“सम्बन्ध” शीर्षक टुक्का लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थानमा क्रमशः त्रिलोचन भण्डारी, गोपाल कृष्ण डंगोल र राजेशराज गड्तौला विजयी

  • २५ श्रावण २०७८, सोमबार ०८:३२ मा प्रकाशित
  • “सम्बन्ध” शीर्षक टुक्का लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थानमा क्रमशः टुक्काकारहरू त्रिलोचन भण्डारी, गोपाल कृष्ण डंगोल र राजेशराज गड्तौला विजयी हुनुभएको छ ।

    मिति २०७८ साउन २१ गते एक दिनको समयसिमा दिएर टुक्का साहित्य समाज, काठमाडौद्वारा आयोजना गरिएको उक्त प्रतियोगितामा २२ जना टुक्काकारहरूले समयसीमा भित्र सहभागीता जनाएको कार्यक्रमकि परिकल्पनाकार एवं आयोजक संस्थाकि सचीव विमुन्स पौडेल जनाउनु भयो । साथै उहाँले प्रतियोगितामा विजयी टुक्काकारहरूलाई प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनुभयो ।

    उक्त अवसरमा संस्थाका अध्यक्ष एवं टुक्का कविताका प्रवर्तक ताराप्रसाद चापागाईं र सचीव विमुन्स पौडेलले प्रतियोगितामा विजयी टुक्काकारहरूमा बधाई तथा शुभकामनाका साथै सहभागी सम्पूर्ण टुक्काकारहरू प्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुहुने टुक्काकारका टुक्काहरू

    १// प्रथम स्थान प्राप्त टुक्का

    मदन मुना बनेर हामी जिन्दगी  याे जिउँला
    फाटेमा मन मुस्कान छरी प्रेमले त्याे सिउँला ।

    नभमा सूर्य चन्द्रका ज्योति चम्केर रहुञ्जेल ।
    गाँसेका नाता प्रगाढ बनुन् यो धरा छउञ्जेल ।

    ✍️ त्रिलोचन भण्डारी, मेचीनगर, झापा

    २// दोस्रो स्थान प्राप्त टुक्का

    छोडि दिएँ कुर्न बाटो, आँखा बन्द गरिदियौँ,
    जायजेथा पनि सबै, तिम्रै नाम लेखिदियौँ !

    आऊ लिएर फेरि जाऊ, तिम्रै नै हो सम्पत्ति,
    माटोमा विलिन् भयौँ, अब हामी दुई दम्पत्ति !

    ✍️ गोपाल कृष्ण डंगोल, महाराजगञ्ज, काठमाण्डू
    हाल: इटहरी,  प्रदेश नं १

    ३// तेस्रो स्थान प्राप्त टुक्का
    १.
    जब बज्छ मनमा घण्टी प्यारको,
    आउॅछ भन्छन् धेरै याद यारको ।
    २.
    तोडेर बन्धन खाएका वाचा कसमको,
    छोडेर गइछन् साथ अर्कैको खसमको ।

    ✍️ राजेशराज गड्तौला, रतुवामाई-१०, मोरंग
    हाल- प्रवास

    प्रतियोगितामा सहभागी अन्य टुक्काकारहरूका टुक्काहरू

    ४//
    १.
    जुन चिज भेटिदैनन् तपाइमा म मा अनि कोही अरुमा,
    खोज्नुस त ति सबै चिज हरु भेटिनेछन् सम्बन्ध हरुमा।
                         २.
    जसरी यो शरीर बाट जानै सक्दैन मुटु पराइ बनि,
    हो त्यस्तै छ अटल तिम्रो र मेरो अटुट यो सम्बन्ध पनि।
                        ३.
    रगतले मात्र बनाउदैन यो नाता लाई सम्बन्ध लाई,
    आत्मियता नै हो नजिक्याउने त बनाएर दाजु भाइ।
                       
