
✍️ वसन्त अनुभव
टुक्का कविता एक नविनतम प्रयोगवादी काव्य उपविधा हो । जुन विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै तुक अर्थात् अनुप्रास मिलाएर दुई हरफमा लेख्ने गरिन्छ । जसका दुई हरफमा अक्षर सङ्ख्या बराबर हुनुपर्ने हुन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान र विस्तार गर्दछ भने दोस्रो हरफले त्यसलाई समर्थन गर्दै भावलाई उत्कर्षमा पुर्याएर समापन गर्दछ ।
छ्न्द र स्वछन्द दुवैमा ५ देखि २७ अक्षर सीमाभित्र रहेर लेख्न सकिने टुक्का कविता पछिल्लो समय अत्यन्त रुचाइएको विधा बन्न पुगेको देखिन्छ । आजका मान्छेहरू हरेक कुरा छिटो छरितो होस् भन्ने चाहन्छ्न् । साहित्य पनि अचार झैँ जिब्रोमा पुग्नेबित्तिकै टक्क स्वाद दिने स्वादिलो हुनुपर्छ, नकि स्वादका लागि लामो समय चपाइरहन परोस् । लामा लामा रचना पढ्न समय नमिल्ने, झर्को मान्ने प्रवृति देखापरेको छ । तसर्थ पछिल्लो समय छोटा छोटा विधाहरू जस्तो- टुक्का कविता, उदक कविता, लघुकथा आदि मौलाउँदै आएका छन् ।
वरिष्ठ टुक्काकार ताराप्रसाद चापागाईँद्वारा लेखिएको 'टुक्का' दुई हरफको टुक्का कविता सङ्ग्रह टुक्का कविता विधाकै पहिलो सङ्ग्रह बन्न पुगेको छ । सम्भवतः मलाई जानकारी भएअनुसार कृतिकारको पनि यो नै पहिलो कृति हो ।
यस कृतिका कृतिकार स्वयम् टुक्का कविता विधाकै प्रवर्तक हुनुहुन्छ। टुक्का कवितालाई जन्माउन, हुर्काउन र आजको यस स्थितिमा ल्याउनमा उहाँको ठूलो भूमिका रहेकोे छ । यद्यपि उहाँको यस कार्यमा सहयोग गर्ने, होस्टेमा हैस्य गर्ने हजारौँ हातहरू थिए, छन् र रहिरहने छन् ।
पिता स्वर्गीय हिमप्रसाद चापागाईँ र माता भगवती चापागाईँको कान्छाे पुत्ररत्नको रूपमा टुक्काकार ताराप्रसाद चापागाईँको जन्म २०३५ साल माघ महिनाको ८ गते (साबिक नाैबिसे गा.बि.स. वडा नं.३ ) धुनीवेसी नगरपालिका वडा नं.९ धादिङमा भएको हो ।
गीत, कथा, कविता, निबन्ध लगायत साहित्यका विविध विधामा कलम चलाउनु हुने साहित्यकार चापागाईँ हाल वैदेशिक रोजगारको सिलसिला दुबईमा रहनुभएको छ ।
टुक्का कविता लेखन कार्य वि.स.२०७७ साउन २५ गतेबाट प्रारम्भ गरेपनि उहाँले २०७७ पुस १७ गते औपचारिक रूपमा सार्वजनिक गर्नुभएको थियोे । टुक्का कविताको उन्नयन र विकासका लागि साङ्गठनिक रूपमा आवद्ध हुँदै २०७८ साउन ४ गते टुक्का साहित्य समाजको दर्ता गरेर अगाडि बढिरहनु भएको छ । उहाँ नै टुक्का साहित्य समाजको संस्थापक तथा वर्तमान अध्यक्ष पनि हुनुहुन्छ ।
'टुक्का' टुक्का कविता सङ्ग्रहको संरचनागत कुरा गर्नुपर्दा यसमा कुल ९६ पृष्ठ(कभर पृष्ठ सहित) रहेकोे छ । पुस्तकको केवल ५९ पृष्ठभित्रमा ५ सय टुक्का कविताहरू रहेका छन् भने बाँकी पृष्ठमा प्रकाशकीय, शुभकामना, लेखकको भनाइ, विषयसूची, टुक्का कविताकाे परिचय रहेका छन् ।
टुक्का साहित्य समाज नेपाल प्रकाशक रहेको यस पुस्तकको मुद्रण ऋचा अफसेट प्रेसले गरेको छ । २०७८ सालमा प्रकाशित यस पुस्तकको मूल्य भने दुईसय रुपियाँ तोकिएको छ ।
कृतिकारका स्वर्गीय पिता हिमप्रसाद चापागाईँ र माता भगवती चापागाईँप्रति समर्पण गरिएको यस पुस्तकको आवरण निकै सुन्दर र आकर्षक रहेको छ । आकारको दृष्टिले मझौला भन्न नमिले पनि सानो चिटिक्क परेको सुहाउँदो छ । पुस्तकको कागज पनि बलियो राम्रो रहेकोे छ ।
