सहिद दिवसको अवसरमा विशेष टुक्का लेखन शृङ्खला सम्पन्न; १०१ जना टुक्का सर्जकको सहभागीता

  • १८ माघ २०७८, मंगलवार २३:२७ मा प्रकाशित
  • काठमाडाैँ, टुक्का साहित्य समाजकाे आयाेजनामा सहिद दिवसकाे अवसर पारेर २०७८ माघ १६ गते टुक्का मार्फत सहिदहरू प्रति श्रद्धा सुमन अर्पण गर्दै “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३०” सम्पन्न भएकाे छ । 

    नेपालकाे संस्कृति र अस्तित्वकाे संरक्षण तथा स्वतन्त्रता प्राप्तिकाे निम्ति बलिदान भएका अमर वीर सहिदहरूकाे सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ।

    अध्यक्ष ताराप्रसाद चापागाईंले प्रशिक्षण गर्नु भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट १०१ टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । उक्त कार्यक्रमका सहभागी टुक्काकारहरूले सहिदहरूकाे सम्झना तथा सम्मान स्वरुप चाेटिला टुक्काहरू सिर्जना गरेका थिए । 

    कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईंले नेपालकाे संस्कृति र अस्तित्वकाे संरक्षण तथा स्वतन्त्रता प्राप्तिकाे निम्ति बलिदान भएका अमर वीर सहिदहरूकाे सपना पूरा गर्न हामी सबैले आ-आफ्नाे तर्फबाट यथासम्भव पहल गर्नु पर्छ भन्दै चाेटिला टुक्काहरू सिर्जना गरिएकाेमा सहभागी सम्पूर्ण टुक्काकारहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।  

    अभ्यासका क्रममा सङ्कलन गरिएका सहिद सम्बन्धी चाेटिला टुक्काहरू

    [१]
    तारा बनी हकार्दैछन् सहिदले सधैँ भरी
    रगतकाे हाेलि खेल्ने दाेषी भन्छन् घरीघरी ।
    ✍️ तारा प्रसाद चापागाईं
    धुनिबेसी ।

    [२]
    देशको निमित्त मरेर शहीद हुनेलाई
    अर्पण गर्छु श्रद्धान्जली सालिक छेउ आई ।
    ✍️ रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    [३]
    धर्मभक्त दशरथ चन्द शुक्रराज गंगालाल चार अमर तारा,
    देशको माटो रगतले भिजाई शहीदहरू विश्व प्रख्यात छन् सारा ।
    ✍️ बेदु न्यौपाने
      काठमाडौ

    [४]
    भाेक निन्द्रा नभनी ती वीर दिनरात जागे,
    आफ्नो देश र लोकहितको निम्ति प्राणै त्यागे।
    ✍️ हिउँकला हाँसी खतिवडा
    कमलबजार ७.अछाम ।

    [५]
    शहीदकाे सपना कहिले हाेला पुरा
    नेताहरू अनेकौँ गर्छन भ्रष्ट कुरा ।
    ✍️ भावना मञ्जु
    माेरङ ।

    [६]
    सहिदको रगतले भिजेकाे छ याे देशकाे माटाे,
    हिडनु छ नेपाली जगतले अझै उनैको बाटाे।
    ✍️ नानीबाबा अधिकारी
    काठमांडाै ।

    [७]
    शहीदको सपनाहरू सबै पुरा गर्नलाई,
    होष्टेमा हैंसे गर्दै आउनेछु म कसम खाई।
    ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३,काभ्रे ।

    [८]
    नमन गरौं शहिद प्रति गुन्जियोस् हाम्रो पुकार जहाँ
    अन्त्य रहोस् नेपालमा विकृति विसङ्गति बेकार त्यहाँ।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ ।

    [९]
    देशको निम्ति मरेर गए, लगाएर सहिद को ताज,
    त्यही सहिदको अपमान गर्छ, संघीय संसद आज।
    ✍️ प्रदीप के रिमाल
    इटहरी -८ सुनसरी, प्रदेश नं- १

    [१०]
    सहिदको सम्मान गर्न नि जान्नुपर्छ हेर
    अनि मात्र रगतको शान जाने छैन खेर।
    ✍️ ललिता अभागी
    सिन्धुली सुनकोशी-५

    [११]
    दशरथ धर्मभक्त शुक्रराज गंगालाल चार भने,
    देशका लागि बलिदान भएर अमर शहीद बने ।
    ✍️ भगवती दवाडी
    झापा ।

