
करिब १८ हजार स्वास्थ्यकर्मीहरूको प्रतिनिधिमूलक संस्था नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्ष हुन् रामजी घिमिरे । यो संस्था नेपाल ट्रेड युनियन कांग्रेससँग पनि आबद्ध छ । उनी लगातार तीन कार्यकालसम्म संघको अध्यक्ष भएका छन् । घिमिरे जनस्वास्थ्य निरीक्षक पनि हुन् । उनी सम्बद्ध रहेको कार्यालय टेकुस्थित स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा हो । कोरोनाभाइरसको संक्रमणको विषयमा उनीसँग गरेको कुराकानी :
० सरकारले गरेको घोषणा पर्याप्त छ ?
– पर्याप्त या अपर्याप्त भन्दा पनि सरकारले जुन तयारी गरेको छ, सरकारले घोषणा गरेको कार्यक्रम कार्यान्वयन गर्ने वा सेवा दिने भनेको हामी स्वास्थ्यकर्मीहरूले नै हो । स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गर्दै जाँदा डाक्टर, नर्सहरूलगायतका स्वास्थ्यकर्मीहरूको सुरक्षामा जति भूमिका अपनाउनुपथ्र्यो, त्यति भएन कि भन्ने हाम्रो चिन्ता हो ।
० भनेपछि स्वास्थ्यकर्मी आफैं जोखिममा छन्, हो ?
– हो, स्वास्थ्यकर्मी आफंै जोखिममा छन् । अहिलेसम्मको रेकर्ड हेर्ने हो भने उपचार सेवामा जति संलग्न छन्, त्यसमा सबैभन्दा बढी स्वास्थ्यकर्मी प्रभावित भएका छन् । इटालीमा दुई हजार ६ सय स्वास्थ्यकर्मीहरूलाई समस्या परेको छ । यो भनेको इटालीको तथ्यांकअनुसार ८ प्रतिशत स्वास्थ्यकर्मीहरू क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । कोराना संक्रमणको मृत्युदर निकै कम छ । दुई÷तीन प्रतिशत मात्र मृत्युदर छ । तर चीनको वुहानलाई हे¥यौ भने, जहाँ कोरोनाभाइरसको सुरुवात भयो, त्यहाँ जुन व्यक्तिले यो भाइरसबाट समस्या आउँछ भनी जानकारी गराए, उनी आफैं मरेका छन् । यसको मतलब हामीले काम गर्दैनांै भनेका पनि होइनौं । हामी काम गर्छौ । तर हामीले सुरक्षाका साधनहरू जसरी पाउनुपर्ने थियो, त्यो पाउन सकेनौ भन्ने हाम्रो गुनासो हो ।
० सुरक्षाका साधन भन्नाले के के हुन् ?
– सुरक्षाको साधनमध्येमा धेरैजसोका बारे स्वास्थ्यकर्मी पूर्ण रूपमा जानकार हुनुपर्छ । त्यो हुनसकेको छैन । कोरोना के हो, यसले कहाँ कहाँ प्रभाव पार्छ भन्ने विषयमा स्वास्थ्यकर्मीलाई पूर्ण जानकारी गराउनुपर्छ, त्यस्तो गर्नसकिएको छैन । अर्को कुरा, मास्क, स्यानिटाइजर न्यूनतम रूपमा पनि पाउन सकिएको छैन । पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिइ) भन्ने गरिन्छ, जुन प्रयोग गर्दा भाइरसबाट सुरक्षित हुन्छांै, त्यो उपलब्ध हुनसकेको छैन । कतिपय अवस्थामा सुरक्षाका साधन नेपालमा उत्पादन हुँदैनन् । त्यस्ता साधन बाहिरबाट ल्याउनुपर्छ ।
आइआर थर्मामिटर जसले ज्वरो छ कि छैन भनी मापन गर्छ, त्यो पनि न्यूनतम रूपमा उपलब्ध हुनसकेको छैन । यस्ता थर्मामिटर स्वास्थ्कर्मीहरूले पाउन सकेका छैनन् । कम्तीमा तीन फिट या एक मिटर दूरी राखेर थर्मामिटर निधारमा राख र ज्वरो मापन गर भनी हामीले साथीहरूलाई सिकाउँछौ । तर त्यो थर्मामिटर हामीले उपलब्ध गराउन सकेका छैनौं । अर्को कुरा, हामी मास्क लगाऔं भन्ने गर्छाैं, तर अहिले बजारमा मास्क पाइन्न । यो पहिलो कुरा हो । अर्को, कुन मास्क उपयुक्त हुन्छ, कुन मास्क उपयुक्त छैन, यसबारेमा हामीले बुझाएका छैनौं । जुनसुकै मास्कमा पनि एन ९५ लेखिएको हुन्छ । कुन सक्कली ९५ हो, कुन नक्कली हो यसबारेमा पनि हामीले बुझाउन सकेका छैनौं । मास्कको गुणस्तर मापन गर्ने जिम्मेवारी कसको हो ? यो पनि अन्योल छ । स्वास्थ्यकर्मी भन्नेवित्तिकै उसले मास्क प्रयोग गर्न जानेको छ भन्ने होइन । मास्क कसरी प्रयोग गर्ने हो, यसलाई नष्ट कसरी गर्ने हो, त्यो पनि बुझाउन सकिएको छैन । यस्तै समस्या स्याइनिटाइजरको पनि छ । बजारमा गुणस्तरयुक्त स्यानिटाइजर उपलब्ध हुन सकेको छैन । यस्ता सामानहरू स्वास्थकर्मीहरूलाई उपलब्ध गराउनुपर्छ ।
० यो त न्यूनतम आवश्यकता हो नि, यस्तो समस्या किन आयो ?
