
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा आज काठमाडौंमा फोरलेन सडकसम्बन्धी छलफल राखिएको छ ।
फोरलेन सडक निर्माणमा पहल गरिरहनुभएका निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वलीभद्र रानाको पहलमा मन्त्री, आयोजना कार्यालयका प्रतिनिधि, ठेकेदारलगायतको उपस्थितिमा फोरलेन सडक निमार्णका विषयमा छलफल हुनेछ ।
आधिकारिक प्रतिनिधि भइसकेपछि घोराहीमा कार्यालय समेत स्थापना गरेर सुनिलजंग रायमाझीले काम गर्न शुरु गर्नुभएको छ । वलीभद्र रानाले निर्माण व्यवसायी महासंघको पहलमा काम शुरु गर्न लागेको बताउँदै ठेक्का रद्द भएमा दङालीले झन दुःख पाउने भएकोले पहल गरेर यो काम गर्न लागेको बताउनुभयो । ‘ठेक्का तोड्दा पाँच वर्ष विजोग हुने अवस्था हुन्छ । त्यसकारण सकेसम्म यसलाई सम्पन्न गर्नुपर्छ भन्ने हेतुले मैले पहल गरेर काम शुरु गरेको हो’– उहाँले भन्नुभयो– ‘काम शुरु गर्न प्राविधिक कुरा हेर्नुपर्छ । बालुवा गिट्टी थुपारेर मात्रै काम हुँदैन । पुराना पेटी ठेकेदारको सबै क्लियर गराएर मात्रै काम हुन्छ ।
त्यो भइरहेको छ ।’उहाँले पुराना ठेकेदारसँगको कारोबार मिलान गरेर नयाँढंगले काम शुरु हुने बताउनुभयो । ‘शुरुमा एकै चोटी २५ ठाउँबाट काम शुरु गर्ने इस्टिमेट भइसकेको छ, पाँच ठाउँ ग्राभेलको काम गर्ने र यस वर्ष असारसम्म बबईदेखि सर्रासम्म आधा पिच सक्ने अर्को आर्थिक वर्षको चैतसम्म सबै काम सक्ने गरी योजना बनेको छ’– उहाँले भन्नुभयो– ‘फोरलेन र टु लेनको सडकमा शुरुमा फोर लेन मात्रै काम गर्ने र बाँकी टु लेन पनि फोर लेन बनाउने गरी छ । हामीले बजेटको लागि पनि पहल गरिरहेका छौं । पैसा थप गर्न एक्जिम बैंक पनि तयार छ ।’