    [१२]
    निरंकुश शासन फाल्नलाई जनता जगाए,
    सहिदहरुले देशको लागि रगत बगाए ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [१३]
    आफैँले विध्वंस मच्चायौ पहिले पुग्यौ सत्तामा
    शहीद घोषणा गरि फूल चढाउँछौ बित्थामा।
    ✍️ प्रमोद भट्टराई ‘प्रतीक’
      कौशलटार, भक्तपुर

    [१४]
    देशको लागि हाँसीहाँसी ज्यानको आहुति दियौ,
    काल जयी भई तिमी सदैव हामीमाझ जियौ ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ, काठमाडौँ ।

    [१५]
    सहिद तिम्रो सम्झनामा बाँच्दैछु
    ह्रदयभरि  तिम्रो माया साँच्दैछु ।
    ✍️ तेजप्रसाद खनाल
    लमही दाङ।

    [१६]
    वर्षमा एक दिन श्रद्धाञ्जली दिएर मनाउँछौ दिवस,
    कसैले बुझेन ज्यानको आहुती दिन किन भए विवश ।
    ✍️ शर्मिला श्रेष्ठ
    भैंसेपाटी, ललितपुर

    [१७]
    कोही सानो सहिद हुनुभयो, कोही ठुलो
    देशकै निम्ति बगाउनु भो रगतको कुलो ।
    ✍️ रत्ना पुन मगर
    रुकुम पश्चिम् ।

    [१८]
    सपुतहरू ढल्दा खेरि जनता रोएका सारा,
    वीर सहिदहरू हुन् आकाशका चम्किला तारा ।
    ✍️ रचना मोक्तान “यात्री”
      नमोबुद्ध नगरपालिका-५, काभ्रे ।

    [१९]
    देशका लागि ज्यान दियौ निरङ्कुशता अन्त्य गर्न,
    वीर शहीद तयार भयौ तिमी हाँसी हाँसी मर्न।
    ✍️  नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [२०]
    महान शहीद नमन गरेँ श्रद्धालु मनले
    नेताले बिर्सिए त्याे तिम्रो त्याग भुल्दैनन् जनले।
    ✍️ इन्दिरा देवकोटा
    कपिलवस्तु ।

    [२१]
    माला सालिक मा अर्पेर सम्झना गर्यौ किन
    भुलेर आदर्श निष्ठा तिमी चल्छौ दिन दिन ।
    ✍️ सुर्य मणि रेग्मी
    चितवन ।

    [२२]
    राष्ट्रका लागि जीवन नै पूर्ण उत्सर्ग गरेर ,
    रहेका सहिद अमर सधैँ गए नि मरेर ।
    ✍️ रामजी लामिछाने
    पाेखरा ।

    [२३]
    जस्ले आफ्नो प्राण दिई जोगाए देशलाई,
    उनैलाई स्मरण गरौँ सधै दाजुभाइ।
    ✍️ सुरेशकुमार पान्डे
    घाेराही दाङ ।

    [२४]
    वीर सहिदको सपना खोक्रो भाषण र माल्यार्पणले पुरा हुन्न
    देशको सिमा मिच्नेलाई कारबाही गरौँ चेतावनीले मात्रै छुन्न।
    ✍️ इश्वरी अधिकारी
    लमजुङ्ग ।

    [२५]
    सद्बुद्धि त कहिल्यै आउन सकेन मालिकहरूमा
    जान्छन् चढाउछन् एक अञ्जुली फूल सालिकहरूमा।
    ✍️ दुर्गा बुलबुल श्रेष्ठ
    धादिङ ।

    [२६]
    सहिद हुन् क्रान्ति र देशका सच्चा दर्पण
    उनै प्रति मनबाटै श्रद्धाञ्जली अर्पण ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [२७]
    सहिद तिमी मरेर पनि अमर भएछौ,
    नेपाली मन मुटुको प्राण भएर रहेछौ।
    ✍️ घनश्याम पौडेल
    सृजना चोक, पोखरा ।

    [२८]
    शहीदका सपनाहरु मुल्याङ्कन गरौँ
    प्रविधि र विकासका सँगै नै बिउ छरौँ।
    ✍️ रतन पाण्डे’पारतन’
    दार्जीलिङ।

    [२९]
    शान्ति ल्याउन ज्यान दिने मेरो देशका तारा
    हातेमालो गरौँ अब एक भै दुनियाँ सारा ।
    ✍️ माधवी भट्ट
    सुर्नया ३( बैतडी )

