‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५८ औँ शृङ्खला सम्पन्न

  • २४ कार्तिक २०७९, बिहीबार २२:४६ मा प्रकाशित
  • काठमाडौ, कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५८ औँ शृङ्खला कार्तिक १९ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ८१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५८ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    सारा नेपाली सिङ्गापुरे, हुन्छन् अष्ट्रेलियाली,
    छ्यापछ्याप्ती भिसा झार्नेछु, चुनाव जितौँ खाली ।
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    हावादारी कुराहरू सबै चुनावकाे नारा सस्ताे,
    भाेट माग्दा म्याउँम्याउँ गर्ने जितेपछि बाघ जस्ताे ।
    🌑ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [२]
    हजुर त साह्रै देशप्रेमी, दुरगामी छ सोच,
    खुलस्त राख्दिनु भो मत, नमानी कुनै सङ्कोच ।
    🌑वसन्त अनुभव
    घोराही – १४, दाङ

    [३]
    युवा जति पलायन छन् बूढाबुढी छन् घरमा,
    खुराफाती गफाडी नेताकाे नपराैँ है भरमा ।
    🌑मीरा ज्ञवाली
    बुटवल

    [४]
    गरिब सामु नफैलाऊ हात विलासी जीवन भोग्नेहरू,
    पहिलेको बाचा पूरा गर्‍यौ त चुनावमा खुट्टा ढोग्नेहरू?
    🌑असिराम डंगौरा
    जोशीपुर कैलाली
    हाल -भारत

    [५]
    झुठो आस र आश्वासन के देखाउँछौ जाली,
    युवा जति विदेश पठायौ बन्यो देश खाली ।
    🌑बेदु न्यौपाने
    काठमाडौ

    [६]
    आफन्त नजिक भएर के भयो भोट नआएपछि,
    भाग ठूलो पर्दा कसैलाई नदिई एक्लै खाएपछि ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [७]

    यहाँ भोक र सपना बाँडिन्छ भोटसँग साटिन्छ,
    चुनावी खर्च असुल्न श्रमजीवीको गाँस काटिन्छ !
    🌑भुषणजंग

    [८]
    नेपाली जति विदेशमा गई बन्ने भए परदेशी,
    नेपालका नेताहरू मात्र देखिनेभए नि स्वदेशी ।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप,सुनापति-१
    हाल:-अमेरिका,बोस्टन।

    [९]
    सम्भावनाका भिरहरू भत्काउँदै छाैँ हामी,
    ठूला देशकाे मागी खाँदा निक्कै बन्छाैँ नि नामी ।
    🌑निरज कोइराला
    बेलका १ उदयपुर

    [१०]
    झझल्को मात्र लगाएछौ दुई दिन आएर,
    केही हुन्न आखिर आदर्शको गीत गाएर ।
    🌑आर्त अकुलीन
    कैलाली

    [११]
    टुक्का
    ठुला देश पठाइदिने आस देखाएर,
    के विकास गर्छौ युवा विदेश पठाएर ।
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [१२]
    भोट दिई जिताउन होला नजानेकै,
    पक्कै नि असल नेता होला नछानेकै।
    🌑काजि प्रसाद खतिवडा

    [१३]
    बुढापाका जितेर मसानघाट विकास गर्छन्,
    अझै त्यस्तालाई नै भोट दिए आफ्नु धोक्रो भर्छन् ।
    🌑सुशांक दाहाल
    विराटनगर मोरङ

    [१४]
    देशको विकास गर्नतिर होइन आफ्नो विकास गर्न खट्छ्न् जाली,
    लागिपर्छन् उनीहरू भोटलाई नोटमा परिवर्तन गर्न खाली।
    🌑जोगरत्न बज्राचार्य
    भिंन्छेबहाल ललितपुर।

    [१५]
    सरकार बनाउँछन् अनी गर्छन् राज आलो पालो,
    हाम्रो मत लिएपछि सधैँ बन्छन् विदेशी गोठालो।
    🌑सुरेशकुमार पान्डे

