नव काव्यिक विधा चारु र टुक्काका दुई पुस्तकको विमोचन

  • ११ भाद्र २०७९, शनिबार ००:४५ मा प्रकाशित
  • काठमाडाैँ, १० भाद्र ।
    चारु साहित्य प्रतिष्ठानकाे आयाेजनामा आज एक कार्यक्रम बिच नव काव्यिक विधाका दुई पुस्तकहरू लाेकार्पण भएका छन् । उक्त पुस्तकहरूको लोकार्पण प्रमुख अतिथि रामकृष्ण वान्तवा र अन्य विशिष्ट अतिथिहरूले संयुक्तरूपमा गरेका थिए ।

    लोकार्पित हुने पुस्तकमा डा.देवी पन्थीद्वारा लिखित एवम् भुँडी पुराण प्रकाशनद्वारा प्रकाशित “गजलकाे सिद्धान्त र गजलकाे परिवर्तित स्वरुप चारु” तथा ताराप्रसाद चापागाईंद्वारा लिखित एवम् प्रकाशित “टुक्का कविता सङ्ग्रह” रहेका छन् ।

    तीज विशेष कार्यक्रम अन्तर्गत स्रष्टा भेटघाटको अवसर पारेर काठमाण्डौँ बागबजार स्थित हाेटल हार्दिकको काव्य हलमा उक्त पुस्तकहरू लोकार्पण गरिएको थियो । उक्त कार्यक्रमको सह-आयोजकमा खाेरिया साहित्य सृजना र टुक्का साहित्य समाज, नेपाल रहेको थियोे ।

    चारु प्रणेता डा.देवी पन्थीकाे सभापतित्व र वरिष्ठ साहित्यकार रामकृष्ण वान्तवाकाे प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समाजसेवीहरू कलानिधि दाहाल, युवराज नयाँघरे, उर्मिला पन्त पाण्डेय, गंगा कर्माचार्य पौडेल , माया पौडेल सुप्रभात भण्डारी , ध्रुवप्रसाद गजुरेल विशेष अतिथिको रूपमा उपस्थिति रहेको थियोे भने आमन्त्रित स्रष्टाहरुलाई खोरियाका प्रणेता जनार्दन अधिकारी धड्कनले स्वागत गरेका थिए ।

    कार्यक्रममा अध्यक्ष डा.देवी पन्थीले नेपालमा प्रवर्तन भएका विभिन्न विधा तथा उपविधाहरू सङ्गठित भएर सहकार्य गर्दै अगाडि बढ्नु पर्ने कुरामा जाेड दिंदै यो उद्देश्य पूरा गर्न “आविष्करण नेपाल” नामको संस्था गठन भैसकेको बताए । कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण वान्तवाले “आविष्करण नेपाल” का मनाेनित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

    प्रमुख अतिथि रामकृष्ण वान्तवाले गजलको विकल्पमा प्रयोगमा ल्याइएको चारुलाई नदी र समुन्द्रको पानीबाट बनेको बादलसँग तुलना गर्दै चारु रूपी बादलबाट संसारभरि पानी वर्षिने र चारु संसारभर फैलने जानकारी गराए । उनले चारुको लोकप्रियता नेपाल, भारत लगायत विश्वका अनेक देशमा दिनदिनै बढ्दै गरेको र यसबाट नेपाली साहित्यकार पनि साहित्यमा नयाँ प्रयोग गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह विश्वभर भएको बताए । उनले चारु, खोरिया, टुक्का कविता, उदक, एलाक, सन्देश, पञ्चाङ्ग, बाछिटा आदि नव विधाको उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

    कार्यक्रममा उपस्थित प्रतिनिधि स्रष्टाले चारु, खोरिया, टुक्का, एलाक, पञ्चाङ्ग, उदक, सन्देश , तीज गीत प्रस्तुत गरेका थिए। टुक्का कविताका प्रणेता ताराप्रसाद चापागाईंले सहयोगी संस्था प्याब्सन र अन्य सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रमको अन्त्यमा चारु प्रतिष्ठानको तर्फबाट तीज भोजको आयोजना गरिएको थियो ।
    कार्यक्रमको सञ्चालन सन्देशका प्रवर्तक ध्रुवप्रसाद गजुरेलले गरेका थिए ।

    Leave a Reply