कविता

  • १० बैशाख २०७७, बुधबार २३:०७ मा प्रकाशित
  • आमा

    सीमा पुरी, कवयित्री

    आमा तिमी थियौ  र त म छु आज
    तिमीले जन्म दियौं  र त म छु आज
    तिमीले बाटो देखायौं  र त हिड्ने भए
    मैले यो धर्ती टेके ।
    मेरि आमा कति सहेर बस्यौं ब्यथा
    म तिर्छु आमा तिम्रो हरेक कष्टको गुन ।
        
    आमा मैले यो धर्ती देखे पहिलो पल्ट
    महसुस गरे यो धर्तिको चिसो बतास ।
    आफू कष्ट मै हुदा पनि तिमिले
    बेथा मै अनि अशक्त हुदाको त्यो  पलमा ।
    खुशी हुँदै पिलाईरहयौ सुवर्ण कलस
    आमा म तिर्ने छु तिम्रो गुन
    अमृत बनी मेरो शरीरमा बगेको
    तिम्रो दस धारा दुधको ।

    आमा तिम्रै सहाराले यो धर्तीमा
    पहिलो पाईला चाल्न सिके।
    तिम्रो भाकामा तोते बोली बोल्न सिके
    आमा म तिर्ने छु तिम्रो ममताको मोल ।
    तिम्रो सम्मान गरेर तिमिलाई डोर्‍याउनेछु
    तिमी जब बुढि हुनेछौ आमा  ।
    म तिम्रो सहारा बनेर
    मेरो बाल्यकाल लाई सुन्दर बनाउने ।
    मेरि आमा  म तिम्रो स्नेहको
    पैचो हर हालमा तिर्ने छु ।
                      
    सन्तानको गल्तिहरुमा सधै
    प्रेमको पर्दा हालेर तिमिले ।
    खबरदारी गर्दै बाटो देखाएको
    थुप्रैपटक ।
    आमा त्यो स्नेहको भारा तिर्ने छु
    तिमिलाई सहारा दिदै ।
    तिम्रो बिश्वासको मन्दिरहरुमा
    सधै तिम्रो साथ धाउने छु।

    आमा तिमिले आफ्ना रहरहरु
    आफ्नै मिटुभित्र  बन्दकी राखी  ।
    मेरा अनगिन्ती रहरहरु पूरा गर्दा
    थाकेको तिम्रो मन को महलम बन्ने छु ।
    आमा तिमिलाई तिम्रा चाहानाहरुको
    हाटबजारमा लगि खुशी खोजेर दिने छु ।

    आमा मेरो बालापनमा तिमिले
    मेरो लागि आफ्नो निद्रा मारेको
    चिसो खालमा आफू सुति मलाई ।
    तातोमा  डसनातिर सारेको
    त्यो अथाह स्नेहाको मोल तिर्ने छु
    आमा तिम्रो बुडेउली जिन्दगीमा
    तिम्रो आरामदाई
    सन्तोषको सिरानी बनी।

    आमा मलाई डोलि चढाउने बेला
    रोएको  त्यो तिम्रो मन अनि
    बुहारी भित्र्याउदा प्रफुल त्यो मनको
    म शाक्षी रहने छु  हरेक पल  ।
    आमा सौभाग्य दियौं तिमीले मलाई
    म तिम्रो शिर उचो पार्ने छु
    तिम्रो सिकाईको गुण ,तिर्ने छु
    तिमिले रोजेको बाटोमा हिंड्दै।

    आमा हरेक जुनि तिम्रै सन्तान हुन पाउ
    हरेक सुखदुःखको हिसाब गर्दा
    नाफा तिम्रै पोल्टामा  पार्न पाँउ
    परोस बरु जिन्दगी मेरो घाटामा
    तिमिलाई सधै प्रेमकी धनी देख्न पाँउ ।
    आमा तिर्ने छु सधै छोरी हुनुको भारा
    सकिन भने यो जुनिमा सबै चुक्ता गर्न
    जन्मिने छु तिम्रै कोखबाट फेरि

    बिश्वास गर्नु मेरि आमा …
    सन्तान बनी तिम्रो कोख  भर्न
    आउने छु  , म फेरि
    अनगिन्ती प्रहरहर गनेर
    बोलाउछु म फेरि तिमिलाई
    तोतेबोलिमा
    समाउछु तिम्रो हात र धर्ती टेक्दै
    पुकार्ने छु तिमिलाई , म फेरी
    आमा  ।💕💕💕
    २०७७/०१/१०

    Leave a Reply