
देश- बिदेशमा रहनु भएका सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुमा बडादशै -२०७८काे हार्दिक मंगलमय शुभकामना सहित
पाठकीय टिप्पणी
लघुकथा : असमझदारी
लघुकथाकार : लता के.सी.
आज मिति २०७८/६/२८ गते महानवमीकाे दिनमा हाम्राे लघुकथा पाठशालाकाे भित्ताेमा आदरणीय लता के.सी. द्वारा प्रेषित लघुकथा ” असमझदारी “पढेपछि मेराे पाठक मनमा आएका भावनात्मक उतारचढावलाई पाठकीय टिप्पणीकाे रुपमा बडादशै २०७८ काे शुभकामना सहित प्रस्तुत गर्न चाहान्छु । केही भुलचुक भएमा लघुकथाकाे गुरुकाे हैसियतले माफी गरिदिनुहुनेछ भन्ने अपेक्षा गरेकी छु ।
पूर्वी पहाडी जिल्ला भाेजपुरकाे दावामा जन्मनु भएकी आदरणीय दिदी लता के. सी. हाल काठमाडौं महानगरपालिका -३२, सुबिधानगर, तीनकुनेकाे स्थायी बासिन्दा हुनुहुन्छ । जीवनकाे उर्जाशील समय शिक्षण पेशामा बिताउनु भएकी दिदी सेवा निवृत्तजीवन भने सामाजिक संजालकाे माध्यमबाट लघुकथाकाे उन्नयनमा रमाउदै, अग्रज, स्थापित र नवोदित लघुकथाकारहरुसँग सम्पर्क स्थापित गर्दै-गराउदै लघुकथाकाे श्रीवृद्धिमा अहाेरात्र खटिनु भएको छ ।उहाँको पहिलाे रचना “अन्तरद्वन्द” कथा हाे भने पहिलो प्रकाशित कृति “चोटदेखि मृत्युसम्म” हो । उहाँ हाम्राे लघुकथा पाठशालाकी संस्थापक एडमिन हुनुहुन्छ । उहाँले लघुकथा १ र २ काे सम्पादन समेत गरिसक्नु भएको छ । हाम्राे लघुकथा पाठशालाकाे एडमिनकाे भूमिका निर्वाह गर्ने क्रममा मेराे गुरुकाे रुपमा म उहाँप्रती सम्मान व्यक्त गर्दछु ।
नमस्ते नेपाली आधुनिक लघुकथा मन्चकाे पहिलाे वार्षिक उत्सवकाे अबसरमा आयाेजित प्रतियोगितामा उहाँको “राज” लघुकथाले तेस्रो स्थान प्राप्त गरेकोे थियाे भने नेपाली साहित्य समाज क्यालगरी क्यानडाकाे आयोजनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगिता २०७७ मा ” बिधवा” लघुकथाले द्धितीय स्थान हासिल गरेकाे थियाे ।त्यसैगरी साहित्यपाेस्टद्वारा आयाेजित लघुकथा प्रतियोगिताकाे दोस्रो चरणमा ” मायाकाे रुख” कथा विजयी भएको थियाे।उहाँको लघुकथा संग्रह ” चोटदेखि मृत्युुसम्म” साहित्यपाेस्टकाे २०७७ का उत्कृष्ट दश पुस्तकमा पर्न सफल भएको थियाे । उहाँका लघुकथाहरु विभिन्न पत्रपत्रिका तथा अनलाईन संस्करणहरुमा प्रकाशित हुने क्रम जारी छ ।
प्रस्तुत कथा ” असमझदारी ” मा तीन पात्रहरु रहेका छन् -दिदी भाइ र कान्छा । दिदी र भाइ साख्खै हुन् भने कान्छा छिमेकीको घरमा काेठा भाडामा बस्ने भाइ हुन् ।