टुक्का कविता रहेका कुल ५९ पृष्ठहरू मध्ये पहिलो खण्डमा छन्द टुक्काहरू ४ पृष्ठभित्रमा रहेका छन् । जसमा भुजङ्गप्रयात छ्न्द, सवाई छ्न्द र झ्याउरे छन्द गरेर २८ टुक्का रहेका छन्। बाँकी ५५ पृष्ठमा पाँच अक्षरदेखि २७ अक्षरसम्मका कुल ४ सय ७२ टुक्का कविताहरू रहेका छन् । सबैभन्दा धेरै १० अक्षरका १ सय १ टुक्का कविताहरू रहेका छन् भने सबैभन्दा कम २५ र २७ अक्षरका २/२ वटा टुक्का कविताहरू रहेका छन् ।
प्रस्तुत पुस्तक 'टुक्का' टुक्का कवितासङ्ग्रहलाई सर्सर्ती नियाल्दा टुक्काकारले टुक्का कविताको नियमलाई अक्षरश: पालना गर्नुभएको देखिन्छ । उहाँले आफ्ना भावनाहरूलाई अत्यन्त रोचक, घोचक र सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ ।
टुक्काकार चापागाईँका टुक्काहरूमा नेपाली माटोको सुगन्ध पाइन्छ । विदेशी भूमिमा रहेर पनि नेपाल र नेपालीप्रतिको उहाँको माया, स्नेह, चासो र चिन्तामा कुनै कमी पाइदैन ।

उहाँले टुक्का मार्फत नै आफ्नो प्रेमावेग अत्यन्त सुन्दर र शालीन ढङ्गले प्रस्तुत गर्नुभएको छ ।
तिमीलाई सम्झिँदैमा गजब नशा लाग्यो
कल्पनामा मुस्कुराउँदै भेट्न मन जाग्यो ।
(२७७)
सधैँ बाँधिराख अङ्गालोमा
नछोड कहिल्यै भङ्गालोमा ।
(९२)
सधैँ साथ माया दिनु तिमी मेरी रानी
अझै उर्जा थप्दै जानू पिरतीको खानी ।
(३२७)
रात बित्यो तारा गन्दै
कुरे थेँ आउँछ्यौ भन्दै ।
(२६)
त्यस्तै उहाँले आफ्ना टुक्का मार्फत नै समाजमा रहेर द्वेध चरीत्र प्रस्तुत गर्ने धोखेबाजहरू प्रति कटाक्ष गर्नुभएको छ।
अगाडि पर्दा चिप्ला कुरा
पछाडिबाट हान्यो छुरा ।
(३६)
त्यस्तै उहाँका टुक्काहरूमा जीवन र जगत प्रतिको चासो, चिन्ता भेट्न सकिन्छ । उहाँले के गर्नहुन्छ, के गर्न हुँदैन भन्ने कुरा टुक्का मार्फत नै सत्यबोध गराउनुभएको छ ।
नडुल्नू है साँझमा
कुसंस्कारी माझमा ।
(१३)
पापको झोली भरिन्छ भोलि कुकर्म नगर्नू
मरेर जानुपर्नेछ सबै भ्रममा नपर्नू ।
(२०)
जानु छ एकदिन सबै छोडेर
नहिँड्नू ठूलो बनी बाटो मोडेर ।
(१८७)
मर्नु छ एकदिन कसले के लान्छ ?
जसरी आयो उस्तै खाली हात जान्छ ।
(२१०)
अहङ्कार मात्र गरी जीवन चल्दैन
परिश्रम नगरी त्यसै चुलो बल्दैन ।
(२५०)
टुक्का कविता लेख्न सबैलाई आग्रह गर्दै उहाँ भन्नुहुन्छ:-
अभ्यास गरौँ टुक्कामा आएर
लेख्नुपर्छ समय मिलाएर ।
(१३८)
संसारमा सबैभन्दा अमूल्य माया, स्नेह भनेको आमाको हुन्छ भन्दै उहाँ यसरी टुक्का मार्फत पोखिनुभएको छ ।
ममताको खानी हो आमाको काख
मेरो स्वर्ग त्यही किन खोज्नु लाख ।
(१८७)
शब्द सुन्दै कति प्यारो सम्झिँदै छु आमा
हुर्काउन बढाउन धेरै गर्यौ धामा ।
(२५२)
बाध्यतावश आफू विदेशी भूमिमा रहेपनि उहाँको भित्री चाहना भने कोही पनि नेपाली विदेश दास बन्न नजाऊन्, आफ्नै देशमा बसेर नेपाल आमालाई सिँगारून् भन्ने रहेकोे छ ।
सीप सिकौँ केही गरौँ स्वदेशमै पनि
विदेशिनु नपरोस् है कोही दास बनी ।
(२५४)
दैनिक हजारौँ छन् मान्छेहरूको लर्को
मौन छ विमानस्थल मान्दैन कुनै झर्को ।
(३०९)
स्वदेशमै केही गर्ने वातावरण जुटाऊँ
सबैतिर देश विकासको मुहान फुटाऊँ ।
(३६९)
गरी खाउँला जोतेर खेतबारी
रुँदै भन्दछिन् हृदयकी पियारी ।
(१७१)
आफ्नै घर खेतबारी सजाउने काम
अरूको गुलामीले किन खोज्नु दाम ?