    [३०]
    उदीयमान भै झुल्किरहुन् आकाशको झैँ तारा
    सम्झना गर्नुपर्छ सँधै हामीले विश्वमा सारा ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [३१]
    देशको लागि ज्यान दिन सहिद बनेछ्न्,
    सहिद मार्ने देशद्रोही चै अमर रहेछ्न्।
    ✍️ धर्मराज पाेखरेल
    बेलबारी-२,लालभित्ती मोरङ

    [३२]
    सहिदको बलिदानले सुरक्षित भएकाे हाम्रो जगतको
    त्याग तपस्यालाई बुझेर सम्मान गरौ बगेको रगतको ।
    ✍️ राम कुमारी खडका
    तुल्सिपुर उ न पा-१९ दाङ्ग ।

    [३३]
    अमर रहून सच्चा सपुत शब्द गुच्छा समर्पण,
    पावन अवसरमा गर्दछु श्रद्धासुमन अर्पण ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [३४]
    देशको माटाे रक्षा गर्न मुछिएका
    चन्द्र सूर्य झण्डा लिएर उभिएका ।
    ✍️ तारा घिमिरे
    संखुवासभा

    [३५]
    देशका लागि मर्नेहरुमा हार्दिक श्रद्धाञ्जली
    भित्री मनै देखि सधैं चढाइ रहुन् पुष्पाञ्जलि।
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी ।

    [३६]
    विस्वासघातीले चक्रव्यूहको घेरामा पारेर
    डरले सहिद बनाए क्रुरता पूर्ण मारेर ।
    ✍️ अम्बिका अधिकारी
    बिर्तामाेड, झापा ।

    [३७]
    देशको अव्यवस्था देखेर रुँदो हो शहीदको आत्मा
    जनताका लागि उनिहरू बनेका थिए परमात्मा।
    ✍️ दीपक ठटाल जलन
    खरसाङ।

    [३८]
    अन्यायको विरुद्ध लड्यौ,निरङ्कुशताको त्यो जन्जिर तोड्यौ,
    हे वीर शहिद दिएर ज्यान,स्वतन्त्रताको नै छाप छोड्यौ ।
    ✍️ बिबस पारदर्शी
    भद्रपुर  न० पा०-२, झापा  नेपाल ।

    [३९]
    शहीदको सधैँ हामी गर्छौँ जयजयकार
    तिमी झैँ देशभक्त भएनौँ हामी छौँ लाचार ।
    ✍️ गोपालकृष्ण डंगोल
    इटहरी, सुनसरी ।

    [४०]
    बली दिन तयार भए देश बचाउने हितले
    जगतमा अमर हुनु ज्ञात अज्ञात सहिदले।
    ✍️ माहादेब भट्ट
    दशरथचन्द नगरपालिका ०१ बैतडी गुरुखोला कलौन

    [४१}
    मुलुकको निम्ति नै हाँसीहाँसी बलिदान दिए
    सत्ता पिपासुहरूले सहिदको रगत पिए ।
    ✍️ बी.कुलुङ
    भारत दार्जिलिङ

    [४२]
    चेतना फैलाउन खोज्दाखोज्दै शहीदका भएका तारा,
    अझै पुराहुन सकेको छैन कि कसो! हाम्रो अभिभारा।
    ✍️ होम प्रसाद न्यौपाने
    धरान, सुनसरी ।

    [४३]
    सम्झिरहनेछौँ ती योद्धा सधैं, आज होस् या भोलि
    जसले हाँसि हाँसी निलेथे, छातीमा तातो गोली ।
    ✍️ मुकुन्द कृष्ण थापा
    खोटाङ ।

    [४४]
    देशको लागि ज्यानै दियौ प्रवाह नगरी
    सालिकमा चढाउछौँ माल्यार्पण पगरी ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक ।

    [४५]
    नमानी कुनै डर छाति थापि गोलि खाए
    पुर्खाहरुले देशकै लागि रगत बगाए ।
    ✍️ अम्बिका कोईराला
    धुनिवेशी नगरपालिका ६, धादिङ।

    [४६]
    बनेर कति बस्छौं रमिते सालिक
    आऊ बचाउ मेरो देशको मालिक ।
    ✍️ रिजाल विनोद
    मोरङ ।

    [४७]
    गर्ने बेलामा शहीदहरुले देशको लागि ज्यानै बलिदान गरे
    फाईदा लिने आश्वासनको पोका देखाउने छदम्भेषि नेता अरे ।
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौं ।

