अमरेशकुमारसहित कांग्रेस सांसद संविधान संशोधन प्रस्ताव दर्ता गर्न संसद सचिवालयमा

  • २० जेष्ठ २०७७, मंगलवार १४:२५ मा प्रकाशित
  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू संविधान संशोधनको प्रस्ताव दर्ता गर्न संसद सचिवालय पुगेका छन्।
    कांग्रेसका तराई-मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरू अमरेशकुमार सिंह, उमाकान्त चौधरीलगायत पाँच जना गैरसरकारी विधेयकका रूपमा प्रस्ताव दर्ता गर्न मंगलबार दिउँसो संघीय संसद सचिवालय पुगेका हुन्।
    ‘केन्द्रीय समितिले संसदीय दललाई संविधान संशोधन प्रस्ताव पुन: दर्ता गर्न दिएको निर्देशनअनुसार नै संशोधन दर्ता गर्न लागेका हौं,’ सांसद सिंहले भने। 

    ०७४ भदौ ५ मा फेल भएको संविधान संशोधन प्रस्ताव पुन: ब्युँताएर दर्ता गर्न लागिएको हो। त्यसबेला कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा तत्कालीन माओवादी केन्द्रसँग संयुक्त सरकार थियो।
    राजपालगायतको मागअनुसार त्यसबेला देउवा सरकारले ल्याएको संविधान संशोधन विधेयक तत्कालीन नेकपा एमालेलगायत दलले असहयोग गर्दा दुई तिहाइ नपुगेर फेल भएको थियो।

    शनिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले अझै पनि तराई-मधेशका जनताका माग पूरा नभएकोले पुन: संविधान संशोधन प्रस्ताव दर्ता गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो।
    तर कांग्रेस सचेतक पुष्पा भुसाल गौतमले पार्टीका तर्फबाट संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारीकै क्रममा रहेको बताइन्।
    ‘पार्टीका तर्फबाट आज दर्ता गर्ने कार्यक्रम छैन। तयारीमै छौं। बैठक बसेर निर्णय गर्न बाँकी नै छ,’ उनले भनिन्।

    सेतोपाटीबाट

    Leave a Reply