कपिलवस्तु ,२५- पुष
फल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरीका लागि आवेदन प्रक्रिया सुरु गरिएको छ । आवेदनका क्रममा देखिएको भीडका कारण भोलि पुस २६ गतेदेखि आवेदन दर्ता गर्ने समय बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ । प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार आवेदन प्रक्रियाको पहिलो दिन कुल २५० जनाले आवेदन दर्ता गरेका छन् । जसमध्ये १५९ जना पुरुष र ९१ जना महिला रहेका छन् । सशस्त्र प्रहरीतर्फ भने एक जनाको मात्र आवेदन दर्ता भएको उनले जानकारी दिए ।उनका अनुसार कपिलवस्तु जिल्लामा निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल २ हजार ९ सय ९३जना निर्वाचन प्रहरी आवश्यक रहेको छ । जसमध्ये नेपाल प्रहरीतर्फ २ हजार ६ सय ६८ जना र सशस्त्र प्रहरीतर्फ ३ सय २५ जना माग गरिएको छ । निर्वाचन प्रहरीका लागि आवेदन दिने मिति पुस २५ गतेदेखि माघ १ गतेसम्म तोकिएको प्रहरीले जनाएको छ ।


