साप्ताहिक ‘पञ्चाङ्ग चित्रपट’ लेखनको पाँचौँ शृङ्खला सम्पन्न

  • १६ फाल्गुन २०७८, सोमबार ०८:१९ मा प्रकाशित
  • साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला ‘पञ्चाङ्ग चित्रपट’को पाँचौँ भाग सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन हुँदै आएको हो ।

    साप्ताहिक पञ्चाङ्ग लेखनको पाचौँ शृङ्खलाको प्रशिक्षकमा सविता के.सी. र चन्द्रावती अधिकारी रहनुभएको थियो । लघुतम काव्य विधा पञ्चाङ्गका प्रवर्तक सोमनाथ लुइँटेल “रवि पाल्पाली” का अनुसार प्रत्येक हप्ताको बिहीबार उक्त शृङ्खला सञ्चालन गरिदै आएको छ । जसका लागि बिहीबार विहान एउटा चित्र राखिनेछ । सोही चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नुपर्नेछ ।

    यस शृङ्खलाका लागि चित्रको संकलन निर्मला सुवेदीले गर्नुभएको थियो भने समायोजन सोमनाथ लुइँटेल ‘रवि पाल्पाली’ ले गर्नुभएको थियो ।

    चित्रपट

    चित्रपट

    सहभागी स्रष्टाहरूले सृजना गरेका पञ्चाङ्गहरू

    पञ्चाङ्ग ०१


    कामले गर्दा खुट्टा फुटेको देखेन कसैले
    गरिबको यहाँ नीर दु:ख मेटेन कसैले
    मर्ने भयो बिचरा तनाव पीडा झेली झेली
    जनताको आवाज कहिले टेरेन कसैले
    औषधीमूलो कतैबाटनि फेकेन कसैले।

    कसैको खुट्टामा जुत्ता छ कसैको फुटेको पाउ छ ,
    धनी त हिँडेकै छन् नाङ्गै हिँडेर टुटेको पाउ छ ।
    महलमा नि तातो पर्ने बस्तुले पारेकै छन् खुट्टा ,
    गरिबीको सधैँ असिना पानीले चुटेको पाउ छ ।
    दु:ख गरेर खानलाई काममा जुटेको पाउ छ ।

    🙏सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग ०२

    ल हेर्नुहोस् कसैका खुट्टा पट्पटी फुटेका छन्
    छोराछोरी बिना कैयौं आमा बाबु छुटेका छन्
    हे ! मानव दैवहरू हो अन्याय गर्छौ किन ?
    कोही जनतालाई नै पीडा दिन जुटेका छन् ।
    वेदना थप्दै दु:ख रुपी लट्ठीले चुटेका छन् ।

    🙏प्रेम थापा “मन “बागलुङ

    पञ्चाङ्ग ०३

    गृष्मको धुपले धर्ति फाँटे सरी गोडा
    सहँदो हो कसरी? त्यो दर्द भारी गोडा
    धर्ति विछ्यौना भयो छानो न्यानो आकाश
    वेदना दर्द कति सहन परी गोडा
    लास सरी पो ढलेको कठैँ तरी गोडा।

    🙏सरिता काफ्ले कोहलपुर बाँके

    पञ्चाङ्ग ०४

    सपना सँगसँगै कुर्कुच्चा फुटेका हुन्छन्
    घाम पानी असिना हुरीले चुटेका हुन्छन्
    कता छन् कुन्नि बैकल्पिक बाटा जिन्दगीका?
    सायद यसैले त सम्बन्ध टुटेका हुन्छन्
    कतै समय कतै भाग्यले लुटेका हुन्छन् ।

    🙏श्रीभक्त पौडेल , चितवन हाल स्पेन

    पञ्चाङ्ग ०५

    हेर बिचरा खुट्टा पटपट्टी फुटेको छ
    थकाई मार्न पनि चिसो भूइँ जुटेको छ
    श्रमजीवीको अवस्था यस्तै हुन्छ सर्वत्र
    व्यवस्थाले उसको सबथोक लुटेको छ
    शाखा-सन्तान बिचराको कता छुटेको छ।

    🙏अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग ०६

    मैले मेरा बाबाका खुट्टा फुटेको देखेकी छु ।
    काम गर्दा गर्दै भुइँमा सुतेको देखेकी छु।
    परिवार पाल्नकाे लागि सधैँ सङ्घर्षरत,
    मेरा बाबा मध्यरातमा उठेको देखेकी छु।
    भारी बोक्दा बोक्दै शरीर नुघेको देखेकी छु।

    🙏सुशीला पौडेल , काठमाडौं

    पञ्चाङ्ग ०७

    गरिबका सपना कुर्कुच्चासँगै फुटेका छन्
    घरमा खान नभएर सम्बन्ध~~टुटेका छन्
    घाम पानी नभनी छोराछोरी पढायो होला
    सडक को सुताईमा असिनाले चुटेका छन्
    खुल्ला आकाशमुनि बास कतिले लुटेका छन्।

    🙏सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ ०८

    गरिबको पहिचान हेर खुट्टा फुटेको छ
    जिन्दगी सङ्घर्ष गर्नकात लागि जुटेको छ
    भोको पेट उठ्न नसकेर लडेकाे बिचरा
    अभागी भाग्यले सारा खुसीपनि लुटेको छ
    बाँच्ने झिनो आशा अब दिनदिनै टुटेको छ ।