    [१६]
    नेता भन्छ लौन भोट दिनोस् देशलाई बनाउँछु सिङ्गापुर,
    जितेपछि के मतलब देशको माटो बन्न जान्छ अझै झुर ।
    🌑चूडा निर्भीक

    [१७]
    नारा बनाए जनता मोहित पार्ने,
    विना ढेउवामै भिसा टिकट झार्ने ।
    🌑सुर्यमणी रेग्मी

    [१८]
    थर्काएर भाषणमा किन भुक्छस् ?
    सरकार समस्यामा किन लुक्छस् ?
    🌑मदन चाैहान

    [१९]
    कामकुरो त एकातिर कुम्लो बोकी ठिमीतिर,
    चुनाव जिते आकाश उड्छौ हेर्दैनौ जिमीतिर ।
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२०]
    चुनावी घाेषणापत्रकाे बाहिरी आवरणमा कति मिठाे नारा,
    भित्री पेजमा गहिरिएर पढ्दा भने देखियाे खुरापाती पारा ।
    🌑 राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर थिमी सङ्गम काेलाेनी भक्तपुर ।

    [२१]
    चुनाव अघि आश्वासनका बाँड्छन् मिठा पाेका,
    मिसन पूरा भएपछि दिन थाल्छन् है धाेका ।
    🌑त्रिलाेचन भणडारी
    मेचीनगर,झापा
    [२२]
    युवा जति विदेश हुँदा बोल्ने होइनन् कोही अनि,
    हालीमुहाली बुढाकै छ भनिरहँदा अझै पनि ।
    🌑भगवती दवाडी
    झापा

    [२३]
    देशनै बेचेर खानेको ओइरो बन्दैछ
    फाइदा हुने ठाउँ हेरेर पैरो खन्दैछ।
    🌑शन्जना सर्मा
    दाङ लमही

    [२४]
    गफ छाँटे पनि उहीँ अस्थिरताको बीउ रोप्छौ
    चुनाव सकिएपछि, उनै दुखियालाई कोप्छौ ।
    🌑प्रेम थापा “मन”
    बागलुङ

    [२५]
    भोटमात्र देऊ जनता संसार घुमाउँछौँ,
    फ्री भिसा, फ्री टिकटमा सारा देश उडाउँछौँ ।
    🌑बिबस पारदर्शी
    भद्रपुर झापा,

    [२६]
    हाम्रा नेता सबै भए जाली,
    जनता अझै ठोक्दै छन् ताली।
    🌑मनोज खत्री अछामी

    [२७]
    भिसा झारी देश रित्याउने कस्तो याे नेताको चाल?
    अचेर्नु खाएर पनि नअघाई बुन्छौ फेरि जाल?
    🌑दीपक ठटाल जलन

    [२८]
    भाेट मात्रै पाऊ हामीले सारा संसार सम्याउँछाैँ
    जितिसके भन्छन् तिनीहरू तेरो मेरो ठम्याउँछाैँ।
    🌑शर्मिला खतिवडा
    विर्तामोड ,झापा ।

    [२९]
    गद्दार नेता जनतालाई मतपत्रमा मात्र गन्छन्
    युवालाई विदेश पठाई मनपरि गरौंला भन्छन्
    🌑पुष्पा सुवेदी
    नेपालगञ्ज – ४, बाँके ।

    [३०]
    नेपाली भ्रष्ट नेताहरू सबै दादा बन्छन्
    बुथ क्याप्चर गरेर चुनाव जित्ने भन्छन्।
    🌑शिव कुमार रेग्मी
    पोखराथोक,पाल्पा

    [३१]
    गद्दार नेता चुनिनुको हो यो प्रतिफल,
    भोट हाल्दा मतदाताले सोचौँ पल पल।
    🌑म्यामराज राई
    हतुवागढी -६, होम्ताङ्, भोजपुर

