‘भोक’ शिर्षकमा रचना गरिएका उत्कृष्ट टुक्काहरू

  • १५ भाद्र २०७८, मंगलवार २३:२० मा प्रकाशित
  • काठमाडौ, १५ भाद्र । टुक्का साहित्य समाजले नियमित रूपमा टुक्का अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको छ । टुक्का कविताको विकास र उन्नयनका लागि उक्त कार्यक्रम सञ्चालन गर्दै आएको समाजका अध्यक्ष एवं टुक्का प्रवर्तक ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का काव्य विधा अन्तर्गतको नविनतम विधा भएपनि छोटो समयमै धेरै साहित्यकार एवं पाठकहरू बिच लोकप्रिय हुन पुगेको छ । जुन कुरा टुक्का लेखन अभ्यास कार्यक्रमहरूमा हुने उल्लेख्य साहित्यकारहरूको सहभागीताले पनि पुष्टि गरेको छ ।

    प्रस्तुत छ, २० जना सक्रिय टुक्काकारहरूद्वारा भोक शिर्षकमा रचना गरिएका उत्कृष्ट टुक्काहरू

    १.
    भोकले दिलाएको सङ्गत धेरै टाढा नजाला,
    सधैँ उस्तै पोटिलो रहदैन होला तिम्रो गाला।
    २.
    पेटले माग्ने एक भोजन थियो,
    तिमीले भन्छौ पेटले दुःख दियो।
    ✍️ पौडेल विमुन्स, पाेखरा

    १.
    सधै अभाव  पीडा छाउँछ हुम्ला जुम्ला तिर,
    नहट्ने भो कैले  पनि  रोग  र भोकको पिर।
    २.                             
    धनी फेर्छन् महल हरू गरिब  भोकै  मर्छन्,
    दुःखीहरू  मात्रै किन यस्तो  चपेटामा पर्छन्।
    ३.                            
    छैन एकजोर राम्रो लुगा  छैन मिठो  खाना,
    मक्किएर चुहिने भा,छ हाम्रो घरको छाना।                          
    ✍️ नवशिला
    बेलबारी -२, लालभित्ती, मोरङ
    हाल: गोदावारी, ललितपुर

    १.
    इच्छा अनि अाकंक्षाका भाेक थरी थरीका,
    अतृप्त मन भित्र पीडा जीवन भरिका।
    २.
    भाेकले नै दु:ख दियाे भाेकले नै खुसी,
    नियन्त्रणमा नहुँदा बनायाे कलुषी।
    ✍️ ताराप्रसाद चापागाईं

    १.
    बिहान खायाे अाधा पेट भरे छैन खान,
    यो कोरोनाले पाइदैन काम गर्न जान।
    २.
    कहिल्यै पनि पुगेन नि पेट भरी खाना,
    हाम्रा सबै छोरा छोरीको फाटिसक्यो नाना।
    ✍️  नानीबाबा अधिकारी,  कलंकी

    १.
    भोक कुन चरिको नाम हो फुटपाथमा माग्नेलाई सोध,
    एक मुठी अन्न दान गरेर गरिबीको खुसी हुन्छ बोध।
    २.
    महलमा बस्नेलाई के थाह छ भोक कस्तो हुन्छ,
    च्यातिएका फाटेका धुजा धुजा देखेर मन रून्छ।
    ३.
    देखावटी पुराण लगाउँनु भन्दा अनाथ वृद्धआश्रम् मा दान गर,
    मरेर जाँदा पुण्य हुन्छ भने बाँचुन्जेल सम्म आफ्नो घरमा शान्ति भर।
    ✍️ कमला पाण्डे पराजुली,  झापा

    १.
    कसैलाई खानाको भोक कसैलाई ज्ञानको,
    जताततै भोकभोकै छ कसैलाई मानको ।
    २.
    उसलाई कालीको भोक उसलाई सालीको,
    घुस्याहा नेतालाई लाग्ने भोक सधैं तालीको ।
    ३.
    गरीबलाई अन्नको भोक त धनीलाई पैसा गन्नको,
    विश्वकै धनीलाई अझै भोक कसैले नजितुन् भन्नको ।
    ✍️ वसन्त अनुभव , घोराही १४, दाङ ।

