
साताका तीन लघुकथा हिमालयन दृष्टि अनलाइन पत्रिकामार्फत सञ्चालित एक नियमित स्तम्भ हो । नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित गरिएका लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथा छ्नोट गरी प्राप्त हुन आएका लघुकथाहरू यहाँ प्रकाशन गर्ने गरिन्छ । यस साता प्रकाशित हुने लघुकथाहरूमा लघुकथाकार बिष्णु उप्रेतीको ‘नातिको तर्क’, लघुकथाकार दिव्य गिरीको ‘मूल्य’ र लघुकथाकार अजित आचार्यको ‘व्यस्तता’ रहेका छन् ।
१.
लघुकथा: नातिको तर्क

✍️ बिष्णु उप्रेती
“हजुर बा तपाईं त नामी ज्याेतिष, धेरै मान्छेकाे ग्रह दशाफल बताउनु हुन्छ । सबैले तपाईंलाई पत्याएका छन्; बिश्वास गर्छन् । लु अब भन्नू त ! हिजाे बिहानको जहाज दुर्घटना के कारणले भयाे ?” नित्यकर्म सकेर चिया पिउन थालेका हरिशंकरलाई नातिले प्रश्न गर्याे ।
“ठिक प्रश्न गरिस् नाति तैँले । तँ अचेल अलि चलाख हुँदै गएकाे छस् । यस्ता शास्त्र सम्मत् कुराहरू सबैले जान्न जरुरी छ । अचेलका मानिसहरूले यी जाेतिषिय कुरामा विश्वास नगरेर धेरै दु:ख पाएका छन् । अब कुरा सुन् – हरेक महिनाकाे एक गते मृत्युवाण हुन्छ । याे शास्त्रमा स्पष्ट लेखेकाे छ । त्यस्मा पनि एक गते अष्टमी तिथि पर्याे भने त झन खतरा हुन्छ, क्रुर हुन्छ । फेरि उक्त दिन बिहान नौ बजेदेखि एघार बजेसम्म कालकाे मुख पश्चिम दिशामा थियाे। त्यसैले याे दुर्धटना पक्का थियोे ।”
नातिले नियालेर हजुरबा काे अनुहार हेर्यो अनि साेध्याे- “अनि नि हजुर बा ! साँच्चै विश्वमा नाम चलेका राम्राे कम्पनीको हालसालै बनेकाे नयाँ जहाज त्यसबेला त्याे दिशामा उडाएको भएपनि याे दुर्घटना हुने नै थियाे त ?”
२०७९/१०/०४
बिर्तामोड झापा
२.
लघुकथाः मूल्य

✍️दिव्य गिरी
दुई भाइ छोराहरूले नयाँ घर बनाउनु पर्यो भनेर रातदिन कराएपछि आमा बीस मुरी धान फल्ने खेत बेच्न बाध्य भइन् । आमालाई खेत बेच्दा लागेको पीर र पीडा छोराहरूले घर बनाएपछि भने केही कमी भयो ।
दुवैजना छोराले आमालाई नयाँ घरमा लगे । आमालाई घरको निरीक्षण गराए । बैठककोठा, सयनकोठा, भान्छाकोठा, सानासाना नाति-नातिनाको निम्ति पढ्नेकोठा, पूजाकोठा, शौचालय आदि सबै राम्रा र चिटिक्क परेका थिए ।
आमाले ती सबै हेरिसकेपछि सोधिन् – “बाबु हो, तिमीहरूले घर राम्रो बनाएछौ । कोठाहरू पनि ठूला र फराकिला रहछेन् । सबैको लागि कोठाहरूको व्यवस्था पनि गरेछौ । तर खोई त मेरो निम्ति कोठा ? मलाई त बिर्सेछौ ।”
आमाको प्रश्न सुनेर दुवै दाजुभाइ एक-अर्काको अनुहार हेर्न थाले ।
माघ ५, २०७९
३.
लघुकथा: व्यस्तता

✍️अजित आचार्य
हरिराम र रामहरी सँगै पढेका मिल्ने साथीहरू हुन् । सँगै लोकसेवा उत्तीर्ण गरेर जागिर खाए । सँगसँगै जस्तो सेवा निवृत्त पनि भए । सेवा निवृत्त जीवन रामहरीले बिराटनगरमा परिवारसँग बिताइरहेका थिए भने हरिराम आफ्नै पौरखले जोडेको बुटवलको घरबारीमा बस्थे ।
उनीहरू बीच भेटघाट कम टेलीफोन वार्ता अलि ज्यादा हुने गर्थ्यो। पछिल्लो एक वर्षमा भने उनीहरूका बीचमा फोनवार्ता पनि कम हुँदै गएको थियो । एकदिन रामहरीले साथी हरिरामलाई फोन गरेर सोधे, -“मित्र ! आजभोलि केमा व्यस्त हुनुहुन्छ ? फोनमा कुरा नभएको पनि धेरै भयो । के कसरी समय चल्दैछ ?”
हरिरामले फोनमा स्पष्टीकरण दिए, -“के गर्नु र ? खासै काम त केही छैन । फुर्सद जस्तै छ । तर बिहान उठेदेखि साँझसम्म यही फोनले व्यस्त बनाउँछ । यसो बिहान एकघण्टा जति एफएम सुन्छु । देश विदेशका खबर थाहा पाउँछु । त्यसपछि फेसबुक हेर्छु । दिनमा २०-२५ जनालाई फेसबुकमा जन्मदिनको शुभकामना दिन्छु । अरू ८-१० जना जतिलाई फेसबुकमा हार्दिक समवेदना लेख्नुपर्छ । १०-१५ जनालाई बधाई तथा सफल कार्यकालको शुभकामना लेख्नै पर्छ । ५-७ जनालाई वैवाहिक वर्षगाँठको शुभकामना लेख्यो, अरू १०-१२ जना जतिलाई शुभ यात्रा लेख्छु । कहिलेकाहीँ आँफूले पनि फेसबुकमा केही १-२ कुरा लेख्छु । त्यसमा लाईक कमेन्ट क-कसले गरे भन्दै हेर्यो । टिकटकमा मान्छेहरू नाचेको हेर्यो, बस्यो । यस्तै यस्तैमा व्यस्त भइन्छ । अरू केही कुरा गर्न भ्याईन्न।”
हरिरामको लामो स्पष्टीकरण सुनेर रामहरीले पनि फोनबाटै भने, -“तपाईँ अहिले व्यस्त हुनुहुँदो रहेछ। पछि फुर्सदमा कुरा गरौँला है।“ यति भन्दै उनले फोन काटीदिए ।
व्यास-९, कलेस्ती, तनहुँ ।
२०७९ माघ २ गते

