साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३५औँ शृङ्खला शनिबार सम्पन्न

  • १८ जेष्ठ २०७९, बुधबार ०८:०० मा प्रकाशित
  • काठमाडौ, १४ जेठ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३५औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ३५ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३५औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    जीत सधैँ खरो नहुँन सक्छ, यथार्थको कराहीमा,
    हारेर पनि जीत हुन्छ रे, आफ्नै घरको लडाइँमा ।
    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    कसैलाई सरकारमा जान हतार थियो गयो,
    मलाई त चुनाव लड्नु समेत ठुलो जित भयो।
    ✍️
    सुरेशकुमार पान्डे
    दाङ घोराही१८

    [२]
    स्वच्छ प्रतिस्पर्धाकाे लडाइँमा जित्दा धेरै राम्राे,
    जालझेल र कुटनीतिले बिग्रियाे छवि हाम्राे ।
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी, हाल प्रवास

    [३]
    राजनीतिमा जीत उसैको हुन्छ,
    जसले नित्य दीनको पाउ छुन्छ।
    ✍️
    बिके मुखिया,
    सिग्रीमताम बस्ती दार्जीलिङ, भारत।

    [४]
    बिना कुलो गन्तव्यसम्म पुग्न बग्दैन पानी,
    नसके त लड्न चुनौतीसँग गर्नेछ हानी ।
    ✍️
    होम प्रसाद
    धरान,सुनसरी ।

    [५]
    हारजित हुने जान्दाजान्दै भन, चुनाव लड्यौ किन,
    अब कसरी तिर्छौ चुनावमा बाँडेको पैसाको रिन ?
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    [६]
    लु भन्नुस् आखिरमा कसले खै कति जितेर लान्छ?
    आखिर सबै मान्छे यो संसारबाट बितेर जान्छ ।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ

    [७]
    लङ्कामा युद्ध भयो रामको रावण सित,
    हिम्मत भए स्वतन्त्र भै अझै पनि जित ।
    ✍️
    माहादेव भट्ट
    दशरथ चन्द नगरपालिका 01 गुरुखोला कलौन

    [८]
    अकलुषित स्वच्छ ढङ्गले पो जित्दा राम्रो हुन्छ,
    शालीन जीतले मात्रै प्रगतिको मन्जिल छुन्छ ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [९]
    सम्झना हाेला कसैलाई बाबै हिजोको खनिउँ,
    जित्नेकाे हातमा हुने नै भयाे डाडु र पनिउँ ।
    ✍️
    `प्रीतबीज´
    गाेरखा

    [१०]
    चाहे कुलो जता खनियोस्, मतलब भएन,
    तर खनिएको कुलोमा, पानी किन गएन ?
    ✍️
    प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [११]
    हारजित दलदलकाे जे हाेस् जनताकाे होस् जित,
    हारजित ब्यक्ति ब्यक्तिमा जे हाेस् नेपालकाे होस् हित ।
    ✍️
    निरज काेइराला
    बेलका १ उदयपुर

    [१२]
    देखाउन मात्र गर्छन् कुरा, हुन्छ गहिरो नाता,
    जसले जतिसुकै भनोस् बस्छन् मिली भई भ्राता ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१३]
    भिजन सोधौं अरूको चिन्हबाट जित्ने कतिलाई,
    मान गरौं गठबन्धनमा त्याग गर्ने जतिलाई ।
    ✍️
    म्यामराज राई
    भोजपुर

    [१४]
    चुनावमा उत्रेपछि हुन्छ जित हार,
    मुख्य कुरा पहिले आफ्नाे मति सपार ।
    ✍️
    प्रद्युम्न चालिसे

    [१५]
    कोही हारेर पनि प्रगतिमा लगाउँछन् मीत,
    आडम्बरले नै कोही पोखिन्छन् भए पनि जीत ।
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ

    [१६]
    मृत्युसँग लडेर पशु पुगे कराहीमा नुनसँगै भुटिन,
    यता मानिस भुटन खादै थाले हर्षले आनन्दमा कुटिन।
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [१७]
    एकै देश उही समाज नियम हो हार र जीत,
    हारेकालाई नि साथ लिई गराैं लगाए झैँ मीत ।
    ✍️
    रामप्रसाद पुरी
    ऐसेलुखर्क २ बादेल,खाेटाङ