कथामा दिदी भाइकाे माया देखेर कान्छापात्रलाई रमाइलो लाग्छ भने मेराे पनि यस्तै माया गर्ने दिदी भए हुन्थ्यो भन्ने साेच्छ । चिनजान र घनिष्टता बढदै जाँदा बिस्तारै उ पनि दिदीकाे प्रिय भाइ बन्न पुगेको थियाे ।आफ्नो भाइलाई याे कुरा मन परेको थिएन । बुबा आमाकाे शेषपछि दिदीले नै हुर्काएकी हुदाँ उ दिदी सँग केही भन्न सक्दैन । एक आपसमा मनमुटाव भएकोले धेरैजसो काेठा थुनेर बस्थ्याे । दिदीले केही भनी भने पढनु छ भनेर बहाना बनाउथ्यो । उता कान्छा भने हरेक काममा दिदीलाई सघाउने र झन आत्मीय बनेर सँगसँगै भातभान्सा चलाउन थालेको थियाे ।यस्तै बिच दिदी बाथरुममा चिप्लिएर लडिन ।टाउकाे फुटेर रगताम्य भयाे । भाइले अस्पताल पुर्यायो । रगत दिन पर्ने भयाे। कान्छालाई भाइले खबर गर्यो तर कान्छा अस्पतालमा पुगेन ।संयाेगले आफ्नै रगत मिल्याे र रगत दिएर दिदी बचायाे ।अस्पतालबाट फर्केपछि दिदीले कान्छाकाे बारेमा साेधिन । भाइले आक्राेशित भएर उ मर्यो भन्याे । भाइकाे कुरा सुनेर दिदी आत्तिईन् ।उसले सहयोग चाहिएकाे बेलामा वास्ता नगरेकाे सुनाउदै पराई नाता मन साट्दा मात्रै हाे आफन्त भनेकाे मन फाट्दा पनि हाे भनेर असन्तुष्टि जनायाे । उसैबेला कान्छाकाे फाेन आयाे । उसले रुदै भन्याे ” दिदी बुवा बित्नुभयाे । म खबर नगरीकन गाउँ हिडेँ । अब त्यता फर्किन्न ।” यसरी कथाकाे अन्त्य भएको छ ।
प्रस्तुत लघुकथामा कथाकारले दिदी नभएकाे भाइलाई दिदीबहिनीकाे महत्त्व कति हुन्छ भन्ने देखाउनु भएको छ भने आफ्नी दिदीले अरुलाई भाइझैं माया गर्दा कहिं आफुप्रति दिदीकाे माया कम हुने हाे कि भन्ने डाह भाइमा देखिएकाे छ । समय क्रममा एउटै भातभान्सा चल्दा समेत भाइकाे मनमा कान्छाप्रति आक्राेश झल्किएकाे छ ।
दिदीकाे टाउको फुटेर अस्पतालमा हुदाँ कान्छाले खाेज खबर नगरेकाेले पराई नाता मन साट्दा मात्रै हाे आफ्नो वा साख्खै नाता मन फाट्दा पनि हाे भनेेकाे छ कथाले । बास्तबमा रगतकाे नातामा जतिसुकै मनमुटाव भएपनि समयपरिस्थिति प्रतिकुल हुदाँ सम्पूर्ण रिसराग आफै हटेर जान्छ र बनाएकाे नाता समय अनुकुल हुदाँ सम्म आफ्नो रहन्छ भन्ने कुरालाई कथाले प्रस्ट पारेकाे छ । कान्छाले रुदै आत्मीयता प्रकट गरेर बुबा बित्नु भएकोले खबर नगरी गाउँ हिडेँ अब त्यता फर्किन्न भनेेकाे छ । अर्थात पराई नाताले मुखले ठिक्क पारेपनि आफ्नै अनुकुलता हेर्छ भन्ने आशय कथाकाे देखिन्छ ।
कथा पढदै जाँदा दिदीलाई कसले बढी माया गर्ला ? भाइले कि कान्छाले भन्ने कौतुहल हुँदै गएर अन्त्यमा भाइले आफ्नै रगत दिएर बचाउछ भने कान्छाले मायालु बाेली र आँसु देखाएर आफ्नोतर्फबाट माया देखाउछ । दिदीबहिनीकाे लागि भाइ नाता आफ्नै हाेस वा पराई प्रियनै हुन्छ भन्ने कुरालाई कथाले प्रष्ट पारेकाे छ ।