– जब हामीले तीन तहको सरकार भन्छौं । तीन तहको सरकार बनेपछि केन्द्र सरकारले बजेट प्रदेश र स्थानीयमा दिएको छ, यसको व्यवस्था प्रदेश र स्थानीयले गर्नुपर्छ भनिन्छ । उता, प्रदेश र स्थानीय सरकारहरूले यस्तो व्यवस्था संघीय सरकारले गर्नुपर्छ भन्छ । कतिपय व्यावहारिक समस्या पनि छन् होला । त्यसबारेमा नबोलौं । मैले भन्ने खोजेको के हो भने यस्ता सुरक्षाका सामानहरू स्वास्थ्यकर्मीहरूलाई उपलब्ध गराउनुपर्छ । नेपालमा उत्पादन हुँदैन भने विदेशबाट पनि मगाउनुपर्छ । संघीय सरकारलाई त यसको व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । यसमा प्रदेश सरकार र स्थानीय सरकारहरूले त्यती सहज किसिमबाट व्यवस्थापन गर्न सक्छन् जस्तो मलाई लाग्दैन ।
हामी संघीयताको पक्षमै छौं, तर हामीसँग स्वास्थ्य सेवा प्रदान गर्ने जुन व्यवस्था छ र अहिलेको महामारी समास्या सामधान गर्ने जुन प्रक्रिया छ, यसको सामधान संघीय सरकारबाट हुनुपर्छ भन्ने मेरो भनाइ हो ।
० संघीय सरकारको तयारीमा के के पुगेको छैन ?
– अहिलेको तयारी हेर्दा कोरोनाको संक्रमण रोक्न संघीय सरकारको तयारी पर्याप्त छैन भनेर म भन्दिन । तर अझै पनि गृहकार्य गर्न आवश्यक छ । स्वास्थ्यकर्मीहरूलाई सुरक्षाका साधनहरू पर्याप्त उपलब्ध गराउनु आवश्यक छ । यदि स्वास्थ्यकर्मी विरामी भए भने या स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्नुप¥यो भने राज्यको दायत्वि के हुने ? या स्वास्थ्यकर्मी आइसोलेसनमा बस्नुप¥यो भने राज्यले के गर्ने ? यस्तो प्रश्न उठ्न सक्छ । यसमा राज्यले हेर्नुपर्छ ।
एउटा सामान्य कुरा गरौं, स्वाास्थ्यकर्मीको बिदा के हुने ? राज्यले अरु किसिमका बिदाको व्यवस्थापन गर्ने हो कि सञ्चित बिदाबाट स्विकृत गर्ने हो, या उसले पाउनुपर्ने सुविधा के हुने हो, यसबारेमा राज्यले सोच्नुपर्छ । कतिपय स्वास्थ्यकर्मीहरू करारमा नियुक्त हुनुभएको छ । करारमा काम गरेका स्वास्थ्यकर्मीहरू काम गरेको दिन तलब पाउनुहुन्छ, काम नगरेको दिन तलब पाउनु हुन्न । तर जनतालाई सेवा प्रदान गर्दै जाँदा क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आउने करारका स्वास्थ्यकर्मीहरूको जागिर के हुने ? यस्ता प्रश्नहरू उठेका छन् । जुन साथीहरू अहिले होम क्वारेइन्टाइनमा बस्नुभएको छ, उहाँहरूले त्यो सुविधा पाउनु हुन्छ कि हुँदैन । यसमा हामीले भनेका छौं, यसमा राज्यको दायित्व आउँछ । मैले भनेको कुरा के भने स्वास्थ्यकर्मीहरूलाई जुन किसिमबाट सुरक्षा प्रदान गर्नुपर्ने हो, त्यो सुरक्षा प्रदान गर्न सकिएको छैन ।
० अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण देखिएको छ कि छैन ?
– अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण भेटिएकोे छैन । केही दिनअघि एउटा व्यक्तिमा देखिएको थियो । त्यो व्यक्ति नेपालमा बसेको थिएन । बाहिरबाट आएको थियो, तर सञ्चो भएर गएको छ । त्यो व्यक्ति नेपाली हो । त्यो कुन हो, त्यो व्यक्तिबारेमा म भन्न सक्दिनँ । त्यस व्यक्तिपछि नेपालमा कोरोना भेटिएको अवस्था छैन ।
० तर नेपालमा कोरोनाको परीक्षण लुकाइयो या परीक्षण कम भयो भन्ने कुरा पनि आएको छ । त्यो सत्य हो कि होइन ?
– यसमा हामी प्रस्ट छौं, कोरोनाको परीक्षण कम भयो भनी हामीले पनि भनेका छांै । तर परीक्षण गर्न व्यक्तिमा केही न केही लक्षण देखिनुप¥यो । जो रत्नपार्कमा हिँडिरहेको छ, उसलाई बोलाएर परीक्षण गर्ने कुरा भएन । तर पनि परीक्षणको संख्या बढाउनुपर्छ । जाँच गर्ने जुन प्रक्रिया छ, यो बाहिर पनि पठाउनुपर्यो । अहिले कोरोनाको जाँच गर्ने प्रक्रिया टेकुको केन्द्रीय प्रयोगशालामा मात्र छ । यसलाई बाहिर पनि लग्नुप¥यो । कोरोना जाँच गर्ने मेसिनलाई पिसिआर मेसिन भन्छौं । यो मेसिन काठमाडौं बाहिर पनि छ । तर पिसिआर मेसिन भएको ठाउँमा जाँच गर्न जाँदा त्यहाँ जाँच गर्ने केमिकल महँगो छ । केमिकल महँगो भएकाले हामी यहाँ जाँच गर्न सक्दैनौं भनी उहाँहरूले भन्ने गर्नु हुन्छ । त्यसैले त्यस्तो केमिकल संघीय सरकारले उपलब्ध गराउनुपर्छ ।
० तर डा.सुन्दरमणि दीक्षितले कोरोना जाँच गर्ने मेसिन नेपालमै छैन भन्नुभएको कुरा बाहिर आएको छ नि ?
– त्यस्तो होइन, उहाँले कोरोना भाइरसको जाँच गर्ने विद्युतीय उपकरण नेपालमा छैन भन्नुभएको हो भने त्यो स्वाभाविक हो । त्यो उपकरण अलि महँगो छ । त्यसैले यो उपकरण नेपालमा नहुन सक्छ, तर कोरना भाइरसको जाँच गर्ने प्रविधि नेपालमा छ ।
० यो कति खर्चिलो छ ?
– यो अहिले महँगो छ । यस विषयमा स्वास्थ्य सेवा विभागका महानिर्देशकले नै कम्तीमा २० हजार रुपैयाँ खर्च हुने जाँच हामीले निःशुल्क गरेका छौं भन्नुभएको छ । यो भनेको एउटा व्यक्तिका लागि २० हजार रुपैयाँसम्म खर्च हुन्छ । तर अहिलेको अवस्थामा सबै निःशुल्क सेवा उपलब्ध गराइएको छ ।
० परीक्षणका लागि समय कति लाग्छ ?