    [३२]
    राहदानी बनाइयाे बारी बेचेर,
    मतदान गरौँ अब धेरै साेचेर ।
    🌑दिनेश कोइराला

    [३३]
    भोट त माग्छन् नेताहरू नोट बाँडेर,
    चुनाव जितेपछि सबै जान्छन् छाडेर।
    🌑मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार, बिर्तामोड झापा

    [३४]
    धूर्तहरू सारा देशको सत्तामा बसे,
    भाग्य खोज्दै युवाहरू खाडीतिर पसे।
    🌑बि.कुलुङ
    दार्जिलिङ

    [३५]
    बत्तिसौँ वर्षदेखि जनता खाँदै आ’काछन् धोका,
    जन्ता नै छन् भेडाहरू बाँड आश्वासनका पोका ।
    🌑ईशहाक हुसैन
    जीतपुर सिमरा १४ बारा

    [३६]
    भोटको दिन भोज गर्छु काटी सुङ्गुर पाडा,
    चुनाव जित्न हर्कत गर्छु बन्छु गती छाडा।
    🌑नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [३७]
    गर्नु छ खेती फेरि पनि झुटको यहाँ चुनाव जित्नलाई,
    लुकाउन अनुहार कति पो लाग्छ पाँच वर्ष बित्नलाई ।
    🌑राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [३८]
    युवा जति विदेश पठाई लाउँछन् धेरै फुर्ती,
    त्यहीँ युवाकाे रेमिट्यान्सले मासु रक्सी र सुर्ती ।
    🌑छत्र शाही

    [३९]
    भोट माग्दा नेताहरू त, सोझासाझा हुन्छन्
    जितेपछि जनता चुस्न अनेक् जाल बुन्छ्न् ।
    🌑नवीन विष्ट

    [४०]
    जितायाै फेरि जिताऊ, देशलाई बनाउँछु तारा,
    वारिपारि बेसाउने, स्वयम् बनाउँछु सर्वहारा ।
    🌑टंक बहादुर आले
    त्रियुगा नगरपालिका, उदयपुर

    [४१]
    चुनाव जितेर जनतालाई विदेश तिर पठाऔँ,
    राज्यको ढुकुटी जति भ्रष्टहरू मिलेर नै पचाऔँ ।
    🌑विक्रम तिरूवा सलिन
    जुम्ला

    [४२]
    जनतामाझ गएर सुनाउँदैछौ आश्वासनका कुरा,
    जितेपछि गरिब जनतामाथि गर्छौ
    कि प्रहार छुरा ?
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [४३]
    सारा युवा पिँढी राेजगारकाे लागि विदेशतिर धाउने,
    देश खाली हुन लाग्याे नेता यहाँ चुनावका गीत गाउने।
    🌑शाेभा अाचार्य गाैतम
    काठमाडाै

    [४४]
    नसम्झ दुवालो फर्काई माछा मारेजस्तो
    सबैलाई थाहा छ, पाइदैन भिसा सस्तो ।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया

    [४५]
    विदेश अनि खाडी पसी दु:ख गर्नु पर्दा,
    चुनावपछि दु:ख हुने भ्रष्टाचार गर्दा ।
    🌑लक्ष्मण देउवा
    आदर्श ५ डोटी

    [४६]
    भोट तेरो नोट मेरो भन्छौ सधैँ खाली, के देश बन्ला खै तिमीलाई भोट हाली ?
    🌑मिम पौडेल
    पोखरा -१७ बिरौटा

    [४७]
    भ्रम छर्ने मालिक भा’छन्, श्रम गर्ने नाेकर,
    कहिलेसम्म रहलान् नि हाम्रा यस्ता जाेकर ।
    🌑रामप्रसाद बेल्बासे ‘एक्लो यात्री’
    शीतगङ्गा-५,अर्घाखाँची
    हाल: बुद्धभूमि -३, कपिलवस्तु ।