(२३९)
असारको पन्ध्र वर्षात् धेरै रुझेर झरीमा
धानको बीउ रोपेझैँ माया जिन्दगीभरिमा ।
(२७)
परदेशमा जान्छौ किन खोज्दै रोजगारी
बिराउँदा सुन फल्नेछ हाम्रै खेतबारी ।
(३०८)
देशमा घटेका समकालीन घटना प्रति उहाँको निकै चासो र चिन्ता देखिन्छ । एमसीसी प्रतिको उहाँको धारणा यस्तो रहेको छ ।
दुई ढुङ्गाको तरुलमा पस्यो खपिसी
राष्ट्रघाती बुँदा बोकी आयो एमसीसी ।
(२४९)
प्यारो अनि सुन्दर छ नेपाली भाषा हाम्रो
जोगाऔँ हामी संस्कृति र आफ्नै भेष राम्रो ।
(३१४)
नेपालमा मनाइने हरेक चाडपर्व लक्षित टुक्काहरू यस सङ्ग्रहमा भेट्न सकिन्छ ।
आऊ चेली माइतमा तीज मनाऔँ
दर खाई हाम्रो पर्व भव्य बनाऔँ ।
(२०८)
विश्व समुदाय कोभिड महामारीमा जकडिँदा नेपाल पनि अछुतो रहेन । कोरोनाका कारण देखापरेको अप्रिय दृश्य उजागर गर्दै त्यसबाट सुरक्षित रहने उपाय पनि उहाँले बताउनुभएको छ ।
नदेखिने जीवाणुले आक्रमण गर्दा
मुख हेर्नै नपाइने आफ्नै मान्छे मर्दा ।
(९)
सुरक्षित बनौँ आफ्नै घरभित्र बसी
आक्रमण गर्नेछैन कोरोनाले पसी ।
(११)
नेपालमा व्याप्त भ्रष्टाचार, कुरीति प्रति उहाँको निकै चासो, चिन्ता र आक्रोश रहेको पाइन्छ ।
लौन अति भयो भ्रष्टाचार
सहनु कति यो अत्याचार ।
(१०५)
पछिल्लो समय आफ्ना वृद्ध आमाबुबाहरूलाई हेलाँ गर्ने, आश्रम पठाउने जुन गलत संस्कार, संस्कृति स्थापित हुन थालेको छ । त्यसलाई निरुत्साहित गर्न उहाँका टुक्काहरूले बुलन्द आवाज उठाएका छन् ।
वृद्ध भए ती आमाबाबा मुटुमा अटाऊ
आँसु लाग्छ तिमीलाई आश्रम नपठाऊ ।
(२९५)
हामीहरूलाई हुर्काउन दु:ख गरेका अपार
बुढेसकालमा ती बाबुआमा अलपत्र नपार ।
(४२४)
समाजका अग्रज हाम्रा मार्ग निर्देशक जेष्ठ नागरिक सम्मान गरौँ
नैतिक शिक्षा ज्ञान पाई सबल भयौँ यिनको जीवनमा उज्यालो छरौँ ।
(४६९)
जनताका दु:ख पीडामा मलम लगाउनु पर्नेमा सरकारले उल्टै अझै पीडा थप्ने गरेकोप्रति उहाँको आक्रोश छ ।
जनतालाई दु:ख पीडा महङ्गीका कुरा
लापर्बाह सरकार छ उल्टै हान्छ छुरा ।
(२९६)
लडाइँ झगडाबाट क्षति बाहेक केही उपलब्धि हुँदैन भन्दै उहाँले शान्तिको आह्वान गर्नुभएको छ ।
गोली बारुद आणविक हतियार छोडौँ,
शान्तिको बिगुल फुकी दुनियाँलाई मोडौँ ।
(३२८)
परदेशमा बस्ने सबै मानिसहरू सुखी, मस्तीमा हुन्छन् भन्ने सोचाइ प्रति उहाँले कटाक्ष गर्नुभएको छ ।
घर परिवार आफ्ना सबै सम्झनामा हुँदा,
कसले देख्छ परदेशमा एक्लै बसी रुँदा ।
(३५८)
पैसा कमाई सुखी बनी जीवन जिउने आस,
काम र पैसा भन्दाभन्दै परदेशमै भो लास ।
(४०७)
