
घोराही
५-कार्तिक/ जिल्ला विपद् व्यवस्थापन समिति दाङले पानीले धानबालीमा पुर्याएको क्षतिको विवरण तीन दिन भित्र पारिवारीक संख्या सहित संकलन गर्न कृषि ज्ञान केन्द्रलाई जिम्मा दिएको छ । समितिको आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले असोज ३१ गते देखी कार्तिक ३ गते सम्म परेको अविरल बर्षाका कारण धानबालीमा ठूलो नोक्सानी भएको भन्दै तीन दिन भित्र पारिवारीक संख्या सहित क्षतिको विबरण संकलन गर्न केन्द्रलाई जिम्मा दिएको हो ।
समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै स्थानिय तहका कृषि शाखाहरु सँग समन्वय गरेर पारिवारीक संख्या सहित क्षतिको एकिन गर्ने निर्णय भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रुद्रमणि पौडेलले प्रस्तुत गरेको क्षतिको विवरण अनुसार धान उत्पादनमा साढे १६ प्रतिशत क्षति भएको अनुमान बैठकले गरेको छ । अब क्षतिको विवरणहरु संकलन भैसकेपछि राहतका लागि संघ, प्रदेश र स्थानिय सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ ।
दाङमा करिब १८ हजार विगाह जग्गामा लगाएको धानबाली नष्ट भएको अनुमान रहेको ज्ञान केन्द्रका सूचना अधिकारी पौडेलले जानकारी दिए । अहिलेसम्म दाङको बंगलाचुलीबाहेक नौवटा स्थानीय तहका कृषि शाखाले प्रारम्भिक विवरण संकलन गरेर ज्ञान केन्द्रमा पठाएका छन् । त्यही विवरणअनुसार घोराहीमा पाँच सय ९१ विगाह र तुलसीपुरमा आठ सय ८६ विगाह जग्गामा काटेर राखिएको धान नष्ट भएको छ ।
त्यसैगरी, लमहीमा एक हजार नौ सय ५७ बिगाह, बबईमा चार सय ४३ विगाह, दंगीशरणमा सात सय ३९ विगाह, राजपुरमा आठ सय ८६ विगाह, राप्तीमा चार सय ८० विगाह, गढवामा छ सय ८० विगाह र शान्तिनगरमा चार सय ४३ विगाह क्षेत्रफलमा काटेर राखेको धान भिजेको सूचना अधिकारी पौडेलले जानकारी दिए । पानीले एक लाख ४४ हजार तीन सय क्वीन्टल धान भिजाएको अनुमान छ ।
सरदर सरकारी मूल्यलाई आधार मान्ने हो भने दाङमा वर्षाले ३९ करोड ६८ लाख २५ हजार रुपैयाँको धान नष्ट गरेको छ । एक क्वीन्टल धानको मूल्य दुई हजार सात सय ५० रुपैयाँ कायम छ ।
तुल्सिपुर अनलाईन बाट