    [१८]
    जिते पनि हार्न सक्छाै लत छाड्न थाले,
    शिराेपर गर आज्ञा जे जे भन्छन् बाले ।
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।

    [१९]
    अङ्गार खाएर आगो ओकल्दैमा हुने कुरा के छर ?
    हारजितमा नअल्झी लौ जनताको माग पूरा गर ।
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर – २ झापा

    [२०]
    मनको जित दीगो हुन्छ धनको भर हुन्न,
    स्वच्छ रहे प्रतिस्पर्धा कुनै डरले नि छुन्न ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा

    [२१]
    चुनाव एउटा खेल न हो, पक्कै हारजित हुन्छ,
    जीत उसको हुन्छ, जसले जनताको मन छुन्छ ।
    ✍️
    बुद्धिमान दनुवार
    कनकाई नगरपालिका ४ झापा

    [२२]
    स्वीकार्नुपर्छ हार होस्, वा जित किन सरोकार,
    विचार सत्य बोकेनौ भने, के दिन्छौ अधिकार ?
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२३]
    जित हार भन्ने कुरा प्रकृतिको हो ऐन,
    बिर्सिएर सबैकुरा बटुल्नुपर्छ चैन ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [२४]
    जीते भनेर किच्च दाँत देखाएर मात्र हुने भए,
    विकास नगर्नेहरू त हारेर खोलैखोला नै गए ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [२५]
    न अर्थ नत कुनै महत्व छ, जीत-हारको हिजोआज,
    व्यर्थको ढाकछोपले चलेको छ, प्रजातन्त्र लाजकाज।
    ✍️
    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [२६]
    स्वच्छ प्रतिस्पर्धा गरेर कामगर्दा हेर हुन्छ जित हार,
    नेताज्यूहरू आ-आफ्नो विवेक बुद्धि मति लौ आफैं सपार ।
    ✍️
    बेदु न्यौपाने भोजपुर
    हाल निवास काठमाडौ

    [२७]
    लेखिएका टुक्का जब सोचेर निकालेर फालिए,
    यताबाट फालिनुभन्दा राम्रो आफैं लेख्न छाडिए ।
    ✍️
    पौडेल विमुन्स

    [२८]
    रितिरिवाज नै हो यो पनि कहिले जित कहिले हार,
    सहज रुपमा लिनुपर्छ जनताको आक्रोश र प्यार ।
    ✍️
    सुरेखा चाम्लिंग**
    -भक्तपुर//

    [२९]
    हारजित सधैँ हुन्छ आपसमा वैरभाव किन भयो,
    अर्कालाई हानेको बन्चरोले आफ्नै खुट्टामा लाग्न गयो।
    ✍️
    मल्ल लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [३०]
    जसले हरेक जनताको मनमा छुन्छ,
    माथिदेखि तलसम्म जीत उसकै हुन्छ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [३१]
    प्रयत्न सदा जारी राख्नु, हारजित जे भएपनि,
    झुक्ने गर्दछ विवेकशील मान्छे कलम झैँ बनि ।
    ✍️
    जिकुमार गौतम

    [३२]
    उसले खुट्टादेखि शीर सम्म माला लगायो,
    जीतमा मासुभात खाएर दुनियाँ अघायो ।
    ✍️
    कर्ण दयाल
    मेलौली नगरपालिका ७ , बैतडी

    [३३]
    नियम नै हाे चुनावको हुने गर्छ हारजित,
    अब मिली अघि बढ मैत्री भावले गर्दै हित ।
    ✍️
    रामकृष्ण रिजाल

    [३४]
    न जीत न हार किन आफ्नैसँग पनि गर्नु लँडाइ,
    रिस र घृणा ब्यर्थ हुन् यसमा कसैको हुन्न भलाइ ।
    ✍️
    गोपालकृष्ण डंगोल
    काठमाण्डौँ हाल इटहरी

    [३५]
    जिन्दगी एक खेल हो, कहिले हार कहिले जित,
    आफ्नै टाढा हुन्छ कहिले, पराइ बन्छ साक्खै मित ।
    ✍️
    वसन्त अनुभव
    घोराही उ.म.न.पा.१४, दाङ

    Leave a Reply