
यमुना प्रधानाङ्ग ‘मुना’को ‘उपहार’ लघुकथालाई हेर्दा
✍️ शेखर अर्याल
विषयप्रवेश
यमुना प्रधानाङ्ग लघुकथा, गीत र कवितालाई आत्मसाथ गर्ने व्यक्ति हुन् । पछिल्लो समयमा उनको लघुकथा विधामा ज्यादा लगाव रहेको देखिन्छ । उनले आफूलाई साहित्यमा ‘मुना’ भन्न रुचाउँछिन् । लघुकथाकार यमुना प्रधानाङ्गको जन्म माता कृष्णकुमारी श्रेष्ठ र पिता गोविन्दमान श्रेष्ठबाट वि. सं. २०२१ साल मङ्सिर १७ गते साविकको भैरवी गा. वि. स. भुटोल बजार, नुवाकोट जिल्लामा भएको हो । उनको स्थायी बसोबास वीरगञ्ज – ११, मिनबजार, पर्सा रहेको छ । उनले औपचरिक रुपमा आइ.ए. सम्मको शिक्षा हासिल गरेकी छन् । सरकारी सेवा, शाखा अधिकृत पदबाट सेवानिवृत्त प्रधानाङ्गको लघुकथा लेखन यात्रा वि. सं. २०७५ सालदेखि भए पनि निरन्तर रुपमा २०७७ सालदेखि अगाडि बढेको देखिन्छ । उनी लघुकथाकार, कवि, गीतकारका रुपमा आफ्नो पहिचान कायम गर्न सफल छिन् । उनका आमा कविता सङ्ग्रह (२०७६), मुना गीत एल्बम (२०६८), बुद्धको देश गीती सङ्ग्रह (२०७०), प्रकाशित छन् । उनका लघुकथा भने विभिन्न पत्रपत्रिका तथा अनलाइन पत्रिकामा प्रकाशित भएका छन् ।
यमुना प्रधानाङ्गलाई लघुकथाकारका रुपमा हेर्दा उनका लघुकथामा नारीचेतना, वर्गीय विभेद, सामाजिक सचेतता, सामाजिक अन्याय, अत्याचार, दमन, विभेद राजनीतिक विषमता, आर्थिक अभाव जस्ता विशेषता रहेका छन् । यमुना प्रधानाङ्ग मुनाका पत्रपत्रिकामा प्रकाशित विभिन्न लघुकथामध्ये यहाँ उनको उपहार लघुकथालाई विविध कोणबाट पर्गेल्न खोजिएको छ :
कथानक
‘उपहार’ लघुकथा महिला र पुरुषबिचको विभेदलाई आधार मानेर लेखिएको छ । जसमा पुरुषसत्ताले महिलामाथि गरेके व्यवहारलाई उजागर गर्नुका साथै समयसन्दर्भ सँगै पुरुषसत्तामा चेत खुलेको कुरामा आधारित रहेको छ । पतिले भावनालाई सुख दिन नसकेको प्रसङ्ग निकाल्दै माफी मागेको अवस्थाबाट लघुकथाको विषयवस्तु आरम्भ भएको छ । पतिले माफी माग्ने कुरा कसरी आयो ? भनी भावनाले प्रतिप्रश्न गरेकी छन् । यसमा पतिले पहिले नै यो सोच आउनुपर्ने भन्दै आफूले श्रीमतीलाई केही सहयोग नगरेको कुरा पतिबाट अभिव्यक्त हुँदा विवाह वर्षगाँठको छोराछोरीले शुभकामना र उपहार दिएका छन् । पतिको विचारमा आएको परिवर्तनले हर्षित बनेकी भावनाले छोराछोरीले उपहार खोई भन्दा तिम्रो बाबाले पहिले नै उपहार दिइसक्नुभयो भन्दै आँसु खसालेकी छन् । यसै क्रममा पश्चातापको कारण पतिको आँखाबाट पनि आँसु खसेसँगै कथानक समाप्त भएको छ । कथाको विषय र घटनाक्रम सहसम्बन्धित रहेको छ । श्रीमानले भावनालाई भनेको कुरा समाप्त नभई छोराछोरीले उपहार र शुभकामना दिएको प्रसङ्गले कथानकमा प्रष्टता ल्याएको देखिन्न तर पनि कथानक र विषयको तारतम्यता भने मिलेको छ । कथानकलाई गति प्रदान गर्नका लागि कथाकारले भावनालाई सशक्त बनाएर विषायवस्तुलाई अगाडि बढाउन सहयोग गरेकाले यसमा तृतीय दृष्टिविन्दुको प्रयोग भएको छ ।
पात्र वा चरित्र