यसको समय २४ घन्टा लाग्छ । अहिले रगत दियौं भने भोलि त्यसको रिपोर्ट आउँछ । यसमा क्रस चेक पनि भएको छ । केन्द्रीय प्रयोगशालामा जाँच गरिएको रगत बाहिर पनि जाँच गर्न पठाइएको छ । तर रिपोर्टमा फरक देखिएको छैन । यहाँ एउटा महत्वपूर्ण कुरा छुटेको छ । कोरोनाको परीक्षण गर्ने विधि प्रदेशमा छैन । प्रदेशमा रगत लिएर स्वास्थ्यकर्मी काठमाडौं आउनु हुन्छ । केन्द्रीय सरकारले यो काम प्रदेश सरकारले गर्नुपर्छ भन्छ । हामीले प्रदेश र स्थानीय तहमा बजेट पठाएका छौ भनी केन्द्र सरकारले भन्छ । त्यसैले सातवटै प्रदेशमा यसको जाँच गर्ने व्यवस्था हुनुपर्छ । पहिले कुरा, प्रदेशमा मेसिनको अभाव छ । अर्को कुरा, जनशक्तिको पनि अभाव छ । प्रदेशमा जनशक्ति १० प्रतिशत मात्र छ । यो भनेको करिब करिब छैन भने पनि हुन्छ । अर्को कुरा, यसमा केमिकल महँगो छ । यो सबै व्यवस्था संघीय सरकारले गर्नुपर्छ ।
० अहिलेसम्म नेपालमा कतिजनाले यसको परीक्षण गरिसकेका छन् ?
– अहिलेसम्म करिब ६ सयको हाराहारीमा परीक्षण भएको छ । यो भनेको करिब डेढ÷दुई महिनाको बीमा गरिएको परिक्षण हो । शंका लागेको व्यक्ति सुरुमा डाक्टरकहाँ जान्छ । डाक्टरले यस व्यक्तिको कोरोना परीक्षण हुनुपर्छ भनी सिफारिस गरेपछि मात्र केन्द्रीय प्रयोगशालालाले त्यस व्यक्तिको करोनाको परीक्षण गर्छ । डाक्टरको सिफारिसविना यसको परीक्षण हुँदैन । कुन कुन ठाउँमा डाक्टरहरूले सिफारिस गर्छन्, यस विषयमा पनि हामीले ठाउँ पनि छुट्याएका छौं ।
० नेपालमा कोरोनाको संक्रमण बढ्ने या महामारी फैलिने सम्भावना छ कि छैन ?
– सम्भावन छैन भन्न मिल्दैन । यद्यपि अहिलेसम्म संक्रमण देखिएको छैन, तर पनि हामी उच्च जोखिममा छौं । यसको संक्रमण हुने सम्भावना बढी छ । त्यसकारण हामीले यसको व्यवस्थापन गर्नुपर्छ । अर्को कुरा, हामीले आधिकारिक सूचनाको विश्वास गर्नुपर्छ । कतिपय अवस्थामा कोरोनाको पोजेटिभ परिणाम आयो भन्ने गरिएको छ, तर केन्द्रीय प्रयोगशालामा त्यसको नेगेटिम रिजल्ट आएको हुन्छ । कतिपय अवस्थामा मिडियाहरूले अनाधिकारिक प्रचार गर्ने गरेका छन् ।
केही दिनअघि एउटा अनलाइनले टेकुको प्रयोगशालामा कार्यरत कर्मचारीको हवाला दिएर कोरना देखियो भनेर समाचार बनायो । पछि हामीले त्यो अनलाइनबारेमा बुझ्यौ । त्यो अनलाइन नै अनाधिकारिक रहेछ । यसबारेमा मन्त्रालयको वेबसाइटले आधिकारिक सूचना दिने गरेको छ । यसैगरी डब्ल्युएचओले पनि आधिकारिक दिने गरेको छ । नेपाल सरकारले यो विषयमा बोल्ने भनेर तीनजना व्यक्तिलाई मात्र तोकेको छ । उहाँहरूले बोलेको कुरा आधिकारिक हुन्छ । अनाधिकारिक व्यक्तिले बोलेको कुरालाई विश्वास गर्यौ भने हामी फस्छौ । फेरि म भन्छु नेपालमा यसको संक्रमण हुने सम्भावना बढी छ । यसमा हामी चनाखो हुनुपर्छ । तर बाहिर जसरी हल्ला गरिँदै छ, यसमा पनि हामीले विश्वास नगरौ ।
० सरकारले आवतजावत तथा यातायातसमेत बन्द गरेको छ, यो ठिक हो ?
– हेर्नुहोस्, कोरोना जमघटबाट सर्ने सम्भावना बढी हुन्छ । त्यसकारण सर्ने सम्भावना रोक्न समूह गर्ने या जमघट गर्ने अवस्था हटाउनु स्वाभाविक हो । मान्छेको स्वभाव समूहमा बस्ने हुन्छ । त्यसैले समूहमा बस्न नदिने अवस्था रोक्न सरकारले यति गर्नुपर्छ ।
० भारतबाट कोरोनाको संक्रमण सर्ने सम्भावना बढेको हो ?
– भारतसँग हाम्रो खुला सिमाना भएकाले भारतबाट सर्ने सम्भावना बढी छ ।
Tarun Khabar