    ✍️ नवशिला, बेलबारी -२,लालभित्ती,मोरङ
    हाल गोदावारी ,लालितपुर।

    ५//
    १.
    बुढो सपना खोज्छ टेक्दै  खुकुरी धारमा
    उता स्वास्नी फसि सकिछे नाठोको प्यारमा ।
    २.
    प्रेमका नाउँमा नगर्नु  सहवास,
    बन्धनमा नबसी जन्मेला अनाथ ।

    ✍️ रिजाल विनोद , बेलबारी २मोरङ

    ६//
    ढुङ्गाकाे भर माटाे हुन्छ माटाेकाे भर ढुङाे ,
    तिम्राे मेराे भरचैं के हाे लगाउँनुछ टुङ्गो ।।१।।

    सम्बन्धकाे शुरुआतमा के के थियोे बाचा ,
    परिपक्व हुनुपर्थ्याे बाचा अालाकाचा ।।२।।

    देखावटी मायाँ भयाे हाम्रो छिन्नभिन्न ,
    पछुतो भाे यतिबेला सकिएन चिन्न ।।३।।

    ✍️ रामकृष्ण दुवाडी, पाेखरा

    ७//

    हाम्रो देशको कुटनैतिक सम्बन्ध भएन,
    त्यसैले पनि जनताको दुःख कत्ति गएन।

    प्रत्येक नागरिको देश सँग सम्बन्ध हुन्छ,
    देशलाई मायाँ गर्न नस्कदा यो मन रुन्छ।

    ✍️ सुरेशकुमार पान्डे दाङ घोराही१८

    ८//

    एक आपसमा नाता गोता हुनुपर्छ हाम्रो,
    मिठो वचन सबैसँग भएको झन राम्रो।

    कहिले सासुको त कहिले बुहारीको पालो,
    मिलेर काम गरे घरबार हुन्छ उज्यालो।

    -✍️पुर्ण  बहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे

    ९//

    माया बस्दा कसैसँग देखु देखु हुने,
    भेटहुँदा ठिकठाक छुटे मन रुने ।

    माछा अनि पानी जस्तो  तिम्रो मेराे नाता ,
    सधैँभरि तिमीलाई बनिदिन्छु छाता  ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    १०//
    १.
    असल सम्बन्ध नै हो मान्छेको  पहिचान
    यसैले बनाउछ जिवनमा स्वाभिमान ।
    २.
    परिवारमा खुसी आउँदा
    स्वर्ग लाग्छ बस्न पाउँदा ।

    ✍️ दुर्गा भट्टराई, मोरङ

    ११//
        १
    राम्रो सम्बन्ध भयाे भनी मात्रै हाम्रो जिन्दगी बित्छ,
    असल ब्यवहारले नै परिवारकाे मन जित्छ।
        २
    घर परिवारमा राम्रो सम्बन्ध राखे सबै राम्रो मान्छन्,
    असल नारि ब्यवहारीक छे भनेर उनिहरु ठान्छन् ।

         ✍️ शाेभा अर्याल , बुटवल १४ रुपन्देही

    १२//
    १.
    चलायौ क्रीडा डुब्न लागेको नाउमा,
    नुन ,चुक  लायौ यहि आलो घाउमा।
    २.
    जुनदिन गर्यौ  तिमिले अर्कैलाई चयन,
    कठै!घाइते मुटु, आँसुको मूल भो नयन।

        ✍️ महेश तामाङ

    १३//
    १.
    तिमीले धोका दिनु थियो भने नाता किन जोड्यौ,
    बिचमा आई बहाना बनाई सम्बन्ध नै तोड्यौ।
    २.
    धनकै कारण कतिपय सम्बन्ध बिग्रीँदै जान्छन् ,
    मलाई थाह छैन् अचेल सबले के सोच्छन् के ठान्छन् ।

    ✍️ ललिता अभागी, सिन्धुली

    १४//
                    १
    सम्बन्ध नै हो मानिसमा एक अर्काको सार ,
    त्योनै छैनभने मनिसको  बिचित्र संसार ।
                    २
    मानिसमा हुन्छ एक विश्वासको गति ,
    भरोसा छैन कलीयूगमा अलिकति ।

    ✍️ बेदु न्यौपाने , काठमाडौ

    १५//
    १.
    सम्बन्ध हो मानवीय सभ्यताको धारा,
    सम्बन्धकै सूत्रमा फुल्छन् जीवन सारा!
    २.
    जीवनमा सम्बन्धको छ ठूलो-ठूलो गाथा
    मानवीय संसारको सफा सगरमाथा!