‘उपहार’ लघुकथामा भावना पति र छोराछोरी पात्रका रुपमा आएका छन् । प्रस्तुत पात्रमध्ये भावना मुख्य पात्र हुन् । भावना एक पत्नी हुन् । उनी घरको हरेक काम गर्ने र जागिर पनि खाने काम गर्छिन् । श्रीमान् छोराछोरी र घरपरिवारको व्यवस्थापन गरी आफ्नो कामसमेत भ्याउने भावना असल, कर्तव्यनिष्ठ, विवेकी, मिहिनेती पात्रका रुपमा रहेकी छन् । पहिला जसले श्रीमानको सहयोगसमेत पाउन सकेकी छैनन् । पछि श्रीमानले सुख दिन नसकेको कुराले भावुक बनेकी छन् । छोराछोरीले विवाहको वर्षगाँठमा बुबाले दिएको उपहार खोई भन्दा पहिले नै सुखको उपहार पाएको भाव व्यक्त गर्ने पात्र हुन् । लघुकथाका अर्का पात्र पति आफ्नी श्रीमतीको दुख बुझ्न नसक्ने, घरको काममा सहयोग नगर्ने, आफ्नै कुरामा जिद्धि गर्ने र पुरुषत्व बढी देखाउने पात्र हुन् । लगनशील तथा कर्तव्यनिष्ठ श्रीमतीको व्यवहारले अन्त्यमा मनस्थिति परिवर्तन भई पश्चाताप गर्ने पात्रका रुपमा देखिएका छन् । कथामा आएका छोराछोरीको भूमिका गौँण छ । उनीहरुले वर्षगाँठको समयमा आमाबुबालाई शुभकामना र उपहार दिने असल सन्तानका रुपमा देखिएका छन् । पात्रले कथानकलाई गति प्रदान गर्नुका साथै सामाजिक अवस्थालाई यथार्थपरक ढङ्गले प्रस्तुत गरेका छन् जसले गर्दा पात्र चयनका हिसाबले कथा सफल देखिन्छ ।
परिवेश
उपहार लघुकथाको परिवेश नेपाली समाजको सहरीय परिवेशमा आधारित छ । लघुकथामा आएका बाहिर काम गर्ने, छोराछोरीले विवाह वर्षगाँठमा उपहार दिने, शुभकामना दिने, फूलमाला लगाइदिने जस्ता विषयले सहरीया परिवेशको सङ्केत गरेको छ । भावनाको घरको वातावरण र पतिको घरको वातावरण स्थानगत परिवेशको रुपमा आएको छ । समयगत हिसाबले हेर्दा रातको १२ बजेबाट सुरु भएर बिहानको १० बजेसम्मको अर्थात् एक रातको समय यसले समातेको देखिन्छ । यसरी हेर्दा परिवेश प्रत्यक्ष ढङ्गबाट नदेखिए पनि परिवेशले समातेको विषयवस्तु भने सार्थक रहेको छ । यसले गर्दा विषयवस्तुलाई परिवेशले बाँध्न सकेको देखिन्छ ।
उद्देश्य
उपहार लघुकथाको मूल उद्देश्य नारी र पुरुषबिचको असमानता देखाउनु हो । पुरुषसत्ताबाट नारीसत्ता पिल्सनु, महिलाका कुरा मान्नु हुन्न भन्ने प्रवृत्ति देखाउनु, नारीप्रतिको परम्परावादी सोच त्याग्नुपर्छ भन्ने कुराको सङ्केत गर्नु, नारी र पुरुषाबिच सहसम्बन्ध रहनुपर्छ भन्ने परम्परावादी सोचबाट उन्मुक्त हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ । महिलाले पुरुषले भनेका हरेक कुरा मान्नु पर्ने तर महिलाले भनेका कुरामा चासो नदिनु, घरका हरेक काम महिलाले मात्र गर्नुपर्छ भन्ने सोच राख्नु, घरको जिम्मेवारी सबै महिलाले पूरा गरी घरका सबैलाई खुसी तुल्याउनु पर्ने कुराको चित्रण गर्नु, परिवर्तित समाजमा आधुनिक परिवर्तनशील चिन्तन भएका पुरुषको सोचमा परिवर्तन आएको अवस्था देखाइएको छ । यस लघुकथामा लगनशील महिला जसले निरन्तर रुपमा अफ्नो काम गर्दै जाँदा पुरुष चरित्रमा परिवर्तन आएको छ । घरको काम पनि बाहिरी काम जस्तै नारीपुरुष मिलेर गर्नुपर्छ भन्ने सन्देश प्रदान गर्नु लघुकथाको मूल उद्देश्य हो ।
भाषाशैली
