मलेसिया बन्यो वैदेशिक रोजगारीमा जानेको आकर्षक गन्तव्य

  • १६ श्रावण २०८०, मंगलवार ११:२६ मा प्रकाशित
  • काठमाडौँ। मलेसिया वैदेशिक रोजगारीमा जाने नेपालीहरूको आकर्षक गन्तव्य बनेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० मा २ लाख ५९ हजार ५९४ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन् । जसमा २ लाख ५२ हजार २९५ पुरूष र ७ हजार २९९ महिला छन् ।

    यसमा पुनः श्रम स्वीकृति समेत जोडिएको छ । नयाँ श्रम स्वीकृति मात्रै लिएर मलेसियामा २ लाख १९ हजार ३५७ जना गएका छन् । ती मध्ये २ लाख १३ हजार ५० जना पुरूष र ६ हजार ३०७ महिला रहेका छन् ।
    मलेसिया गएका नेपालीहरू जम्मा वैदेशिक रोजगारीमा गएका मध्ये ४४.३८ प्रतिशत रहेको छ । त्यसपछि दोस्रो प्रमुख श्रम गन्तव्य मुलुकमा यूएई रहेको छ । जहाँ ५९ हजार १५२ जना रहेका छन् । साउदी अरेबियामा ५५ हजार ७९१ जना रहेका छन् ।

    त्यस्तै कतारमा ४० हजार ५१७ जना नेपाली गत वर्ष वैदेशिक रोजगारीका लागि गएका थिए ।

    कुवेतमा ३१ हजार ४१० जना, दक्षिण कोरियामा २१ हजार ४१०, रोमानियमा १३ हजार १३७, क्रोसियामा १३ हजार १३७, जापानमा ७ हजार १८६, माल्टामा ५ हजार ६०३, पोल्याण्डमा ४ हजार ९१५, साईप्रसमा ४ हजार २७५, माल्दिभ्समा ३ हजार ९९४ जना वैदेशिक रोजगारीका गएको देखिन्छ ।

    गत आर्थिक वर्षमा १४४ देशमा नेपाली श्रमिकहरू गएको देखिन्छ । विभागको तथ्यांक अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिएर कुल ७ लाख ७१ हजार ३२७ जना वैदेशिक रोजगारीमा गएका छन् ।
    आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार ९० जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएका थिए ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा २०७९/०८० मा १ लाख ४१ हजार २३७ जना वढी वैदेशिक रोजगारीमा गएका छन् । आर्थिक वर्ष २०७८/७९ मा भने कतार प्रमुख श्रम गन्तव्यको रूपमा देखिएको थियो । जहाँ ७६ हजार ८३२ जना नेपाली नयाँ श्रम स्वीकृति लिएर गएका थिए । नयाँ र पुनः श्रम स्वीकृति गरेर १ लाख ८४ हजार ९२६ पुगेको थियो । कतार विश्वकपका कारण त्यो बेला कतार प्रमुख श्रम गन्तव्य मुलुक बनेको थियो ।

    मलेसियालाई प्रमुख श्रम गन्तव्यको रूपमा लिनुमा न्यूनमत पारिश्रमिक बढाउनु, रोजगारीका प्रयाप्त अवसर सिर्जना हुनु जस्ता कारण रहेका छन् ।

    Leave a Reply

    Your email address will not be published.