       ✍️भूषण जंग,  अस्ट्रेलिया

    १६//

    नङ्ग र मासु जस्तै  थियो सम्बन्ध राम्रो पनि,
    छुटाई  दिएका  छन् आफन्तले दुश्मन बनी।

    हिजो सम्म हाम्रो सम्बन्ध आँखा र नानी‌ जस्तै थियो,
    आज आएर किन  किन आगो अनि  पानी  भैदियो।

    ✍️ जगत थापा बझाङ्ग

    १७//

    हाम्रो देशमा राजनितिक सम्बन्धको ताल नै राम्रो छैन ,
    ठुला धाक लगाएर के काम ? त्यसैले बढेको छ बेचैन l

    प्रेम सम्बन्ध राम्रो भयो भने जीवन सजिलै बित्छ,
    असल ईमानदार मान्छेले नै सधैं  संसार जित्छ l

    रिता खराल , रुपन्देही

    १८//

    आमा बाबा मेरा ज्यूदा भगवान्,
    सक्दिन् गाएर उहाँका गुणगान्।।

    मरेपछि श्राद्व गरेर बरु नगर पिण्ड दान,
    जिउँदैमा मीठो मसिनो ख्वाई बनाऊ नौजवान ।।

    ✍️ भगवती दवाडी

    १९//
    १.
    बाआमा सम्झेर मन धेरै लाग्यो रुन,
    सोर्ग गयौ छोडेर आज तस्बिर छुन।
    २.
    सुनचाँदी हिरा मोति भन्दानी ठूलो मेरा बाआमा हुँन्
    काशी  मथुरा चार धाम गएपनी सक्दिन तिर्न गुन्

    ✍️ कमला

    २०//
    १,
    अाउँछकी भनी कुरेर बस्याछु  पिढिमा अाएन मेरो छोरा,
    खायोकी खाएन दुब्लो पातलो केभयो कालो भयो कित गोरा।
    २,
    अामाको मनहो पिर लाग्छ छोराको के भयो भनिकन,
    जन्माएँ हुर्काएँ दु:ख गरेर यो मान्दैन रहेछ मन।

    ✍️ लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा

    २१//

    (१)
    सम्बन्ध रगतको नातामा होईन भावनामा हुन्छ,
    आपतमा जस्ले सहयोग गर्छ उसैले मन छुन्छ!
    (२)
    सम्बन्ध एउटा विश्वास हो साथ पाए शिखर चढ्छ,
    स्वार्थ आवरणले खुट्टा तानिदिए भिरबाट लड्छ !

    ✍️  शरद प्रधानाङ्ग,विराटनगर-७

    २२//

    १)
    मार्ने भन्दा त बचाउने कै हक हुन्छ,
    सिद्धार्थ र हाँसको कथाले मन छुन्छ।
    २)
    सम्बन्ध अनि प्रेम हात्तीको देखाउने दाँत जस्तो हैन,
    श्री कृष्ण र सुदामाको जस्तै उत्कृष्ट प्रमाण कसैको छैन्।

    ✍️ अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग।

    2 thoughts on ““सम्बन्ध” शीर्षक टुक्का लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थानमा क्रमशः त्रिलोचन भण्डारी, गोपाल कृष्ण डंगोल र राजेशराज गड्तौला विजयी

    1. आहा अत्यन्त सुन्दर यसरी आएको टुक्का साहित्य समाज को प्रतियोगिता लाई यस अङ्कको शोभा बनाएको मा हिमालयन दृष्टि अनलाइन पत्रिका प्रति कृतज्ञता प्रकट गर्दछु।

    2. विजयी टुक्काकारहरू लगायत सम्पूर्ण टुक्काकारहरूलाई हार्दिक बधाई !

    Leave a Reply