२८२ शब्दमा लेखिएको कथा सरल छ । सुबाेध्य छ । हाम्राे समाजकाे यथार्थ चित्रण गरिएको छ । लघुकथाकाे मानकमा थपक्क बसेकाे छ । साख्खै दिदी भाइकाे माया बाट शुरु भएको कथा दिदी र कान्छाकाे मायालु फाेन वार्तामा अन्त्य भएको छ । कथा कौतुहल पुर्ण छ । अब के हाेला भन्ने पाठककाे मनमा लागिरहन्छ ।
यति हुदाहुदै पनि केही वाक्यहरु अनावश्यक छन् अर्थात व्याख्यात्मक छन् । त्यस्ता अनावश्यक वाक्य तथा शब्दहरु काँटछाँट गर्ने हाे भने कथामा लघुत्व अाउने थियाे भन्ने लाग्छ मलाई ।
अन्त्यमा लघुकथाकाे श्रीवृद्धिमा अहाेरात्र खटिरहनु भएकी आदरणीय लता के.सी. दिदीकाे लघुकथा यात्रा सप्तकोसी नदी झैं अबिरल बगिरहाेस् ।उहाँको नाम लघुकथाकाे इतिहासमा स्वर्ण अक्षरमा लेखियाेस् भन्दै उहाँको सु-स्वास्थ्य, दीर्घायु तथा अटल सौभाग्यकाे लाखौंलाख शुभकामना व्यक्त गर्दछु ।
बन्दना घिमिरे
गठ्ठाघर, भक्तपुर
लघुकथा: असमझदारी
लता केसी
उनीहरू साख्खै दिदी भाइ थिए । दिदीले भाइलाई माया गरेको देखेर कान्छा खुबै रमाइलो मान्थ्यो । कान्छा छिमेकीको घरमा कोठा लिएर बसेको थियो । सोच्थ्यो , मेरो नि यस्तै माया गर्ने दिदी भए हुन्थ्यो नि ´´ ! चिनजान र घनिष्टता बढदै जाँदा बिस्तारै ऊ पनि दिदीको प्रिय भाइ बन्न पुगेको थियो । आफ्नो भाइलाई यो कुरा मन परेको थिएन । बुबाआमाको शेषपछि दिदीले नै हुर्काएकी हुँदा ऊ दिदीसंग केही भन्न सक्दैनथ्यो तर एकआपसमा ङ्यार्रङुर्र सुरू भैसकेको थियो । ऊ अब धेरै जसो कोठा थुनेर बस्थ्यो । दिदीले केही काम अह्राए पढनु छ भनेर बहाना बनाउथ्यो । कान्छाले भने हरेक काममा दिदीलाई सघाउन थाल्यो । ऊ झनै नजिक र आत्मीय बन्यो । दिदीले पकाएको भान्सा चल्न थाल्यो । एकदिन दिदी बाथरूममा चिप्लिएर लडिन् । टाउको फुट्यो । रगताम्मे भयो । हत्त न पत्त भाइले अस्पताल पुर्यायो । अत्याधिक रक्तश्राव भएकोले तुरून्तै रगत दिनु पर्ने भयो । कान्छालाई उसले खवर गर्यो तर कान्छा अस्पताल पुगेन । एक्लै दौडधूप गर्यो । मिल्ने समूहको रगत फेला परेन । ऊ अत्तालिन थाल्यो । अाफ्नै रगत चेक गराउँदा संयोगबस मिल्यो । उसले रगत दियो । दिदीलाई बचायो । दिदी भाइ अस्पतालबाट घर फर्किए । दिदीले कान्छालाई सोधिन् । भाइले आक्रोसित मुद्रामा भन्यो ,ऊ मर्यो ।´´के भन्छ यो ? ´´ दिदी अात्तिइन् । उसले सहयोग चाहिएको बेलामा वास्ता नगरेको कुरा सुनायो । दिदी पनि ऊप्रति बेखवर हुन थालिन् । एकदिन भाइले असन्तोष खन्यायो ,अब त चेत अायो होला नि ? पराइ नाता मन साटदा मात्र हो , आफन्त भनेको मन फाटदा पनि हो भन्ने कुरा !´´ उसैबेला कान्छाको फोन आयो । रूँदै भन्यो , “ दिदी , बुबा बित्नु भयो । म खबर नगरी गाउँ हिँडे । अब त्यता फर्किन्न । ´´