    १.
    आनन्दले जो निदाउँछ केही छैन शोक,
    बताइदेऊ भोजन मीठो या हुन्छ भोक ?
    २.
    भइरहेछन् घम्साघम्सी अनि यी आतिसबाजी,
    भोक मेटाउन मान्छे हुन्छ जे काम गर्न राजी ।
    ३.
    भोककै कारण मान्छेले गर्यो धर्तीमा सारा उन्नति,
    यसको पूर्ति नभए बेलामा रहन्न यो जिउमा गति ।
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा

    १.
    सबै  साथी  भाइ भेला भएर चोकमा,
    खाइन्थ्यो चुरोट तीन दिनको भोकमा।
    २.
    भोलि भन्दा आजैको चिन्ता के खानु,
    रिंँगटा   लाग्थ्यो   रोडमा  कता  जानु।
    ✍️  बादल गुरुङ वियोगी,  कपन,काठमाडौं

    १.
    गरिबको भोक धनीको मोजमस्ती रमाइलो,
    कहिले आउला दु:खीको जीवनमा घमाइलो ।
    २.
    कहिलेकाहॅी  जीवनमा  भोकको  अनुभव  गरेर  हेर,
    कस्तो हुन्छ तब मात्रै बुझ्नेछौ तिमी फ्यॅाक्दा खानेकुरा खेर।
    ३.
    दुई मुठी भीख मागी गरिब आफ्नो भोक मेट्छ,
    त्यही भीख नदिएर धनी उसैको गला रेट्छ ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरंग

    १.
    असहायलाई पनि भोक निकै लाग्दो  होला,
    हामीले खाना नदिँदा उसको मन रोला ।
    २.
    भोक मेटाउन आँसु पिएर हुन्न  साथी,
    केही खान दिएर सम्मान गरौँ अशक्त माथि ।
    ✍️ कल्पना थामी, सिन्धुपाल्चोक

    १.
    तिर्खा लाग्दा जसरी धाउनु पर्दछ हामीले खोला,
    भोक लाग्दा पेटमा पटुकी कसेर हुँदैन होला॥
    २.
    चाहिन्छ भोक मार्नलाई थोरै भए पनि अन्न,
    बिना परिश्रम कहाँ पाईन्छ पेट भरि टन्न।
    ३.
    तितो मिठो जस्तोसुकै होस् भोक लाग्दा चाहिन्छ,
    चौरासी ब्यञ्जन सम्झने हो त्यसै कहाँ नै पाईन्छ।
    ४.
    सन्तुष्टि हुनुपर्छ खाना खाँदा खेरि,
    धेरै हुँदा फ्याल्नु हुन्न पाइन्न फेरी।
    ✍️ पुर्णबहादुर श्रेष्ठ, पनौती-३,काभ्रे

    १.
    सधैं अभाव छट्पटी अनि मनमा शाेकैशोक,
    साहुको काममा जानु हो खाली पेट  भोकैभोक ।
    २.
    गरिबको जिन्दगीमा छैन खाने कुरा,
    दुःखीका सधैं रहने  सपना अधुरा।
    ३.
    कमाई गरौं त आफ्नो खनी खाने छैन खेतबारी,
    बस्नु छ एक मुठ्ठी अन्न नपाउदै मेख मारी ।
    ✍️ दुर्गा भट्टराई ,  मोरङ


    सबैभन्दा ठूलो महामारी  शोकले,
    जस्तोसुकै  काम गराउँछ भोकले ।

    कसरी बुझम् खोइ नारी मनको भाषा ?
    राम्री सुन्दरी पाउने मेरो अभिलाषा ।
    ३.
    आफैं धामी, आफैँ बोक्सी बन्छ काँडो,
    भरिदैन  कहिल्यै  चुहिने भाँडो !
    ४.
    आशा बोकी हिँडे साहित्यको शिखर चुम्ने,
    मेरो छ एउटा धोको यो संसार घुम्ने ।
    ✍️ रिजाल विनोद , बेलबारी २मोरङ

