
साताका तीन लघुकथा हिमालयन दृष्टि अनलाइन पत्रिकामार्फत सञ्चालित एक नियमित स्तम्भ हो । नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित गरिएका लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथा छ्नोट गरी प्राप्त हुन आएका लघुकथाहरू यहाँ प्रकाशन गर्ने गरिन्छ । यस साता प्रकाशित हुने लघुकथाहरूमा लघुकथाकार वसन्त अनुभवको ‘गरिबमारा’, लघुकथाकार डा.श्यामप्रसाद न्यौपानेको ‘नामुद कवि’ र लघुकथाकार कुञ्ज देवी उपाध्यायको ‘भाग्य’ रहेका छन् ।
१) लघुकथा : गरिबमारा

✍️ वसन्त अनुभव
“पुग्यो बाबा ! अब त अति भयो । म यो सब देख्न सक्दिनँ । इज्जतको पनि ख्याल गर्नोस् । खुरुक्क हिँड्नोस् मसँग । ” झुत्रो कपडा लगाएको बाउलाई देखेर छोरो खिन्न भयो ।
“के भन्छ यो मुर्दार ? जीवनभर मैले गरेको दु:ख, संघर्ष आखिर तिमीहरूकै उज्ज्वल भविष्यका लागि त हो । मर्दा मैले लिएर जाने हो र ?” बाउ भावुक देखिए ।
“भयो त बाबा ! हजुरले निभाउनु पर्ने कर्तव्य निभाइसक्नुभयो । भाइ अमेरिकामा प्रोफेसर छ । हजुरको आशीर्वादले म डाक्टर छु । राजधानीमा त्यत्रो भव्य महल छ । के अपुग्दो छ र हामीलाई ? अब त यो ढिटपन छोडिदिनोस् !” छोरोले अनुनय विनय गर्यो ।
“तँ धेरै कुरा नगर त । कसैले सुन्ला ! खुरुक्क गैहाल् । कसैले देख्यो र चिन्यो भने बित्यास पर्छ ।” बाउले छोराको कुरा सुनेनन् । उल्टै हकारे ।
एकछिनपछि छोराको कार सुकुम्बासी बस्तीबाट बाहिरियो । राजनीतिक दलको उक्साहटमा आन्दोलनको नेतृत्व गर्दै बाउले नारा लगाउन थाले ।
“- रम्तेल मेयर – मुर्दावाद ! – बस्तीमा डोजर लाउन- पाइदैन, पाइदैन ।
-सुकुम्बासी उठीवास लाउन- पाइदैन, पाइदैन ।
-गरिबमारा सरकार- चाहिँदैन, चाहिँदैन ।
………. “
घोराही उपमहानगरपालिका १४, दाङ
२०७९/८/२९
२) लघुकथा : नामुद कवि

✍️ डा. श्यामप्रसाद न्याैपाने
“ओहाे ! हजुर त निकै सिपालु र नामुद कवि पाे हुनुहँदाे रहेछ त !” राेहनले रमेशकाे बैठक काेठाका भित्तामा सजिएका प्रमाणपत्रतिर हेर्दै भन्याे ।
” हाे त । तपाईंलाई थाहा थिएन र !” रमेशले भन्याे ।
“ओहाे ! देशविदेशका विभिन्न साहित्यिक संघसंस्थाले सम्मान गरेकाे सुविख्यात व्यक्तित्वलाई भेटेर आज मेराे हर्षकाे सीमा रहेन ।” राेहनले खुसी प्रकट गर्याे ।
“धन्यवाद” रमेशले आभार प्रकट गर्दै भन्याे ।
“अँ त कविज्यू, कुन कुन छन्दमा हजुरकाे कलम चल्छ नि !” राेहनले जिज्ञासा राख्याे ।
“अँ………, अँ…….. ।” रमेशले केही साेचेजस्ताे गर्याे । “अँ , त्यसाे त म धेरै छन्दमा कलम चलाउँछु । तर तरूणतपसी, ऋतुविचार, सुलाेचना, मुनामदन र एक् दिन् नारद सत्यलाेक् पुगिगया छन्दमा मेराे कलम निर्बाध चल्छ ।” उसले भन्याे ।
रमेशले छन्दका नाम भनिरहँदा राेहन आश्चर्यचकित हुँदै रमेशले प्राप्त सम्मान पत्र झुण्ड्याएकाे भित्तातिर हेरिरह्याे । भित्तामा राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्यिक संघ संस्थाले प्रदान गरेका अभिनन्दन पत्र र सम्मान पत्र पङ्खाका हावाकाे गतिमा पर्दाबाट छेकिएर लुक्न खाेज्दै थिए ।
सुनवल – १२ भुमही, नवलपरासी ।
३) लघुकथा : भाग्य

✍️ कुञ्ज देवी उपाध्याय
“तेरो भाग्य पनि मान्नुपर्छ, साथी । सावधान हुनु है । कतै अर्की राम्री भेटेर तेरो घर संसार भताभुङ्ग नहोस् ।”
अर्किले भनी, – “साँच्चै के हेरेर मन पराए हौ, त्यस्तो सुन्दर मान्छेले । अचम्म लाग्छ ।”
किन केही बोल्दिनौ त ! हामी खोस्न जादैनौँ, तिम्रो लोग्ने ।” अर्की मुख छिटो गरेकीले थपी ।
डल्लीले मुसुक्क हाँस्दै लामो श्वास छोडी । “यिनीहरूलाई के थाहा, मलाई हेरेर होइन, मेरा बुबाको करोडौँको सम्पत्ति हेरेर मलाई बिहे गरेको भन्ने। सावधान त हुनुनै छ मैले । पछिल्तिरबाट छुरी हान्नेको अभाव छैन, यहाँ ।”
असम , भारत
14दिसम्वर2022