यमुना प्रधानाङ्गको ‘उपहार’ लघुकथामा ६ अनुच्छेद र १२१ शब्द रहेका छन् । यो लघुकथा रैखिक संरचनामा संरचित छ । सरल, सहज र स्वभाविक भाषाशैली रहेको यो कथा बोधगम्य रहेको छ । व्याकरणिक रुपले वाक्यात्म संरचनामा कसरमसर रहे पनि भाव र अर्थका हिसाबले स्वभाविक रहेको छ । विषयवस्तुलाई स्वादिलो बनाई विवरणात्मक ढङ्गले प्रस्तुत भएकाले भाषिक प्रयोग उचित देखिन्छ । तत्सम, तद्भव र आगन्तुक शब्दको सही प्रयोगले भाषाशैलीमा निख्खरता देखिन्छ । विषयवस्तुअनुसारको भाषिक प्रयोग र पात्रानुकूलको भाषिक उपयोगले प्रयोगले लघुकथाको भाषाशैली उपयुक्त रहेको छ ।
शीर्षक
‘उपहार’ लघुकथा एक शब्दमा संरचित छ । ‘उपहार’ नाम शब्द हो । कुनै खुसियालीका प्रसङ्गमा मान्यजन वा मित्रलाई दिइने भेट, कोसेली, सौगात नै उपहार हो । यस लघुकथामा पनि भावनालाई पतिले लामो समयपछि आफूले घरको काममा सहयोग नगरेकोमा पश्चाताप गरेको कुरालाई अभिव्यक्त गरेको छ । त्यस्तै आमाबुबाको विवाह वर्षगाँठमा छोराछोरीले उपहार दिएको र बुबाले के उपहार दिनुभयो ? भन्दा अगाडि नै अमूल्य उपहार दिएको कुराले कथाको विषयवस्तु र शीर्षकबिच सहसम्बन्ध रहेको देखिन्छ । लघुकथामा वर्णित घटनाक्रमअनुसार उपहारको भूमिका र स्थान महत्त्वपूर्ण रहेकाले शीर्षक चयनका हिसाबले पनि लघुकथा सार्थक र सफल रहेको छ ।
निष्कर्ष
यमुना प्रधानाङ्गको ‘उपहार’ लघुकथा सामाजिक तथा नारीवादी सोचमा आधारित रहेको छ । हाम्रो समाजमा अझै पनि पुरुषबाट नारीप्रति गरिने व्यवहार कस्तो छ ? घरपिरवारको काम सबै महिलाले गरुन् भन्ने सोच रहेको र त्यो सोच समाज परिवर्तन सँगै पुरुषसत्तामा आएको परिवर्तनले महिलाप्रति गर्ने व्यवहार र सोचाइमा परिवर्तन आएको विषय देखाइएको छ । पुरुषले पनि घरको काममा सहयोग गर्नुपर्छ र घरायसी काम महिला पुरुष मिलेर गर्नुपर्छ, घरको सबै काम महिलाले मात्रै गर्नुपर्छ भन्ने परम्परावादी मान्यता हट्नुपर्छ भन्ने सन्देश प्रदान गरेको छ । लघुकथाको आयम, दृष्टिकोण, कथानक, पात्रको चयन, परिवेश, उद्देश्य र भाषाशैलीको उपयोगले लघुकथा सबल रहेको छ ।
लघुकथा : उपहार
यमुना प्रधानाङ्ग ‘मुना’
भावनाको पतिले रातको १२ बजे उठेर भन्दै थिए, “जून जस्ती मेरी भावनालाई कहिल्यै सुख दिइनँ । मलाई माफ गर है !”
भावनाले अचम्म मान्दै पतिको मुखमा हेर्दै भनिन् -“होइन्, आज हजुरलाई कताबाट आयो यस्तो कुरा ?!”
“यो कुरा मलाई पहिल्यै आउनु पर्थ्यो भावना ! तिमीलाई कति दुःख दिएँ । सधैँ आफ्नै कुरा माथि राखेँ । तिमी पनि बाहिर काम गर्छौ, कहिल्यै पनि तिम्रो कामको कदर गरिनँ । तिमीलाई बिहान उठेदेखि भ्याइनभ्याइ हुन्थ्यो, कहिल्यै सहयोगको हात बढाइनँ, हगि ?” भन्दै गर्दा, “बुबाआमा ! हजुरहरूलाई विवाह वर्षगाँठको हार्दिक मङ्गलमय शुभकामना !” भन्दै छोराछोरीले झ्याम्म अँगालो मारे र फूलमाला लगाइ दिदै उपहार दिए ।
भावनाले भनिन् – “बाबु ! नानी ! तिमीहरुले भन्दा पहिले नै तिम्रा बाबाले मलाइ उपहार दिई सक्नुभयो ।”
छोराछोरी- “खोइ ! बाबाले दिनुभएको उपहार ?” भन्दै यताउति खोज्न थाले ।
उनीहरूका भने आँखामा आँसु टिलपिलाइ रहेका थिए । सायद, श्रीमतीको हर्षको, श्रीमानको पश्चातापको ।
वीरगन्ज, पर्सा ; हाल : इमाडोल, ललितपुर

