
सिमरा : बारामा कोरोना पृष्टि भएका परिवारका सदस्य र निकटस्थ ७ जनाको ‘थ्रोब स्वाब’ परीक्षण लागि नमुना लिन हटौंडाले अस्वीकार गरेपछि स्वाब काठमाडौं पठाइएको छ ।
प्रदेश २ सामाजिक विकास मन्त्रालय र स्वास्थ्यकर्मीको टोलीले बिहीबार सिमरास्थित कोरोना विशेष अस्थायी अस्पतालको क्वारेन्टाइनमा रहेका ७ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो।
स्वाब परीक्षणका लागि प्रदेश २ मा भरपर्दो व्यवस्था नभएपछि र छिमेकी जिल्ला मकवारपुरको प्रदेश जनस्वास्थ्य प्रयोशालाले आफूकहाँ स्वाब नपठाउन निर्देशन दिएको थियो।
बारामा कोरोना पृष्टि भएका २ जनाको परिवार र निकटस्थ ७ जनाको नमुना हिजो शुक्रबार काठमाडौं पठाइएको थियो। ‘छिटो छरितोका लागि हामीले ७ जनाको स्वाब परीक्षण नमुना हेटौंडा पठाउने तयारी गरेका थियौं, तर त्यहाँबाट नमुना नपठाउन हामीलाई ठाडो आदेश आएकोले काठमाडांै पठाउन बाध्य भयौं,’ जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख राजकिशोर पण्डितले भने, ‘हामीले प्रदेश २ लाई स्वास्थ्य साम्रगी दिएका छौं त्यसकारण त्यहाँको स्वाब परीक्षणका लागि प्रदेश २ सरकारले नै व्यवस्था गर्नुपर्छ, हामीकहाँ नपठाउनुस् भनियो।’
केन्द्रीय प्रयोगशालामा पठाउँदा नतिजा आउन समय लाग्ने र त्यसले स्थानीय तहमा संक्रमणको थप जोखिम बढाउने जनस्वास्थ्य प्रमुख पण्डितले जनाएका छन्।
बुधबार जितपुरसिमरा ७ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पृष्टि भएपछि उनका परिवारका ५ जना र जितपुरसिमरा १९ बस्ने मदरसाका २ गरी ७ जनालाई सिमरास्थित कोरोना अस्थायी अस्पतालको क्वारेनटाइनमा राखिएको छ। अन्य आफन्तहरुलाई होम क्वारेन्टाइनमा राखिएको कोराना अस्पताल सिमराका संयोजक डा. अनुस्थाले जनाएका छन्।
पहिलो चरणमा संक्रमित देखिएका २ जनाको परिवारका सदस्य र निकटस्थहरुको स्वास्थ्य परीक्षण नतिजा नआएसम्म दोस्रो र तेस्रो चरणको परीक्षण गर्न नसकिने प्रदेश २ को स्वास्थ्यकर्मीको टोलीले जनाएको छ।
Thahakhabar

