प्रेम थापा ‘मन’का सुन्दर पञ्चाङ्गहरू

  • २९ असार २०७९, बुधबार ०९:०७ मा प्रकाशित
  • ✍️ प्रेम थापा ‘मन’, बागलुङ


    सोझाएको बन्दुकलाई म त धार्मिक त्रिशूल सम्झें
    हान्यौ मुटुमा छेद हुने गरि तर मैले फूल सम्झें
    खै कसरी चल्छ र , सकारात्मक भइ को बदल्छ र
    धोकाहरू नाचे आँखाभरि म त मायाको मूल सम्झें
    स्तम्भ नै ढालिदियौ ,अझ म विश्वासको अतूल सम्झें ।


    निमुखाहरूको पसिना सोस्ने पनि देखियो
    गरीबको खुसीमा आगो झोस्ने पनि देखियो
    सोझालाई कर तिराई , अझ तल गिराई ;
    श्रमिकका ती कुम्ला सधैं खोस्ने पनि देखियो
    नजिक बन्दै भ्रष्टलाई पोस्ने पनि देखियो ।


    आजकाल आफैलाई बिरानो बनाएको छु
    यिनै आँखाहरूलाई ओभानो बनाएको छु
    यी बानीहरू भाग्छन् चोटहरू सामान्य लाग्छन्
    मनको छानोलाई छिनोफानो बनाएको छु
    मैले मेरो मुटुलाई अचानो बनाएको छु ।


    को धाउँछ अनेक बाटो खोजेर बलियो आफ्नो तन भए
    को पाउँछ चाहेको सबै भाग्य नभई फगत मन भए
    किन मन हुन्थ्यो चन्चल , सधैं भरी नै हुन पर्थ्यो अटल
    शत्रु पनि एकदिन मिल्न आउँछ मद्दत सघन भए
    बलियो खम्बा पनि ठडिन्छ आफ्नासँग सुरम्य पन भए ।


    आजभोलि मन फाटेको पटक्कै मन पर्दैन
    त्यो अरुको कुरा काटेको पटक्कै मन पर्दैन
    मलाई लाग्थ्यो भर पर्नु विश्वास किन नगर्नु
    दम्भले एकार्का छाँटेको पटक्कै मन पर्दैन
    त्यो आश देखाई ढाँटेको पटक्कै मन पर्दैन


    झगडाले मात्र हुन्न दुश्मनको भाका बदल्नु पर्छ
    कुरीति अनि कुसंस्कारको सब नाका बदल्नु पर्छ
    नेपालमा देखियो सबै शासन , रैछन् यहाँ दुर्जन ;
    आऊ है सबै मिलेर समाजको खाका बदल्नु पर्छ
    मन भित्र सल्किएको दु:खका ती राँका बदल्नु पर्छ ।


    सुन्दर यो मार्गमा उठाउ पाउ किन दम्भ
    पौरख गरि आफूलाई पुराउ किन दम्भ
    सक्दो गर्ने हो, र नयाँ सोच विचार छर्ने हो
    सक्छौ भने अरु बिना नै रमाउ किन दम्भ
    अब आफू आफ्नै सन्सार बनाउ किन दम्भ ?


    बगलीमा छुरा बाहिर राम राम कहिलेसम्म
    देशलाई अझ पछि धकेल्ने काम कहिलेसम्म
    नेपाल बनायौ सस्तो,स्वार्थ अनि सत्ता मोह कस्तो
    बन्द,हड्ताल,आन्दोलन र चक्काजाम कहिलेसम्म
    देखियो अबन्नति यस्तो छलछाम कहिले सम्म ?

    Leave a Reply