साउदी अरेबियाले  २०३० विश्वकप दाबेदारी दिने

  • ३ श्रावण २०७८, आईतवार १९:५८ मा प्रकाशित
  • अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न वार्षिक एक अर्ब ५० करोड डलर खर्चदै आएको साउदी अरेबियाले इटालीसँगै सहआयोजक राष्ट्रका रूपमा विश्वकपमा दाबेदारी प्रस्तुत गर्ने
    अर्को वर्ष कतारले विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दै छ । अब कतारपछि मध्यपूर्वी एसियाकै अर्को देश साउदी अरेबियाले सन् २०३० को विश्वकप आयोजना गर्ने इच्छा देखाएको छ । साउदी अरेबियाले इटालीसँगै विश्वकपको सहआयोजक राष्ट्रको भूमिका निर्वाह गर्न तयार रहेको शुक्रबार घोषणा गरेको हो । साउदी अरेबिया र इटालीबीचको दूरी दुई हजार दुई सय पाँच माइल्स टाढा छ । फिफाले २०३० को विश्वकपमा ४८ देशले ८० खेलमा प्रतिस्पर्धा गर्ने जनाइसकेको छ ।
    खेल र सहभागी राष्ट्र धेरै हुने भएकाले विश्व फुटबलकै सर्वोच्च निकाय फिफाले २०३० को विश्वकप आयोजना गर्न एक राष्ट्रले नसक्ने बताएको छ । यसैकारण नौ वर्षपछि हुने विश्वकप आयोजना प्राप्तिका लागि बेलायत र आयरल्यान्ड संयुक्त रूपमा दाबी गर्ने तयारीमा छन् । पछिल्लो समय साउदी अरेबिया विश्व खेलकुदकै हब बनिरहेको छ । यहाँ बक्सिङ, टेनिस, गल्फ तथा फर्मुला वानका विश्वस्तरीय प्रतियोगिता नियमित रूपमा सञ्चालन भइरहेका छन् । साउदी अरेबियाले यो २० वर्षभित्र भौतिक पूर्वाधारदेखि आर्थिक रूपमा धेरै प्रगति गरिसकेको छ । आर्थिक रूपले धेरै सम्पन्न देश साउदी अरेबिया पयर्टकीय हब पनि बनिरहेको छ । 
    द एथलेटिकअनुसार इटालीले अन्य राष्ट्रभन्दा साउदी अरेबियासँगै संयुक्त रूपमा विश्वकप गर्न चाहन्छ । साउदीसँग दुई हजारभन्दा बढी माइल टाढा रहे पनि आर्थिक रूपमा सम्पन्न देश साउदीसँग इटाली विश्वकपमा सहकार्य गर्न तयार भएको द एथलेटिक्सको भनाइ छ । 
    साउदी २०३० को विश्वकपका लागि मोरक्को तथा इजिप्टलाई समेत सहकार्य गर्न तयार छ । तर, मोरक्को र इजिप्टमा विश्वकप आयोजना गर्न भौतिक अवस्था कमजोर भएकाले समस्या आउन सक्ने सम्भावना छ । मोरक्वो र इजिप्टसँग सहकार्य गर्न नसकिए साउदीले अन्य छिमेकी राष्ट्रलाई फकाउन सक्ने अर्को सम्भावना पनि छ । साउदीले प्रत्येक वर्ष विश्वस्तरीय अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न एक अर्ब ५० करोड डलर खर्चँदै आइरहेको छ । 
    साउदी अरेबियाबाट प्रकाशित हुने रेली पत्रिकाले यहाँ गल्फ पनि त्यत्तिकै चर्चित इभेन्टका रूपमा रहेको छ । फुटबलमाथि राज गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको साउदी अरेबियाले इंग्लिस प्रिमियरसिप लिगको न्युकास्टल युनाइटेडलाई गत वर्ष आफ्नो स्वामित्वमा लिएको थियो । न्युकास्टलमा साउदीले तीन सय मिलियन पाउन्ड लगानी गरेको छ । दुई वर्षअघि साउदीले इटालियन सुपर कपको फाइनल खेल आयोजना गरेको थियो । 
    यता इटालीले भने मेजर फुटबल प्रतियोगिताको दाबेदारी ३० वर्षपछि गर्न लागेको हो । यसै साता २०२० को युरोकप उपाधि उचाली इटालीले विश्व फुटबलमा उत्कृष्ट कमब्याक गरेको हो । सन् २०१८ को रसिया विश्वकपमा छनोट नहुँदा इटालीले ठूलै आलोचना सहनुपर्‍यो । प्रशिक्षक रोवर्टो मान्सिनीले तीन वर्षको मिहिनेतमा इटालीलाई युरोकप च्याम्पियन बनाए । इटालीले साउदी अरेबियासँग विश्वकपमा सहकार्य गर्न तयार नै देखिन्छ । अर्कोतिर बेलायतले ‘फुटबल घरमा फर्काउने’ नारा राखी २०३० विश्वकप गर्ने जनाएको हो । राजकुमार विलियम र प्रधानमन्त्री बोरिस जोनसनले गत वर्ष नै विश्वकप आयोजनासम्बन्धी निर्णय गरेका थिए । द टेलिग्राफले बेलायतको ठूलो योजना नै विश्वकप आयोजना गर्नु हो । सन् १९६६ मा पहिलोपटक विश्वकप आयोजना गर्दा बेलायत च्याम्पियन बनेको थियो । 

    Leave a Reply