उमङ्ग लघुकथासङ्ग्रहभित्र सङ्ग्रहित अधिकारीका उमङ्गहरू

  • २६ जेष्ठ २०७९, बिहीबार १७:०७ मा प्रकाशित
  • लघुकथाकार सत्या अधिकारीसॅंग प्रत्यक्ष रुपमा मेरो भेट भएको छैन् । तर उहाँको साहित्यिक लेखनसॅंग भने करिब एक वर्ष अगाडिबाट चिनापर्ची हुने मौका मिल्यो। मुहार पुस्तिकामा खोलिएका विभिन्न लघुकथा विशेष पेजहरूमा लघुकथामार्फत राम्ररीचिनेँ। उहाँको लघुकथा लेखनमा विषय छनौट तथा लेखन शैली राम्रो लाग्यो। त्यसकारण उहाँका लघुकथाहरू पढ्न आकर्षित भएँ, अनि पढिरहेँ ।

    परिणामत: डिजिटल प्रति मात्रै भए पनि यो सङ्ग्रह पढ्ने रहर लाग्यो। अनुरोध गरेँ । उहाँले बिना विलम्ब मेसेन्जरमा पठाइदिनुभयो। साथमा लेख्नुभएको थियो -“पढ्न मन गर्नुभएकोमा हार्दिक आभार ! फुर्सदमा पढेर जस्तो लाग्छ, त्यस्तै प्रतिक्रिया पनि पाऊॅं है,सर ! ”अवश्य,म्याडम।”मैले भनेँ।

    सत्या अधिकारी, कृतिकार

    सत्या अधिकारीको जन्म २०३० साल मंसिर २२ गते पिता इन्द्र विलास घिमिरे र माता सुर्यकुमारी घिमिरेकी सुपुत्रीको रूपमा श्रीमन्ज्याङ्- ५, लमजुङ्गमा भएको हो। हाल भने परिवारसहित सानेपा- २, ललितपुरमा बस्नुहुन्छ। उहाँको नेपाली साहित्यमा लेखनको श्रीगणेश ‘हिमाल,पहाड,तराई’ शीर्षकको कविता मुना मासिक बाल पत्रिका(२०७१,भदौ)मा र ‘उज्यालो छर्दै आए’ बालकथा राजधानी(२०७१,पौष ७)मा प्रकाशन गरेर भएको हो। सङ्ग्रहको रुपमा आएको यो उहाँको पहिलो हो। उहाँ एक सेवा निवृत्त अध्यापक हुनुहुन्छ भने हाल दरबार हाइस्कुलमा पुस्तकालय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ। सॅंगसॅंगै गृहस्थी जीवन सम्हाल्दै साहित्य लेखनतिर सक्रिय रुपमा लागिरहनुभएको छ। आज म उहाँको उमङ्ग लघुकथासङ्ग्रह बारेमा चर्चा गर्ने कोशिस गर्दैछु।

    उमङ्ग लघुकथासङ्ग्रह नेपाली साहित्यमा उदीयमान एक नारी हस्ताक्षर सत्या अधिकारीको लघुकथासङ्ग्रह हो, जुन लघुकथा विधाको भण्डारमा थपिएको छ। उहाँले उमङ्ग लघुकथासङ्ग्रह बजारमा ल्याएर कृति प्रकाशन गर्ने लघुकथाकारको सूचीमा आफ्नो नाम र परिचयदर्ता गर्नु भएको छ। यो खुसीको कुरा हो। नारी स्रष्टाद्वारा लिखित कृति हो यो। मैले सत्या अधिकारीको लघुकथाहरू पढेर नेपाली समाज पढेको अनुभूत गरेँ। डिजिटल नेपाली बृहत शब्दकोशको आधारमा ’उमङ्ग’ शब्द नाम हो।यसको अर्थमा लेखिएको छ – कुनै इच्छा लागेको काम गर्नलाई मनमा उब्जेको उत्साह, उल्लास, मनको उद्वेग, फुर्ती, तत्परता। यीनै सुन्दर शब्दबाट सङ्ग्रहलाई नाम दिइएको छ। सङ्ग्रहको आवरण पृष्ठमा एउटी नारी छे। जसले आफ्नो गृहस्थी जीवन यस्तो भइदिए हुन्थ्यो भन्ने एउटा मीठो सपना देखेकी छे। कल्पना गरेकी छे। आकर्षकरुपमा चित्रण गरिएको छ। शुभतारा स्कुलको प्रिन्सिपलको हैसियतले रानी गुरुङ कक्षपतिले सत्या अधिकारीको लागि प्रशंसाका शब्दहरू राख्नुभएको छ।