    [४८]
    देशकाे लागि बलिदान दियाै वीर सहिद बनेर
    सलाम गर्दै छन् जनताहरूले पनि तारा भनेर ।
    ✍️ केसर बाेहरा (सङ्घर्ष )
    सुदुरपश्चिम अछाम ।

    [४९]
    शहीदहरूले दिनु भएको जीवन बलिदान
    हामी सकेसम्म गरिरहने छौँ सदैव सम्मान ।
    ✍️ गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [५०]
    सहिदले देखाएको बाटाे नि हिंड्न छाेडे,
    आफूखुसी दाैडिएर गलत दिशा माेडे ।
    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा ।

    [५१]
    देशको बन्धन तोड्न भनी हिँडे रणभूमि
    देश होइन नेतामात्र बने भन्छिन् मातृभूमि।
    ✍️ लाेकमणी गाैतम

    [५२]
    शहीदका सुन्दर सपना पुरा होला कहिले?
    राजनैतिक खिचातानी मात्र देखिन्छ जहिले।
    ✍️ शम्भु लाल श्रेष्ठ
    नागार्जुन -१ रानीवन, पानीट्यांकी, काठमाडौं।

    [५३]
    शहीदको गुणगान गर्दै, माला चढाउछौँ सालिकमा,
    बिर्सने छैनन्, वीर सपुतको रगत जन मानिसमा ।
    ✍️ बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा ।

    [५४]
    शहीदको रगतले पोतिएको माटो
    हामीलाई गरिखाने भयो राम्रो बाटो।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ ।छ

    [५५]
    सहिद तिम्रो त्याग र बलिदानकाे मुल्य चुक्नेछ,
    कस्ता महान शिर पनि शालिगकाे अगि झुक्नेछ ।
    ✍️ रिना योल्मो
    दार्जीलिङ ।

    [५६]
    श्रद्धान्जली हाम्रा वीर सपुतहरूलाई
    ज्यानै अर्पिए देशकाे लागि हार नखाई ।
    ✍️ निर्मला शाही ठुकुरी
    दैलेख ।

    [५७]
    सलाम, हामी सबैका लागि हाँसेर मर्नेहरु,
    देशलाई माया गर्नुपर्ने सन्देश छर्नेहरु।
    ✍️ राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही, हाल सुर्खेत ।

    [५८]
    सहिदका रगतले बगेको थियो खाेली,
    फेरि के के हुने हाेला अब आउँदो भाेली।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही  बुटवल ।

    [५९]
    शहीद तिम्रो उत्सर्गको कथाले मन छुन्छ,
    तिम्रो सपना पूरा नहुँदा मेरो मन रुन्छ।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [६०]
    देसको निम्ति आफ्नो ज्यानको दियौ बलिदान
    तिमी भन्दा सच्चा देशभक्त को होला र महान?
    ✍️अम्बर ब.बि.क.
    उदयपुर ।

    [६१]
    सहिदकाे रगतले सिँचेकाे यो धर्ती माटाे
    भुल्नु हुन्न कदापि यहाँ औंल्याएको त्यो बाटो ।
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर, झापा ।

    [६२]
    तिम्रा सपनाहरु साकार हुन्छन् भन्ने आशमा,
    स्मृति सम्झदा त चुहिने गर्दछन् आँसु गासमा।
    ✍️ दुर्गा आचार्य
    मोरङ ।

    [६३]
    हे ! विर बिरङ्गना तिमी मर्यौ र त प्रजातन्त्र आयो
    सलाम छ तिमीलाई तिम्रो त्यागले सुशासन छायो ।
    ✍️ बिके माकजु
    भक्तपुर ।

    [६४]
    जनता र देशका खातिर सधैँ लड्छु भन्याै
    सपना त्याे अधुरै थियोे सहिद तिमी बन्याै।
    ✍️ प्रेम कला चापागाईं
    मेचीनगर-१२, झापा ।

    [६५]
    खासमा नेता तिमी थियौ सहिद देेशका,
    सत्तामा चुरीफुरी गर्ने नक्कली भेषका ।
    ✍️ प्रद्युमन चालिसे
    भक्तपुर, कटुञ्जे ।

    [६६]
    कहिले मेटिने छैनन् ती रक्तका छाप
    सम्झे मात्र भने पनि लाग्न सक्छ ताप।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका-०४ जुम्ला।

    [६७]
    हजारौं सहिदले ज्यान फालेर गए
    रहन्थेन आज देश, ती  नमर्या भए।
    ✍️ सुस्मिता भट्टराई
    सन्धिखर्क-७ अर्घाखाँची ।