उहाँका टुक्काहरू बालबालिका हाम्रा भविष्यका कर्णधार हुन्, तिनका सुरक्षा, पालनपोषण हाम्रो जिम्मेवारी हो । बाल अधिकारको सुनिश्चित हुनुपर्छ भन्ने कुरामा उहाँको मत रहेको छ ।
नबनाउनु साना नानी मजदुर अनि ज्यामी
बालअधिकार सुरक्षामा जागरूक हौँ हामी ।
(३९६)
पौष्टिकता भरपुर छ कुपोषण रोक्न वरदान
शिशुका लागि अमृतसमान नछुटाऊँ स्तनपान ।
(४४४)
नेपालमा सवारी चालक र पैदल यात्री दुवैबाट ट्राफिक नियमको उल्लङ्घन हुँदा सवारी दुर्घटना हुने गरेको र नियम पालना गरे दुर्घटनाबाट बच्न सकिने उहाँको मत रहेकोे छ ।
ट्राफिक नियम पालना गरे दुर्घटना धेरै टर्छन्
सडकमा देखिने ती जनसेवक कति दु:ख गर्छन् ।
(४४२)
कथा, कविता, गीत, लघुकथा, मुक्तक, निवन्ध लगायत साहित्यका विविध विधामा कलम चलाउनु हुने साहित्यकार/टुक्काकार चापागाईंका सृजना अत्यन्त सशक्त, चोटिला मर्मस्पर्शी हुने गर्दछ्न् ।
टुक्काकार ताराप्रसाद चापागाईँका टुक्का कविता सङ्ग्रहमा जीवन र जगतप्रतिको चासो चिन्ता, मातृप्रेम, राष्ट्रप्रेम, राष्ट्रप्रतिको अतिराग, राजनीति र नेता प्रतिको वितृष्णा भेटाउन सकिन्छ । उहाँका टुक्कामा समकालीन चेत रहेको पाइन्छ, भरपुर व्यङ्ग्य भेटाउन सकिन्छ । देश, समाज र समग्र जीवन भेटाउन सकिन्छ ।
यति भनिरहँदा उहाँको यस सङ्ग्रहमा कुनै त्रुटि वा दोष नै छैनन् भन्ने चाहिँ होइन । वर्ण विन्यास, पद सङ्गतिको दृष्टिले कतिपय स्थानमा त्रुटिहरू भेटाउन सकिन्छ । कुनै कुनै टुक्काहरूमा अनुप्रास दोष, अक्षर सङ्ख्या नमिलेको पनि भेट्न सकिन्छ । अर्को संस्करण निकाल्दा कृतिकारले अवश्य पनि त्यस तर्फ ध्यान दिनुहुने नै छ ।
पुस्तक प्रकाशन गर्दा शतप्रतिशत त्रुटि रहित बनाउनु भनेकाे गम्भीर चुनाैतिकाे विषय हाे । यस सङ्ग्रहकाे कमजाेर पक्ष नियाल्दा छन्दमा लेखिएकाे टुक्काहरू मध्ये एक ठाउँमा छन्द भङ्ग भएकाे र स्वच्छन्द टुक्काहरू मध्ये केही टुक्का कविताहरूमा तुक दाेष देखिएकाे छ ।
समग्रमा प्रस्तुत 'टुक्का' टुक्का कविता सङ्ग्रह अत्यन्त सुन्दर, उत्कृष्ट र पठनीय दस्तावेज बन्न पुगेको छ । पाठकले किनेर पढ्दा पुरै मूल्य असूल हुने कुरामा कुनै दुईमत छैन । यस्तो सुन्दर कृति प्रकाशन गरेर नेपाली साहित्य भण्डारमा समर्पण गर्नुभएकोमा यस कृतिका कृतिकारलाई हार्दिक बधाई दिन चाहन्छु र भव्य कृति सफलताको शुभकामना ! धन्यवाद !
कृति: टुक्का (दुई हरफका कविता सङ्ग्रह)
विधा: टुक्का कविता सङ्ग्रह
कृतिकार: ताराप्रसाद चापागाईँ
प्रकाशक : टुक्का साहित्य समाज, नेपाल
प्रथम संस्करण: २०७८ साल (२०२२)
मूल्य: रु. २००
पृष्ठ: ८८