    म्यामराज राई, समीक्षक

    शुभकामना दिनुहुने लघुकथाकारहरूमा लता के सी र राजु क्षत्री अपुरो हुनुहुन्छ। यो कृति स्वर्गीय मातापिता सुर्यकुमारी घिमिरे तथा इन्द्रविलास घिमिरेप्रति समर्पण गर्नुभएको छ। वरिष्ठ लघुकथाकार एवम् लघुकथा विज्ञ ध्रुव मधिकर्मी तथा समालोचक, लघुकथाकार र लघुकथा विज्ञ डा. शेखर कुमार श्रेष्ठले भूमिका लेख्नुभएको छ। यस लघुकथासङ्ग्रहमा पचपन्न वटा लघुकथाहरू समावेश छन्। भत्ता शीर्षकको लघुकथामा मध्ये भागमा कथागत चित्र छ भने अरु सबैको सुरुमा राखिएको छ। हरेक लघुकथाहरू दुई पेजमा समापन गरिएकोमा ‘लाज’ र ‘भित्रि आँखा’ शीर्षकका लघुकथाहरू भने एउटै पृष्ठमा अटाइएको छ।

    यो सङ्ग्रहमा सङ्ग्रहित लघुकथाहरू मध्ये सबैभन्दा छोटो विभेद शीर्षकको लघुकथा भेटेँ । जुन ७६ शब्दमा सृजित छ। सत्या अधिकारीको पच्चीस ओटा लघुकथामा पात्रगत रुपमा प्रथम पुरुष(म/हामी) प्रयोग भएका छन्। सङ्ग्रहित लघुकथाहरूमा मानव र मानवेतर दुवैखाले पात्रहरू प्रयोग गरिएको छ। लघुकथाहरू पुकार, जन्मथलो, खिर, शपथ, अल्छी आदिमा मानव र मानवेतर दुवै किसिमका पात्रहरू छन्। प्रयोग भएका मानवेतर पात्रहरू ’पुकार’मा खोला, ’जन्मथलो’मा झुपडी, ’खिर’मा मृतात्मा, ’शपथ’मा कोठा र ‘अल्छी’मा बकुला आदि हुन्। राहत शीर्षकको लघुकथा मनोवाद शैलीमा लेखिएको छ भने पात्रमा प्रथम पुरुष प्रयोग गरिएको छ। पुरुष पात्र मात्रै प्रयोग गरी लेखिएका लघुकथाहरूमा सम्बन्ध, गुरु र बाबुको मन आदि हुन् भने नारी पात्र मात्रले सिर्जना गरिएका लघुकथाहरूमा ठक्कर र खुसी शीर्षकका हुन्।त्यस्तैगरी प्रमुख पात्र अथवा कथाको नेपथ्यमा पुरुष पात्र या नारी पात्र मध्ये कुनै पनि एक हुन सक्ने लघुकथाहरूमा राहत, योग्य लडाकु, देशप्रेम, आत्मसम्मान, बोर्डिङ स्कुल र पुकार आदि छन्।

    साहित्य एउटा समाजको दर्पण हो,भनिन्छ। सत्या अधिकारी पनि एउटा दर्पण बन्न सफल हुनुभएको महसुस गरेँ। विश्वलाई तहसनहस बनाउने कोरोना महामारीबारे सचेतना फैलाउनु भएको छ। अर्कोतिर भयावह अवस्थाको कथामार्फत सर्लक्क उतार्नुभएको भेटिन्छ। उहाँको कोरोनाकालीन लघुकथाहरूमा सोच, खुसी, जुक्ति, आघात, विकल्प, दाइजो, दुई जिब्रे, आत्मसम्मान आदि हुन्। ‘सुन्दर बस्ती’मा सुदुर गाउॅंमा बोलिने लवजमा पात्रले बोलेको बोली र ‘सहर’मा नेवा समाजमा बोलिएको लवजको संवाद अस्वाभाविक लाग्दैन। दोहोरो या एकोहोरो संवाद हुनु, लघुकथाको सुगन्ध मानिन्छ। जुन सबै लघुकथामा सहजै भेटिन्छ। ‘राहत’मा वास्तविक पीडितकोमा राहत पुराउन नसक्ने सरकारप्रति व्यङ्ग्य छ।

