कपिलवस्तु -भारतको सिद्धार्थनगर जिल्लाअन्तर्गत कपिलवस्तु थाना प्रहरीले एनसीआरपी–समन्वय पोर्टलमार्फत विभिन्न राज्यबाट दर्ता भएका उजुरीका आधारमा १ करोड ७ लाख ३ हजार ७२० रुपैयाँ बराबरको साइबर ठगी प्रकरणमा संलग्न दुई जना नेपाली नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तहरूको साथबाट ठगीको रकमबाट खरिद गरिएका ७ थान मोबाइल फोन, १ थान मोटरसाइकल, १ थान मारुती स्वीफ्ट कार तथा ९८ हजार २०० भारतीय रुपैयाँ नगद बरामद गरिएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार जुन २०२४ मा एनसीआरपी–समन्वय पोर्टलमार्फत भारतका विभिन्न राज्यबाट कुल ३५ वटा साइबर ठगीसम्बन्धी उजुरी दर्ता भएका थियो । ती उजुरीको अनुसन्धानका क्रममा साइबर अपराधमा प्रयोग गरिएको म्युल खाता नम्बर 00000040548214309 मा जम्मा भएको १ करोड ७ लाख ३ हजार ७२० भारतीय रुपैयाँ बराबरको अनलाइन ठगी रकमको ट्रेल पत्ता लगाई अभियुक्तहरूलाई पक्राउ गरिएको हो ।
प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरूले ठगीको रकम व्यक्तिगत खर्च, सवारी साधन खरिद तथा अन्य सामग्रीमा प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ ।
सिद्धार्थनगरका प्रहरी उपरीक्षक डा. अभिषेक महाजनको निर्देशनमा सञ्चालन गरिएको साइबर अपराध नियन्त्रण अभियानअन्तर्गत अपर प्रहरी उपरीक्षक प्रशान्त कुमार प्रसादको मार्गदर्शन तथा क्षेत्राधिकारी सदर विश्वजीत सौरयान (आईपीएस)को पर्यवेक्षणमा कपिलवस्तु प्रहरी निरीक्षक सन्तोष कुमार तिवारीको नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो ।
उक्त प्रकरणमा थाना कपिलवस्तुमा मुद्दा नं. ८५/२०२५ दर्ता गरी भारतीय दण्ड संहिता (IPC) को धारा ४१९, ४२०, ३४ तथा सूचना प्रविधि ऐनको धारा ६६(डी) अनुसार कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा
शहजाद खान,आशीष उर्फ अन्नू मिश्र ,परबेज खान ,अब्दुल अहद र मोहम्मद वसीम रहेकाको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक सन्तोष कुमार तिवारीको नेतृत्वमा खटिएको टोलीले पक्राउ परेका अभियुक्तहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गरी जेल पठाइएको जानकारी दिएको छ ।