    [६८]
    बाबा आमा परिवारले सधैँ रुनुपर्छ,
    देश निम्ति मर्नेहरू शहीद हुनुपर्छ ।
    ✍️ केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा ।

    [६९]
    दिई देशलाई बलिदान सहिद बनेर गयौ
    निकम्मा भए चेला सालिकमै मात्र सिमित भयाै।
    ✍️ दुर्गा भट्टराई
    मोरङ ।

    [७०]
    राणा शासनको अन्त्य गरे तातो गोली खाएर,
    उनको सपना पुरा हुन्न नारा मात्र लाएर ।
    ✍️ कर्ण दयाल
    मेलौली नगरपालिका ७, बैतडी ।

    [७१]
    मरेपछि सहिदहरु स्वर्ग तिर गए
    नाम बेच्दै बाँचेकाले गीत गाउने भए।
    ✍️ दस्ता कौशिक
    पाँचथर,हिलिहाङ-२, सिंहपुर।

    [७२]
    देशको लागि ज्यान कुर्बान गर्ने ती चार व्यक्ती मानिन्छ,
    अत्याचार विरुद्ध लडी देह त्याग्ने नै शहीद ठानिन्छ।
    ✍️ लक्ष्मी श्रेष्ट
    बिर्तामोड, झापा ।

    [७३]
    नेपाल नेपालीको उन्मुक्तिको प्रमुख सूत्र,
    अमर रहून् इतिहासमा यी चार सुपुत्र।
    ✍️ म्यामराज राई
    भोजपुर ।

    [७४]
    शहीदको सपनाको आकार दिलाउ जब
    बलिदानको अर्थ र प्रकार चिनाउ अब।
    ✍️ संझना `कुसुम´
    कास्की ।

    [७५]
    समयमै होसको दबाइ खाउ नत्र हामी पछुताउनु पर्ला
    चौबाटोमा राखेको सहिदका सालिक हरुको पनि आशु झर्ला ।
    ✍️ जि कुमार गौतम
    भद्रपुर -१ (पृथिविनगर) झापा ।

    [७६]
    मरे हिजो स्वदेशको भलो बनोस् भनीभनी,
    यहाँ छ आज वेदना गरीवका गनी गनी।
    ✍️ पौडेल विमुन्स
    पोखरा कास्की ।

    [७७]
    देशका लागि जन्मियौ तिमी स्वदेशकै लागि मर्यौ
    लागेनौ स्वार्थमा कहिल्यै राष्ट्रियताकाे बीउ छर्याैँ ।
    ✍️ बिमला पाैडेल
    भरतपुर, चितवन ।

    [७८]
    देशको लागि सहिदको अमुल्य ज्यान अर्पण
    अमर रहुन हाम्रा सहिद फुलमाला समर्पण।
    ✍️ रुपेश कु.सदाय
    सिरहा-गापा.सखुवानन्कारकट्टी-३

    [७९]
    सहिदका सपना के थिए, के भए आज ?
    सत्तामा मत्त हुनेलाई अझै छैन लाज ।
    ✍️ मित्र उराठी गाैतम
    अमरपुर- गुल्मी ।

    [८०]
    फाँसी चढ्न, छातीमा वैरीकाे तातो गाेली थाप्न राजी भयाै,
    ठुलै याेगदान देशलाई दियाै आफूहरू मरी गयाै।
    ✍️ रामकृष्ण रिजाल
    बा न पा १३, बागलुङ ।

    [८१]
    शहीद सम्झिने दिवा भनाैँ त कत्ति सम्झिए
    सराप लाग्नु पर्छ नै ती वीर जत्ति बिर्सिए ।
    ✍️प्रेम प्रकाश कलाैनी

    [८२]
    देशको लागि नै जीवन संगीनी बिधुवा बनाएर
    हजुर अमर हुनु भो रगतको खोला बगाएर ।
    ✍️ बिनिता विश्वकर्मा (बिनु)
    बाजुरा बुढिगंगा नगरपालिका-९

    [८३]
    वीर सहिदहरू प्रति गराैँ उच्च सम्मान
    जनहितमा ज्यान दिनेलाई सानाे नठान ।
    ✍️ साधना पाैडेल
    रगनी-१, ओखलढुङ्गा

    [८४]
    देशका निम्ति समर्पण गरेर आफ्नाे ज्यान,
    अजर अमर तिमी बन्नेछाै अटल सान ।
    ✍️ लक्ष्मी घिमिरे दहाल
    झापा ।