    [४८]
    युवाहरू सबै विदेश लागे रित्तो बनाई गाउँ,
    बुढा नेताहरू देश बनाउन लड्दैछन् चुनाउ ।
    🌑दिपेन्द्र आचार्य

    [४९]
    नेता त्यो हो लिङ्ग छुटिएका बिचारका छक्का,
    नदी जस्तै भूगोल बेच्ने नेताका कुरा पक्का ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [५०]
    सुनो जित निश्चित है हमारी,
    तुम् लाेग् हमके कमारा कमारी ।
    🌑बासुदेव हुमागाई

    [५१]
    ढाँट्न छल्न सजिलो छ नेपाली सकल जन,
    छोड्नै मान्दैन सत्ताको मोहमा परेको मन ।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [५२]
    नेता तिम्राे त उता नि छ दसैँ आएको,
    यता हाम्राे त हेर साह्रै दशा लाएकाे ।
    🌑सुर्योदय दिपाली

    [५३]
    युवाहरूलाई विदेश पठाउँछु भनेर भोट माग्ने,
    नेपाल वृद्धआश्रम हो र घैटोमा घाम कहिले लाग्ने ।
    🌑दयावस सन्तोष दाहाल

    [५४]
    चुनाव अघिका कुरा, हाेला पूरा कति ?
    चुनावमा स्मार्टसिटी, आश्वासन जति।
    🌑राजन श्रेष्ठ

    [५५]
    फोस्रा गफ हाँक्छौ किन पचाएर शर्म ?
    जितेपछि तोडी हाल्छौ वाचा अनि धर्म ।
    🌑बाबुराम गौतम
    गुल्मी

    [५६]
    भाेट माग्न घर-घरमा नेताज्यू आए डुल्दै,
    जितेपछि देश जनता जान्छन् यिनले भुल्दै ।
    🌑दुर्गा भट्टराई
    मोरङ

    [५७]
    आफू बनेपछि अरूको किन गर्छन् र ख्याल ,
    आखिर सबैको उहीँ सत्ता हत्याउने चाल ।
    🌑गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [५८]
    युवा जति विदेश खेद, देशमा आफैँ राज गर,
    देश चाहे भाँडमा जाओस् आफ्नोे चाहिँ भुँडी भर।
    🌑मित्र `उराठी´ गाैतम
    अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा-२, रुपन्देही

    [५९]
    खेदेर भुरा बने बाम,
    विषालु पानी गुम्यो नाम।
    🌑झलकभट्टराई
    झापा

    [६०]
    जनतालाई मिथ्या नेपाल सिंगापुर बनाउने सपना देखायौ,
    लुटेरा र भ्रष्टाचारीको रुपमा इतिहासमा आफ्नो नाउँ लेखायौ।
    🌑करन बहादुर शाह
    डडेल्धुरा

    [६१]
    नेताहरूको कुरामा, नबुझी नबजाऔँ ताली,
    राम्रो नेता चुनेर सबैले पठाऔँ यसपाली ।
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [६२]
    काम गर्ने जनशक्ति सबै विदेशतिर,
    मलामी नि पाईन्न यहाँ पर्नुपर्यो पिर ।
    🌑सरिता सेढाई
    धादिङ

    [६३]
    चुनावको बेला लाउँछौ आश्वासनको गगनभेदी नारा,
    सिंहदरबार छिरेपछि त किन कुरा बिर्सी जान्छौ सारा ?
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [६४]
    विदेश गई नकमाएसम्म घरमा छाक टर्ने छैन,
    नेताहरूको भाषण मात्र ठूला-ठूला माखो मार्ने हैन ।
    🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !

    [६५]
    चुनावमा सधैँ ललिपप फ्याक्ने,
    सिद्धिएपछि अवश्य घाँटी ङ्याक्ने ।
    🌑युबकला पाण्डे
    रुपन्देही सिद्धार्थनगर

    [६६]
    धेरै सुनिन्छ यस्तो कुरा प्रत्येक चुनावको वेला,
    अब त जनताले पत्याउँदैनन् अति भयो रेला।
    🌑अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [६७]
    अहिलेनै हामीलाई मत दिएर हाम्रो विश्वास जित्नुस्,
    वैदेशिक रोजगारीमा पठाउँला तपाईं उतै बित्नुस्।
    🌑प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [६८]
    हाम्रा युवा विदेश खेद्ने अझै धनकाे लाेभमा पारी,
    राेजगार देशमा नदिइकन ,खेद्ने समुन्द्र तारी ?
    🌑रामप्रसाद पुरी
    बादेल,खाेटाङ ।

    [६९]
    थियो जनता, भयो नेता, झुटको खेती मन परायो,
    खाएका ति वाचा कसम, मगज खुस्क्यो सब हरायो ।
    🌑
    यामनाथ आचार्य
    पर्वत

    [७०]
    ढँटुवा ती नेताले राष्ट्रको सम्पत्ति हाम,
    वाध्यता हाम्रो विदेशिनु छैन यहाँ काम ।
    🌑राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ, भारत ।

    [७१]
    खाली कुरा गरेर देशको विकास गर्ने,
    आफूले खनेको खाल्डोमा स्वयम् आफैँ पर्ने ।
    🌑सरस्वती श्रेष्ठ

    [७२]
    जे जे बोल्छौ बोलीहाल, आइसक्यो मङ्सिर चार,
    हेक्का राख त्यसपछि पक्कै हुन्छ वार कि पार ।
    🌑ख्यामराज खतिवडा
    सूर्योदय 7 कन्याम इलाम

    [७३]
    पुग्न त पुग्यौ तिमी सट्टामा, निर्दोषको घाँटी रेटी,
    के पुगेन अझै पनि किन खोज्दछौ कोसेली भेटी ।
    🌑दिनेशसंगम
    कैलाली

    [७४]
    कर्तव्य निश्चितै हो चाँडै बन्नलाई म नेता,
    मात्र भोट चाहियो, फेरि फर्किन्न यता तेता।
    🌑अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [७५]
    भन्दाखेरि अनेक थरी दलहरू भन्छन्,
    खाने बेला भएपछि सबै एउटै बन्छन् !
    🌑इन्द्रकुमार श्रेष्ठ
    कमलाकुञ्ज,ओखलढुङ्गा।

    [७६]
    सबै युवा विदेशीए सारा,
    भोट कसले हाल्दछ प्यारा ।
    🌑सुमित्रा पोखरेल
    काठमाडौं

    [७७]
    आश्वासनका पाेका पनि हरे कस्ता कस्ता,
    चुनावैपिच्छे कुरा फेर्ने नेता बने सस्ता ।
    🌑प्रद्युम्न चालिसे
    देवघाट तनहुँ ।

    [७८]
    युवा जति विदेशमा बुढा-खाडा कति दाउने,
    बाँकी रहेका बिचराको पालो कहिले आउने ?
    🌑इन्दिरा गौतम

    [७९]
    नाटक पार्दै नेताहरू भाेट माग्न आउँछन् घरघर,
    चुनाव जितेपछि हेर्दैनन् कसैलाई, हुन्छन् परपर ।
    🌑उर्मिला के.शी
    धनकुटा

    [८०]
    जित वा हारपछि हाेला पहिलाे रह्याे नारा,
    काम तिमीले के गर्याै पहिला बताऊ सारा ।
    🌑कृष्ण अधिकारी
    विर्तामोड झापा

    [८१]
    देखावटी आश्वासन झुटमा खोज्छौ ताली,
    बुझेको छ साराले चुनावमा यसपाली।
    🌑सुरेखा चाम्लिंग राई
    भक्तपुर

    Leave a Reply