    ️१.
    अाँखामा अाँशु छ, मनमा छ शाेक
    के शक्ति  हाेस् ? जब, अाँतमा छ भाेक !
    २.
    कमाउने काेही छैन, न छ बारी
    बस्नु छ रूँदै, भाेकाे पेट बटारी !
    ३.
    गरिबकाे घर, छैन केही खाने
    बिना कात्राे धर्ती छाेडी, माथि जाने
    ✍️ गाेपाल कृष्ण डंगाेल
    इटहरी,सुनसरी, प्रदेश नं-१

    १.
    अघाएकै हुन्न कहिल्यै सम्पति वा दम्पत्तीले,
    कति पो उज्यालो दिन्छ र सूर्य अघि मम्बत्तीले।
    २.
    न सुतेर अघाउँछ सधैँ निन्द्राको दासले,
    आस्थामा अघाउँदैन ऊ ईश्वरको आशले।
    ३.
    भोकैभोक नभए जिन्दगी हो कि हैन,
    पाए वा नपाए खान व़ास्ता केही  छैन।
    ✍️ होम प्र, नेउपाने , धरान,सुनसरी

    १.
    जति धेरै  खाए पनि उति नै किन लाग्छ नि भाेक,
    सुख शान्ति जतिसुकै भए पनि मनमा छ शाेक।
    २.
    दिनहुँ काेराेना बढेर पाइन  म काममा जान,
    साँझ बिहानकाे लागि पनि छैन भित्र केही खान।
    ✍️ शाेभा अर्याल, रुपन्देही  १४  बुटवल

    १.
    हुनेखाने लाई के थाहा होला भोकले मान्छे रुन्छ ,
    फोहोरमा खोजीखानेलाई सोध भोक कस्तो हुन्छ ।
    २.
    कामदारले काम गर्दा ढिलाभो भने साहू कतिजाग्छ ,
    बोल्छ तर बुझ पचाएर  यिनीहरूलाई भोकलाग्छ ।       
    ✍️ बेदु न्यौपाने , काठमाडौ

    १.
    हुने खाने जति सधैँ भोज मै  रम्ने गर्छन् ,
    निर्धा जनता रोग,शोक र भोक मै मर्छन्।
    २.
    भोक-भोकै  बस्ने रहर कहाँ कसलाई पो हुन्छ?
    भोकमरी मै परोस् न जनता शोषक कहाँ रून्छ?
    ३.
    रछानमा खाना खोज्नेलाई सोधन भोक कस्तो हुन्छ?
    तिनीहरुको उत्तर  सुनेर  तिम्रो मन  पक्कै रून्छ।
    ✍️ अरुण कुमार भुजेल, गोरूबथान कालेबुङ्ग पश्चिम।

    १•
    ल्याएर हालीदेऊ घाॅस एक डोको,
    जति खान दिए पनि देखिन्छ भोको।
    २•
    सारङ्गी जस्तो भईसकेछ पेट,
    गाह्रो छ हुन हात मुखको भेट।
    ३•
    भोकले त ऑखा देख्नै छोडियो,
    भातमारा अन्तै नाता जोडियो।
    ✍️ घनश्याम पौडेल, सृजना चोक, पोखरा

    १.
    मोफसलका जनता सधैँ  भोक-भोकै,
    नेता छन् शहरमा छैन कुनै शोकै।
    २.           
    सिटामोल छैन डाक्टर छ कहाँ,
    रोग शोकले जनता मरे यहाँ ।
    ३.          
    सत्तामुखी भए नेता आफ्नो मात्र ताल,
    नयाँ खोजौँ बरु राम्रा थोत्रा जति फाल।               
    ✍️ सूर्य मणि रेग्मी, चितवन

    ::::: जय टुक्का! जय साहित्य!! :::::

    2 thoughts on “‘भोक’ शिर्षकमा रचना गरिएका उत्कृष्ट टुक्काहरू

    1. हार्दिक आभार आदरणीय सर वसन्त अनुभव प्रति तथा हिमालय दृष्टि अनलाइन पत्रिका प्रति। सहभागी सम्पूर्ण टुक्का कार ज्यू हरूमा हार्दिक बधाई तथा शुभकामना।

    2. हिमालयन दृष्टी अनलाइन अनि वसन्त अनुभव सरप्रति हार्दिक आभार । साथै तमाम टुक्का सर्जकहरूलाई हार्दिक बधाई ।

    Leave a Reply