संवाददाता

रियाद-साउदी | साउदी अरबको रियाद स्थित रहेको नेपाली दुताबासले साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालय बाट प्राप्त विवरणलाई उल्लेख गर्दै दिएको जानकारी अनुसार १७ जना महिला सहित १ हजार ३ सय ६४ जना नेपाली नागरिकहरूमा कोरोना भाइरसको संक्रमण भएको छ ।
संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २९९, पूर्व क्षेत्रमा ६९५, कासिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ गरी राजदूतावास रियादले हेर्ने क्षेत्रमा १ हजार १६ जना र महावाणिज्य दुताबास जेद्धा क्षेत्र (जेद्धा १७६, मक्का ६५, मदिना ७२, जिजान क्षेत्रमा ३३ र ताबुकमा २ जना) मा ३४८ जना संक्रमित भएका छन् । संक्रमित मध्ये कुल ७ जना नेपालीको निधन भएको छ ।
साउदी अरबमा २१ मेई २०२० सम्ममा ६५ हजार ७७ जना संक्रमित भएका छन् भने ३६ हजार ४० जना संक्रमितहरु निको भई फर्केका छन्।दुताबासले साउदी अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने नेपालीहरुको संख्या उत्साहजनक रहेको बताईएको छ।टेलिफोन सम्पर्कमा आउने कोरोनाको संक्रमण भएकाहरुलाई सबैजनाले उनीहरुलाई उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गरिदिन दुताबासले अनुरोध गरेको छ ।
दुताबासले सुचना जारी गर्दै कोरोना संक्रमणका कारण खाद्यान्न र आवासको समस्यामा परेका धेरै नेपालीहरुलाई साउदी अरबमा क्रियाशील संघ संस्थाहरुसँगको सहकार्यमा खाद्यान्न तथा अत्यावश्यक आवासको व्यवस्था गर्दै आएको जनाएको छ । खाद्यान्नका अतिरिक्त राजदूतावासले केही नेपालीहरुलाई चिकित्सकको सल्लाह अनुसारको अत्यावश्यक औषधी तथा औषधिजन्य सामाग्रीहरु उपलव्ध गरिएको साथै, रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वास सम्बन्धी उपचार गर्न साउदी सरकारले व्यवस्था गरेका निकायसँग सम्पर्क स्थापना गर्न कठीन् भई राजदूतावासमा फोन गर्ने नेपालीहरुलाई तोकिएका स्वास्थ्य सम्बन्धी निकायको ध्यानाकर्षण गराई उपचार गर्न मदत गर्दै आएको पनि सुचनामा उल्लेख छ। परामर्शका लागि नेपाली चिकित्सकको पनि मदत रहेको छ ।
कोरोनाको महामारीको यस अवस्थामा दुताबासले खाद्यान्नको वास्तविक अभाव भएका नेपालीहरुले नेपाली राजदूतावास वा आफ्नो सम्पर्कमा रहेका संघसंस्थामा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

