
विमानस्थलका सबै सेवा यथावत रूपमा सञ्चालन
चितवन — भरतपुर विमानस्थलको विशिष्ट कक्ष (भीआईपी रुम)मा शनिबार बिहान आगलागी भएको छ । आगलागीले सो ठाउँका केही उपकरण र फर्निचर नोक्सान भए पनि विमानस्थलका अन्य सबै सेवा जारी नै रहेको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रहेका प्रहरी नायब उपरीक्षक डीएसपी सूर्य थापाले बिहान साढे ६ बजेतिर लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिएको बताए ।
‘भीआईपी कक्षमा आगो लाग्दा त्यहाँका दुईवटा एसी, दुईवटा पंखा, तीनवटा सोफा र स्यानिटाइजर बक्समा क्षति पुगेको छ । आगो छिट्टै नियन्त्रणमा आयो,’ डीएसपी थापाले भने । बिजुली सर्ट भएका कारण आगलागी भएको उनले बताए । सो ठाउँलाई विद्युत् सञ्जालबाट अलग गरेपछि विमानस्थलका अन्य सबै सेवा सुरु भएको भरतपुर विमानस्थल कार्यालयका सूचना अधिकारी पुष्कलराज शर्माले जानकारी दिए ।
‘हाम्रै विमानस्थलमा फायर स्टेसन छ । त्यहाँको फायर भेहिकल तत्कालै आएर लगभग १० मिनेटमा आगो नियन्त्रणमा लियो । आगो लागेको ठाउँमा जाने विद्युत् लाइन हटायौं । यो काम गर्न लगभग एक, सवा एक घण्टा जति लाग्यो । त्यसपछि विमानस्थलमा सवै सेवा सुरु भए । जहाज आउने, उड्ने गरेका छन्,’ विमानस्थलका सूचना अधिकारी शर्माले भने ।
कान्तिपुर बाट