    त्यस्तै ’विभेद’मा पितृसत्तात्मक सोचप्रति कटाक्ष गरिएको छ भने ‘योग्य लडाकु’मा ‘काम परे भाँडो नपरे ठाडो’ भन्ने उखानझैँ क्रान्तिकारी नेतृत्वप्रति विरोध गरिएको छ। ’देशप्रेम’ शीर्षकको लघुकथामा अभिभावकको अङ्ग्रेजी भाषाप्रति बढेको मोहले नवपुस्तामा हाम्रो राष्ट्रिय भाषा के हो?भन्ने बिर्सेलान् भनी गरिएको पर्दाफास छ। कोरोनाले खानेकुरा सकिएर पीडित बनेको पात्र नि:शुल्क बाँड्दै गरेको ठाउॅंमा गएपनि फोटो या भिडियोको लागि तेर्सिएका क्यामेरा देखी आत्मसम्मानको ख्याल गर्दै खानै नखाएको दृष्य कैद छ, ‘आत्मसम्मान’मा। ’बिटुलो’मा छोरी मान्छेमा हुने नियमित प्रकिया महिनावारीलाई अभिशाप ठान्ने आमा र हजुरआमा पात्रहरू समयान्तरमा परिवर्तन भई त्यहीँ विषयको अभियन्ता बनेका छन्। जनचेतनामूलक कथा छ। ’पहिचान’मा बाहिरी लवाइमा मान्छेलाई मूल्याङ्कन गर्नुहुँदैन भन्ने सार छ। ’डिभी’मा नेपालमा प्राध्यापक जस्तो गरिमामय पेशा भए पनि अमेरिका भनेपछि हुरुक्क हुने र त्यहाँ जस्तोसुकै काममा दलिन तयार व्यक्तिको कथा छ। हुन त विकसित देशमा काम सानो-ठूलो मान्दैनन्। ’ठक्कर’ले उमेर, समय र परिस्थिति अनुसार आफ्नो काम आफैँले गर्न प्रोत्साहन दिन्छ। ’सहर’मा छोरी पनि छोरो समान हुन सक्छिन् भन्ने दरो प्रमाण पेश भएको कथा छ।

    साथै ’सम्बन्ध’मा सम्पत्तिले भाइबीच फुट हुनसक्छ भन्ने सार पाइन्छ। ’उमङ्ग’मा एउटी गृहस्थ महिलाले गर्ने स्वाभाविक कल्पना छ। सुन्दर सपना लाग्यो। ’पुकार’मा नदी छेउ वृक्षारोपण गर्नुपर्छ र जथाभावी बालुवा- गिट्टी निकाल्नु हुँदैन भन्ने जनचेतना फैलाएको छ। ’शपथ’मा जुन जोगी आए पनि कानै चिरेका भन्ने उखानको चरितार्थ भएको छ भने ‘अल्छी’मा लोभले लाभ, लाभले विलाप भनेझैँ भएको कथा छ। ’भित्रिआँखा’मा विशेष क्षमता भएका व्यक्तिहरूलाई प्रोत्साहन गरिएको छ भने ‘लाज’मा यौन पिपासुहरूबाट विक्षिप्त बनेकी नारीको मर्मस्पर्शी पीडा समेटिएको छ।

    त्यस्तै ’खुसी’मा अनलाइन कक्षाभन्दा भौतिक उपस्थितिको कक्षा उपयोगी र प्रभावकारी हुन्छ भन्ने दर्शाइएको बालमनोविज्ञानमा आधारित कथा समावेश छ। चिन्ता शीर्षकको लघुकथामा प्रश्न गर्नै नपर्ने दिन आइदिएहुन्थ्यो भन्दै समृद्धिको सपना पूरा भएको दिनको सुन्दर कल्पना गरिएको छ।

    उहाँको बाँकी लघुकथाहरू भनेको एउटा समयको मागसॅंगै जन्मेका समसामयिक कथाहरू हुन्, जस्तो लाग्छ। समकालीन कथाहरू छन्। उहाँ समाजका विभिन्न चरित्रहरूको प्रवृत्ति, मानवीय सचेतनामा आएको परिवर्तन, वैदेशिक रोजगारीप्रतिको रहर र बाध्यात्मक मोह, पितृसत्तात्मक सोच, लिङ्गीय विभेद, महिलाप्रति प्रत्यक्ष परोक्ष हिंसा, राजनीतिक विसंगति, सामाजिक आडम्बर आदि विषय माथि पर्दाफास गर्न सफल हुनुभएको पाएँ।

    सङ्ग्रहमा आफ्नो बाल्यकालदेखि अनुभव गर्दै आएका कुरालाई लघुकथाहरूमा समेटेको बताउने अधिकारीले आफ्नो घरभित्रदेखि टोल,समाज र आफूले काम गर्ने कार्यस्थलसम्मका कहानीहरू सङ्ग्रहित गर्न नछुटाएको उहाँको दाबी प्रमाणित भएको पाइन्छ। आँखाले देखेको, प्रत्यक्ष भोगेको र सुनेको घटनाहरूलाई टपक्क टिपेर लघुकथाको मालामा उन्नुभएको सहजै कथा उठानमा महसुस गर्न सकिन्छ।
    मलाई व्यक्तिगत रुपमा सबै उत्तिकै मन पर्यो। जसमध्ये असाध्यै मन परेका लघुकथाहरूमा उमङ्ग, विभेद, बिटुलो, अल्छी, खुसी, शपथ, ठक्कर, सम्बन्ध, पुकार, खुशी आदि हुन्।

    प्रकाशक – अक्षरधाम प्रकाशन प्रा.लि.
    आवरण चित्र – नीरबहादुर याख्खा
    साजसज्जा – प्रकाश समीर
    मुल्य – दुई सय पचास

    अन्त्यमा, कृति सफलताको हार्दिक शुभकामना।

    म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

    Leave a Reply