संवाददाता

साउदी अरब | कोरोना महामारिका कारण हाल सम्म साउदि अरबमा संक्रमित संख्या १७४,५७७ र मृत्यु हुनेको संख्या १४७४ पुगेको छ भने १२०,४७१ जना कोरोनाबाट निको भएर फर्केका छन्।साउदी अरबमा संक्रमित नेपाली नागरिकको सम्बन्धमा आधिकारिक निकाय नेपाली दुताबासले दिएको पछिल्लो जानकारी अनुसार नेपालीहरुको संक्रमित संख्या १३६४ रहेको र ९ जना नेपाली नागरिकको कोरोनाकै कारण ज्यान गएको पुष्टी भएको छ।
कोरोनाका कारण साउदी अरबमा संक्रमित तथा मृतक नेपालीको पछिल्लो अवस्था (संख्यात्मक) अद्यावधिक, स्वदेश फिर्तिको लागि वास्तविक पिडितको पहिचान गरी नि:शुल्क स्वदेश फिर्तिको ब्यवस्था, कोरोना बाहेक अन्य कारणले मृत्यु भएका नेपालीहरुको शव नेपाल पठाउने ब्यवस्था, पिडितहरुको जिवन रक्षा, विमा तथा अन्य सेवा सुविधा लगायतका विषयवस्तु समेटिएको ७ बुँदे अनुरोध सहितको ज्ञापन पत्र र संयुक्त प्रेस विज्ञप्ती मार्फत यहाँ स्थित नेपाली राजदुताबास र महावाणिज्य दुताबासलाई एनआरएनए साउदीले संस्थागत अनुरोध तथा ध्यानाकर्षण गराई सकेका छन्।
स्वदेश फिर्ती: नेपाल फर्किनको निम्ती कोरोना टेस्ट र अन्य प्रक्रियामा अल्झिएका अधिकांश नेपालीहरुबाट आएका फोन कलहरुलाई विभिन्न क्षेत्रमा रहेका संघका कार्यदलका पदाधिकारीले आवश्यक सुचना प्रवाह गर्नुको साथै सम्बन्धित निकाय संग समन्वय गर्ने कार्य निरन्तर हुँदै आएको छ। नेपाल सरकार द्वारा तय गरिएका प्राथमिकताको आधारमा साउदी अरबमा अफ्ठेरोमा परेका नेपालीहरु स्वदेश फिर्तिको लागी नेपाल सरकारको सहजीकरणमा नेपाल वायुसेवा निगम र हिमालय एयरको चार्टर्ड उडान कार्यको शुरुवात १८-जुन-२०२० देखी शुरु भएको थियो।जसअन्तर्गत १८-जुनमा साउदिको दम्मामबाट १५३ जना,२०-जुनमा राजधानी रियादबाट २४७ जना २३-जुनमा दम्मामबाट दोस्रो उडान मार्फत १५४ जना र २४-जुनमा जेद्धाबाट २५३ जना गरी हाल सम्म कूल ८०७ जना नेपालीहरु सहित ४ वोटा शव नेपाल पुर्याइएका छन्।
पिडितलाई राहत अभियान: यो साता थप २८ जना पिडितलाई खाद्यान्न उपलब्ध गराउनुको साथै हाल सम्म एनआरएनए साउदी अरब समक्ष आएका ३७३ जना पिडितहरुलाई यहाँ स्थित नेपाली कुटनितिक नियोगहरुसंग समन्व्य र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको आएको छ। साथै ४०० भन्दा बढी संख्यामा आएका पिडितहरूको गुनासोहरु नेपाली राजदुताबास रियाद र महावाणिज्य दुताबास जेद्धा संग समन्वय गरी दुताबासको पहलमै समाधान र कानुनी उपचार सहित स्वदेश फिर्ताको प्रक्रियामा रहेका छन्।
एनआरएनए साउदीको आन्तरिक विषयवस्तु: २६-जुन-२०२० का दिन बसेको बैठकमा संघको कोरोना उद्धार कार्यदल कमिटी सहित NRNA NCC का सम्पूर्ण पदाधिकारी, सल्लाहकार परिषद, आइसिसी पदाधिकारीको उपस्थिती रहेको थियो।बैठकमा उपस्थित वक्ताहरुले बोल्ने क्रममा: नेपाल जाने तयारीमा नाम सार्वजनिक भएका पिडितहरुलाई मेडिकल टेस्ट लगायत अन्य प्रक्रियाको लागि समन्वय र सहजीकरण गरिरहेको, भौगोलिक हिसाबले साउदी अरबको क्षेत्रफल ठुलो रहेकोले साउदीका सबै स्थानमा कोरोना परिक्षण सुबिधा उपलब्ध नभएको गुनासोहरुलाई समेत आवश्यक परामर्श दिँदै समन्वय गरिरहेको साप्ताहिक गतिबिधीहरु जानकारी गराउने क्रममा पदाधिकारीहरूले आ-आफ्नो क्षेत्रगत रिपोर्ट स्वरूप जानकारी गराएका थिए।
साउदीमा फसेका नेपालीहरुलाई सरकारले स्वदेश फिर्तिको प्रबन्ध मिलाएको तालिका अनुसार फर्किने क्रम जारी रहेको र हाल सम्म केही नेपालीहरु फर्की सकेको भएपनी वास्तबिक पीडित नेपालीहरु जस्तै बहिर्गमन भिसा लागिसकेका, बेरोजगार भएका, बिभिन्न कारणले अवैध रूपमा बसेका र डिपोर्टेसन सेन्टरमा रहेका नेपालीहरुको निम्ती कोरोना टेस्ट, टिकट रकम जुटाउन नसक्ने भएकोले त्यसता पिडितहरु छुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले वास्तविक पिडितको पहिचान गरी फर्काउने, नेपालमा पुर्याएर स्वास्थ्य सेवा, रोजगारीको व्यवस्था, कोरोना परिक्षण तथा क्वेरन्टाइन सेवा सरकारले गर्नुपर्ने धारणा ब्यक्त गरेका थिए।

एनआरएनए साउदीले नेपाली कामदारहरुको जिवन रक्षा, स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानविय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदुताबास रियाद तथा महावाणिज्य दूतावास जेद्धा बिच समन्वयको नवौं हप्ता पार गरिसकेका छ भने यसलाई एनआरएनए साउदीको स्रोत साधनले भ्याएसम्म निरन्तरता दिने प्रतिबध्दता एनआरएनए साउदीले जाहेर गरेको छ ।