    🙏तारा घिमिरे संखुवासभा

    पञ्चाङ्ग ०९

    दुनियाँका खेत बारी जोतेँ फुटेका खुट्टाले
    हिउँद बर्षा हिलो गादोमा जुटेका खुट्टाले
    छोरा छोरी पढाई सकेँ बाँकी के छ र अब?
    ठूला ठूला महल ~ ठड्याएँ टुटेका खुट्टाले
    यस्तै गर्दैछु म ~~ तुषारोले लुटेका खुट्टाले ।

    🙏गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग १०

    दुखीयाको जीवन कठै हेर खुट्टा फुटेका छन्
    छैन पाउ चप्पल जुत्ता सङ्घर्षमा जुटेका छन्
    सुत्ने जमिन ओढ्ने आकाश सिरानी छ हातको
    मीठो खाने राम्रो लाउने ती सपना टुटेका छन्
    सडक पेटी बास कठै अस्तित्व नै लुटेका छन्

    🙏चेतना पोखरेल , मोरङ

    पञ्चाङ्ग ११

    कसरी छन् हेर खुट्टा फुटेका आमाबाबा यहाँ,
    कयौं दिन र रात छन् छुटेका आमाबाबा यहाँ!
    यस्तै छ बिधानको बिडम्बना खेप्नै पर्ने कस्तो ,
    आफ्नाहरु छुटाउन जुटेका आमाबाबा यहाँ,
    के सुन्ने तुच्छ वाणले चुटेका आमाबाबा यहाँ!

    🙏दुर्गा आचार्य , मोरङ

    पञ्चाङ्ग १२

    भुजङ्गप्रयात छन्द

    छिमेकी र साथी कसैले सहेनन्,
    छु निर्धो नजाती कसैले सहेनन्।
    चिरेको छ खुट्टा सिरानी छ माटो,
    र हेर्ने छ ताँती कसैले सहेनन्।
    भएँ बृद्ध काती कसैले सहेनन्।।

    🙏नारायणप्रसाद निरौला, काठमाडौँ।

    पञ्चाङ्ग १३

    घाम पानी असिनाले कुट्नु सम्म कुट्याे हजुर,
    भाेकाे पेट नाङ्गाेआङ हात पाउ फुट्याे हजुर।
    सधैभरि अरुकाे नै दासी भई जुनी बित्याे,
    खानेबेला थालभरि आँसुमात्र जुट्याे हजुर।
    शाेसक र सामन्तिले लुट्नसम्म लुट्याे हजुर ।

    🙏चन्द्रावती अधिकारी , कोहलपुर बाँके

    पञ्चाङ्ग १४

    परिवारको लागि संघर्ष गरेको छु म।
    रातदिन नभनी काममा खटेको छु म।
    उनीहरूको व्यवस्थाको लागि मैले यहाँ,
    कति दिनरात भोकभोकै बसेको छु म।
    मनको पीडा मनभित्र नै राखेको छु म।

    🙏ह्यारिस ह्यारिश्न , काठमाडौं

    पञ्चाङ्ग १५

    धर्ती सरी बाबा र आमाका पैताला फाटेका छन्
    सन्तानको खुशीसंग हजार कष्ट साटेका छन्
    बुझ्दैनन् तिनै सन्तानले दिन्छन् वचन घरीघरी
    बाबा आमाका अधुरा सपना सबै ढाँटेका छन्
    तैपनि बटुलेर त्यो मनका चाह आँटेका छन्।

    🙏निर्मला सुवेदी,बागलुङ।

    पञ्चाङ्ग १६

    धनीका जस्ता कोमल पैताला हुदैनन् कहिले
    फुर्सद हुन्न कहिल्यै त्यसैले धुँदैनन् कहिले
    फुटी सात पत्र हुन्छ तिनका चुहुन्छ रगत
    हिँड्न्छन खाली पैताला चप्पल छुदैनन् कहिले
    बिचरा दुख्यो भनेर सहेर रुदैनन् कहिले ।

    🙏रुपा गौतम , निजगढ

    पञ्चाङ्ग १७

    सिसा सरी टुटेका छन् ।
    चिरा मन खुटेका छन् ।
    आमा ठूली महान हुन् ,
    पसिनामा जुटेका छन् ।
    पाइताला फुटेका छन् ।

    🙏आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग १८

    दिनरात रेमिट्यान्स पठाउने मदनलाई हेर्दा
    नेपालको राजनीति ठूला मान्छे सदनलाई हेर्दा
    भुइँ मान्छेको जीवन फुल्ने माटो छैन जस्तो लाग्दछ
    भुङ्ग्रामा छटपटाउने माछाको क्रन्दनलाई हेर्दा
    धर्म गर्ने निधारमा ठाडो टीका चन्दनलाई हेर्दा ।

    🙏सविता के.सी. काठमाडौं

    पञ्चाङ्ग १९

    धेरै चिसोले खुट्टा फुटेको छ
    खाने लाउने आशा टुटेको छ
    अहोरात्र खट्दा नि दु:खीलाई
    सडकमै असिनाले चुटेकाे छ
    दु:खमा बस्ने बास लुटेको छ ।

    🙏दुर्गा भट्टराई , मोरङ

    पञ्चाङ्ग २०

    तिमी महलमा पुग्यौं म आवेग रोकी हिँड्दै छु
    शशीका किरणले मन् वदन ढोकी हिँड्दै छु
    गलैँचामा बुट लगाई मुस्काए तिम्रा पाउहरु
    गोडामा विश्वका नदीका निशानी बोकी हिँड्दै छु
    म सहयात्राको बोली समानता खोजी हिँड्दै छु

    पद्मा रिजाल – बाँके

    Leave a Reply