक्रिया बारे जानकारी दिईनेछ ।
कार्यक्रममा सहभागी हुनको लागी जुम आईडी 2897414063 र पासवर्ड pncc प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ। कार्यक्रम नेपाली समयाअनुसार बेलुका ८ बजे सञ्चालन हुनेछ । कार्यक्रमलाई पिएनसीसीको आधिकारिक फेसबुक पेज, हिमालयन दृष्टि र हिमालटाईम्स डटकमको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिने भएको छ।
कार्यक्रम मितिः २०७९ कार्तिक ४ गते (शुक्रवार)/ अक्टोबर २१, २०२२ समयः नेपालबाट सांझको ठिक ८:०० बजे मलेसिया: १०:१५ बजे, युएई : १८:१५ बजे, साउदी : १७:१५ बजे, कतारः १७:१५ बजे