
दम्माम ,साउदी अरेबिया/
कमाएर आफू र आफ्ना परिवारको लागि केही गर्छु भनेर वैदेशिक रोजगारको सिलसिलामा साउदी आएका तनहुँका सन्तोष अधिकारी सधैंको लागि साउदीमा नै अस्ताएका छन।
साउदीको प्रतिष्ठित कम्पनी अल्मराईको दम्माम स्थित वयरहाउसमा कार्यरत तनहुँ भानु नगरपालिका-१३का स्व बाबुलाल अधिकारीका ३३ बर्षीय छोरा सन्तोष अधिकारीको आइतबार दिउसो २ बजे सुतेको बेला निधन भएको उनी संगै कार्यरत उनका साथीले जानकारी दिएका छन्।
रातको ड्युटी गरि खाना खाई सुतेका उनी एक्कासि खोकेको जस्तो आवाज गरेपछि रुम पाटनरले अन्य साथी तथा कम्पनीलाई खवर गरेका थिए। कम्पनीले स्थानीय प्रहरी र एम्बुलेन्सलाई खबर गरि अस्पताल लगिएको थियो।अस्पतालले मृत्यु भएको घोषणा गरेका कम्पनीका सिनियर सेल्स सुपरभाइजर राजु केसीले जानकारी दिनुभयो।
आगामी फ्रेब्रुअरीमा घर जान तयारी गरेका अधिकारीको छुट्टी पास भइ टिकटको प्रोसेस रहेको र छुट्टी सम्बन्धि कुराले उत्साहित हुने उनी घर जान नपाई निधन भएको केसीले भावुक हुँदै बताउनुभयो ।
उनको बारेमा परिवार र नेपाली दूतावासलाई जानकारी गराएको , आबस्यक कानुनी कारबाही गरेर शवलाई छिट्टै नेपाल पठाउने केसीले बताउनुभयो ।
राहदानी नम्बर ०८१६५१३७ बाहक मृतक अधिकारीको आमा ,श्रीमती एक छोरा र एक छोरी रहेका छन्। अल्पायुमै अधिकारीको निधनले परिवारलाई ठूलो धक्का लागेको छ।
सभार:- मयुर पाटी डटकम

