साताका तीन लघुकथा

  • १९ चैत्र २०७८, शनिबार १६:४३ मा प्रकाशित
  • साताका तीन लघुकथाको एघारौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (शावक सालिक, पीडा बोध र उहाँलाई प्रश्न) छनोट गरी प्रकाशन गरिएको छ।

    [१] लघुकथा : शावक सालिक

    ✍️ कात्यायन
    म अभावमा थिएँ । भाव बनाउँदै थिएँ । वृत्ति खोज्दै थिएँ । मनोदशा आइन्, र भनिन्, “मेरो निकट आऊ !”

    उनको समीप गएँ । उनी उदाङ्गिन् । तानिन् र भनिन्, “मलाई स्पर्श गर ! अङ्गालोमा लिऊ ! चिथोर !”

    गहिरो निश्वास लिएँ । छोएँ । बेस्सरी च्यापेँ । उनलाई आफूभित्र आत्मसात गर्न खोजेँ । सकसकाएँ । तुलबुलाएँ । जति आफू भित्रभित्र लिन खोज्दै थिएँ, मनोदशालाई ; त्यति नै परपर पुग्दै थिइन् , उनी !

    एक्कासि उनले चिमोट्दै पर धकेलिन् , मलाई ! लडखडाउँदै लथालिङ्ग भएकी उनलाई नियालेँ । न मभित्र कुनै मनोदशा थियो । न मनोदशा भित्र कुनै भाव ! उनलाई मैले भनेँ, “तिमीमा कोमलता रहेनछ !”

    लतपतिएको रङ्ग पुछ्दै उनले भनिन्, “तिमी त झन् शावक सालिक मात्र रहेछौ !”
    चावहिल, काठमाडौँ – ७

    [२] लघुकथा : पीडा बोध

    ✍️ चेतनाथ दाहाल
    आँगनको डिलमा फुलिरहेका सुन्दर फूलहरूलाई हेरेर मन बहलाउने बानी परेको थियो, रामहरिलाई। सुन्दर फूलहरूले उसको घरलाई शोभा पनि दिएका थिए । थुङ्गा थुङ्गा सुम्सुम्याउँदै हर्षीत् मुद्रामा गोडमेल र पानी हाल्ने कर्म छुटाउदैनथ्यो ऊ ।

    कसैले मागेर, कसैले नमागीकन बेलाबेला टिपेर लाने गर्थे। ऊ मनमनै सोच्थ्यो “जे होस् मैले धर्म पनि कमाएको छु।”

    ऊ कल्पना गर्थ्यो “मेरो आँगनका फूलहरूले कतिका गला सजिए होलान्, कति मन्दिरका देवताहरू पुजीए होलान् ! कतै कसैको अन्तिम श्रद्धाञ्जलीमा साथ दिन पनि पुगे होलान् !”उ मनमनै खुसी हुन्थ्यो।

    तर उसको त्यो खुसी धेरै समय टिक्न सकेन् । उसले फुलको हाँगा सुमसुम्यायो, नजानिदो गरी तप्प ! आँशु खसाल्यो किनकि उसले रगत पसिना सिंचेर, अमुल्य समय खर्चेर फुलाएका सुन्दर फूलहरू त्यहाँ एउटा पनि थिएनन् ।

    उसको अगाडि फूलको बोट यसरी रित्तिएको थियो जसरी आफ्ना सन्तानहरू पालैपालो परदेशि भएपछि उ स्वयं त्यसै गरी रित्तिएको थियो।
    कानेपोखरी२ मोरङ्ग

    [३] लघुकथा : उहाँलाई प्रश्न

    ✍️ नानी बिवु
    उहाँ र म एकैदिन लोकसेवा पास गरेर एउटै अफिसमा पोष्टिङ भएका दुई कर्मचारी थियौँ तर हाम्रो परिचय त्यो भन्दा अगाडि भएको थिएन ।

    एकअर्काका लागि हाम्रो सम्बोधन सर मिस थियो । दुवैले एक अर्कालाई हजुर तपाईं लगाएर उच्च सम्मानले बोल्थ्यौँ । काम गर्ने क्रममा कहिले उहाँले मलाई सहयोग गर्नुहुन्थ्यो त कहिले मैले उहाँलाई सहयोग गर्थेँ । एउटै अफिस, सँगै रहेर गरिने काम, दुवै अविवाहित ।

    थाहै नपाई हामी एक अर्कासँग धेरै नै नजिकिन पुगेछौँ । सर/मिस, तपाई/ हजुर गर्दै बोल्ने हामी कार्यालय समय भन्दा बाहिर सहमतिमा नै एक अर्काको नाम तथा उपनामले एक अर्कालाई तिमी भनेर सम्बोधन गरी बोल्न थाल्यौँ । समय बित्दै गयो । हामी एक अर्का विना बाँच्न नसक्ने भईसकेका थियौँ । दुवैले आ-आफ्नो घरमा जानकारी गराएर विहे गर्ने निधो गर्यौँ । दुवैको परिवारबाट स्वीकृती जनाएपछि हाम्रो बिहे धुमधामसँग भयो ।

    तिमी भन्न बानी परिसकेकोले मैले विहेपछि पनि उहाँलाई तिमी सम्बोधन गर्दा उहाँले असजिलो मान्नुभयो र तपाईँ भन्न आग्रह गर्नुभयो ।
    सुरुमा भेट्दा दुवैले एक अर्कालाई तपाई भनिन्थ्यो, विचमा आएर प्रेममा परेपछि दुवैजना तिमीमा झर्यौँ । विहे भएपछि म फेरी तपाईंमा उक्लनु पर्यो । उहाँ त झनै तँ मा झर्नुभयो ।

    आजभोलि म उहाँलाई तपाईं भनेर सम्मान गर्छु । तर उहाँ सबैका अगाडि पनि मलाई तँ भनेर अपमान गर्नुहुन्छ । कहिलेकाहीँ लात्तीले पनि हान्नुहुन्छ । तर मैले भने उहाँको लात्ती समातेर आफ्नो शिरले ढोग गर्नुपर्छ । आफ्नो जन्मघर, आमा-बा, आफन्त सबै छोडेर आएकी नारीलाई तपाईँ भनेर सम्मान गर्न नसके पनि, तिमी भनेर मायाँ दिन सकिन्छ नि ! तँ भनेर अपमान नै गर्नुपर्छ र ?
    दुराडाँडा लमजुङ हाल गैंडाकोट नवलपुर

    Leave a Reply