
साउदी अरबमा प्रवासी नेपाली श्रमिक सम्बन्धि मुद्दामा क्रियासिल प्रवासी नेपाली समन्वय समिति (पि.एन.सी.सी) साउदी अरबले गएको बिहीबार १३जनबरीका दिन साउदी अरबको पूर्वी क्षेत्र अलखोबर स्थित क्लासिक होटलमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको समस्याका बारेमा विभिन्न संघ संस्था,सामाजिक अभियन्ता,ब्यबसायी,पत्रकार लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।

सो कार्यक्रममा प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले भोग्दै आएका समस्याहरु लगायत कोरोनाको महामारीका बीच नेपाली दाजु भाई दिदी बहिनी हरु को स्वास्थ स्थिति बारेमा सुझाव सल्लाह र सहयोगार्थ के-कस्ता उपायहरू अपनाउन सकिन्छ र आउँदा दिनहरुमा प्रवासमा रहेका नेपालीहरुको समस्यालाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने हेतु सो कार्यक्रमको मुख्य उद्देश्य रहेको पी.एन.सी.सी साउदीअरबका बाह्य सम्पर्क संयोजक गनेश अर्यालले बताउनु भयो ।

कार्यक्रममा अनलाइन प्रविधिमार्फत जोडिदै श्रृंखलागत रुपमा प्रत्येक शुक्रबार साँझ ७ बजेबाट zoom माध्यम द्वारा “प्रवासी संग डाक्टर” भन्ने स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन हुन लागेको पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले जानकारी गराउनुभयो र यस बारेमा अझ प्रस्ट पार्दै कार्यक्रमको उद्देश्य विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी सँगसँगै आउने स्वास्थ्यसम्बन्धी समस्या लगायत कोभिड-१९ को नयाँ भेरियन्ट र अन्य विभिन्न स्वास्थ्य समस्या बारे विशेषज्ञ डाक्टरसहित उक्त कार्यक्रममा जानकारीमुलक छलफलसमेत रहने र बाहिर रहेका सम्पूर्ण नेपाली श्रमिक दाजुभाई दिदीबहिनीहरुले यस कार्यक्रममा आवद्ध भई यसको फाइदा उठाउन आग्रह गर्नुभयो ।

सो अन्तरक्रिया कार्यक्रममा विभिन्न संघ संस्था,सामाजिक अभियन्ता,ब्यबसायी,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

