गृहमन्त्रीले भारतीय राजदूतलाई भने : महामारी नफैलियोस् सीमा नियन्त्रण गरौं

  • ९ चैत्र २०७६, आईतवार २२:२६ मा प्रकाशित
  • काठमाडौं । गृहमन्त्री रामबहादुर थापा  ‘बादल’ सँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

    गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।

    नेपालमा भारतीय राजदूत रुपमा कार्यभार सम्हाल्नुभएकोमा राजदूत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले उनको कार्यकालमा दुई देशको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे ।

    गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रामार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने विश्वास व्यक्त गरे । भेटमा विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्‍न सार्क राष्ट्रका मुलुकहरुबीच सहकार्यको आवश्यकतामा जोड दिए ।

    नेपाल–भारतसिमाबाट सो महामारी नफैलियोस् भनेर सीमा नियन्त्रणमा दुवै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदूत क्वात्रासँग आग्रह गरे ।

    राजदूत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।

    उनले कोरोना भाइरस विरुद्धको लडाइँमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए ।

    कोरोनाको त्रासपछिको अवस्थामा नेपाल–भारत सीमा व्यवस्थापनको सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भइसकेको तथा नेपालको गृहमन्त्रालयको समेत राय लिएर निर्णय गर्न आफूहरु तयार रहेको बताए ।

    उनले भारतीय सहयोगमा काभ्रेको पनौतीमा बन्न लागेको नेपाल प्रहरीको तालिमकेन्द्र निर्माणको काम र सुरक्षाकर्मीलाई सवारी सधान उपलब्ध गराउने विषयलाई आफूले प्राथमिकतामा राख्दै यसलाई छुट्टै द्रुतमार्गबाट अघि बढाउने जानकारी गराए । बारखरी.कम बाट

    Leave a Reply