    [८५]
    देशका जनताको निम्ति लड्दा मर्नु पर्यो ,
    सहिदको जिन्दगी न्याय खोज्न भनी मर्यो ।
    ✍️ विक्रम तिरुवा सलिन
    तिला गाउँपालिका ३ जुम्ला।

    [८६]
    देश जोगाउनेहरूले फासी लिनु पर्ने,
    उथल पुथल पार्ने लाई सम्मान गर्ने।
    ✍️ अम्बिका गिरी
    बिराटनगर ।

    [८७]
    दशरथ धर्मभक्‍त गंगालाल शुक्रराज
    प्राण त्यागे अमर रहे सबको माझ आज।
    ✍️ रिना सापकाेटा
    बारा ।

    [८८]
    भुल्ने छैनौँ सहिदले लडेर बनाएको माटो
    श्रद्धा सुमन सम्झनामा हिडाैँ सत्मार्गकाे बाटाे ।
    ✍️ नवीन जोशी
    प्रदेस ७ कैलाली ।

    [८९]
    नेपाल आमाका सन्तानहरू वीर गोर्खाली बनेका,
    देशकाे लागि मर्ने महापुरुष सहिदमा गनेका।
    ✍️ कमला पाण्डे पराजुली
    झापा चारआली ।

    [९०]
    धर्मभक्त शुक्रराज गंगालाल र दशरथ चन्द
    किन सरकार जो मरे सहिद ? घोषणा गर बन्द।
    ✍️ राम रावल सागर
    कैलाली

    [९१]
    एकै आमाले जन्म दिईन यस धर्तीमा थरि थरि
    सपुत मार्यो कपुत राज गर्छ आमा रुन्छिन् घरि घरि।
    ✍️ मेनुका खड्का
    धुलिखेल ।

    [९२]
    गर्नुभयो हजुरहरूले प्रजातन्त्र ल्याउने काम,
    गरिरहने छौँ सधैँ हामीले सम्मान अनि सलाम ।
    ✍️ लालीमाया थापा मगर
    प्युठान ।

    [९३]
    भ्रष्टाचारको भण्डारले कसरी जनता लुट्ने सोचेकाे
    वीर सहिदहरूको रगतले अझै नि शान्ति खोजेकाे।
    ✍️ विक्रम वली “नेपाली बाबु”
    घोराही -११- दाङ ।

    [९४]
    देशकाे निम्ति ज्यानै समर्पित गरि सहिद कहलाए
    काेटिकाेटि नमन जस्ले शत्रुहरूलाई तह लगाए।
    ✍️ श्रीशा खड्गी नेवा
    लगनखेल, ललितपुर ।

    [९५]
    गिद्धहरूले सिनाे झैँ लुछे छाति माथि टेकी
    निरङ्कुशले जनता मारे कानुन नै छेकी।
    ✍️ निरज काेइराला

    [९६]
    धर्म दशरथ र शुक्र गंगाको शान
    स्वाभिमानी शहीद यी नेपाली महान।
    ✍️ ईशहाक हुसैन
    जितपुर सिमरा १४  बारा ।

    [९७]
    मरेर गयौ देशका लागि परिवर्तन ल्याउछौं भनि
    सत्ताले हान्यो छातिमा गाेली निरङ्कुश गद्दार बनि।
    ✍️ गृष्मा पौड्याल
    टोकियो जापान ।

    [९८]
    देशको लागि जीवन आहुति दिने ती शहीदलाई सलाम
    सपना पूरा गर्ने अभिभारा लिओैँ देश नहोस् भनी लिलाम।
    ✍️ मिसु श्रेष्ठ
    काठमाडाैँ

    [९९]
    आफ्नो देश निम्ति हाँसेर प्राण उत्सर्ग गरी
    हे सहिद तिम्रा सपना पूरा हाेस् सधैँ भरी ।
    ✍️ पुष्पा सायरा
    बिराटनगर ।

    [१००]
    नेपाली ले सहिद सप्ताह मनाए
    वीर सपुतहरूमा श्रद्धा जनाए ।
    ✍️ अरुण नदी खत्री
    काठमाडाैँ ।

    [१०१]
    आफ्नो जिउ आहुती गर्नेको त्यो देन बिर्सियो
    एकताको नाममा अचेल कुकार्य सिर्जियो ।
    ✍️ प्रेम थापा

    >जय टुक्का! जय साहित्य!! <

    Leave a Reply